दार्चुलाको घाँटीबगर क्षेत्रमा बाटो निर्माणमा जुट्यो सेना
– नरेन्द्रसिंह कार्की
दार्चुला । नेपाली सेनाले व्यास गाउँपालिका–२ को घाँटीबगर क्षेत्रमा गोरेटो बाटो निर्माण गर्न आफ्नो क्याम्प राख्न शुरुआत गरेको छ । सो गाउँपालिकाको घाँटीबगर र मौराभेललगायतका क्षेत्रमा दुई मिटर चौडाइको ४५० मिटर गोरेटो तथा घोडेटो बाटो निर्माणको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीसहित सेना खटिएको हो ।
बिहीबार हेलिकोप्टमार्फत आवश्यक सामग्री घाँटीबगर नजिकै थी भन्ने क्षेत्रमा पुर्याइएको सेनाले जनाएको छ । आजदेखि काम शुरु गर्न हुने दुर्गा दल गुल्म दार्चुलाका गुल्मपति श्यामराजा विक्रम थापाले जानकारी दिए । यसका लागि दक्ष प्रावधिक जनशक्ति , थप सुरक्षा तथा बन्दोबस्तीको निमित्त आवश्यक फौज पुर्याउने काम जारी रहेको उनले बताए । सामान र जनशक्ति ढुवानी आज (शुक्रबार) पनि जारी रहने छ ।
व्यास गाउँपालिका–१ मा पर्ने छाङ्रु ११५ घरधुरी तथा तिङ्करका ६५ घरधुरीका स्थानीयको आवतजावतको लागि बाटो बनाउन लागिएको हो । दुई गाउँमा एक हजार २०० जनसङ्ख्या रहेको छ । नेपाली भूमि भएर बाटो नहुँदा छाङ्रु र तिङ्करका स्थानीय बिहीबार भारतीय बाटो हुँदै व्यास उक्लिएका छन् । तर केही छाङ्रुका स्थानीयवासीले पशुचौपाया नेपालकै बाटो लिएका कारण उनीहरुका लागि बाटो खोल्न लागिएको हो ।
नेपालको भूमि भएर व्याससम्म पुग्न मौराभेल ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरोसमेत गएकाले आवतजावत गर्न समस्या भएको थियो । यो क्षेत्रमा बाटो नहुँदा आवतजावत गर्न नेपालतिर नसकिएको व्यास गाउँपालिका वडा नं १ का वडासचिव विनोदसिंह बुढाथोकीले जानकारी दिए । यो क्षेत्रमा तत्कालै बाटो खुलाउनका लागि सेनाको प्रावधिक जनशक्तिसहित प्लस नफ्रीको फौज घाँटीबगर इलाकाको थी इलाकामा तैनाथ गर्ने योजनाअनुसार सेना खटिएको छ । सडकखण्ड सञ्चालन भएपश्चात स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।
व्याससम्म पुग्न बाटो नहुँदा गत वैशाख ३१ गते सेनाकै हेलिकोप्टरमार्फत सशस्त्र प्रहरी र नेपाल प्रहरी छाङ्रु पु¥याइएको थियो । बाटो मर्मत नहुँदा समस्या भएको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४ मा बसेको बैठकले महाकाली करिडोर (दार्चुला–तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेसँगै सेना यो क्षेत्रमा खटिएको छ ।
आर्थिक वर्ष २०६५/६६ बाटै निर्माण शुरु गरिएको दार्चुला–तिङ्कर सडकको हालसम्म ४० किलोमिटर मात्रै ट्र्याक खुलाइएको छ । चीनको सीमासम्म सडक पु¥याउनका लागि अहिलेको अवस्थामा सडक योजनमार्फत नहुने भएपछि बाँकी काम सेनालाई दिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वहरूले सबै धर्मावलम्बीलाई एकतामा बाँध्ने सेतुको काम गरेका छन् : सभामुख घिमिरे
-
सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन : उपप्रधानमन्त्री सिंह
-
दुग्ध बिक्रीबाट मासिक रु ९० हजार बचत
-
परिवारमा बढ्दो दूरी : कसरी समाधान गर्ने ?
-
बहुगुणी बाँस : अमेरिका–युरोपसम्म पुग्छन् फर्निचर
-
उत्तर कोरियाको सेनाले युद्धमा उल्लेख्य प्रभाव पारेको छैन : युक्रेन