बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा ३५ दिनयता कोरोना सङ्क्रमित शून्य

बिहीबार, ०८ जेठ २०७७, २० : ४२
बिहीबार, ०८ जेठ २०७७

सुदूरपश्चिम प्रदेशमा पछिल्ला ३५ दिनयता कोरोना भाइरस सङ्क्रमित फेला परेका छैनन् । देशका विभिन्न जिल्लामा पछिल्ला केही दिनयता कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या दिनहुँ बढी रहे पनि सुदूरपश्चिममा भने सो अवधिमा सङ्क्रमित फेला नपरेका क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाएको छ । 

सङ्क्रमित फेला नपरे पनि पछिल्लो समय भारतबाट सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिन लागेका नागरिकका कारण कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मी बताउँछन् । 

यहाँका कैलाली, कञ्चनपुर, दार्चुला र बैतडी नाकाबाट नागरिक भित्रिन थालेपछि सिङ्गो प्रदेश कोरोनाको उच्च जोखिममा छ । 

प्रदेशमा गत चैत १४ गते कोरोना भाइरस सङ्क्रमणको पहिलो घटना फेला परेको थियो । त्यसपछि पाँच जना कोरोना सङ्क्रमित देखिएकामा सबै निको भएर घर फर्किसकेका कारण सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या शुन्य भएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए ।

कोरोना सङ्क्रमितको उपचारका लागि यहाँको सेती प्रादेशिक अस्पताल कैलालीलाई कोरोना ‘डेडिकेटेड’ अस्पतालका रुपमा सञ्चालन गरिएको उनले जानकारी दिए ।

पछिल्लो समय सेती प्रादेशिक अस्पतालमा ५६ जना कोरोनाको शङ्कास्पदलाई निगरानीमा राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

 उनका अनुसार पछिल्लो एक सातामा कैलाली र कञ्चनपुर हुँदै अरु जिल्ला गएका तीन जनामा कोरोना सङ्क्रमणको पुष्टि भइसकेकाले सुदूरपश्चिम भारतबाट आउनेका कारण उच्च जोखिममा रहेको छ ।

महेन्द्रनगर, अत्तरिया हुँदै दैलेख आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवामा सोमबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै कैलाली र कञ्चनपुरबाट अरु जिल्ला गएका व्यक्तिमा कोरोना पुष्टि हुनेको सङ्ख्या तीन पुगेको बताइएको छ । 

त्यसैगरी कैलालीबाट बर्दिया फर्किएकी ११ वर्षीया एक बालिका र कञ्चनपुरबाट काठमाडौँ गएकी ३३ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

बर्दियाकी कोरोना सङ्क्रमित ११ वर्षीय बालिका कैलालीको गोदावरी र भजनी नगरपालिकामा ४२ दिन आफन्तको घरमा बसेर फर्किएकी बुझिएको छ । 

सम्पर्कमा आएका व्यक्तिको परीक्षण भइसकेको र सबैमा कोरोना सङ्क्रमण नभएको पुष्टि भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

कञ्चनपुरबाट काठमाडौँ गएकी कोरोना सङ्क्रमित महिला बेदकोट नगरपालिकाकी भएको खुलेको छ । उहाँको सम्पर्कमा आएका व्यक्तिको पनि परीक्षण भइसकेको र कसैमा पनि सङ्क्रमण नभएको बताइएको छ । 

सुदूरपश्चिमका विभिन्न जिल्लामा एक हजार ६७९ जना क्वारेन्टाइनमा रहेका र १३ जनालाई आइसोलेसनमा राखिएको छ । 

जसमध्ये सेती प्रादेशिक अस्पतालमा तीन, टीकापुरमा चार, बझाङमा एक, डोटीमा एक, बाजुरामा तीन र डडेल्धुरामा एक जनालाई आइसोलेसनमा राखिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप