केन्द्रीय संस्करण
बहस

क्वारेन्टाइनको दुर्दशा : होटललाई क्वारेन्टाइन किन नबनाउने ?

विदेशबाट फर्कने दशौँ लाखलाई राख्न सकिएला ‘पेड क्वारेन्टाइन’मा ?

person explore access_timeजेठ ७, २०७७ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

गत सोमबार अहिलेसम्मकै रेकर्ड एकै दिन ८० जना नयाँ कोरोना संक्रमित थपिए । यसमध्ये बाँकेको नरैनापुर गाउँपालिकाका मात्रै ५९ जना थिए । नैनापुरमा संक्रमण देखिएका सबै क्वारेन्टाइनमा रहेकाहरु थिए । यसअघि, यो गाउँपालिकामा क्वारेन्टाइनमा रहेका ९ जनामा संक्रमण पुष्टि भएको थियो । तीमध्ये १ जनाको आइतबार बिहान मृत्यु भएको थियो । यसले नेपालमा बाहिरबाट आएकाहरुलाई राखिएको क्वारेन्टाइनको अवस्था कस्तो छ भनेर छर्लङ्ग हुन्छ ।

गत मङ्गलबार संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका सबै युवालाई ‘ह््वारह्वार्ती’ नेपाल ल्याएर राख्न नसकिने प्रतिक्रिया दिए । त्यसलगत्तै पूर्वप्रधानमन्त्री डाक्टर बाबुरामले एक मतदाताको म्यासेज पोष्ट गर्दै ‘विदेशमा रहेका नेपालीहरु आउन खोजिरहेकालाई कसरी ल्याउने, म युवालाई के जवाफ दिउँ’ भन्दै फेसबुक र ट्वीटरमा लेखे ।

प्रधानमन्त्रीको अभिव्यक्ति यस अर्थमा आएको थियो कि केही सांसदहरुले पटकपटक ४० देखि ६० लाख युवा समस्यामा रहेको र उनीहरु सबैलाई नेपाल फर्काउनुपर्ने बताइरहेका थिए । तर प्रधानमन्त्री ओली भने सबै युवाहरुलाई एकैपटक नेपाल ल्याएर क्वारेन्टाइनमा राख्न नसकिने भन्दै त्यसरी ल्याउन नहुने पक्षमा थिए । यद्यपि प्रधानमन्त्री ओलीले वास्तवमै समस्यामा परेका युवाहरुलाई भने नेपाल ल्याउने सरकारको तयारी रहेको पनि बताए ।

तत्कालै उद्धार गर्नुपर्ने युवा कति छन् ?

अहिले विभिन्न क्षेत्रबाट आएको अड्कालबाजीलाई मान्ने हो भने तत्कालै पनि १० देखि १२ लाख मानिसहरु नेपाल फर्कन चाहन्छन् । नेपाल फर्कन चाहने भन्नु र समस्यामा परेको भन्नु एउटै विषय भने होइन । किनभने विदेशमा रहेका सबै नेपाली फर्किए भने उनीहरुको व्यवस्थापन, रोजगारी आदि विषयमा धेरै समस्या हुनेछ ।

तर, परराष्ट्र मन्त्रालयका एक जिम्मेवार अधिकारीको भनाई मान्ने हो भने मध्यपूर्व र मलेसियामा रहेकामध्ये करिब २१ हजार युवाहरुलाई सरकारले तत्कालै उद्धार गर्नुपर्ने अवस्था आएको छ ।

ती अधिकारीका अनुसार मध्यपूर्वका ६ वटा देश र मलेसियामा गरी अहिले करिब २१ हजार युवाहरु समस्यामा परेका छन् र उनीहरुलाई तत्कालै उद्धार गर्नुपर्ने बेला भएको छ । यो सङ्ख्या सम्बन्धित देशका दूतावासहरुले संकलन गरेको तथ्याङ्कका आधारमा प्राप्त भएको हो ।

‘अहिले मध्यपूर्वका देशहरु साउदी अरेबिया, युएई, कुवेत, कतार, ओमन र बहराइन तथा मलेसियाका केही युवाहरुलाई कामबाट निकालिएको छ । केही युवाहरुको सम्झौता अवधि सकिएको छ र उनीहरु नेपाल फर्कने तयारीमा थिए । यी सबै जोड्दा तत्काल करिब २१ हजार युवाहरुलाई उद्धार गर्नुपर्ने अवस्था छ’ ती अधिकारीले भने ।

यदि कोभिड –१९ नियन्त्रणमा आउन नसकेको वा तत्कालै नियन्त्रण हुने स्थिति नदेखिएमा अबको २ महिनापछि करिब ३ लाख युवाहरुलाई उद्धार गर्नुपर्ने हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताएका छन् । संक्रमण नियन्त्रणको दिशामा नगएको अवस्थामा अहिले सञ्चालनमा रहेका उद्योगहरु पनि बिस्तारै बन्द हुने भएकाले धेरैले रोजगारी गुमाउन सक्नेछन् । उत्पादित वस्तुको विक्री वितरण नभएको अवस्थामा पनि उत्पादन मात्रै गरेर थुपार्नुको अर्थ नहुने भन्दै कतिपय उद्योगले कामदार कटौती गर्न थालिसकेका छन् । कतिपय कम्पनीले न्युनतम तलब दिएर कामदारलाई राखिरहेका छन् भने कतिपय कम्पनीले खाना र बस्न मात्रै दिएर पनि राखेका छन् । अनि कतिपय कम्पनीले ‘अहिले घर जाउ र खुलेपछि बोलाउँछु भन्दै’ बेतलबी विदामा जाउ भनिसकेका छन् । यस्तो अवस्थामा अबको १ महिनापछि कम्तिमा ३ लाख युवाहरुलाई उद्धार गर्नुपर्ने अवस्था आउने ती अधिकारीको भनाइ छ ।

नेपाल फर्कन चाहनेको सङ्ख्या १२ लाख

रोजगारी नगुमाएको भएपनि स्वदेश फर्कन चाहने युवाको सङ्ख्या भने अहिले पनि करिब १२ लाख रहेको ती अधिकारीको भनाई छ । उनले भने, ‘हामीले मुख्यतः ३ वटा क्याटेगोरी बनाएर तथ्यांक संकलन गरी सुची बनाउने काम गरिरहेका छौँ । पहिलो चरणमै उद्धार गर्नुपर्ने सङ्ख्या, दोस्रो चरणमा ल्याउनु पर्ने अनुमान गरिएका कामदारको सङ्ख्या र तेस्रो चरण अर्थात् नेपाल नै फर्कन चाहने युवाहरुको सङ्ख्यालाई हामीले विश्लेषण गरिरहेका छौँ । त्यसकारण पहिलो चरणमा २१ हजार, दोस्रो चरणमा ३ लाख र फर्कन चाहने सबैलाई ल्याएमा तेस्रो चरणमा करिब ९ लाख गरी कुल १२ लाख मान्छेलाई ल्याउनु पर्ने हुनसक्छ । संक्रमण अझ बढ्दै गएमा जे भएपनि आफ्नै देशमा होस् भन्ने चाहना राख्नेको सङ्ख्यामा पनि वृद्धि हुनसक्छ ।’

तर परराष्ट्र मन्त्रालयको यो तथ्यभन्दा बाहिर रहेर केही सांसद तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले विदशेमा रहेका ४० देखि ६० लाख युवा स्वदेश फर्कने क्रममा रहेको बताइरहेका छन् । र, राज्यले ती युवाहरुलाई उद्धार गरी स्वदेश ल्याउनुपर्यो भन्ने सांसदहरुको माग पछि प्रधानमन्त्रीले ‘ह्वारह््वार्ती ल्याउन नसकिने’ प्रतिक्रिया दिएका थिए ।

क्वारेन्टाइनको व्यवस्थापन जटिल बन्न सक्छ

अहिले सरकारले विदशेमा समस्यामा परेका युवाहरुलाई स्वदेश फर्काउन तयारी पनि गरिरहेको छ । पहिलो चरणमा विदेशमा समस्यामा परेका २१ हजार युवाहरुलाई मात्रै स्वदेश ल्याए पनि उनीहरुको व्यवस्थापन भने केही जटिल बन्न सक्छ ।

उनीहरुलाई कहाँ र कसरी क्वारेन्टाइनमा राख्ने, खानाको बन्दोबस्त कसले कसरी गर्ने आदि विषय केही जटिल बन्न सक्छ । सबै युवाहरुलाई राज्यले नै क्वारेन्टाइन बनाएर सित्तैमा राख्ने कि उनीहरुसँग केही रकम लिएर व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा अहिलेसम्म कुनै मोडालिटी तयार भएको छैन । कुनै सामान्य विद्यालयलाई क्वारेन्टाइन बनाउने कि खुल्ला चौरमा टेण्ट हालेर क्वारेन्टाइन बनाउने भन्ने विषय अझै टुंगिसकेको छैन । र यी विषयहरुको टुंगो नलागेसम्म ती युवाहरुलाई स्वदेश ल्याउने कुरा सम्भव पनि छैन ।

होटल बन्न सक्छन्, सुरक्षित क्वारेन्टाइन

अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने पनि अर्को देशबाट स्वदेशमा ल्याउँदा कम्तमिा १४ दिन क्वारेन्टाइनमै बस्नुपर्ने हुन्छ । यो हेर्दा अहिले तत्कालै २१ हजार युवाहरु स्वदेश फर्कदाँ त सरकारले २१ हजारका लागि क्वारेन्टाइन बनाएर राख्न सक्ला । तर यदि ३ लाख वा १२ लाख युवाहरु स्वदेश फर्किए भने के त्यो सम्भव छ त ?

एकैपटक १२ लाख युवाहरु स्वदेश फर्कँदा क्वारेन्टाइन बनाएर राख्न असम्भव नै त होइन, तर सहज भने छैन । त्यसको एकमात्रै विकल्प भनेको हाल सञ्चालनमा रहेका होटलहरु नै हुन् ।

हाल काठमाडौं, पोखरा, चितवन, धुलिखेल वा नगरकोटमा रहेका होटलहरुलाई सरकारले पहल गरेर क्वारेन्टाइन बनाउन सकिन्छ । किनभने होटलको एउटा कोठामा अधिकतम २ जना मात्रै राखिने भएकाले कोरोना संक्रमणको सम्भावना पनि कम हुन्छ भने समाजमा पनि क्वारेन्टाइनको भय रहँदैन । अब वर्षाको मौसम भएकाले पानी पर्ने तथा हुरी आउने हुनाले टेण्टको क्वारेन्टाइन त्यति सहज हुनेछैन । त्यसकारण क्वारेन्टाइनको एकमात्रै विकल्प भनेको होटल नै हो ।

होटललाई पेड क्वारेन्टाइन बनाऔँ : डा. बाबुराममरासिनी

इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक समेत रहिसकेका सरुवारोग विशेषज्ञ डाक्टर बाबुराम मरासिनी अब मुख्य मुख्य स्थानका होटलहरुलाई पेड क्वारेन्टाइन बनाएर युवाहरुलाई राख्न सकिने बताउँछन् ।

उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीहरु पनि हाम्रा आफ्नै नागरिकहरु हुन् । उनीहरु स्वदेश फर्कन चान्छन् भने उनीहरुलाई नेपाल ल्याउनुपर्छ । तर सबै थोक राज्यले नै गर्नुपर्छ भन्ने होइन । राज्लये केही सहयोग गर्ने, नेपाल फर्कन चाहनेले केही सहयोग गर्ने र होटल व्यवसायीले पनि केही सहयोग गरी अब होटलहरुलाई पेड क्वारेन्टाइन बनाउनुपर्छ ।’

डा. मरासिनीका अनुसार अहिले होटल नै सबैभन्दा राम्रो क्वारेन्टाइन हो । उनी भन्छन्, ‘मैले सुने अनुसार बारामा जुन युवाको मृत्यु भयो, उनीसँगै क्वारेन्टाइनमा बसेका १२ जनालाई कोरोना संक्रमण भएको छ । यसको मतलब क्वारेन्टाइन सुरक्षित भएन र मापदण्ड पुगेन भन्ने हो । तर अब के गर्ने त भन्दा एउटै उपाय के हो भने होटलहरुलाई क्वारेन्टाइन बनाउने । त्यसमा क्वारेन्टाइनमा बस्नेले पनि पैसा तिर्ने, राज्यले पनि होटललाई पैसा तिरिदिने र होटलले पनि आफ्नो लागत मात्रै लिने । त्यसो भएमा एकातिर होटल सञ्चालकहरुलाई पनि केही राहत हुन्छ, नेपाल फर्कने युवाले पनि क्वारेन्टाइनमा राम्रो सुविधा पाउँछ र राज्यलाई पनि सबै आर्थिक भार बेहोर्नु पर्दैन । होटलमा छुट्टाछुट्टै कोठा र बाथरुम हुने भएकाले यदि कुनै व्यक्तिलाई संक्रमण भएको रहेछ भनेपनि अन्य व्यक्तिहरुमा संक्रमण फैलिन पाउँदैन ।’

यसरी गर्न सकिन्छ ‘पेड क्वारेन्टाइन’

डाक्टर मरासिनीका अनुसार अब युवालाई स्वदेश ल्याएर पेड क्वारेन्टाइनमा राख्नु नै उचित हुन्छ । उनी भन्छन्, ‘अब हामीले विदेशमा रहेका मानिसहरुलाई पनि ल्याउनुपर्छ । किनभने विदेशमा रहेका कतिपयको जागिर गइसक्यो । कतिपयलाई आफ्नो देश जाऊ भनिसके । उनीहरुलाई त्यहाँ राख्न र बस्न मन नै छैन । उनीहरुलाई नेपालमा ल्याएर पनि क्वारेन्टाइनमा राख्न सकिन्छ नि । क्वारेन्टाइन गर्दा पेड क्वारेन्टाइन पनि गर्न सकिन्छ । त्यसकारण आत्तिनु पर्ने अवस्था पनि छैन ।’

‘उदाहरणका लागि यदि एउटा होटलको रुमको मूल्य १ हजार ५ सय रहेछ भने ५ सय होटलसँग छुट माग्ने, ५ सय सरकारले तिरिदिने र ५ सय रुपैयाँ व्यक्ति आँफैले तिर्ने । यसो गर्दा होटलले पनि केही राहत महसुस गर्छ, हाम्रा नागरिकहरु पनि नेपाल आइपुग्छन् । त्यसकारण अब बिस्तारै बिस्तारै बाहिरबाट पनि नेपालीहरु ल्याउन थाल्नुपर्छ । यदि धेरै नेपाली भएका देशहरुले जबरजस्ती एकैपटक नेपाल ल्याइदिए भने त्यसको व्यवस्थापन झनै जटिल हुन्छ । त्यसकारण अब बिस्तारै उनीहरुलाई पनि नेपाल ल्याउनुपर्छ । अब त्यसका लागि पर्यटन मन्त्रालयले रकम हाल्ने हो कि कसले हाल्ने हो त्यो पनि ख्याल गर्नुपर्यो नि ।’

होटल सञ्चालकहरु भन्छन्, क्वारेन्टाइन बनाउन तयार छौँ

वर्षाको समय भएकाले अब हुरी र पानीको जोखिम हुन्छ । यस्तो अवस्थामा विद्यालय वा टेण्टमा क्वारेन्टाइन बनाउने कुरो सहज र सुरक्षित छैन । त्यसकारण अब क्वारेन्टाइनको एकमात्रै विकल्प भनेको होटलहरु नै हुन् ।

किनभने लकडाउन सुरु भएसँगै होटलहरु बन्द भएका छन् । होटल पुरै बन्द भएपछि त्यहाँ कार्यरत मजदुरहरुले रोजगारी गुमाएका छन् भने सञ्चालकहरुलाई पनि बैंकको ब्याज, भाडा, आदि तिर्न समस्या आइसकेको छ । यस्तो अवस्थामा होटलहरुले न्युनतम सञ्चालन खर्च लिएर होटलहरुलाई क्वारेन्टाइन बनाउन दिन तयार देखिएका छन् ।

सञ्चालन खर्चमै क्वारेन्टाइन बनाउन तयार छु : सिएन पाण्डे, सञ्चालक ल्याण्डमार्क होटल

ल्याण्डमार्क होटलका सञ्चालक तथा सम्राट ग्रुपका सिइओ सिएन पाण्डे अब होटलहरुलाई क्वारेन्टाइन बनाउनुको विकल्प नरेको बताउँछन् । वर्षाको समय भएकाले अब बिस्तारै होटलहरुलाई क्वारेन्टाइनमा रुपान्तरण गर्नुपर्ने र युवाहरुलाई स्वदेश फर्काउनुपर्ने बताउँछन् ।

पाण्डे भन्छन्, ‘पहिलो कुरा त विदेशबाट ल्याउने युवा भनेको कोरोना संक्रमित होइनन् । उनीहरुलाई ल्याउँदा पहिले नै कोरोनाको परीक्षण गरेर मात्रै ल्याइन्छन् । त्यसकारण पहिले के बुझ्नुपर्छ भने नेपाल आउने युवाहरु कोरोना संक्रमित होइनन् । उनीहरु मात्रै शंकास्पद हुन् र उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राख्ने भनेको हो ।’

पाण्डे थप्छन्, ‘दोस्रो कुरा होटलहरुले पनि एसओपी (स्ट्याण्डर्ड अपरेटिङ प्रोसिडिउर) मान्नुपर्छ । तर त्यो एसओपी बनाउने भनेको स्वास्थ्य मन्त्रालयले नै हो । मन्त्रालयले मापदण्ड बनाउने र होटलहरुले सुरक्षा विधि अपनाई होटललाई क्वारेन्टाइन बनाउने भनेको हो । मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने म लागत मूल्यमै काठमाडौँ, पोखरा र चितवनको होटल दिन तयार छु ।’

व्यापार होइन सेवा

पाण्डेका अनुसार अहिले होटलहरुले व्यापार नभएर सेवा मात्रै गर्नुपर्ने बेला आएको छ । उनी भन्छन्, यतिबेला नाफा कमाउने भन्ने बेला छैन । पुरै विश्व नै समस्यामा भएको बेला हामीले अरु केही उपायबाट कमाउने भन्ने सम्भावना पनि रहँदैन । त्यसकारण अहिले हामीले करिब आधा मूल्यमै पुरै होटल वा होटलका कोठा क्वारेन्टाइनमा दिन सक्छौँ । होटलको क्याटेगोरी हेरेर वा कोठाको अवस्था हेरेर मूल्य निर्धारण गर्न सकिन्छ । जस्तो कि यसअघि ४ हजारमा दिइरहेको कोठा अब २ हजारमै दिन सकिन्छ । त्यति भएमा होटलको लागत उठ्छ भने राज्यलाई पनि सजिलो हुन्छ ।’

क्वारेन्टाइनमै बस्नेबाट रकम उठाउनुपर्छ

पाण्डेका अनुसार १०–१२ लाख युवालाई स्वदेश ल्याएर राज्यले नै सबै खर्च बेहोर्ने गरी क्वारेन्टाइनमा राख्न सकिँदैन । उनी भन्छन्, ‘हाम्रो देशको हैसियत पनि हेर्नुपर्छ । विदेशमा गएका सबै मान्छे सामान्य मजदुरी गर्ने मात्रै हुँदैनन् । सक्ने मान्छेले राम्रो होटलमै बसेर राम्रो सुविधा लिएर रकम तिर्न सक्ने पनि छन् । उनीहरुलाई त्यही अनुसारको होटल वा कोठा दिनुपर्छ । त्यो रकम पनि उनीहरुबाटै उठाउनुपर्छ । होइन, खाडी मुलुक वा मलेसियामा काम गर्ने कोही कोहीले कति रकम पनि तिर्न सकेनन् भने उनीहरुलाई राज्यले मापदण्ड बनाएर सित्तैमा पनि राख्नुपर्छ । तर होटलले सित्तैमा राख्न सक्ने अवस्था पनि छैन । त्यसकारण सक्नेबाट लिने र उपाय नै नभएकोको हकमा त्यही अनुरुपको होटललाई क्वारेन्टाइन बनाएर राख्नुपर्छ ।’

कुमार थापा, सञ्चालक, वुडल्याण्ड काठमाडौँ होटल

अर्का होटल व्यवसायी कुमार थापा पनि अब राज्यले होटललाई नै क्वारेन्टाइन बनाउनुपर्ने कुरा बताउँछन् । राज्यले मापदण्ड बनाएर होटललाई क्वारेन्टाइन बनाउन सकिने र त्यो नै एकमात्र विकल्प भएको उनको भनाई छ ।

थापा भन्छन्, ‘पहिलो कुरा त स्वास्थ्य मन्त्रालयले नै होटललाई कसरी क्वारेन्टाइन बनाउने भनेर मापदण्ड तयार गर्नुपर्छ । त्यसपछि अबको विकल्प भनेको होटललाई नै क्वारेन्टाइन बनोने मात्रै हो । हामी व्यवसायीहरु पनि होटलहरु उपलब्ध गराउन तयार छौँ । तर स्वास्थ्य सम्बन्धी कुरा वा पूर्वाधार चाहिँ सरकारले नै तयार गर्नुपर्छ  । किनभने होटलका कामदारहरुको सुरक्षाको सम्बन्धमा ध्यान दिनैपर्छ ।’

यो नाफा कमाउने बेला होइन

होटल व्यवसायी थापा अहिले नाफा कमाउने बेला नभएकाले राज्यलाई सबैले सहयोग गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘अहिले व्यापार गर्ने वा नाफा कमाउने बेला छैन । हामी न्युनतम शुल्क लिएर राज्यलाई सहयोग नै गर्न चाहन्छौँ । क्वारेन्टाइनमै मानिसहरुको मृत्यु भएको वा संकमित भइरहेको कुरा आएको छ । त्यसकारण होटल नै सुरक्षित र व्यवस्थित हुन्छ भन्ने हाम्रो धारणा हो । होटलमा सबै सुविधा हुन्छ । ट्वाइलेट वा वाथरुम पनि छुट्टाछुट्टै हुन्छ । त्यसकारण कसैलाई संक्रमण भइहालेको भएपनि अरुलाई फैलन पाउँदैन । त्यसकारण सुरक्षित भनेको होटल नै हुन्छ । हामी लागत मूल्यमै होटल उपलब्ध गराउन तयार छौँ ।’

कोटेशन मागेर सुचीकृत गर्न कठिन

कतिपय व्यवसायीले क्वारेन्टाइन बनाउनका लागि राज्यले कोटेशन मागेर सूचीकृत गर्नुपर्ने कुरा बताइरहेको बेला व्यवसायी थापा भने कोटेशन मागेर होटललाई क्वारेन्टाइन बनाउने भन्ने कुरा त्यति जायज र समयअनुकुल नहुने बताउँछन् । उनले भने, ‘सुन्दा त ठीकै हो कि क्या हो जस्तो लाग्छ, तर त्यसका लागि समय लाग्छ । छानबिन गर्नुपर्ला, धेरै कुरा आउँछ । यसका लागि परिचालन कमिटी बनाएर व्यवसायी, संसघसंस्थाका प्रतिनिधि, स्वास्थ्य मन्त्रालयको प्रतिनिधि आदिको टिम बनाउने र त्यही टिमले होटल खोज्ने, छान्ने आदि गर्दा ठीक हुन्छ । किनभने बस्ती भएको स्थानमा क्वारेन्टाइन बनाउन कठिन हुनसक्छ, स्थानीको अवरोध आउन पनि सक्ला । स्वास्थ्य मन्त्रालयको मापदण्डमा होटल वालाहरुको पनि सहमति हुन प¥यो । व्यवहारिक छ कि छैन, त्यो पनि हेर्नुपर्यो । त्यसकारण कमिटि बनाउने भनेको हो । बस्तीभन्दा टाढा वा दिन मिल्ने वा नमिल्ने भन्ने कुराहरु ध्यान दिनुपर्छ । धेरै कुरा ख्याल गर्नुपर्ने हुन्छ ।’

सुचीकृत गरेर होटललाई क्वारेन्टाइन बनाउँ : सुदर्शन न्यौपाने, सञ्चालक, होटल  मम्स होम

होटल व्यवसायी सुदर्शन न्यौपाने भने राज्यले सेवा, सुविधा र मुल्यसहितको कोटेशन मागेर होटलहरुको छनोट गर्नुपर्ने बताउँछन् । न्यौपाने भन्छन्, ‘पहिलो कुरा राज्यले होटललाई क्वारेन्टाइन बनाउनका लागि सार्वजनिक सूचना निकालेर सुचीकृत गर्नुपर्छ । विदशेबाट ल्याइएका युवाहरुलाई राख्नका लागि होटल छान्दा क्वारेन्टाइन बनाउन दिन तयार होटलहरुले आफ्नो न्युनतम भाडा कति हो तोकेर सुचीकृत गर्नुपर्यो ।’

न्यौपानेले थपे, ‘त्यसपछि उक्त होटलमा क्वारेन्टाइनमा रहने व्यक्तिहरुको सङ्ख्याको आधारमा आवश्यक स्वास्थ्यकर्मी र सुरक्षाकर्मी राज्यले व्यवस्था गर्नुपर्छ । यदि कुनै क्षेत्रलाई नै क्वारेन्टाइन बनाउने हो भने त्यो क्षेत्रलाई चाहिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको व्यवस्था राज्यले नै गर्नुपर्छ । किनभने होटलबाट कुनै व्यक्ति भागिदियो भने के गर्ने भन्ने ख्याल गर्नुपर्छ ।’

हाउसकिपिङलाई तालिमको व्यवस्था

न्यौपानेका अनुसार होटललाई क्वारेन्टाइन बनाउँदा स्वास्थ्य सुरक्षामा सबैभन्दा बढी ध्यान दिनुपर्ने बताउँछन् । यनी भन्छन्, ‘क्वारेन्टाइनका लागि प्रयोग हुने होटलका हाउस किपिङलाई विशेष सतर्कता तथा सुरक्षा तालिम राज्यले नै दिनुपर्छ । किनभने हाउसकिपिङ नै बढी जोखिममा हुन्छन् । त्यसकारण त्यस सम्बन्धमा पनि ध्यान दिनैपर्छ । क्वारेन्टाइन तोक्दा राज्यले नै कुनै स्थानलाई तोक्नुपर्छ र सकेसम्म ती एरियामा घना बस्ती नभएको हुँदा राम्रो हुन्छ ।’

प्याकिङमा खाना

न्यौपानेका अनुसार यसरी होटललाई क्वारेन्टाइन बनाउँदा प्याकिङको खाना नै ठीक हुने बताउँछन् । उनी भन्छन्, ‘खानाको व्यवस्था गर्दा यदि एउटा एरियालाई नै क्वारेन्टाइन बनाइन्छ भने त्यो स्थानका लागि खाना बनाउने एउटा क्यान्टिन जस्तो बनाउनुपर्छ र त्यहीँबाट खाना प्याकिङ गरी कोठा कोठामा पुराउने व्यवस्था मिलाउनुपर्छ । यसो गर्दा खाना सप्लाई गर्नेले होटलको गेटसम्म ल्याइदिने, होटलको गेटबाट गार्डले कोठासम्म लगिदिने र डिस्पोजल प्याकिङ गर्ने हुनुपर्छ । उसले पनि खाना खाइसकेपछि त्यो प्याकिङ डस्टबिनमा फाल्ने गर्नुपर्छ । अनि त्यो डस्टबिनबाट ती फोहोरहरु हरेक दुई वा तीन दिनमा उचिन व्यवस्थापन ।’

छुट्टै लण्ड्री वा डिस्पोजेवल वेडसिट

कोरोना संक्रमणकोजाखिम कपडामा पनि रहेको भन्दै होटलहरुले क्वारेन्टाइनका व्यक्तिहरु बसेको कोठाको लुगा धुँदा ध्यान दिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘क्वारेन्टाइनको लण्ड्रीको लागि छुट्टै लण्ड्रीको व्यवस्था गर्नुपर्छ । सकेसम्म वेड सिट डिस्पोजेबल प्रयोग गर्नुपर्छ ।

राज्यले न्युनतम शुल्क दिनुपर्छ

होटलहरुको भाडाको सम्बन्धमा के गर्ने भनेर चाहिँ राज्यले नै ध्यान दिनुपर्ने न्यौपानेको भनाई छ । न्यौपाने भन्छन्, ‘सरकारले नै क्वारेन्टाइनको व्यवस्था गर्ने भएकाले होटलहरु राज्यले भाडामा लिँदा कति समयका लागि लिने हो, त्यो पनि तोकिदिनुपर्छ । उदाहरणका लागि यो रोग अझै एक वर्षसम्म रहन सक्छ भने कम्तीमा ६ महिनाको लागि राज्यले होटलहरु भाडामा लिने । तर ६ महिना भाडामा लिएपनि ती होटलहरु डिस्इन्फेक्ट गर्नका लागि अरु दुई महिना लाग्न सक्छ । किनभने क्वारेन्टाइन बनाएको होटलमा तत्कालै मानिसहरु गएर बस्दैनन् । त्यसकारण राज्यले आठ महिनाको भाडा तिर्ने ।’

हामीलाई नाफा चाहिँदैन

व्यवसायी न्यौपाने भन्छन्, ‘हामीलाई नाफा कमाउन पर्दैन । तर लागत खर्च भने राज्यले नै बेहोर्नुपर्छ । लागत खर्च भनेको के हो भने त्यहाँ हुने दैनिक खर्च, भोलि सामान फेर्दा लाग्ने शुल्क, बैंकको ब्याज, त्यहाँ काम गर्ने कर्मचारीको तलब आदि सबै खर्च हो । त्यसकारण मापदण्ड बनाएर कोटेशन माग्ने र सुचीकृत गर्ने नै गर्नुपर्छ । हामी हाम्रा होटलहरु क्वारेन्टाइनका लागि तयार नै छौँ ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.