शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड–१९ का कारण भारतमा २५ लाख नेपाली समस्यामा

बुधबार, ०७ जेठ २०७७, १६ : ०४
बुधबार, ०७ जेठ २०७७

कैलाली । भारतमा बस्ने २५ लाख नेपाली ‘कोभिड १९’ का कारण अप्ठ्यारोमा परेका छन् । भारतको विभिन्न राज्यमा प्रत्यक्ष रुपमा रोजगारीमा जोडिएका २५ लाख नेपाली रोजगारी बन्द भएको र खान–बस्न समस्या भएका कारण अप्ठ्यारोमा परेको जनाइएको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेसँगै हजारौं नेपाल भारतमा यतिबेला बेरोजगार अवस्थामा पुगेका छन् । रोजगारीको अभावमा एकातिर उनीहरुलाई खान–बस्न समस्या भएको छ भने अर्कोतिर घर फर्कन नपाउँदा दैनिक पीडा बढ्दो छ ।

भारतको मध्यप्रदेश, राजस्थान, गुजरात, महाराष्ट्र, छत्तिसगढ, दिल्ली, उत्तर प्रदेश, हिमाञ्चल प्रदेश, उत्तराखण्ड, हरियाणा राज्यमा मात्र २५ लाख नेपाली प्रत्यक्ष रुपमा रोजगारी गरिरहेको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वारले रातोपाटीलाई जानकारी दिए ।

अहिले ती सबै नेपाली अप्ठ्यारोमा रहेको उनले बताए । लामो समयदेखि भारतको विकानेरमा बस्दै आएका अछाम जनालीकोटका धर्मसिंह कुवरले लकडाउनका कारण रोजगारी गुमेको बताए । ‘रोजगारीको भरमा गुजारा चल्थ्यो, अब के गर्ने र के खाने चिन्ता भएको छ,’ उनले भने, ‘लकडाउन कहिले खुल्छ थाहा छैन, यस्तै भयो भने रोगले भन्दा पनि भोकले मरिने भो ।’
अन्य देशले आफ्ना नागरिकलाई उद्धार गरेर लगेको सुनिए पनि नेपाल सरकारले भारतमा रहेका नेपाली लैजान वास्ता नगरेको भन्दै उनी दुःखेसो पोख्छन् । ‘हामी अप्ठ्यारोमा बाँचेका छौं, घरभित्रै छौं, सरकारले बाहिर निस्कन दिदैँन, खाद्यान्न र आवश्यक वस्तुको समस्या छ ।’

परिषदका अन्तर्राष्ट्रिय महासचिव हर्कवहादुर स्वारले रोजगारी गर्न आएका नेपाली रोजगारविहीन हुनु परेको र राहतबाट समेत वञ्चित हुँदा अप्ठ्यारोमा परेको बताए । परिषदले विभिन्न राज्यका मुख्यमन्त्रीलाई भनेर नेपाली नागरिकलाई भोकै बस्न नदिने उद्देश्यले राहत वितरणमा जोड दिइरहेको उनले जानकारी दिए ।

अहिले रोजगारी गुमेका र नेपाल जान हारगुहार गरिरहेकालाई उचित बासस्थानको जोहो गर्दै परिषदले नेपाल सरकारलाई उद्धारका लागि आग्रह गरिरहेको उनको भनाइ छ । उनले भने, ‘नेपाल सरकारलाई हामी लिखित रुपमै आग्रह गर्दैछौं, पत्र तयार हुँदैछ, प्रधानमन्त्रीज्यूलाई मागपत्र हस्तान्तर गर्ने कार्यक्रम छ ।’
राजस्थानको कोटा जिल्लामा बस्ने ५ हजार नेपालीका लागि भारत सरकारलाई भनेर २५ क्वीन्टल राहत वितरण गरेको उनले बताए । 
‘भारतको रामपुरमा ९० जना नेपालीलाई क्याम्प निर्माण गरिराखेका छौँ,’ उनले भने, ‘त्यसको व्यवस्थापन गर्न पनि लागिरहेका छौँ ।’

महाराष्ट्रमा नेपालीलाई अप्ठ्यारो पर्न नदिन नेपाल संस्कृति परिषदका पूर्व अध्यक्ष चेतमान बोगटीको नेतृतवमा कमिटी बनाएको उनले बताए । ‘अहिले होटलमा काम गर्ने नेपालीलाई निकालिएको छ,’ उनले भने, ‘उद्योगमा काम गर्ने नेपाली बेरोजगार छन् ।’
के खाने, कसरी जीविका चलाउने भन्ने चिन्ताले नेपालीलाई अप्ठ्यारो बनाएको उनको भनाइ छ । 

भारतीय कवारेन्टाईनमा अझै २ हजार नेपाली
भारतको करनालबाट आएका भीम साउद भारतको पलियास्थित क्वारेन्टाईनमा छन् । उनी लगायत २ हजार नेपाली क्वारेन्टाईनमा बस्दै आएका छन् ।

साउदले क्वारेन्टाईनमा बस्दाको पीडा पोख्दै भने, ‘पेटभरी खान पाईएको छैन, बिहान नास्ता पनि हुन्न ।’ दिउसोको खाना पनि पेटभरी नपाइने उनको गुनासो छ ।

एउटै स्थानमा थेरै जनाको जमातलाई राखिएका कारण पानी र शौचालयको समेत समस्या भएको उनले बताए ।
गोदावरी नगरपालिका वडा नं ४ बन्दागडा निवासी उनी कामको सिलसिलामा भारतको करनाल पुगेका थिए । उनी भारतमा कोभिड १९ को संक्रमण बढ्न थालेपछि नेपाल फर्किदैथिए । नेपाल प्रवेश गर्न नपाएपछि उनी अहिले भारतीय क्वारेन्टाईनमा बस्दै आएका छन् ।
भारतको हरियाणाबाट आएका हरिस कपाडीको दुःखेसो पनि उस्तै छ । उनले भने, ‘खान र बस्नको सुविधा छैन, रोगले भन्दा पनि भोकले मरिने भो ।’ 

केही दिन पहिला नेपाल सरकारको पहलमा लामो समयदेखि पलिया क्वारेन्टाईनमा बसेकाको उद्धार गरिए पनि उक्त क्वारेन्टाइनमा अझै २ हजारको संख्यामा नेपाली छन् । भारतवाट नेपाली आउने क्रम जारी रहेको पलिया क्वारेन्टाईनमा बसेका कपाडीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप