मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक (नयाँ नक्सासहित)

बुधबार, ०७ जेठ २०७७, १५ : १९
बुधबार, ०७ जेठ २०७७

काठमाडौं । सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरासहितको नेपालको नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले बुधबार सरकारी स्वामित्वको टेलिभिजन च्यानलको प्रत्यक्ष प्रशारणमार्फत नक्सा सार्वजनिक गरेको हो । 

गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भारतले अतिक्रमण गरेको नेपालको सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई कार्यान्वयन गर्दै मन्त्रालयले आज नेपालको नयाँ नक्सा सार्वजनिक गरेको हो । भारतले गत कार्तिकमा आफ्नो देशको नक्सा प्रकाशन गर्दा नेपालको लिम्पियाधुरा, कालापानी आफ्नो भू–भागको रुपमा समेटेर प्रकाशन गरेपछि नेपाल सरकारलाई पनि मिचिएको आफ्नो भूमिसहितको नक्सा प्रकाशन गर्न चौतर्फी दवाव परेको थियो । भारतले आफ्नो नयाँ नक्सा प्रकाशन गर्दा नेपालको ३ सय ९५ वर्ग किमी भू–भागलाई अतिक्रमण गरेको थियो । 

संसदको राज्यव्यवस्था तथा सुशासन समिति र अन्तर्राष्टिय सम्बन्ध समितिले सरकारलाई पटक–पटक नेपालको भू–भाग समेटेर नक्सा प्रकाशन गर्न निर्देशन दिएको थियो । तर सरकारले कुटनीतिक वार्तामार्फत समस्या समाधान गर्ने भनेर नक्सा प्रकाशनको कामलाई थाँती राखेको थियो । 

गत बैशाख २७ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फ्रेरेशनमार्फत नेपालको भूभाग लिपुलेक हुँदै चीन जोड्ने सडकको उद्घाटन गरेपछि नेपालले आपत्ति जनाएको थियो । परराष्ट्र मन्त्रालयले नेपालसँग विना छलफल नेपालको भूमि प्रयोग गरी सडक निर्माण गरेको भन्दै वार्तामार्फत समाधान खोज्नका लागि कुटनीतिक नोट पठाएको थियो । 

भारतीय पक्षबाट कोरोना माहामारी समाधान पछि छलफल गर्ने आशय जनाएपनि सरकारले तत्काल वार्ता गर्न आग्रह गरेको थियो । फलस्वरुप मन्त्रिपरिषदको बैठकले वर्षौदेखि माग उठ्दै आएको काली नदीको उद्गम विन्दु लिम्पियाधुरासहितको भूभाग समेटेर नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग कुटनीतिक माध्यमबाट छलफल अगाडि बढाइएको बताएका छन् । साथै सरकारले संविधान संशोधन गरेर नेपालको नक्सा, नेपालको निसान छाप आदिमा नेपालको नयाँ नक्सा राख्ने भएको छ । 

के छ नयाँ नक्सामा ?
सरकारले जारी गरेको नयाँ नक्सामा भारतले अतिक्रमण गरिएको लिम्पियाधुरा, लिपुलेक, कालापानी भूभाग समेटिएको छ ।  ७ सय ५३ स्थानीय तह र नेपालको अन्र्तराष्ट्रिय सीमा पनि समेटिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप