शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कागेश्वरी नगरपालिकाले दियो शिक्षकहरुलाई अनलाइन तालिम

मङ्गलबार, ०६ जेठ २०७७, १८ : ०१
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । कोभिड–१९ को महामारीका कारण लकडाउन लम्बिदैं जाँदा पठन–पाठन ठप्प हुँदै गएपछि विद्यार्थीहरुको पढाई रोकिन नदिन सरकारी विद्यालयका शिक्षकहरुलाई सूचना प्रविधिमा आधारित अध्यापनसम्बन्धि तालिम दिन थालिएको छ । राजधानी काठमाडौं भित्रैका सरकारी विद्यालयका शिक्षकहरुका लागि कतिपय नगरपालिकाहरुले त्यस्तो तालिम दिन शुरु गरेका हुन् । 

सोहीक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको सहयोगमा नेपाल राष्ट्रिय शिक्षक संगठन कागेश्वरी मनोहरा नगर कमिटीले पहिलो चरणको तीन दिने सूचना प्रविधिमा आधारित शिक्षक प्रशिक्षक तालिम दिएको छ । ४ देखि ६ जेठसम्म सम्पन्न तालिममा नगरपालिकाका ३० जना शिक्षक सहभागी भएका थिए । नगरपालिकाको सहयोगमा पहिलो चरणमा सहभागी ३० प्रशिक्षक शिक्षकबाट कम्तीमा पनि नगरपालिकाका ३ सय शिक्षकलाई सूचना प्रविधिमा आधारित पठन–पाठनमा अभ्यस्त बनाउनेगरी लगातार तालिम सञ्चालन गर्दै लैजाने उद्धेश्य राखिएको नगर संगठनका अध्यक्ष छत्रबहादुर कटुवालले बताए ।

तालिमका क्रममा अनलाईन भिडियो कन्फरेन्स–जुम, जिमिट र जिस्विटलगायतबाट सय जनासम्म विद्यार्थीलाई एकै पटक सहभागी गराएर कसरी अध्यापनमा संलग्न गराउन सकिन्छ भन्नेबारे प्रशिक्षण  दिइएको माध्यमिक तहका शिक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए । 

‘अहिलेलाई एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई भिडियो कन्फरेन्सबाटै शिक्षकले पाठ्यसामग्री उपलब्ध गराउने, पढाउने, गृहकार्य गराउने उद्धेश्य राखिएको छ’, कार्कीले भने, ‘यसको प्रभावकारिता हेरेर नगरपालिकाभित्रका विद्यालयका अन्य तहका विद्यार्थीहरुलाई पनि भिडियो कन्फरेन्सबाटै पठन–पाठन अघि बढाउने तयारीमा छौं ।’

तीन दिने तालिमको मंगलवार समापन गर्दै नगर प्रमुख कृष्णहरि थापाले लकडाउनको अवधिमा घरमा रहेका सरकारी विद्यालयका सबै तहका विद्यार्थीहरुलाई अनलाईन प्रविधिबाट अध्यापन गराउने थप योजना ल्याउन आग्रह गर्दै नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । अर्का शिक्षिका गीता तिमल्सिनाले लकडाउन लम्बिदैं गएको खण्डमा अनलाईन प्रविधिबाट शैक्षिकशत्र प्रभावित नहुनेगरी पठन–पाठन गराउन सकिनेमा तालिमबाट आफू विश्वस्त बनेको बताइन् ।   

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप