बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भाडा माग्दै २० दिने सुत्केरीलाई कोठा छाड्न दवाव

मङ्गलबार, ०६ जेठ २०७७, १२ : २३
मङ्गलबार, ०६ जेठ २०७७

काठमाडौं । पोखराको सिमलचौरगंगा लिम्बुको परिवारमा दोस्रो सन्तानको आगमनसँगै खुशी छाएको थियो । सन्तान प्राप्तिको खुसी एकातिर थियो तर घरबेटीले घरभाडाको लागि दिएको तनाव पनि कम थिएन।  

 घरबेटी घरभाडामात्र मागेनन् निस्केर जान दवाव दिँदै उनको कोठाको पानी र ट्वाइलेटको ढोका पनि बन्द गरिदिए । लकडाउनको कारण निर्माणकार्य नहुँदा उनको श्रीमान दुईमहिना घरमानै थन्किएर बसे । यही समय घरबेटीको भाडा माग्दै कोठा छाड्न दिएको दवावले उनीहरुलाई निकै तनाव दियो । 

‘घरबेटीले ट्वाइलेटमा ताला लगाए ,धारामा पानी बन्द गरे । छिमेकीलाई हामीले आफ्नो दुख सुनायौँ । त्यसपछि त हामीलाई झन बढी तनाव हुन थाल्यो । भाडा तिर्नका लागि तारन्तार दवाव आउन थाल्यो । भर्खर जन्मिएको बच्चालाई कति स्याहारसुरार चाहिन्छ । झन यही बेला ट्वाइलेटमा ताला र पानी बन्द गर्दिए,’ आँखाभरी आँशु पार्दै लिम्बुले बताइन् ।

सामाजिक संजालमा युवराज खतिवडाले समस्यामा परेका तथा घरबेटीबाट पीडित बनेकाहरुलाई खाना बस्नको व्यवस्था गर्ने भन्ने थाह पाएपछि उनीहरु अहिले पर्स्याङ पुगेका छन् ।  २० दिनकी सुत्केरी उनी मंगलबार आश्रयका लागि पर्स्याङ पुगेकी हुन् । 

यसैगरी विष्णुमाया बिकले फागुनभरी बिरामी भएर काम गर्न सकिनन् । चैतमा दुई दिन काम गरिन् । तर त्यो दुईदिनको पैसाले कसरी जिन्दगी चलाउन सकिन्थ्यो र ?

 ‘राहत भनेर आठ केजी चामल,आधा लिटर तेल र एक पोका नुन आएको थियो । त्यतिले कति समय पुग्छ र ? एक महिना त यताउता गरेर चलाएँ । त्यहाँमाथि झन घरबेटीले दैनिक भाडाको लागि दवाव दिन थाले ।समाचारहरु युवराज सरले खर्च नभएर घरबाट निकाला गरिएकोलाई खाना बस्न दिने खवर पाएर यहाँ आएका हौँ । अव घरबेटीले फेरि अर्को बखेडा झिकेको छ । भाडा नभइकन सामान लैजान पाउँदैन भन्छन् । दुई महिनाको पचपन्न सय पैसा तिर्न छ । त्यो पनि युवराजसले तिर्दिने भन्नु भाको छ’ विकले बताइन् । 

उदयपुरबाट पोखरा सिद्धार्थचोकको एक कन्सल्टेन्सीको होस्टलको किचनमा काम गर्दै आएकी मनिषा स्नेहको पनि कामबाट निकाले पछि हालत उस्तै छ ।

 होस्टलमा नै बस्दै आएकी मनिषालाई अब सकिने भएन भनेर होस्टल छाड्न दवाव आयो । पोखरामा उनले चिनेजानेको मान्छे कम थिए । त्यसपछि उनलाई निकै समस्या भयो । सामाजिक संजालबाट सूचना थाह पाएपछि उनी पनि युवराजले स्थापना गरेको आश्रयस्थलमा बस्दै आएकी छिन् । 

युवा व्यवसायी युवराज खतिवडाले व्यवसायिक प्रायोजनको लागि बनाएको सय कोठालाई लकडाउन अवधिभर समस्यामा परेका परिवारलाई  राख्ने घोषणा गरेका छन् ।

 उनले काम गर्न चाहनेलाई काम पनि दिने र सिप नभएकाहरुको लागि आफैले खाना,बस्न र उपचारको व्यवस्था गरेको बताए ।

‘मानिसहरु कति क्रुर रहेछन् बल्ल थाह पाउँदैछु । घरवेटीले निकाली दिएपछि उनीहरुकै घर गएर कतिको भाडा पनि तिरिदिएर उनीहरुलाई उद्धार गरेर ल्याएर राखेको छु । अहिलेसम्म तीस परिवार आइसकेका छन् । हामीसँग सय परिवार राख्ने क्षमता छ । पोखरा वरिपरि कसैलाई घरबेटीले निकालेर बिचल्ली भएको छ  वा अन्यखालका समस्या भयो भने सम्पर्क गर्न सक्नु हुनेछ । यो बेला सक्नेहरुले नसक्नेहरुलाई सहयोग गरौँ । सहयोग गर्न सकिएन भने पनि दिनदुःखी मजदुरहरुलाई अपमानपूर्वक घरबाट निकाल्ने काम नगरौँ’ खतिवडाले बताए । 

लकडाउनको समयअवधि लम्विएसँगै घरबेटीले दवाव दिएका घटनाहरु धेरै आउन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप