विपत्तिले जन्माएका योद्धाहरुः संकटमा सधैँ अगाडि
भक्तपुर । जब–जब देशमा संकट आइपर्छ, तब–तब योद्धाहरुको आवश्यकता पर्दछ । राजनीतिक परिर्वतन होस् वा प्रकृतिक संकटको समयमा अग्रभागमा खटिने र नेतृत्व गर्नेहरुको खाँचो हुन्छ ।
वि.स २०७२ साल वैशाख १२ गते नेपाल र नेपालीको लागि त्यस्तै विपत्ति थियो । विनाशकारी भूकम्पको चपेटामा परेकाहरु भक्तपुर अस्पताल परिसरमा यत्रतत्र लडिरहेका थिए । भन्न मुस्किल थियो, को जिवित छ, को मृत्त ।
यस्तो दयनीय अवस्था देखेपछि स्थानीय युवा अरुण सैंजूले उनले घाइतेको उपचारमा लागेका स्वास्थ्यकर्मीहरुलाई साथ दिए । साथै, मृतकका शव व्यवस्थानमा लागे । कोलाहाल घडीमा शोकमा डुबेका उनकै आफन्तहरु भावविहोल थिए । तर, अरुण त्यो दिनदेखि एउटा योद्धा भएर जन्मिए । अहिले उनलाई साथ दिने अरु योद्धाहरु पनि छन् । आजभोलि जहाँ विपत्ति पर्छ, त्यहाँ उनको स्वयम्सेवी टोली पुग्छ ।
कोडिभ–१९ का महामारीबीच अहिले समुहका सैंजू, राजेश गाइँजू, न्हुज किजू र पुनम कर्माचार्य कोरोना भाइरसबाट आउने संकटका लागि तयार भएर बसेका छन् । हाल भक्तपुर अस्पतालमा आउने बिरामीको ज्वरो नाप्ने र थप उपचारको लागि चिकित्सकसम्म पुर्याउने कार्य गर्दै आइरेहका छन् । राति पनि अस्तपाल परिसर नजिकैको टेन्टमा बस्दै आएका छन् ।
आइतबार कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको शव व्यवस्थापनमा खटिएपछि समूहको चौतर्फी प्रशंसा भइरहेको छ । चुनौतिपूर्ण काममा फ्रन्टलाइनमा खटिएका अरुण र राजेश यतिबेला सूर्यविनायकस्थित नेपाली सेनाको वीरदल गणले व्यवस्थापन गरेको आइसोलेसन कक्षमा छन् ।
रातोपाटीसँग कुरा गर्दै अरुणले भने ‘आरएनए–१६ समुहमा हामी १ सय ८५ जना छौँ, अहिले विशेष कोरोनाको लागि भनेर हामी चार जना खटिएका छौं ।’
यो समुहका न्हुज किजू र पुनम कर्माचार्य भने यतिबेला भक्तपुर अस्पतालमा आएका बिरामीहरुको ज्वरो जाँच गर्ने र अन्य काममा सक्रिय छन् । उनीहरुले कोरोना भाइरसको संक्रमण फैलिएको वर्तमान अवस्था निजी सवारी साधानलाई ‘कोरोना विशेष’ बनाएर प्रयोग गरेका छन् ।
भूकम्प, बाढीदेखि कोरोनासम्म
२०४४ साल पुस १६ गते जन्मिएका अरुण पेशाले एक निजी विद्यालयको अनुसाशन शिक्षक हुन् । भक्तपुर नगरपालिका वडा नम्बर–३ घर भएका उनी घर नगएको पनि धेरै दिन भइसक्यो ।
संकटको घडिमा अग्रभागमा खटिने उनी आजभोलि फोनबाट नै परिवारसंग कुराकानी गर्दछन् । २०७२ सालको भुकम्पपछि सुरु भएको उनको स्वयम्सेवाको यात्रा बाढी, पहिरो, सवारी दुर्घटनासम्म पुगेको छ ।
गत साल बारा र पर्सा जिल्लामा आएको हावाहुरीमा समेत उनीलगायतको समुह पुगेको थियो । ‘हालसम्म झण्डै ६ सय मानिसको उद्धार, तेतिनै संख्यामा शव समेत व्यवस्थान गरेको छु,’ अरुणले भने ।
अनुभव र तालिम
उनीहरुको समुहका केहीले स्काउटबाट मानवीय सेवा र विपत्ति सम्बन्धी तालिम लिएका छन् । उनीहरुले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले दिने विपत व्यवस्थापन र मानविय उद्धारको तालिम समेत प्राप्त गरेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको माहामारीपछि नेपाली सेनाद्वारा प्रदान गरिएको शव व्यवस्थापन तालिम कै आधारमा कोरोनाबाट मृत्यु भएककी महिलाको शव लिन अरुण र राजेश त्यसमा खटिएका थिए ।
दर्जनौँको संख्यामा तालिम लिएको र विपतको समयमा काम गर्दा अनुभव बढेको उनीहरु बताउछन् । ‘धन्न अहिलेसम्म उद्धार, व्यवस्थापनमा लाग्दा आफू कुनै दुर्घटनामा परिएको छैन,’ अरुणले भने, ‘अनुभव र तालिमले धेरै कुरा सिकाएर होला ।’ उनको समुहले आफुले जानेका र सिकेका कुराहरु समुदाय, टोल, विद्यालय, उच्चमावि र क्याम्पसमा समेत ज्ञान बाढ्न सक्रिय छ ।
साथ सहयोग कस्तो छ ?
कोरोनाका लागि सक्रिय चार जना विभिन्न पेशामा आवद्ध छन् । तर, त्योसँगैपनि उनीहरु स्वयम्सेवी भूमिकामा सक्रिय छन् । उनीहरुलाई भक्तपुर जिल्ला प्रशासन, जुद्ध वारुण यन्त्र भक्तपुर, सेना, प्रहरी, शस्शत्र प्रहरीको साथ र सहयोग छ ।
त्यसैगरि भक्तपुरका सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुरथिमि नगरपालिकाले समेत तालिम र अनुभव वद्धि गर्ने कुरामा साथ दिएका छन् । अन्य समाजसेवी सांसदलगायतको समेत उनीहरुलाई सहयोग छ ।
समस्या ?
‘हामी उदयपुरको पनि भुल्के जाने तयारीमा थियौँ तर, सरकारी निकायबीच समन्वय नहुदाँ जान सकिएन,’ अरुणले दुःख व्यक्त गरे ।
‘कति कार्य हामीले चाहेर हुँदैन । त्यस्तो बेला दुःख लाग्छ,’ अरुणले भने ‘आगलागी, सडक दुर्घटना, बाढीजस्ता विपत्तिमा कहिलेकाहीँ स्थानीयहरुले नै साथ नदिदाँ दुःख लाग्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रिमियर लिग खेल्न आइपुगे वाल्टन
-
एमाले महासचिव पोखरेल र भियतनाम कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलबिच भेटवार्ता
-
धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना हुँदै
-
प्रधानमन्त्री ओली अभिव्यक्तिप्रति चिनियाँ राजदूतको असन्तुष्टि
-
सुदूरपश्चिम रोयल्स र सूर्य प्लाईबिच सम्झौता
-
राष्ट्रपतिलाई उपराष्ट्रपतिले धम्की दिएपछि...