केन्द्रीय संस्करण
अनुभव

सिड्नीको डार्लिङ्ग हार्बरमा क्वारेन्टाइन अनुभव

‘न म यो देशको नागरिक, न मेरा बा आमा यहाँका, तर सन्तानलाई जत्तिकै हेरविचार’

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

राति छिट्टै सुतेको थिए लामो यात्रा गरेकाले होला बिहान ढिलै उठे । ६ मे २०२० को बिहान ९ बजिसकेको थियो । उठे, हातमुख धोएँ अनि आफै कफी बनाएर अघिल्लो दिन किनेर राखेको बिस्कुटसँग खाएँ ।

दिउँसोको खाना कति बजे खान पाइने हो थाहा थिएन । के पर्छ भोक लागिहाल्यो भने अलिकति भए पनि आड हुन्छ भनेर अघिल्लो दिन बिस्कुट किनेको थिएँ । हुन त खासै बिहान धेरै खाने मान्छे त म होइन तर पनि दिउँसोको खानाको टुङ्गो नभएकाले खाएँ ।

तयार भएर एकछिन यताउता गर्दा गर्दै १० बजी सकेछ । अगाडीको यात्रा जुन धेरैले हिँडेका नै थिएनन् । नेपालबाट नेपाली कै उद्धार ! धेरैकुरा मनमा खेलिरह्यो । अनि निस्किए एउटा अविस्मरणीय यात्रामा । १०ः२० बजे अस्ट्रेलियन दूतावासको माइक्रो बस चढेर विमानस्थल पुगेँ ।

सधैँ भिडभाड देखिरहेको विमानस्थल, त्यो दिन शान्त थियो । एयरपोर्टका कर्मचारी र सुरक्षा अधिकारी हामीलाई नै कुरेर बसिरहेका जस्तो लाग्थ्यो । हाम्रो पासपोर्ट चेक भयो । कोको जाने भन्ने सबैको नाम पहिले नै तय भएकोले सूचीमा मेरो नाममा सुनिश्चित गरियो । अनि म एयरपोर्ट भित्र छिरेँ ।

मूल गेट छिर्ने बित्तिकै छेउमै मास्क लगाएर नेपालका लागि अस्टे«लियन राजदूत बसिरहेका रहेछन् । म उनी नजिक पुगेँ । उनले उठेर मलाई नमस्कार गरे, केहि बोलेनन् । मास्कभित्रैबाट उनी मुस्कुराएको उनको आँखाले बताइरहेको थियो । जवाफमा म पनि मुस्कुराए, नमस्कार गरेँ र एउटा सेल्फी लिँदै धन्यवाद भने । अनि नेपाल एयरलाइन्सको चेक–इन काउण्टरतिर अगाडी बढँे । काउण्टरबाट बोर्डिङ्ग पास लिए । त्यहीँ मेरो ज्वरो नापियो अनि इमिग्रेशनमा पासपोर्ट चेक गरेपछि मेरो प्रक्रिया सकियो र म अस्ट्रेलिया उड्नका लागि तयार भएँ । तोकिएको समयभन्दा सायद विमान १ घण्टा ढिलो उड्यो । आन्तरिक केहि कारण थियो होला ।

उडानका सबै चाजोपाजो सकिएपछि नेपाली समयअनुसार दिउँसोको २ः२० बजे नेपाल एयरलाइन्सको मकालु जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्यो र विस्तारै नेपाली आकाश छोड्यो ।

विमान मलेशियामा स्वीस सरकारले दिएको स्वस्थ्य सामाग्री लिन र इन्धन भर्नका लागि विमान करिब १ घण्टा ३० मिनेट रोकियो । ७ मे को बिहान अस्ट्रेलियाको समयअनुसार ७ बजेर ५४ मिनेटमा सिड्नी एयरपोर्टमा नेपाल एयरलाइन्स अवतरण भयो । यसअघि धेरै पटक अस्ट्रेलिया अनि नेपाल आवत जावत गरे पनि राष्ट्रिय ध्वजावहाक विमानबाट अवतरण गर्दाको अनुभव अर्कै थियो । 

हामीसँगै न्यूजिल्यान्डका नागरिक पनि भएकाले सवैभन्दा पहिला उनीहरुलाई झारियो, त्यसपछि अस्ट्रेलियन नागरिक अनि स्थायी बसोबास गर्ने हामीलाई ।

त्यहाँ पनि एयरपोर्ट सुनसान थियो । हरेक २०÷३० मीटरको दुरीमा प्रहरी सुरक्षाका लागि खटिएका देखिन्थे । सबैको अनुहारमा मन्द मुस्कान थियो । कसै कसैले भने ‘वेलकम टु होम’ भन्दै स्वागत गरिरहेका थिए ।

अस्ट्रेलिया छिर्नु भन्दा पहिले एउटा डिक्लिेरेशन फारम भर्नुपर्छ । अस्ट्रेलियाले बन्देज गरेको केहि सामान तथा औषधि ल्याएको छ भने खुलस्त पार्नुपर्छ । आफ्नो देशभित्र के के भित्रिदै छ सबैको लेखाजोखा राख्ने गरिन्छ र त्यसका लागि फारम भर्नुपर्ने हुन्छ ।

मसँग कलम थियो फारम भरेर अगाडी बढ्दा एउटा लाइन देखेँ । फारम हातमा लिएर आउनेहरुलाई लगभग १.५ मिटरको दुरीमा राखेर एकएक गरी स्वास्थ्य परिक्षण गरिँदै रहेछ । त्यहाँ प्रायः सबै स्वास्थ्यकर्मीहरु पीपीई गाउन लगाएर बसेका थिए । हामीलाई केहि सामान्य प्रश्नहरु सोधियो । ज्वरो छ कि छैन? खोकी छ कि छैन? अबका १४ दिन के–के कुरामा ध्यान दिनुपर्छ ? आदि ।

ब्रिफिङ गर्दैगर्दा याद गरे, सबै कति होसियारीपूर्वक काम गरिरहेका । डब्लुएचओको नियमअनुसार दुरी कायम गरी बसेका, मास्क, पन्जा, गाउन चस्मा लगाएर ।

अस्ट्रेलियामा स्थायी बसोबासको अनुमति लिएकाहरु त्यहाँका नागरिक होइनन्, तर उनीहरु माथि भेदभाव भएन र देखिएन पनि । कसैले किन ? कहाँ ? कसरी ? भनेर प्रश्न पनि गरेनन् ।

एयरपोर्टबाट निस्कने क्रममा बाहिर ठूलो संख्यामा पुलिस, आर्मी अनि स्वास्थ्यकमीहरुको उपस्थिती थियो । एयरपोर्ट बाहिर पाँचवटा बसहरु तयारी अवस्थामा थिए । मलाई अगाडीको बसमा जान आग्रह गरियो र म बसमा गएर बसे ।

बसमा छिर्दा तीनजना पहिले नै आएर बसिसकेका थिए । म बस चालकको पछाडि सिटमा गएर बसेँ । मेरो ठीक अगाडी एउटी अस्ट्रेलियन महिला बसेकी थिइन् । नजिकै भएकाले कुराकानी भयो । कुराकानीकै क्रममा थाहा पाए कि उनी त इम्मा स्टोन रहिछिन् । इम्मा यो यात्रा सम्भव पार्ने मध्येकी एउटी मुख्य पात्र हुन् भन्ने थाहा पाएपछि थ्याङक यू इम्मा भनेर एउटा सेल्फी लिइहाले । उनी पनि सायद आफ्नो देश फर्कन पाएर होला निकै खुशी देखिन्थिन् ।

मेरो मनमा पनि अनेक तर्कना चलिरहेको थियो १४ दिनको क्वारेन्टाइन बसाई कस्तो ठाउँमा हुने हो कसरी बस्ने भन्ने । हामीलाई सिड्नीको चर्चित होटल डार्लिङ्ग हार्बर लगिँदै रहेछ ।

म सिड्नी बसेको थिइनँ । त्यसैले पनि मलाई खासै सिड्नीका ठाउँहरु थाहा छैन । तर डार्लिङ्ग हार्बरको नाम भने खुवै सुनिरहेको थिएँ  । राम्रै ठाउँमा राख्ने भएछ भनेर खुसी भएँ ।

करिब आधा घण्टामा होटल पुगियो । हामीलाई होटल अगाडि एकछिन बसभित्रै बस्न आग्रह गरियो । अनि दुईजना बसभित्र छिरे र वेलकम होम भने । ती दुईजना मध्येका एकजना त्यही होटलका म्यानेजर रहेछन् । उनले होटलभित्र गरिएका बन्दोबस्तीका बारेमा विस्तृतमा जानकारी गराए । अनि हामीले कोठाबाट मगाउन सकिने सामान र कोठा भित्र १४ दिनको लागि पुग्ने अतिरिक्त सरसामानबारे पनि जानकारी दए । यति मात्रै होइन १४ दिन एक्लै बस्दा मानसिक रुपमा पर्न सक्ने असरलाई मध्येनजर गरी कोठाभित्रबाट हटाइएका सामानहरुको बारेमा पनि बताए । यो हाम्रै सुरक्षाका लागि थियो । म्यानेजरले मिठासपूर्वक हजुरहरुलाई यो १४ दिने बसाई कष्टकर नहोस् र त्यो अवधीमा कुनै समस्या परेमा वा अप्ठेरो परेमा मलाई सिधै फोन गर्नुहोला समाधानको हरसम्भव कोशिस गर्नेछु भन्ने बाचा गर्दै उनी विदा भए ।

त्यसपछि सिड्नीकै प्रहरी अधिकारीले सरकारको नयाँ स्वास्थ्यसम्वन्धि नीतिबारे जानकारी दिन थाले । उनले सरकारको नितीअनुसार विदेशबाट आएकाहरुलाई १४ दिने अनिवार्य क्वारेन्टाइन बसाइबारे स्पष्ट पारे । उनी निकै मिजासिला देखिन्थे । उनले या पनि भन्न भ्याए कि– तपाईंहरु कसैले पनि कोठाबाट बाहिर निस्कने प्रयास गर्नु भयो भने सरकारको अहिलेको नीति तोडेको ठहरिनेछ र त्यसैअनुसारको सजाय हुनेछ । त्यति भनेर उनी पनि बसबाट निस्किए ।

हामीहरुलाई एक पटकमा पाँच जनाको दरले बसबाट झारियो । होटलभित्र र बाहिर सुरक्षाकर्मीको बाक्लै उपस्थिति थियो । लाग्थ्यो हामीलाई स्कर्टिङ गरेर होटेरसम्म ल्याएर विशेष सुरक्षा घेराभित्र राखिँदै छ । हुन त बसबाट झरेर यात्रुहरु भाग्न सक्ने सम्भावना नरहोस् भनेर पनि यतिका सुरक्षाकर्मी खटाइएको हुन सक्छ ।

होटल छिर्दै गर्दा मलाई अलि अचम्म लाग्यो । होटलमा हामीलाई कोठाको बन्दोबस्ती गरिदिने होटलका कामदार थिएनन्, सुरक्षाकर्मीहरुनै थिए । एउटा लामो टेबलमा पाँचजना प्रहरी अनि पाँचवटा कम्प्यूटर थियो । सबैको नाम, ठेगाना, इमर्जेन्सी सम्पर्क, १४ दिने क्वारेन्टाइन सकिएपछि कोसँग कहाँ जाने सबै सूचना टिपोट गरिएपछि मलाई ७२९ नम्बर कोठा दिइयो ।

कोठा पाउनासाथै झोला बोकेर हिँड्न थालेको तर पाइएन । एक्लै हिँड्न नपाइने रहेछ । एकछिन कुरेपछि एकजना आर्मीले लिफ्टबाट सातौं तल्लामा पुर्याए । लिफ्ट बाहिर पनि सुरक्षाका लागि आर्मी नै थिए । आर्मीले नै कोठाको ढोकासम्म पुर्याए ।

कोठाभित्र छिर्नेवित्तिकै आफूलाई भाग्यमानी महसुस गरे कारण थियो म बस्ने कोठाबाट सिड्नीको डार्लिङ्ग हार्बर सर्लक्कै देखिँदो रहेछ । १४ दिन सजिलै कट्ने भो भन्ठाने । दङ्ग परे अनि मनमनै सोचेँ, ‘न त म यो देशको नागरिक, न त मेरो बाउ आमा यो देशको नागरिक तर पनि एउटा स्थायी बसोबासका लागि अनुमति पाएकै भरमा स–सम्मान उचित सुरक्षाका साथ यति सुविधासम्पन्न होटलमा बस्ने चाजोपाजो मिलाइएको ।’

हुन त मैले यहाँ कर तिरेको छु । कर तिरेकै आधारमा ममाथि सरकारले आफ्नो जिम्मेवारी अनि दायित्व निभायो । सायद हामी नेपालमा यहीनिर पो चुक्यौ कि ? एउटा कर तिर्ने नागरिक, देशलाई रेमिट्यान्स पठाउने आफ्नै नागरिक प्रति सरकारको दायित्व खै कहाँनिर छ ? हरेक नेपालीले प्रश्न गर्ने ठाउँ हो यो ।

(कोठाबाट देखिएको सिड्नीको डार्लिङ्ग हार्बर)

कोठामा रेड्क्रस अनि अस्ट्रेलियन सरकारकोतपÞर्mबाट क्वारेन्टाइनमा बस्नेका लागि सम्पूर्ण सूचनाका कागजातहरु थिए । एक्लै बस्दा पनि आफुमा कोरोनाको संक्रमण भएनभएको कसरी थाहा पाउने ? संक्रमण देखिएमा के गर्ने ? अनि आफूमा संक्रमण देखिएमा अरुलाई सर्नबाट कसरी जोगाउने भन्नेबारे सम्पूर्ण जानकारी थिए ।

यस्तो लाग्दै थियो कि एउटा आम मानिसले कल्पना गरेका कुराहरु सबै बुझेर नै बन्दोबस्ती गरिएको छ । र, यो बन्दोबस्ती सबैका लागि छ । एउटा बिदेशी नागरिकको लागि गरिएको खर्चको पछाडी यहाँको सरकारको निती दुरदर्शी छ । पक्के पनि आज कोरोनाको संक्रमण देशभित्र छिर्नबाट रोक्न सकेमा आफ्ना देशका नागरिकले ढुक्कसँग व्यापार व्यवसाय संचालन गर्नेछन् र जीवन छिटो भन्दा छिटो पून सुचारु हुनेछ भन्ने लक्ष्य हुनुपर्छ ।

पहिलो दिन भएकोले खाजा खाना आफूखुसी ओर्डर गर्न भने पाइएन । तर मे ९ पछिका दिनमा दिइने दिउँसो र रातिको खानामा भने छनौट गर्न पाइने रहेछ । हरेक दिनको मेनु फरक फरक ।

प्याकिङ गरेर आएको ब्रेकफास्ट

कोठामा बसेको दोस्रो दिनदेखि हरेक दिन १०÷११ बजे नर्सको फोन आउँछ । कस्तो छ, केही गाह्रो भएको छ कि छैन, कोभिड–१९को कुनै लक्षण छ कि छैन भनेर छोटो कुराकानी हुन्छ ।

१०औँ दिनमा मेरो मुख र नाकको स्वाब लगिएको छ । २४ घण्टामा नतिजा आउँछ, खबर गर्छौँ भनिएको छ ।

अस्ट्रेलिया आएपछि क्वारेन्टाइनमा बसेको आज ११आंै दिन । ११ दिन बस्दा अलि गोरो भएको महसुृस गरेको छु, दाह्री पनि बढेको छ तर म ठिक छु तन्दुरुस्त छु । अब बिस्तारै यो १४ दिने बसाई बिट मार्ने तयारीमा छु । आशा छ मेरो स्वाबबाट कोभिड–१९ नेगेटिभ देखिनेछ अनि म यहाँबाट मेलबर्नको यात्रामा निस्किनेछु । समय र परिस्थितीले साथ दिएमा त्यो यात्रा पनि अवश्य शेयर गर्नेछु ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.