शुक्रबार, २५ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तु रेड जोनमाः पाँच हजार क्वारेन्टिनमा

शनिबार, ०३ जेठ २०७७, १९ : ०५
शनिबार, ०३ जेठ २०७७

कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन्  । 

जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र वडा नं ११ थुन्हियाका २५ वर्षीय एक पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

गत वैशाख २५, २६ र २७ गते उनीहरु भारत लुकिछिपी नेपाल आएका थिए । पुष्टि भएका तीन जना शिवराज ३ सुपादेउराली क्वारेन्टिनबाट कोरोना अस्पाताल बेलझुन्डी दाङ लैजाने तयारी भइरहेको प्रजिअ पौडेलले बताए ।

 वैशाख २९ गते शिवराज नगरपालिकाको क्वारेन्टिनमा रहेका ६६ जनाको स्वाब संकलन गरिएको शिवराज स्वास्थ्य शाखा संयोजक चूडामणि भट्टराईले जानकारी दिए । शिवराज  ३ खरेन्द्रपुर सुपादेउराली क्वारेन्टिन र वडा नं  ९ प्रकाश माध्यमिक विद्यालय सुन्दरी डाड क्वारेन्टिनमा अहिले ३३८ जना छन् । 

नगरको वडा नं ८ विसनपुरका एक युवक गत वैशाख २५ र अर्को वैशाख २७ गते सिमानाबाट लुकेर आएको खबर पाउनेबित्तिकै गाउँको बगैँचाबाटै क्वारेन्टिन पठाइएको वडाध्यक्ष शंकर अहिरले बताए । संक्रमित दुवै युवा कसैको सम्पर्कमा नआई तत्काल क्वारेन्टिनमा गएको जनाइएको छ  । 

शिवराज ११ का संक्रमित युवक वैशाख २६ गते नेपाल आएपछि टोल बाहिरैबाट क्वारेन्टिनमा बस्न गएको वडाध्यक्ष रामेश्वर वर्माले जानकारी दिए । वडा नं ११ का अहिले १० जना क्वारेन्टिनमा रहेको बताइएको छ । 


नयाँ थप भएसंँगै जिल्ला कोरोना संक्रमणको हटस्पट बनेको छ । कपिलवस्तु जिल्लाका यशोधरा गाउँपालिकामा १२, कपिलवस्तु नगरपालिकामा नौ, कृष्णनगर नगरपालिकामा आठ, बुद्धभूमि नगरपालिका र  मायादेवी गाउँपालिकामा चारचार, वाणगंगा नगरपालिका र विजयनगर गाउँपालिकामा एकएक तथा शिवराजका तीन जनामा कोरोना संक्रमण भएको छ ।

 जिल्लामा चार सुरक्षाकर्मी, एक स्टाफ नर्स, दुई कर्मचारी र एक ६ वर्षीया बालिकामा संक्रमण भएको हो । कपिलवस्तु जिल्लाभरका क्वारेन्टिनमा हाल झण्डै पाँच हजार छन् ।

 क्वारेन्टिन बनाउने विषयमा विवाद 

 विजयनगर गाउँपालिका –५ महादेव गाउँमा क्वारेन्टिन निर्माणका विषयमा विवाद भएको छ ।  वडा कार्यालयले पुरानो स्वास्थ्य कार्यालयलाई क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका हुन् । 

विरोध गर्नेक्रममा प्रहरी र स्थानीयवासीबीच सामान्य झडपसमेत भएको छ । झडपका क्रममा स्थानीयवासी ४५ वर्षीय गुजराती कुर्मी र ३५ वर्षीया आमिना खातुन घाइते भएको स्थानीयवासी पवन चौधरीले जानकारी दिए ।

घाइते महिलालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको छ । घाइते दुवैको स्वास्थ्यावस्था सामान्य रहेको वडा नं ५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमानले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले क्वारेन्टिन बनाउने विषयमा सामान्य विवाद भएको बताए । पाँच नंका वडाध्यक्ष मुसलमान र वडा नं ७ का वडाध्यक्ष दिनेश चौधरीले क्वारेन्टिन बनाउने तयारी गरेपछि स्थानीयवासीले विरोध जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप