श्रद्धा सुमन कमरेड मदन भण्डारी !
मदन भण्डारीको राजनीतिक उदय त्यतिखेर भयो जतिखेर नेपाल निरङ्कुश राजतन्त्रबाट बहुदलीय प्रजातान्त्रिक र संवैधानिक राजतन्त्रात्मक व्यवस्थामा सङ्क्रमण हुँदै थियो भने सोभियत सङ्घ र पूर्वी युरोपमा ‘समाजवाद’को पतन भइरहेको थियो । यसर्थ दुई ध्रुवीय विश्व संरचनामा एउटा ध्रुव पछि धकेलिएको अवस्थामा थियो । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलिएको थियो ।
मुलुकभित्रको त्रि–शक्ति सन्तुलनको एउटा पक्षको हैसियतमा नेपाली कम्युनिस्ट आन्दोलनले लिने दिशा तरबारको धारमा हिँड्नु जत्तिकै जोखिमपूर्ण थियो । मुलुकमा स्थापित पुँजीवादी प्रजातन्त्रको यस स्वरूपलाई कसरी ग्रहण गर्ने र कस्तो कार्य दिशा लिने भनेर निर्णय लिनु रणनीतिक महत्त्वको काम थियो । यो सङ्गीन घडी थियो र यहाँ दुइटा उत्ताउला काम हुन सक्थे । मार्क्सवादी साहित्यमा भनिने गरिएका दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भडकाव ।
(यी दुइटैले ल्याउने त विसर्जन नै हो ।) मुलुकमा स्थापित पुँजीवादी प्रणालीलाई कसरी हेर्ने र ग्रहण गर्ने ?! सामाजिक क्रान्तिको सामाजिक मिसन बिर्सने र सत्ताको शान र सुविधामा हेलिने वा ‘निरन्तर क्रान्ति’को नाममा क्रान्तिकारी शब्दाडम्बरको फेरी लगाइरहने वा अर्को पनि विकल्प छ । हो, पुँजीवादी प्रजातन्त्रलाई धोखाधडीको रूपमा प्रयोग गरिँदै आएको छ तर के त्यतिकै भरमा यसलाई अस्वीकार गर्ने या त्यसलाई पनि मुक्तिको उपकरणको रूपमा ग्रहण गर्ने ? सुधारवादी सङ्घर्षको उपादेयतालाई जण्ड क्रान्तिकारीको नाममा अस्वीकार गर्नु जायज हुन्छ ?! मदन भण्डारीले बिना लप्पनछप्पन व्यावहारिक सोचको अगुवायी गरे ।
पुँजीवादी प्रजातन्त्रका ‘रूप पक्ष’लाई ‘क्रान्तिकारी सार’मा कलमी गरे । बहुदलीय प्रणाली, कानुनी शासन, मानव अधिकार, शक्तिको प्राथमिकीकरण जस्ता विषयलाई ‘क्रान्तिकारी जनसत्ता, मिश्रित अर्थतन्त्र र आधुनिक संस्कृति’ निर्माणमा सजाए । त्यसलाई उनले ‘जनताको बहुदलीय जनवाद’मा लिपिबद्ध गरे । तर त्यसपछि उनले त्यति मौकै पाएनन् । पार्टीका अर्का नेता जीवराज आश्रितसहित उनको रहस्यपूर्ण हत्या गरियो ।
त्यसपछिका झन्डै ३ दशक गुज्रेका छन् । मदनको अवसानपछि मदनले कोरेको लक्षमण रेखामा कम्युनिस्ट आन्दोलन टिक्न सकेन । यो दक्षिणपन्थी अवसरवादी विचलन र उग्र वामपन्थी भड्कावको तानातानमा पर्यो ।
दक्षिणपन्थी अवसरवादी विचलनले उग्र वामपन्थी भड्कावको निम्ति वारुद तयार गरिदियो भने उग्र वामपन्थी भाडकावले दक्षिणपन्थी अवसरवादी विचलनलाई खोर बाख्री खोर गर्यो । मदन भण्डारीलाई उनका आलोचकले भन्दा पनि उनका खाँटी अनुयायी हुँ भन्नेहरुले आफ्नो विचलनलाई छोपछाप पार्न विकृत रूपमा प्रस्तुत गरे । देख्नलाई तिनको ‘देवपुजन’ त देखिन्छ तर ‘उनको आत्मा’ कहिले पोलेर खाए, खाए !
यो त्यति बेलैदेखि सुरु भयो जब तिनले उनको ‘बहुदलीय जनवाद’को ‘रुप पक्ष’लाई सिद्धान्तको सार र सास्वत पक्ष भनेर भाष्य बाढ्न थाले । अर्को दुखद् पक्ष यस बीचमा उग्रवामपन्थी भड्कावले पनि सम्यक पाठ सिक्न सकेन । सुखद् कुरा, यस आन्दोलनका दुई ठूला धार एकीकृत भएर मूलधार बनेका छन् । यो अहिले सत्तासीन शक्ति त छँदै छ तर आफैभित्र भने उद्विग्न र उद्वेलित पनि छ । सम्यक ‘प्रज्ञा’ र सम्यक ‘साधना’को निम्ति पनि । त्यसको निम्ति सामूहिक नेतृत्व र संस्थागत विधिको ‘धर्म’ अनुसरण गर्नु मात्रै उत्तम उपाय हो । मदन भण्डारीको स्मृति यसर्थ पनि विशेष अर्थ राख्छ ।
श्रद्धा सुमन कमरेड मदन भण्डारी !
(लेखक नेकपाका केन्द्रीय सदस्य हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन