६६ दिनअघि मलेसियाबाट आएका थिए सिरहाका कोरोना संक्रमित
शनिबार, ०३ जेठ २०७७, १२ : ५९

सिरहा । सिरहामा पनि एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका वडा १ मौवाहीका ३० वर्षीय युवकमा कोभिट १९ पोजेटिभ पुष्टि भएको हो ।
उनी ६६ दिन अघि अर्थात ०७६ फागुन २८ गते नै मलेसियाबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।
उनी मलेसियाबाट आएर १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए ।
६६ दिनअघि विदेशबाट आएका उनलाई अहिले कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन । अहिले उनको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताइएको छ ।
सिरहामा पहिलो पटक कोरोना संक्रमित पुष्टि भएसँगै यहाँ थप सतर्कता अपनाइको छ ।
ती युवकलाई पोजेटिभ भेटिएसँगै गाउँलाई नै शिल गर्ने तयारी भइरहेको छ ।