अभिनेता शिव श्रेष्ठको जीवन : सास रहेसम्म चलचित्र खेल्छु
शिव श्रेष्ठ एक समयका चर्चित अभिनेता हुन् । उनले नेपाली चलचित्र क्षेत्रमा जीवन रेखा, ठुल्दाइ, चिनो, ट्रक ड्राइभर, धर्म संकटलगायत थुप्रै हिट फिल्म दिएका छन् । ४० वर्ष नेपाली चलचित्र अभिनयमा बिताएका श्रेष्ठले स्वदेशको अलवा बङ्गलादेश, पाकिस्तान, श्रीलंका र जापानका गरेर डेढ सयभन्दा बढी चलचित्र अभिनय गरेका छन् । सबै देशको चलचित्रमा आफूले प्रायः एक्सन भूमिका नै निर्वाह गरेको उनी बताउँछन् ।
श्रेष्ठको अहिलेसम्मको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ हो । प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनले २ सय वर्ष अगाडिको मनाङका एक राजाको भूमिका निर्वाह गरेका छन् ।
जीवनको अन्तिम क्षणसमेत कलाकारितामा समर्पित गर्ने सोचका श्रेष्ठको जीवनका विभिन्न पाटा आज रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा खोतल्ने प्रयास गरिएको छ :
मेरो खाना
साधारण नेपाली दालभात तरकारी नै मेरो मनपर्ने खाना हो । मन नपर्ने खाना त्यस्तो केही छैन । जे पनि मीठो लाग्छ । रेस्टुरेन्ट थोरै जाने मध्येमा म पनि पर्दछु । रेस्टुरेन्टको भन्दा मलाई घरकै खाना, खाजा बढी मनपर्छ ।
पकाउन पनि रुचि छ । सानैदेखि पकाउन भनेपछि निकै खुसी हुन्थे । दालभात तरकारी, माछा मासु सबै प्रकारका परिकार म मीठो पकाउन सक्छु ।
मेरो फिट्नेस
फिट्नेसमा विशेष लगाव रहने गरेको छ । योगा, जगिङ, एक्सरसाइज सबै दैनिक गर्छु । म हरेक दिन बिहान ४ बजे उठ्छु । मेरो बिहानको समय पूरै फिट्नेसका लागि एक्सरसाइज गर्दैमा बित्छ ।
मेरो पोसाक
राष्ट्रिय पोसाक दौरासुरुवाल मनपर्ने पोसाक हो । पहिले र अहिले पनि । विशेष अवसरमा यो पहिरन नै प्रयोग गर्छु । क्याजुअल पहिरन पनि धेरै मनपर्छ । जिन्स पाइट, टिसर्ट, सर्ट पाइन्ट धेरै प्रयोग गर्छु ।
बारअनुसार पहिरन लगाउने मध्येको म पनि एक हुँ । ७ बारमा ७ थरीका पोसाक लगाउँछु । हामी भगवान मान्छौँ । दिनअनुसार भगवान पनि फरक फरक हुन्छन् । त्यसैले सबै भगवान मान्न म हरेक दिन फरक पोसाक लगाउँछु ।
धेरै पहिरन म रेडिमेट किन्छु । त्यसमा पनि ब्रान्डेड हेर्छु । हामी कलाकार विभिन्न महत्वपूर्ण कार्यक्रममा सहभागी भैरहनुपर्ने भएकाले ब्रान्डेट पहिरनमा विश्वास लाग्छ । मेरो वार्षिक पहिरन खर्च २५, ३० हजार छ ।
मेरो अध्ययन
अध्ययन रुचिको विषय पनि हो । तर पछिल्लो समय त्यति पढ्ने गरेको छैन । अहिले पत्रपत्रिका, अनलाइन मात्र अध्ययन गर्छु ।
इतिहास, व्यक्तिगत जीवनी, आत्मकथा, चर्चित घटनाहरु र सफल व्यक्तिको चिनारी, संघर्ष समेटिका पुस्तक अध्ययन गर्न मनपर्ने पुस्तक हो ।
मेरो फुर्सद
लकडाउनले गर्दा अहिले फुर्सद नै फुर्सद छ । अन्य समय सुटिङ, सामाजिक काम लगायतले त्यति फुर्सद हुँदैन । पहिले पहिले फिल्मको सुटिङ २४ घण्टा पनि गरे । अहिले त्यसरी गर्नु पर्दैन । फुर्सद पनि हुन्छ ।
फुर्सदको समय घरमा आफन्तसँग बिताउने, उनीहरुको काम सघाउने, संजय साई बाबाको भजन गाउने लगायतमा बिताउने गरेको छु ।
मेरो खेलकुद
म स्पोर्टस् म्यान पनि हुँ । स्पोर्टसमा पनि अलराउन्डर । सबै खेल खेल्छु । भलिबल, फुटबललगायत खेल पहिले धेरै खेल्थेँ । कुस्तीमा राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेको छु । विराटनगरमा हुँदा एक पटक त गोरखपुरको पहलमानसँग पनि कुस्ती भिडेको थिएँ । काठमाडौँको आरसीटी क्लबबाट फुटबल समेत खेल्थेँ ।
अहिले पनि खेलकुद खेल्न मन लाग्छ तर खेल्न पाएको छैन । अहिले फुटबल, कुस्ती र क्रिकेट टिभीमा बढी हेर्छु ।
मेरो मोबाइल
मसँग सामसुङ ब्रान्डको जे सेभेन मोबाइल छ । फोन गर्ने, उठाउने, फेसबुकमा साथीभाइ, आफन्तको जन्मदिन बीस गर्ने, ट्विटर, म्यासेन्जर, इमेललगायत चलाउन मोबाइल प्रयोग हुन्छ । कतिपय मानिस मोबाइलमै झुन्डिन्छन् । तर म भने मोबाइलको किरो होइन । आवश्यक परेमा मात्र चलाउँछु ।
मेरो टिभी
टिभी बिहान बेलुका हेर्छु । टिभीमा बढी हेर्ने समाचार नै हो । त्यसपछि खेलकुद हेर्छु । खेलकुदमा पनि फुटबल, कुस्ती बढी हेर्ने गरेको छु ।
मेरो चलचित्र
मेरो पेसा पनि चलचित्र हो । चलचित्र हेर्न रुचि छ । चलचित्र हलमै गएर हर्छु । पहिले पहिले त जुनै पनि चलचित्र पहिलो दिन, पहिलो सो हेर्थें । अहिले पनि धेरैजसो फिल्म पहिलो दिनमै हेर्छु ।
टिभीमा, युट्युबमा पनि चलचित्र हेर्छु । नेपाली, हिन्दी सबै प्रकारका फिल्म हेर्न मनपर्छ । पछिल्लो समय हेरेको फिल्म बलिउडको ‘वार’ हो ।
मेरो दुःख
कलाकारितामा हामीले पहिले धेरै दुःख गर्यौँ । अहिले त दुःख छैन । हामी कलाकारहरु अहिले पनि अभिनय सिक्दैछौँ । त्यसैले दुःख केही छैन । यो क्षेत्रमा दुःख मान्यो भने कुनै पनि काम हुँदैन । आफूले गरेको मिहिनेत अनुसारको फल भने कलाकारिताबाट पाउन सकिएको छैन । त्यो सायद दुःख होला ।
मेरो पेसा
मेरो पेसा कलाकारिता हो । यही क्षेत्रमा ४० वर्ष बितिसक्यो । मेरो अभिनयमा डेब्यु फिल्म ‘जीवन रेखा’ हो । त्यस अगाडि रमेश बुढाथोकीको नाटक ‘दुई लास एक चिहान’ अभिनय गरेको थिए ।
अभिनय यात्रामा अहिलेसम्म करिब डेढ सय चलचित्र अभिनय गरे होला । बंगलादेश, पाकिस्तान, श्रीलंका, जापानलगायत केही देशको चलचित्रमा समेत काम गरिसकेको छु । सबै देशको चलचित्रमा मेरो प्रायः एक्सन भूमिका नै रहेको थियो ।
नेपालमा भने मलाई एक्सन स्टार भन्छन् । मेरो धेरै चर्चित चलचित्र ‘जीवन रेखा’, ‘चिनो’, ‘ठुल्दाइ’, ‘मनकामना’ लगायत हुन् । पछिल्लो समय अभिनय गरेको चलचित्र ‘प्रेम गीत ३’ हो ।
अहिलेसम्म चलचित्र अभिनयमा नै मैले इन्जोय गरिरहेको छु । सास रहेसम्म चलचित्र खेल्छु । केही मानिसले मलाई तपाईं अभिनयबाट कहिले रिटायर हुने भनेर समेत सोध्नु हुन्छ । ‘जुन दिन सास जान्छ त्यो दिन म अभिनयबाट अटोमेटिक रिटायर हुन्छ’ उनीहरुलाई मैले दिने जवाफ हो यो ।
मेरो गीतसङ्गीत
गीतसङ्गीत धेरै मनपर्छ, सुन्छु । गीतसङ्गीतको अलराउन्डर हो म । सबै प्रकारका गीत सङ्गीत सुन्न मनपर्छ । टिभी, युट्युब, रेडियो, मोबाइल लगायत सबै माध्यमबाट गीत सुन्ने, हेर्ने गर्दछु । मन परेका गीत धेरै पटक समेत सुन्छु ।
मेरो प्रेम
मैले प्रेम विवाह गरेको १९ वर्ष भयो । फिल्म ‘मालती’को सुटिङको सिलसिलमा एक पटक नारायणघाट गएको थिए । त्यही उनीसँग पहिलो भेट भयो । सुटिङ फागुनमा थियो ।
सुटिङ सकेर फर्किएपछि वैशाखमा गएर उनीसँग विवाह गरे । दुवै जनाको परिवारको सहमतीमा विवाह गरेका थियौँ ।
मेरो सपना
धेरै पहिलेदेखि कला क्षेत्रमा छु । यसमै जीवन बितिसक्यो । नयाँ र राम्रा फिल्म अभिनय गरिरहन पाऊँ जीवनको अन्तिम क्षणसम्म पनि । दर्शकको माया सधैँ रहन पाउँ । चलचित्र क्षेत्र समृद्ध होस् । दर्शकको चाहना अनुसारको फिल्म दिनसकौँ । यही हो मेरो सपना ।
मेरो मापसे
धूमपान र मापसे म कहिल्यै गर्दिनँ । म नेवारको छोरा हुँ । टेस्ट थाहा छैन भन्न मिल्दैन । तर मापसे गर्न मन पर्दैन । घरमा रक्सी सजाएर राखेको छैन ।
मेरो भुल
जीवनमा भुल धेरै भयो होला । भुल नगर्ने सायदै मानिस होलान् । मेरो विचारमा एक भुल भयो भनेर जान्दा जान्दै दोहोर्याउनु भएन । हामीले भुलबाट सिक्ने हो । आफूबाट भएको भुल सुधार्दै गएकाले अहिलेसम्म भुलबाट पछुतो केही छैन ।
मेरो रोग
भगवानको कृपाले त्यस्तो ठूलो रोग केही छैन । केही समय यति थोरै सुगर देखापारेको छ । नियमित औषधि सेवनले नियन्त्रणमा छ । म मीठो मानिस भएकाले पनि सुगर भएको होला । सुगरले पनि राम्रो गरेको छ । किनभने समय समयमा शरीरको चेकअप भइरहेको छ ।
मेरो राशि
मेरो राशि धनु हो । ग्रहदशामा विश्वास लाग्छ । भगवान प्रति मेरो निकै आस्था रहने गरेको छ । मनको सन्तुष्टिका लागि हेराउने, देखाउने सबै गर्छु । हेराउँदा नराम्रो छ भने राम्रो गर्ने कोसिस गर्छु । राम्रो छ भन्यो भने झन् राम्रो गर्ने कोसिस सधैं रहन्छ ।
मेरो मृत्यु
मृत्यु सत्य हो । जन्मिएपछि एक दिन मर्नैपर्छ । मृत्युसँग डर छैन । मर्नु अगाडि केही गर्नुपर्छ भन्ने मेरो धारणा हो । सबैलाई म यही भन्छु मरेपछि पनि सम्झने कर्म गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको फैसलापछि गण्डकीका सभामुखले भने– कानुन व्यवसायीसँग परामर्श गर्छु
-
गण्डकी प्रदेशका सांसद मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर
-
समीक्षाले लिएर आइन् मनछुने गीत ‘मुटु रेटियो’
-
सिकलसेल उपचारका लागि भेरी अस्पतालमा बेग्लै वार्ड स्थापना हुने
-
राजस्व सङ्कलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन
-
राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’मा प्रयोग गर्ने बाटो खुल्यो