शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समाजवादी सोचका कृषि मन्त्रीको नीति : नयाँ बोतलमा पुरानै रक्सी

शुक्रबार, ०२ जेठ २०७७, २२ : २४
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौं । २०७७/०७८ को नीति तथा कार्यक्रम विगतभन्दा पश्चगामी भएको कृषि अभियन्ताहरुले आरोप लगाएका छन् । पहिलाको ठिक थियो भन्ने होइन तर विगतको भन्दा पनि यो नीति तथा कार्यक्रम गए गुज्रेको रहेको टिप्पणी गर्दै अर्गानिक कृषिका अभियन्ता डा.कृष्ण पौडेलले ७० वर्षको इतिहासमा यो दुर्भाग्यपूर्ण नीति तथा कार्यक्रम रहेको टिप्पणी गरेका छन् । 

सरकारले कृषिमा विचौलियालाई निरुत्साहित गर्ने नीति ल्याउने प्रतिवद्धता जनाएको थियो तर अहिलेको आएको नीति तथा कार्यक्रमले विचौलियालाई पोस्ने काम मात्र हुन्छ, असल किसानको हितमा कुनै कार्यक्रम नै नरहेको उनको दावी छ ।

किसानलाई अनुदान दिने कुरा एकलाइन राखेको छ तर कसरी दिने कुन आधारमा दिने प्रष्ट छैन, उनले भने, कृषि मन्त्री घनश्याम भुसालले खुट्टा टेक्ने ठाउँसमेत राख्नु भएको छैन ।’

'कृषि मन्त्री भुसाल समाजवादी दृष्टिकोणका हुनुहुन्छ, त्यही अनुसारका कार्यक्रम आउँला भनि हामीले आशा गरेका थियौं तर नयाँ बोतलमा पुरानै रक्सी' जस्तो भएको टिप्पणी राष्ट्रिय कृषक समुह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीले गरेका छन् ।

उनले अर्गानिक कृषि तथा प्रगांरिक मलको प्रवद्र्धन गर्ने भनि सरकारले प्रतिवद्धता जनाएको थियो तर अहिले त्यसमा मौन रहेको दावी गरे । अर्गानिक खेतीलाई प्रवद्र्धन गर्ने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरेपनि प्रागंरिक मलको विषयमा केही पनि नबोलेको उनले दावी गरे । 

अर्गानिक खेतीका लागि प्रगांरिक मल चाहिन्छ, त्यसका लागि सरकारले ठोस रुपमा नीति बनाउनुपर्छ तर उल्टै रसायनिक मलमा अनुदान दिने कुरा गरेर कृषिलाई त्यही परम्परा शैलीमा सञ्चालन गर्न खोजेको टिप्पणी गरे ।

'किसानलाई पेन्सन तथा वर्गिकरणको कुरा वर्षौदेखि उठि राखेको छ तर सरकारले अहिलेको नीति तथा कार्यक्रममा त्यस्तो केही भनेको छैन,' उनले भने, 'देशमा असल कृषक को हो भनि वर्गिकरण नगरेसम्म समग्र कृषिको विकास गर्न सकिदैन र त्यसमा सरकार चुकेको छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप