शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतमा कार्यरत नेपालीको आक्रोश : भोट र नोट चल्ने तर अप्ठ्यारोमा चुइक्क पनि नबोल्ने ?

शुक्रबार, ०२ जेठ २०७७, १३ : १७
शुक्रबार, ०२ जेठ २०७७

 युएई । कुवेतमा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरेर बसेका नेपालीहरु बिचल्लीमा परेका छन्।

कुवेत सरकारको सरकारी आश्रयस्थल (क्वारेन्टाइन)मा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरेर बसेका ती नेपाली कामदारहरु बिरामी पर्न थालेपछि समस्यामा परेका हुन्।

कुवेत सरकारले गत अप्रिल २६ देखि ३० सम्म गैरकानुनी रुपमा बस्दै आएका नेपाली कामदारहरुलाई आममाफी दिने निर्णय गरे लगत्तै दुई हप्ता पहिल्यै नै उनीहरू घर फर्किन ‘लगेज’ बोकेरै कुवेत सरकारले तोकेको आश्रयस्थल (क्वारेन्टाइन)मा पुगेका थिए।

कुवेतका आश्रयस्थलमा बच्चासहितका नेपाली महिलाहरू पनि पुगेका थिए। ती मध्य  एक महिला महिना दिन पनि नपुगेको शिशु च्यापेर आश्रयस्थल पुगेकी थिइन्।

क्याम्पभित्रको व्यवस्थापनबारे नबोल्न भनिए पनि बिरामी हुनेक्रम बढ्दै गएपछि ती महिलाहरूले सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।

अबको दुई हप्तामा नेपाल नफर्काए कुवेतको क्वारेन्टाइनमै मर्नुपर्ने अवस्था आउने बताउँदै, उनीहरुले सरकारले छिटो उद्धारका गरि नेपाल फर्काउन आग्रह गरेका छन्।

'केही दिनमै नेपाल लैजाने भनेर कागजपत्र बनाइदिएका नेपाली दूतावासका अधिकारीहरू अहिले फोन उठाउँदैन्,हामीलाई दूतावासका कोही पनि हेर्न आउँदैनन्।धेरै नेपाली दिदीबहिनिहरु बिरामी भएका छन्। ज्वरो आउँदा सिटामोल पाएका छैनौं, न त अहिलेसम्म स्वास्थ्य परीक्षण गरिएको छ।चिसो भुइँमा सुत्छौं।खानलाई समस्या छ', पीडित मध्येकी एक महिलाले भनिन् ।  एकै ठाउँमा धेरै भएकोले शौचालय निकै असुरक्षित रुपमा प्रयोग गर्नुपरेको उनीहरूको गुनासो छ ।

'यहाँ उमेर ढल्किन लागिसकेका आमाहरू पनि हुनुहुन्छ, यो हुलमा एक जनालाई कोरोना लाग्यो भने हामी सबै संक्रमित हुन्छौं। हामी यतै मर्यौं भने हाम्रो कसले जिम्मेवारी लिने? उनीहरुले सार्वजनिक गरेकाे भिडियोमा भनिएकाे छ, 'अरु सबै देशले आफ्ना नागरिकहरुलाई लगिसक्यो, हाम्रो मन रुन्छ,आखाँबाट आसु झर्छ,हाम्रो सरकार खै? हाम्रो भोट र नोट चल्ने तर अप्ठ्यारोमा परेको बेलामा चुइक्क पनि नबोल्ने ? कि हामीहरुलाई नेपाली नागरिक नै होइन भन्नु पर्यो।नभए यसरी बेवास्ता गर्न मिल्दैन ।'

गरिवीले गर्दा आफ्ना छोराछोरी अनपढ नहोऊन्, दुई चार अक्षर सिक्न पाऊन् भनेर यहाँ आयौं, दुःख पर्दा सरकारले नहेरे कसले हेर्छ ?’ आफूहरु बाध्यतका कारण बिदेशिनु परेको भन्दै उनीहरूले परिवारसँग भेट्ने वातावरण छिटो मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

कुवेत सरकारले गैरकानुनी रुपमा बसेका आप्रवासीहरुको हकमा गत महिना दिएको आममाफी अन्तर्गत तीन हजार ५ सय गैरकानुनी रुपमा कार्यरत नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि गत दुई हप्ता पहिले देखि सरकारी आश्रय स्थलमा राखेको थियो। 

नेपालीका लागि गत अप्रिल २६ देखि ३० सम्मको समय तोकिदिएको थियो ।उनीहरु सरकारले दिएको समयमा तोकिएको केन्द्रमा लगेजसहित आवेदन दिन पुगेका थिए।गत फेबु्रअरी २९ सम्म भिसाको म्याद समाप्त भएका कामदार आममाफी प्रक्रियामा सहभागी भएका थिए । 

राहदानी नभएका ३ हजार भन्दा बढी नेपाली नागरिकहरुलाई नेपाली दूतावास कुवेतले ट्राभल डकुमेन्ट जारी गरेको थियो भने ५ सय राहदानी भएका नेपालीहरु सिधै आश्रयस्थल गएका थिए।

नेपालले उडान अनुमति प्रदान गर्नासाथ कुवेतले आफ्नै खर्चमा चार्टर विमानमार्फत उनीहरुलाई नेपाल पठाउने दूतावासले जनाएको छ। कुवेतमा गत मे ३ सम्म ८४ नेपाली कोरोना संक्रमित भेटिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप