शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनबारे सरकारको ढुलमुले नीति : ‘संक्रमित संख्या बढ्दै, जेठ असारमा अझै खतरा’

शुक्रबार, ०२ जेठ २०७७, १२ : ३२
शुक्रबार, ०२ जेठ २०७७

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनता समाजवादी दलका नेतासमेत रहेका सांसद लक्ष्मणलाल कर्णले सरकारले लडकडाउन व्यवस्थापन गर्न नसकेको भन्दै आलोचना गरे । सरकारले एक दिनअघि अब उद्योग कलकारखाना खोल्ने निर्णय गर्ने, भोलिपल्ट सबै खुल्ने र अर्को दिन आएर जारी गरेको पास पनि नचल्ने भनेर कडा निर्देशन दिने । उनले भोलि के हुन सक्छ भनेर पूर्वअनुमान समेत गर्न नसक्ने के सरकार भाँडाकुटी खेल हो भन्दै प्रश्न गरेका थिए ।

सांसद कर्णले भनेझैँ सरकारले लकडाउन जारी गरेको ५० दिनपछि ठूलो मात्रामा कोरोना सङ्क्रमित भेटिन थालेका छन् । सरकारले हालसम्म २१ हजार ३ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको, ६० हजार ३ सय १९ जनाको आरडीटी परीक्षण गरिएको जनाएको छ ।

पीसीआर विधिबाट गरिएको जाँचका क्रममा हालसम्म २ सय ४६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जसमध्ये ३५ जना निको भएर घर फर्किएका समेत छन् । यस्तै १४ हजार ३ सय १३ जना क्वारेन्टाइनमा छन् भने २ सय ४५ जना आइसोलेसनमा राखिएका छन् ।

पछिल्लो समय कोरोनाबाट नर्स, सुरक्षाकर्मी, सञ्चारकर्मी समेत सङ्क्रमित भएका छन् ।

खुला सिमाना र कमजोर सुरक्षा 

गत सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा समिति सभापति पवित्रा निरौला खरेलले सीमामा रहेका सुरक्षाकर्मीको उचित व्यवस्थापन नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी थिइन् । नेपाल–भारत खुला सिमानाका कारण पनि भारतबाट नेपाल प्रवेश गर्न सजिलो छ । भारतमा सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्ने हुन्छ ।

सीमा क्षेत्रमा हुने अवाञ्छित क्रियाकलाप रोक्नका लागि सरकारले सशस्त्र प्रहरी बल परिचलान गरेको छ । क्रियाशील सुरक्षाकर्मीका लागि अहिलेको अवस्थामा बढीभन्दा सुरक्षाकर्मी परिचालन गर्नुपर्ने अवस्था पनि छ । अहिले २२ हजारभन्दा बढी सुरक्षाकर्मी सीमा नाकाका पोस्टहरुमा परिचालन गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं डीआईजी प्रवीनकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘सीमा नाकामा अहिले १२ सय ४८ वटा अस्थायी पोस्टहरु सिर्जना गरेका छौँ । यसका अलवा त्यहाँ हाम्रो १ सय २० वटा बीओपी रहेको छ । भन्सार, गुल्महरु पनि रहेको छ । अन्तर्राष्ट्रिय सीमामा आवत जावत रोक्न त्यहाँका पोस्टहरु अहोरात्र खटिइरहेका छन् ।’

आफ्ना सम्पूर्ण सुरक्षा ब्यारेकहरुमा शङ्कास्पद सङ्क्रमितलाई राख्नका लागि क्वारेन्टाइनको व्यवस्था गरेको प्रवक्ता श्रेष्ठले बताए ।

पहिलेको तुलनामा भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेको सङ्ख्या कम हुँदै गइरहेको उनको दावी छ ।

उनले भने– ‘सीमा क्षेत्रमा शङ्कास्पद गतिविधि भएको थाहा पाएपछि बिहान दिउँसो राति हामी खटिइरहेका हुन्छौँ । सीमा क्षेत्रबाट लुकीछिपी कोही आएको रहेछ भने पहिलो चरणमा सकभर हामीले नै नियन्त्रणमा लिने हो । हाम्रो आँखा छलेर आएको छ भने स्थानीय अन्य अङ्गहरु, सङ्घ संस्थाहरु, युवा समुदायहरुबाट जानकारी लिएर सम्बन्धित निकायहरुसँग समन्वय गरेर क्वारेन्टाइनमा राखिरहेका छौँ ।’

प्रहरीले नेताको आदेश मान्दा समस्या : रमेश खरेल

सुरक्षाकर्मीले प्रभावकारी रूपमा लकडाउन कार्यान्वयन गर्न नसकेको प्रहरीका पूर्वडीआईजी रमेश खरेल बताउँछन् । अर्कोतिर फ्रन्ट लाइनमा काम गर्ने सुरक्षाकर्मीलाई सरकारले आवश्यक सामग्रीको प्रवन्ध नगरेको उनको भनाइ छ ।

उनले भने– ‘लकडाउनमा सुरक्षाकर्मीले निर्देशन अनुसार कडाइका साथ काम गरिरहेको मलाई लाग्दैन । कसैको के आदेश आउँछ होला । यहाँ अहिले निर्देशन, नीति, नियममा भन्दा पनि आदेशमा चल्ने भइरहेको छ । निर्देशन नीति एक ठाउँमा हुन्छ कतै माथिबाट राजनीतिज्ञबाट आदेश आयो वा हाकिमबाट आदेश आयो भने त्यसलाई नै प्राथमिकता दिन्छ, त्यहीअनुसार काम गरेको देखिन्छ ।’

फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री दिनुपर्नेमा उनको भनाइ छ ।

उनले भने– ‘अहिले सुरक्षाकर्मीहरु कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि खटिइरहेका छन् । दुर्भाग्य के छ भने सुरक्षाकर्मीका लागि चाहिने आवश्यक सामग्री केही पनि दिइएको छैन । मास्क नलगाई, पञ्जा नलगाई आफ्नो जिम्मेवारी पूरा गरिरहेका छन् । दिनुपर्ने निकायहरुले उनीहरुलाई केही दिएको छैन । फिल्डमा खट्दाखेरी आवश्यक पर्ने सामग्री उसलाई दिनुप¥यो ।’

सरकारले लकडाउमा सडक प्रयोग गर्नका लागि अत्यावश्यक काममा रहेकाहरुलाई पासको व्यवस्था गरेको थियो । तर पहुँचवालाले पासको दुरुपयोग गर्दै यात्रा गर्ने, मान्छे ओसार पसार गर्ने गरेका कारण पनि सङ्क्रमण फैलिएको देखिएको छ । काठमाडौँको चन्द्रागिरी तथा भक्तपुरमा हालै भेटिएका सङ्क्रमित काठमाडौँ बाहिरका जिल्लामा पुगेर फर्किका थिए ।

२ वटा केस हुँदैमा लकडाउन जरुरी थिएन : डा पाण्डे

जनस्वास्थ्यविद् एवं कोरोना सङ्क्रमणको अवस्थालाई नजिकबाट नियाल्दै आएका डा. रवीन्द्र पाण्डे सरकारको लकडाउन नीति ठीक नभएको बताउँछन् । सङ्क्रमितको सङ्ख्या २ पुग्नेवित्तिकै कडा लकडाउन गर्ने र सङ्क्रमितको सङ्ख्या बढेपछि लकडाउन खुकुलो गर्ने काम अव्यावहारिक भएको उनी बताउँछन् ।

उनले भने– ‘एक दुई जना सङ्क्रमित देखिने वित्तिकै कडा लकडाउन संसारको कुनै पनि देशमा भएको देखिँदैन् । त्यो बेला हामीले एयरर्पोट र अन्तर्राष्ट्रिय नाका बन्द गरेर काम गरेको भए हुनेथियो । त्यतिबेला लकडाउन गर्ने बेला भएको थिएन । अलि ठूलो सङ्ख्या नभई कहीँ पनि लकडाउन गरेको छैन ।’

लकडाउन गरे पनि सरकारले व्यवस्थित र पर्याप्त राहतको व्यवस्था नगरेका कारण मजदुर र न्यून आय भएकाहरु घर जान बाध्य भए । सरकारले ज्यालादारी काम गर्नेका लागि खाने बस्ने व्यवस्था गरेको भए उनीहरु हिँडेर नजाने उनको भनाइ छ ।

सरकार र जनताको अस्थिर मानसिकताका कारण लकडाउनमा पनि आवतजावत नरोकिएका कारण सङ्क्रमण फैलिन सहयोग पुगेको डा. पाण्डेको भनाइ छ ।

उनले भने– ‘लकडाउनको सिद्धान्त भनेको के हो भने जनता घरभित्र बस्ने सरकार सडकमा आउने हो । लकडाउन गरेपछि सरकारले काठमाडौँ उपत्यकामा कम्तीमा ३० हजार जनाको जाँच गर्नुपथ्र्यो । सीमा नाकाहरुमा पनि ४० हजारसम्मको जाँच गर्नुपथ्र्यो । त्यसो गर्दा सङ्क्रमण कहाँ छ, कहाँ छैन भनेर एउटा चित्र आउँथ्यो । लामो समय लकडाउन गरे पनि त्यसलाई सरकारले सदुपयोग गर्न सकेन ।’

सहरका भित्री बस्तीमा मानिसहरुको आवतजावत बढ्ने हुँदा त्यस्ता स्थानमा सुरक्षाकर्मीको उपस्थिति बढाउनुपर्नेमा हाइवेमा बढी सुरक्षाकर्मी परिचालन गर्नु अव्यावहारिक रहेको उनले बताए ।

भारतको बिहार, उत्तर प्रदेशमा सङ्क्रमण बढ्दै गएको र भारतमा काम गर्ने एक डेढ लाख नेपालीलाई भारतले स्वदेश फर्काउन सक्ने भएकाले नेपाल अझै जोखिममा पर्ने सक्ने उनको आँकलन छ । भारतबाट नेपाली फर्किंदा यहाँ विकराल अवस्था आउन सक्ने भएकाले प्रत्येक जिल्लामा कम्तीमा १० हजार जनालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सके नियन्त्रण हुने अन्यथा सबै गाउँ समाजमा कोरोना फैलन सक्ने खतरा छ ।

डा. पाण्डेले भने– ‘विश्व स्वास्थ्य सङ्गठनले जुन र जुलाईमा भारतमा सङ्क्रमण दर उच्च हुन्छ, लाखौँ  मानिसमा सङ्क्रमण फैलिन्छ भनेर प्रक्षेपण गरेको छ । जेठ र असारको समयमा नेपालमा पनि पचासौँ हजारमा सङ्क्रमण फैलिने अनुमान गरिएको छ । यदि त्यस्तो भयो भने हामीसँग आईसीयूहरु, भेन्टिलेटरहरु अत्यन्तै कम छ । एकै पटक २ हजार सङ्क्रमित भए भने अस्पतालमा ठाउँ पुग्दैन । हामीले अस्पतालको क्षमता पनि बढाएका छैनौँ ।’

विकसित देशले समेत उपचार गर्न नसकेको सङ्क्रमण नेपाल जस्तो देशले थेग्न नसक्ने भएकाले मुख्य कुरा सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने भएकाले सरकारले लकडाउनको छुट्टै रणनीति बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

धेरै सङ्क्रमित देखिँदा लकडाउन कडा गर्ने, सङ्क्रमित कम हुँदा खुकुलो गर्ने, परीक्षणको दायरालाई ब्यापक नबनाउने हो भने भोलिका दिनमा नराम्रो अवस्था आउने डा. पाण्डे बताउँछन् ।

सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन अहिले ५२औँ दिनमा पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप