शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मणि थापाको गीत – संकट पर्दा सहरले गाउँ धपाउछ

शुक्रबार, ०२ जेठ २०७७, १२ : १०
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौँ । जसले सहरलाई हराभर बनाउछ

तर संकट पर्दा सहरले गाउँ धपाउछ ।

माथिका शब्द ‘सहरले गाउँ धपाउछ’ बोलको गीतबाट लिइएको हो । जसलाई नेकपाको स्थायी कमिटी सदस्य तथा जनवादी गीत तथा साहित्यकार मणि थापाले लेखेका हुन् ।

कोरोनाको कहरका कारण लामो समयदेखि देशभर लकडाउन जारी छ । यो लकडाउनमा सबैभन्दा बढी पीडित दैनिक ज्याला गरेर खाने मजदुरहरु बनेका छन् । सहरमा हरहमेसा मजदुरी गरेर बाच्दै आएका मजदुरहरु अहिले कामविहीन भएका छन् । काम नभएपछि उनीहरुलाई खान धौधौ परेको छ । यस्तो अवस्थामा कतिपय मजदुरहरु गाउँ फर्किएका छन् ।

गीतकार थापाले यो गीत अहिलेको परिस्थितीमा सहरबाट गाउँ फर्किने मजदुरको परिवेशलाई लिएर लेखेका हुन् । सधैँ गीत तथा साहित्य मार्फत निमुखा, मजदुर र पिडित वर्गको आवज आवाज बुलन्द गर्दै आएका थापाले यो गीतमा पनि ठेला गाडा धकेल्ने, रिक्सा चलाउने लगायत मजदुरको आवाज उठाएका छन् ।

गीतमा संगीत तथा स्वर धनु ज्ञाङ्मीको रहेको छ । गीतको एक भिडियो पनि बनाइएको छ । बिभिन्न तस्बिर प्रयोग गरेर बनाइएको भिडियोमा मजदुरको काम र महत्त्व झल्कन्छ । भिडियो भने भीम कुमखीले तयार पारेका हुन् ।

थापा भन्छन्, ‘लकडाउनमा नयाँ नयाँ गीतसंगीत सिर्जना गर्ने समय मिलेको छ ।’ जनवादी फाटमा रहेर लामो समयदेखि यस्तै गीत तथा साहित्य सिर्जना गर्दै आएका थापाले मजदुर सहरबाट गाउँ फर्किने समस्या स्वदेशमा मात्र होइन विदेशमा समेत देखेकोले पनि ‘सहरले गाउँ धपाउछ’ गीत आफुले लेखेको बताए ।

‘सहरलाई वास्तविक रुपमा हराभर बनाउने काम गाउँबाट आएका मजदुरहरुले गर्दछन्,’ थापाले भने, ‘जब सहरमा संकट पर्छ । तब सहरले मजदुरहरुलाई गाउँ धपाउछ । रोक्न सक्दैन भन्ने संसारभर देखियो । त्यो देखेको प्रभाव र मजदुरहरुको यर्थाथ चित्रण गर्न गीत तयार पारेको हो ।’ गीत मार्फत् मजदुरहरुको समस्या उजागर गर्न खोजेको थापाको भनाइ रहेको छ ।

थापा यो लकडाउनको समय गीत, कविता, साहित्यलगायत सिर्जना गरिरहेका छन् । भारतले मिचेको देशको सीमाको विषयमा पनि उनले गीत लेखिरहेका छन् ।

यो लकडाउन हामी अधिकांशका लागि नौलो अनुभव हो । त्यस्तै अनुभव थापाले पनि गरिरहेका छन् । जनयुद्ध र संकटकालको समय भूमिगत रहदा गरेको अनुभुतिभन्दा अहिले बेग्लै खालको अनुभुति उनले गरेको बताउँछन् । ‘जसले संकट व्यहोर्दै आएको छ । उनीहरुमा यो संकटकालमा सहन सक्ने क्षमता भने धेरै हुँदो रहेछ भन्ने अनुभूति पनि भएको छ,’ उनले थपे ‘यो समय भविष्यको बारे सोचेर सिर्जनामा सदुपयोग गर्नुपर्छ ।’ नयाँ चिन्तान गर्ने, नयाँ सिद्धान्तको विकास गर्ने कोसिसमा थापा लागेका छन् । कोरोनाले विश्वमा नयाँ आयाम र विश्लेशणको माग गरेको यो अवस्थामा बुझेका थापाले विश्वको बारेमा, समाजको बारेमा, विकास र मानवीय मूल्य र अवधारणाको बारेमा समेत चिन्तन गर्न थालेका छन् ।       

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप