बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशद्वारा -यापिड परीक्षण बन्द

शुक्रबार, ०२ जेठ २०७७, ०९ : ४३
शुक्रबार, ०२ जेठ २०७७

पोखरा । गण्डकी प्रदेशले कोरोना भाइरस -यापिड टेस्ट (द्रुत परिक्षण) बन्द गरेको छ । स्वास्थ्य निर्देशनालयका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले यो जानकारी दिएका हुन् ।

विदेशबाट आउने र प्रदेश छिर्ने नाकाहरुमा सुरक्षा व्यवस्था कडा पारिएसँगै -यापिड टेस्ट गर्न नपर्ने हुनाले बन्द गरेको उनले प्रस्ट्याए । पीसीआर विधिबाट मात्रै गण्डकीमा कोरोना जाँच गरिने उनले सुनाए । ‘नाकामा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । बाहिरबाट आउने कुरा पनि भएन । त्यसैले -यापिड टेस्ट बन्द ग-यौँ,’ उनले भने । -यापिड टेस्टमा कोरोना पोजेटिभ देखिने । तर, पीसीआर टेस्टमा कोरोना नेगेटिभ आएपछि, -यापिड टेस्टको चर्को विरोध पनि भएको थियो ।

यसअघि दुई जना कोरोना संक्रमितलाई निको पारेर घर फिर्ता पठाइसकेको गण्डकी प्रदेश सरकारले आफूलाई कोरोनामुक्त भएको बताउदै, प्रदेशलाई ग्रीन जोन घोषणा गरेर विकास निर्माणका कामसँगै उद्योगधन्दा पनि खोल्ने बताएको थियो । फाट्टफुट्ट काम पनि सुरु भइरहेका थिए । फेरि, नयाँ संक्रमित भेटिन थालेपछि अवस्था थप जटिल बन्ने अनुमान गण्डकीमा बढेको छ ।

बागलुङबाट फर्केका मजदुरमा कोरोना संक्रमण भेटिनु र लुकिछिपी प्रदेश छिर्नेहरुको संख्या बढ्नुले जनमानसमा संशय उत्पन्न गराएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीको पछिल्लो अपडेटअनुसार गण्डकीमा ७ सय ६७ जनाको नमुना संकलन भएको छ । जसमध्ये २ जनाको रिपोर्ट पोजेटिभ निस्किएको थियो । उनीहरु अहिले निको भएर पनि घर फर्किसकेका छन् । २९ जनाको रिपोर्ट आउनै बाँकी छ । बिहीबार नवलपुरमा थप नयाँ संक्रमित पनि थपिएका छन् ।

निर्देशनालयको बुधबारको अपडेटमा ७ सय ५७ को पीसीआर विधिबाट परिक्षण भएको ग्राफ सार्वजनिक गरेको थियो । सामान्य हिसाबले हेर्दा पनि प्रदेशले दैनिक १० जनाको मात्रै परिक्षण गरेको छ । केही समय अघि निर्देशनालयले परिक्षणको दायरा बढाउन जिल्लाका अस्पतालमा पनि तालिम दिने बताएको थियो । आफ्ना नागरिकलाई कोरोना जाँच गराएर सुरक्षित महसुस गराउने विषयमा भने गण्डकी प्रदेश सरकारले अहिलेसम्म कुनै योजना सार्वजनिक गरेको छैन ।

हालसम्म प्रदेशमा ६ हजार ७ सय १६ जनाको -यापिड टेस्ट (आरडिटी) परिक्षण भएको स्वास्थ्य निर्देशनालयले बताएको छ । स्वास्थ्य निर्देशनालयको तथ्यांकमा लकडाउन सुरु हुनु अघिको विदेशबाट ५ हजार ३ सय ८३ जना भित्रिएका थिए । गण्डकी प्रदेशमा ४ सय ३२ जना क्वारेन्टाइनमा छन् ।

आपतकालीन स्वास्थ्य केन्द्रका संयोजक शर्माका अनुसार प्रदेशमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । प्रदेश छिर्ने नाकामा सुरक्षा व्यवस्था थप कडा पारिएको उनले बताए । परीक्षणको दायरा थप फराकिलो बनाउने तयारीको विषयमा प्रश्न गर्दा भने शंकास्पद व्यक्ति भेटिए मात्रै जाँच गर्न सकिने उनको भनाइ छ । ‘बाटो हिँडेको सबैलाई गर्ने कुरा भएन,’ उनले भने, ‘शंकास्पद व्यक्ति भए जाँच गर्ने हो ।’

गण्डकीमा करिब ८ सय पिसिआर किट छ । आवश्यक परेको खण्डमा थप किटको व्यवस्था तत्कालै गर्न सकिने निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप