प्रोटिन धेरै खाँदा के साँच्चै नै स्वास्थ्य राम्रो हुन्छ ? थाहा पाऔं, प्रोटिनका ती हरेक कुरा

हामीबीच आम धारणा यो छ कि राम्रो स्वास्थ्यका लागि हामीले धेरैभन्दा धेरै प्रोटिनयुक्त आहारको सेवन गर्नुपर्छ ।
यसका लागि बजारमा आज हाम्रा लागि विभिन्न प्रकारको तयारी अवस्थाका खानेकुरा पनि उपलब्ध छन् । तर के हामीले हाम्रो शरीरलाई खासमा कति प्रोटिनको आवश्यकता छ भन्ने बारे जान्न खोज्यौं ?
के यसले तौल घटाउन सहयोग गर्छ ?
पछिल्लो २० वर्षदेखि धेरै मानिसहरु मोटोपनको शिकार भएका छन् र अब धेरै मानिसहरु आफ्नो स्वास्थ्यप्रति जागरुक पनि भइरहेका छन् ।
जसका कारण मानिसहरुले आफ्नो खान्कीमा परिवर्तन गरेका छन् । उदारहणको रुपमा मानिसहरु मैदाले बनेको सेतो पाउरोटीको साटो गहुँको ब्राउन ब्रेड खान थालेका छन् ।
फूल क्रिम दुधको साटो स्किम्ड मिल्कको सेवन गर्न थालेका छन् । प्रोटिनको कमी पूरा गर्नका लागि बजारबाट विभिन्न प्रकारको प्रोटिन बार, प्रोटिन बल, दालको सुप खान थालेका छन् ।
बजारमा यस्ता प्रकारको उत्पादन छ्यास्छ्यास्ती पाइन्छन् । सुन्दा अचम्म लाग्ला सन् २०१६ मा संसारभरीको प्रोटिन प्रोडक्टको मार्केट करिब १२.४ अर्ब अमेरिकी डलर थियो ।
यसमार्फत् यो स्पष्ट हुन्छ कि संसारभरीका मानिसहरु प्रोटिनको तयारी उत्पादनको अत्यधिक खरिद गरिरहेका छन् र सेवन पनि गरिरहेका छन् ।
यस्तो यसकारण किनभने हामीलाई लाग्छ कि स्वस्थ रहनका लागि धेरै प्रोटिनको आवश्यकता छ । तर जानकारले यसलाई अनावश्यक र पैसाको बर्बादी बताउने गर्छन् ।
उनीहरुका अनुसार आवश्यक कोशिकाको मर्मत र नयाँ कोसिका बनाउनका लागि प्रोटिनको आवश्यकता पर्छ । प्रोटिनयुक्त खान्की जस्तै अण्डा, माछा, दुग्धजन्य पदार्थ, फलफूल पेटमा गएपछि यसले अमिनो एसिड पैदा गर्छ जसलाई पेटको सानो आन्द्राले सोस्ने काम गर्छ ।
त्यसपछि कलेजोले ती अमिनो एसिडमध्ये शरीरका लागि आवश्यक अमिनो एसिडलाई पहिचान गरेर अलग राख्छ र अरु प्रोटिन पिसाबको बाटो हुँदै बाहिर निस्कन्छन् ।
जो व्यक्ति खासै शारिरिक श्रम नपर्ने काम गर्छन्, उनीहरुले आफ्नो तौलको प्रति किलोग्रामको हिसाबले हरेक दिन ०.७५ ग्राम प्रोटिनको सेवन गर्नुपर्छ । एक पुरुषले कम्तिमा ५५ ग्राम र महिलाले ४५ ग्राम प्रोटिन हरेक दिन सेवन गर्नुपर्छ ।
प्रोटिनको कमी हुँदा छाला फुस्रो र फुट्ने लगायतका समस्या देखिन्छन् । कपाल झर्न सुरु हुनसक्छन् । तौल कम हुनसक्छ ।
आजकालका मानिस विशेषगरी युवाहरुलाई बडी बिल्डिङको अत्यधिक शौख छ । उनीहरुका लागि धेरै प्रोटिन खानु आवश्यक छ किनभने प्रोटिनले मांशपेशी बनाउने काम गर्छ ।
जो व्यक्ति धेरै मिहिनेत पर्ने व्यायाम गर्छन् उनीहरुले वर्कआउट लगत्तै प्रोटिन सेवन गर्नुपर्छ । तसर्थ जिम गर्ने व्यक्तिहरुलाई प्रोटिनको सप्लिमेन्ट जस्तै प्रोटिन शेक, उमालेको अण्डा वा पनिर खान भनिन्छ ।
तर सन् २०१४ मा सार्वजनिक भएको रिपोर्ट अनुसार सुरुवातका केही हप्तामा मांसपेशीलाई बलियो बनाउन प्रोटिन सप्लिमेन्टको कुनै भूमिका हुँदैन ।
जब तालिम कडा हुन थाल्छ तब यस्ता सप्लिमेन्टले आफ्नो काम गर्न थाल्छन् । यद्यपि, अनुसन्धानको यो दाबी पनि पूर्ण रुपमा सही प्रमाणित भएको छैन । प्रोटिनको उचित लाभ लिनका लागि काब्रोहाइड्रेटको सेवन पनि आवश्यक छ ।
युनिभर्सिटी अफ स्टरलिंगमा स्पोर्टका प्राध्यापक केविन टिपटोन भन्छन्, ‘खेलाडी र नियमित रुपमा जिम गर्नेहरुका लागि प्रोटिनको आवश्यकता त छ तर यसका लागि सप्लिमेन्टको आवश्यकता छैन । घरमा बन्ने खानाले पनि यसको आवश्यकता पूरा गर्न सक्छ ।’
यद्यपि, यसका केही अपवाद पनि छन्, जस्तै केही खेल यस्ता हुन्छन् जसमा खेलाडी फिट रहनका लागि शरीरका लागि थप प्रोटिन आवश्यकता हुन्छ । यसलाई घरको खानाले पूरा गर्न सकिँदैन तसर्थ सप्लिमेन्टको आवश्यकता पर्छ ।
साधारणतया वृद्धवृद्धालाई प्रोटिनको आवश्यकता बढी रहन्छ । किनभने उनीहरुले आफ्नो मांसपेशी बलियो राख्नुपर्ने हुन्छ । तर उमेर बढेसँगै वृद्धवृद्धाको स्वाद परिवर्तन हुन थाल्छ । उनीहरु गुलियो धेरै खान थाल्छन् ।
जानकारका अनुसार वृद्धवृद्धाले शरीरको तौल अनुसार १.२ ग्राम प्रति किलो प्रोटिन खानुपर्छ । तर केही आहार विशेषज्ञका अनुसार धेरै प्रोटिनले जोर्नी र हड्डीलाई क्षती पुर्याउन सक्छ ।
प्रोटिन सप्लिमेन्ट खाँदा कुनै हानी हुँदैन । तर यसको समस्या के छ भने यसमा फोडमेप्स नामको कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ जसका कारण ग्यास, पेट दुख्ने र अपचको समस्या पैदा हुनसक्छ ।
साथै, यसमा चिनी मिसाइएको हुन्छ जुन स्वास्थ्यका लागि ठिक मानिँदैन । त्यसकारण यदि कसैले प्रोटिन सप्लिमेन्टको सेवन गर्नेबारे सोचिरहनुभएको छ भने त्यसमा लेखिएको जानकारीलाई ध्यान दिएर पढ्नुपर्ने हुन्छ ।
प्रोटिनको सेवनले तौल घट्न सघाउन्छ भनिन्छ । प्रोटिन खाएपछि पेट भरिएको महसुस हुन्छ र लामो समयसम्म भोक लाग्दैन । तसर्थ अनावश्यक क्यालोरी शरीरमा पुग्दैन ।
जानकारका अनुसार यदि तपाईंले तौल कम गर्न चाहनुहुन्छ भने हाई–प्रोटिनयुक्त ब्रेकफास्टको सेवन गर्नुपर्छ । यस्तै, केही जानकारले खानाबाट कार्बोहाइड्रेटलाई पूर्ण रुपमा हटाउँदा हाम्रो आन्द्राको स्वास्थ्य बिग्रने बताएका छन् । स्वस्थ रहनका लागि आन्द्रालाई ठिक राख्न अत्यावश्यक छ ।
मोटोपनको शिकार मानिसहरु कार्बोहाइड्रेटलाई कम गरेर धेरै प्रोटिन खान थाल्छन् । उदाहरणको लागि उनीहरुको खानामा ३० प्रतिशत प्रोटिन, ४० प्रतिशत कार्बोहाइड्रेट र ३० प्रतिशत चिल्लोपना हुन्छ ।
जबकी सामान्य व्यक्तिको खानमा १५ प्रतिशत प्रोटिन, ५५ प्रतिशत कार्बोहाइड्रेट र ३० प्रतिशत चिल्लोपना हुनुपर्छ ।
यदि तपाईं साँच्चै नै तौल कम गर्न चाहनुहुन्छ भने प्रोटिन धेरै खाँदा मात्रै तपाईंको तौल कम हुँदैन । यसका लागि हल्का मासुको प्रोटिन पनि लिन सकिन्छ ।
तर अनुसन्धानले प्रोटिनका लागि जनावरको मासु धेरै खाँदा नकारात्मक असर पुर्याउने बताउँछ । यसले तौल पनि बढाउँछ । विशेषगरी रातो मासु त क्यान्सर र मुटुरोग पैदा गर्ने मुख्य कारकमध्ये एक हुनसक्छ ।
यद्यपि, प्रोटिन धेरै खानु नराम्रो पनि होइन । यसको नकारात्मक प्रभाव निकै कम छ ।
तर ठूलो हानी यो हो कि मानिसहरु धेरै प्रोटिन पाउने लोभमा महँगो सप्लिमेन्ट खरिद गर्छन् । यसका लागि उनीहरुले धेरै पैसा उडाउँछन् पनि । जबकी शरीरलाई चाहिनेभन्दा बढी खाएको प्रोटिन शौचालयमा बग्ने गर्छ ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र शिक्षकहरूबिच सहमति, मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिने
-
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष र शिक्षा समिति सभापतिबीच चर्काचर्की
-
देशको नीति कार्यक्रममा कर्णालीले खोजेका बुँदा
-
बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
-
यथार्थ धरातलमा टेकेर प्रदेशले बजेट ल्याउँछ : मुख्यमन्त्री आचार्य
-
आरआर क्याम्पसमा सहमतिमा स्ववियु गठन