शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकहरुले ४५ अर्ब नाफा कमाए, तेस्रो त्रैमासमा १७ बैंकको नाफा घट्यो

कोरोनाको कहरबीच प्रकाशित रिपोर्ट कति वास्तविक ?
बिहीबार, ०१ जेठ २०७७, १३ : २४
बिहीबार, ०१ जेठ २०७७

काठमाडौं । २७ वाणिज्य बैंकहरुले ९ महिनामा ४५ अर्ब नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुले ४५ अर्ब २३ करोड ५९ लाख रुपैंया खुद नाफा कमाएका हुन् । 

यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४.११ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा उक्त नाफा ४३ अर्ब ४४ करोड ९० लाख रुपैंया थियो । पुस मसान्तसम्म बैंकिङ क्षेत्रले अघिल्लो वर्षको तुलनामा साढे ८ प्रतिशत नाफा वृद्धि गरेको थियो । कोरोनाभाइरसको प्रभावका कारण तेस्रो त्रैमासमा नाफा घटेपछि उक्त वृद्धिदर चैत मसान्तमा आइपुग्दा ४ प्रतिशतमा सीमित हुन पुगेको हो ।

बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्म नबिल बैंकले सबैभन्दा बढी ३ अर्ब १५ करोड रुपैंया नाफा गरेको छ । ग्लोबल आईएमई बैंक २ अर्ब ७० करोड नाफासहित दोस्रो स्थानमा छ भने एनआईशी एशिया बैंक २ अर्ब ५० करोड रुपैंयासहित तेस्रो, नेपाल इन्भेष्टमेन्ट बैंक २ अर्ब ४९ करोडसहित चौथो र राष्ट्रिय वाणिज्य बैंक २ अर्ब ४१ करोड रुपैंया खुद नाफासहित पाँचौं स्थानमा छन् । यद्यपि ग्लोबल आईएमई बैंकले जनता बैंकसँग मर्ज हुनुअघि मंसिर २० गतेसम्मको नाफालाई समेत जोडेर खुद नाफा ३ अर्ब १५ करोड नाफा रहेको जनाएको छ ।

त्यसबाहेक एभरेष्ट बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक २ अर्बभन्दा बढी नाफासहित क्रमशः छैटौं, सातौं, आठौं र नवौं स्थानमा छन् । नेपाल बैंकको नाफा घट्दा १ अर्ब ९९ करोड रुपैंया खुद मुनाफासहित सो बैंक १० औं सर्वाधिक नाफा गर्ने बैंक बनेको छ ।

त्यसबाहेक, एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सानिमा बैंकको नाफा डेढ अर्बभन्दा बढी तथा प्रभु बैंक, मेगा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक र कुमारी बैंकको नाफा एक अर्बभन्दा माथि रहेको देखिँदा सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, बैंक अफ काठमाण्डू र सिभिल बैंकको नाफा १ अर्बभन्दा कम छ ।

यद्यपि सनराइज बैंक र बैंक अफ काठमाण्डूले ऋणको सम्भावित जोखिमका लागि ठूलो रकम प्रोभिजनिङ गरेका कारण नाफा न्यून देखिएको हो । यो त्रैमासमा मात्रै बैंक अफ काठमाण्डूले सोबापत ७७ करोड रुपैंया तथा सनराइज बैंकले ७६ करोड रुपैंया पोभिजनिङ गरेको छ ।

नाफा कसको घट्यो, कसको बढ्यो ?

९ महिनाको समग्र अवस्था हेर्दा ९ वटा बैंकको नाफा घटेको छ भने बाँकी १८ वटा बैंकहरुको नाफामा सुधार भएको छ । तर, तेस्रो त्रैमासलाई छुट्याएर हेर्दा माघदेखि चैत सम्म १७ बैंकको नाफा घटेको छ भने बाँकी १० वटा बैंकको अवस्था बलियो नै देखिन्छ । 

९ महिनाको तथ्यांक अनुसार सेञ्चुरी बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्शियल बैंक, नेपाल एसबीआई बैंक, मेगा बैंक, हिमालयन बैंक, एनएमबि बैंक र नेपाल बंगलादेश बैंकको नाफा दोहोरो अंकले बढेको छ ।

ग्लोबल आईएमईले जनता बैंकसँग मर्जर गरेको, प्राइम बैंकले कैलाश विकास बैंकलाई आफूमा गाभेको, एनएमबि बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वाइर गरेका कारण ती बैंकहरुको नाफामा उल्लेख्य सुधार भएको हो । अन्य बैंकहरुले भने व्यवसायमा सुधार गरेरै नाफा बढाएका हुन् ।

त्यस्तै, एनआईशी एशिया बैंक, एभरेष्ट बैंक, लक्ष्मी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, सिटिजन्स बैंकको नाफा सामान्य बढ्दा कुमारी बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र एनसीसी बैंकको नाफामा झिनो सुधार देखिएको छ ।

नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, नेपाल बैंक, सिद्धार्थ बैंक, सनराइज बैंक, सिभिल बैंक र बैंक अफ काठमाण्डूको नाफा भने घटेको छ ।

माघदेखि चैतसम्मको अवस्था हेर्दा अघिल्लो वर्ष १४ अर्ब ३६ करोड रुपैंयाको आम्दानी घटेर १२ अर्ब ५६ करोड रुपैंयामा सीमित भएको छ । यो अवधिमा घाटामा देखिएका सनराइज र बैंक अफ काठमाण्डू बाहेक एनएमबि, नेपाल बंगलादेश, सिद्धार्थ, लक्ष्मी, एनआईशी एशिया, कुमारी, कृषि विकास, सिभिल, माछापुच्छ्रे, नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य र सानिमा बैंकको नाफा ५४ प्रतिशतदेखि २० प्रतिशतसम्म घटेको छ । प्रभु एनसीसी र स्ट्यान्डर्ड चार्टर्डको नाफा एकल अंकले गिरावट देखिँदा मेगा, हिमालयन, एभरेष्ट, नबिल, नेपाल बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम कमर्शियल बैंक र सेञ्चुरी कमर्शियल बैंकको नाफामा बढोत्तरी देखिएको छ । तेस्रो त्रैमासमा सेञ्चुरी बैंकले सर्वाधिक १८७ प्रतिशत नाफा बढाएको देखिएको छ ।

कति वास्तविक छन् बैंकको नाफा ?

एनएफआरएस प्रणालीलाई आत्मसात गरेको वित्तीय क्षेत्रले अहिले एक्रुअल आधारमा आम्दानी तथा खर्चहरुको गणना गर्दै आएको छ । बैंकहरुले चैत महिनाको विवरणमा सबै बैंकहरुले देखाएको ब्याज तथा गैरब्याज आम्दानीहरु सबै त्यही आधारमा गणना गरिएका हुन् । ती सबै आम्दानी बैंकले वास्तविक रुपमा प्राप्त गरिसकेका छैनन् ।

नेपाल बैंकर्स संघले यो त्रैमासमा बैंकहरुले प्राप्त गर्जुपर्ने ब्याज आम्दानीमा ४० प्रतिशत आम्दानी मात्रै प्राप्त भएको जनाएको छ । तर वित्तीय विवरणमा भने अवधि सकिएका सबै आम्दानीलाई ब्याज आम्दानीको रुपमा देखाइएको छ ।

त्यसैले ब्याज उठाउने बेलामा आर्थिक गतिविधि ठप्प भए पनि र नेपाल राष्ट्र बैंकले चैत मसान्तमा सावाँब्याज नउठाउन भने पनि बैंकहरुको नाफामा ठूलो गिरावट नदेखिएको हो । केही बैंकले भने प्रवाहित कर्जामा उच्च जोखिम देखेका कारण पहिले नै त्यस्तो आम्दानी वापत ठूलो मात्रामा प्रोभिजनिङ गरिदिएका छन् । यसैले गर्दा ती बैंकहरुको नाफामा उच्च गिरावट देखिएको छ ।

सोही कारणले बैंकहरुको सन्तोषजनक रिपोर्टप्रति शेयर लगानीकर्ताले विश्वास गर्न सकेका छैनन् । त्यसैले मंगलबार र बुधबारको बजारमा निरन्तर नकारात्मक सर्किट ब्रेक लागेर बन्द भयो । धितोपत्र बोर्डले बजार बन्द गर्न निर्देशन दिएसँगै बिहीबार भने बजारमा कारोबार भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप