मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

‘कोरोनाविरुद्ध लड्न गण्डकी प्रदेश तम्तयार छ’

बिहीबार, ०१ जेठ २०७७, ११ : ५२
बिहीबार, ०१ जेठ २०७७

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो छ । मङ्गलबार मात्रै ५७ जना नयाँ कोरोना सङ्क्रमित भेटिए । यो सङ्ख्या अझै बढ्ने अनुमान पनि गरिएको छ । गण्डकी प्रदेशमा पनि दुई कोरोना सङ्क्रमित भेटिएका थिए । उनीहरु अहिले निको भएर घर फर्किसकेका छन् ।
महामारी अझै बढ्ने सङ्केतको बीचमा गण्डकीमा यसको तयारी, कोरोना रोकथामको प्रयास, स्वास्थ सामग्रीको अवस्था कस्तो छ ? सरकारले लकडाउन खुकुलो पारेसँगै घरबाहिर निस्किनेहरुको सङ्ख्या पनि बढिरहेको छ । यो कत्तिको जोखिमपूर्ण छ ? यिनै विषयमाथि केन्द्रित रहेर हामीले गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोदविन्दु शर्मासँग कुराकानी गरेका छौँ । 

कोरोना अस्पताल गण्डकीले अहिले के काम गरिरहेको छ ? 
–अहिले स्टाफ तयारी गर्न लागि रहेका छौँ । गण्डकी प्रदेशको मुख्यालय पोखरामा १९ वटा सरकारी, प्राइभेट, मेडिकल कलेज, अस्पताल सबैलाई जोेडेर २ हजार ४ सय ३७ जनाको लिस्ट बनाएका छौँ । त्यो लिस्टलाई एकमुष्ट पारी पेस गर्ने काम भइरहेको छ । 
अर्को, गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘कोभिड अस्पताल’ भनेर सरकारले छुट्याएको छ । त्यहाँ १० वटा बेडको आइसोलेसन वार्ड बनाएका छौँ । भेन्टिलेटर, मोनिटर तयारी अवस्थामा राखेका छौँ । मानसिक रूपमा पनि अस्पतालका सबैजना कोभिडको उपचारका लागि तयार भएर बसेका छन् । अहिले अस्पताल खालि छ । तर तयारी अवस्थामा छ । हामीले त्यो कोभिड अस्पताललाई साथ सहयोग गर्ने क्रममा आपूर्तिको अवस्था सहज पार्दैछौँ । जस्तैः अरू अस्पताललाई के सहयोग गर्न सकिन्छ ? हाम्रो प्रदेशका अरू जिल्ला अस्पतालमा त्यहाँको रिसोर्सलाई पनि परिचालन गर्ने काम गरिरहेका छौँ । 

स्वास्थ्य सामग्री पर्याप्त छन् त ? 
-केसहरु धेरै देखिए भने स्वास्थ्य सामग्रीको पर्याप्तता छैन । तर अहिलेको अवस्थामा पर्याप्त नै छ । टेस्टको अवस्था, नमुना सङ्कलन गर्नका लागि जे चाहिन्छ त्यो सबै थोक उपलब्ध छ । 

गण्डकी प्रदेशले ‘कोभिड अस्पताल’को रूपमा अघि सारेको प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पनि हो । यस अस्पताललाई कोरोना उपचार अस्पताल बनाएपछि अरू बिरामी स्वास्थ्य सेवाबाट वञ्चित भएनन् र ?
–एउटा पक्ष त्यो पनि हो तर व्यावहारिक पक्ष के हो भने, कोभिडको पेसेन्ट आउने बित्तिकै त्यहाँ विभिन्न चिजको आवश्यकता पर्ने गर्छ । उदाहरणका लागि, कोभिडका बिरामीमा जटिलता बढ्दै गयो भने भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ । आईसीयूमा राख्नुपर्ने हुन सक्छ । भेन्टिलेटर र आईसीयू भएको सरकारी अस्पताल भनेको गण्डकी अस्पताल नै हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मात्रै हो । जुन, सङ्घीय सरकार र प्रदेश सरकार दुवै तहका सरकारले सोचेर, विचार गरेर मात्रै कोभिड अस्पतालको रूपमा घोषणा गरेका हुन् । हामीकहाँ पहिले नै केसेजहरु आउने, सरकारले जनताको स्वास्थ्यको रक्षा गर्ने जिम्मेवारी हुँदाहुँदै, निजी अस्पतालमा लैजाऊ, प्राइभेट मेडिकल कलेजमा देखाऊ भन्ने भन्दा पनि हामी नै पहिलो लेभलमा छौँ । पहिले फ्रन्टलाइनमा हामी नै बस्नुपर्छ । यो सधैँ हुने गरेको छ ।जब महामारि फैलिन्छ, स्वास्थ्यमा जतिबेला विभिन्न जटिलता आउँछन् त्यतिबेला हाम्रा स्वास्थ्यकर्मी,  स्वास्थ संरचना पहिलो लाइनमा रहेर सेवा गरिरहेका छन् । 

यो गण्डकी प्रदेशभरि सरकारी अस्पतालमा कहीँ पनि आईसीयू सेवा छैन । कोभिडको केसमा आईसीयूको व्यवस्था भएको अस्पताल चाहिन्छ । त्यसका लागि प्राइभेट अस्पताल भन्दा हामीले यो अस्पताल छानेका हौँ । बागलुङको अस्पताल जहाँ कोभिडका दुई बिरामी भेटिएका थिए । त्यहाँ केश देखिइसकेपछि भेन्टिलेटर राति नै पु¥यायौँ । अर्को दोस्रो भेन्टिलेटर लग्यौँ । काठमाडौँबाट दुईवटा मगायौँ । आईसीयूको व्यवस्था पनि ग¥यौँ । गण्डकी प्रदेश सरकारले ६० लाख रूपैयाँ खर्च गरेर त्यहाँ आईसीयू खडा गरेको छ । त्यसैलाई आधार बनाएर गण्डकी प्रदेश सरकाले सबै जिल्लामा आईसीयू को व्यवस्था हुनुपर्छ भनेर नीतिगत निर्णय गरिसकेको छ । त्यसको लागि १४ करोेड लगानीको जरुरी छ । त्यसको लागि सरकार पनि तयार छ । 

अब, जिम्मेवारी स्वास्थ्यकर्मीको । हाम्रो जिम्मेवारी के छ भने, जिल्लालाई चलायमान कसरी बनाउने ? जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिई तयार गर्ने र हामी मानसिक रूपमा तयार हुन जिल्लासँग पनि समन्वय गर्ने तयारी गरिरहेका छौँ । प्रत्येक जिल्लाका ५ जना मेडिकल स्टाफलाई तालिम दिन्छौँ । त्यसमा दुई जना मेडिकल अफिसर, दुई जना नर्सिङ स्टाफ, एक जना एसिस्टेन्टलाई ल्याएर यहाँ ट्रनिङ दिनेछौँ । यसबाट कुनै केस देखियो भने जिल्लामै व्यवस्थापन गर्न सकिन्छ । यसबाट गण्डकी अस्पतालको चाप कम गरी सम्बन्धित जिल्लामै व्यवस्थापन सकिन्छ । सबै जिल्लाका सङ्क्रमित यहाँ ल्याउनै पर्दैन । यहाँ ल्याउँदा सङ्क्रमण हुने डर पनि बढी हुन्छ । जिल्लामा आईसीयूको व्यवस्था हुन सकोस्, भएका स्टाफलाई ट्रनिङ दिन सकियोस्, त्यसरी व्यवस्थापन गर्न सक्यौँ भने सङ्क्रमितलाई व्यवस्थापन गर्न सकिन्छ । 
तपार्इंले भन्नुभयो गण्डकी अस्पताललाई कोभिड अस्पतालको रूपमा तोकियो । यो स्वाभाविक निर्णय हो । गर्भमेन्ट अस्पताल हो । व्यवस्थित अस्पताल हो । यो हाम्रो पहिलो आइकन पनि हो । यो अस्पतालका रूपमा मात्रै नभएर एउटा एकेडेमीको रूपमा पनि छ । यसले यस प्रदेशका जनशक्तिलाई हामीले प्रशिक्षित गर्ने हो । उहाँहरुलाई कुशल बनाउने ठाउँ हो । त्यसकारण गण्डकी अस्पतालले यो महामारीलाई साँच्चिकै अवसरका रूपमा लिएर काम गर्दै छ । त्यसकारण यो अस्पताललाई कोभिड अस्पताल बनाइयो । 

तपाईंले भनेको अर्को पक्ष, यहाँबाट जटिल सेवा लिइरहेका बिरामीहरु छन्, उहाँहरुको लागि यहाँ मनिपाल अस्पताल पनि छ । गण्डकी मेडिकल कलेज छ, फेवासिटी छ, मेट्रोसिटी छ, चरक अस्पताल छ । अरू थुप्रो निजी अस्पताल छन् । तिनीहरुमा हामी सहकार्य गर्न सक्छौँ । के सरकारी, के निजी सबै एकजुट भएर लागिपरेका छौँ । हामी एकसाथ छौँ । उपचारमा कसैको दुई मत छैन । 
यति ठूलो अस्पताललाई कोभिड अस्पताल नबाइदिएको भए हुन्थ्यो भन्ने शुभचिन्ता हो । तर हामी सबै एकाकार भएर, एउटै फेजमा काम गरि रहेका छौँ । एउटै अभियानमा छौँ । त्यसैले यहाँ धेरै समस्या हुँदैन । 

कोभिड–१९ बाहेकका बिरामीको यहाँ उपचार हुँदैनन् त्यो भए ? 
त्यसो होइन, भइरहेका छन् । डायलाइसिसको उपचार भइरहेको छ । हामीले कोभिडको केस हेर्न थाल्यौँ भने डायलाइसिस गर्ने बिरामीलाई हामी बाहिर लैजान्छौँ । सुत्केरी गराउने सेवा मातृशिशु अस्पतालमा लैजान्छौँ । अरू, विशिष्टि सेवा छन् । यहाँको अरू अस्पतालमा लैजान्छौँ । जहाँ जनताले दुःख पाउँदैनन् । जनताले सरकारी रेटमा बाहिर पनि सेवा हुने गरी व्यवस्था गछौँ । यो अस्पताललाई कोभिडको अस्पताल भनेर जसरी सरकारले तोकेको छ त्यही मान्यताअनुसार हामीले काम अघि बढाउँछौँ । 

कोभिड उपचारमा खटिनका लागि सरकारबाट कतिको सहयोग पाइरहनु भएको छ ? 
सङ्घ र प्रदेश सरकारको हिसाबले हेर्ने हो भने अत्यन्तै एकाकार भएर । सङ्घ सरकारबाट दैनिक सम्पर्कमा आइरहनु भएको छ । प्रदेश स्तरमा एकदमै राम्रो र व्यवस्थित छ । अहिलेसम्म गण्डकी अस्पतालमा बाहेक कुनै पनि जिल्लामा आईसीयू  थिएन । अहिले सबै जिल्लामा आईसीयू राख्ने भनेर गण्डकी प्रदेश सरकारले निर्णय गरेको छ । त्यसको लागि १४ करोड रूपैयाँ भन्दा बढीको लगानी लाग्छ । त्यसको लागि प्रदेश सरकार तयार छ । 

कोभिड उपचारमा खटिने कर्मचारीको मनोबल उच्च राख्न गण्डकी प्रदेश सरकारले सङ्घ सरकारले जति दिएको छ त्यसमा २५ पतिशत थप गरेको छ । विभिन्न तहमा काम गर्ने कर्मचारीलाई तलबको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने कुरा भएको छ । चुनौतीपूर्ण काम गर्ने कर्मचारीलाई ७५ प्रतिशत दिने भन्ने छ । कोभिड सङ्क्रमण भएको बिरामीलाई स्याहार गर्ने कर्मचारीलाई शत प्रतिशत भत्ता दिने कुरा भएको छ । 
उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीलाई कोभिड लाग्यो भने निःशुल्क उपचार गर्ने व्यवस्था छ । कसैको ज्यानै गयो भने बिमाको रकममा ३० लाख रूपैयाँ दिने निर्णय गरेको छ । त्यति मात्रै होइन गण्डकी प्रदेश सरकारले स्थानीय तहमा काम गर्न ५८ गाउँपालिकामा ५, ५ लाख रूपैयाँको  राहत कोष उपलब्ध गराएको छ । गण्डकी प्रदेशमा कोही भोको पेट बस्न नपरोस् भन्ने उद्देश्यले ५८ गाउँपालिकामा ५, ५ लाख, २६ नगरपालिकामा १० लाख, महानगरपालिकामा १ करोड रूपैयाँ अनुदान दिएको छ । 
त्यसैगरी जिल्लाका सुरक्षा निकाय, प्रशासनिक संरचनालाई दुरुस्त राख्न विशेष अनुदान दिएको अवस्था छ । 

कोभिड–१९ टेस्ट गर्ने किटको अभाव भयो भनेर पनि सुन्नमा आएको थियो । पाँच नम्बर प्रदेशबाट पनि कोरोना जाँच्न गण्डकी प्रदेशमा ल्याइने कुरा थिए । के छ यसको पछिल्लो अवस्था ? 
यहाँ पीसीआर टेस्ट सुरु गरिसकेपछि ७ सय २४ को नमुना सङ्कलन गरेका छौँ । ६८ वटा स्याम्पल गुल्मीको पनि कलेक्सन भएको छ । यहाँ हुने टेस्टको विश्वसनीयता पनि राम्रो छ । हामी अत्यन्तै व्यवस्थित रूपमा परीक्षण गरिरहेका छौँ । 
त्यही विश्वसनीय भएकै कारण पनि पाँच नम्बर प्रदेशले काठमाडौँ नपठाएर हामी कहाँ पठाएको छ । त्यो हामीले टेस्ट गरेर पनि उहाँहरुलाई रिजल्ट बताइसकेका छौँ । 
अर्कोतर्फ ७२४ मध्ये ६९५ जनाको नेगेटिभ आएको छ । २ जना सङ्क्रमित भएका थिए । उहाँहरु निको भएर गइसक्नुभयो । २७ जनाको रिपोर्ट आउन बाँकी छ । यसरी हामीले अरू प्रदेशलाई पनि सपोर्ट गरिरहेका छौँ । यो कोभिड विरुद्धको लडाइँमा भलै हामीसँग टेस्टको किटमा कमी हुँदै गई रहेको छ । यो सङ्क्रमणलाई रोकथाम गर्न । हामी गण्डकी प्रदेश मात्रै अघि हिँडेर पुग्दैन । हामी सातै प्रदेश सँगै हिँड्नुपर्छ । 

अत्यावश्यक क्षेत्रमा सरकारले लकडाउन खुकुलो त पा¥यो । तर अनावश्यक भीडभाड पनि जम्मा भएको हामी देख्न सक्छौँ । यो पनि एउटा खतराकै सङ्केत होइन र ?
यो एक हिसाबले जोखिम नै हो । तर सरकारको जिम्मेवारीको हिसाबले हेर्ने हो भने लगभग ५० दिनसम्म पनि हामी लकडाउनमा छौँ । यस्तो अवस्थामा जनताको चुलोको अवस्था के छ ? मुख्यमन्त्री कार्यालयका कार्यक्रम पनि प्रभावित छन् । विकास निर्माणका काम ठप्प छन् । 
त्यसैले पनि अत्यन्तै सचेतनाका साथ गण्डकी प्रदेश सरकारले लकडाउन खुकुलो पारेको छ । प्रदेश छिर्ने नाकामा थप कडाइँ गर्ने । भित्र खुकुलो पार्ने गरिएको छ ताकि निर्माण र अति आवश्यक क्षेत्रमा थोरै खुकुलोपना ल्याइयोस् । अलिकति सहजता होस् भनेर सरकारले जिम्मेवारपूर्ण निर्णय हो । तर अहिले हामीले अत्यन्तै कन्सियस भएर पनि हेर्नुपर्छ । 

एकपटक निको भइसकेका बिरामीमा पनि कोभिड देखिन्छ भनेर भनिएको छ । हाम्रो प्रदेशमा पनि दुई जना सङ्क्रमित निको भएर घर फर्किसक्नु भएको छ । उहाँहरुको अवस्था कस्तो छ ? दोहो¥याएर स्वास्थ जाँच भएको छ ? 
–कोभिड आफैँमा नयाँ प्रकृतिको रोग हो । त्यसैले पनि यसलाई नोबेल कोरोना भाइरस भनिएको छ । तथ्याङ्कहरु अझैसम्म पनि सतहमा आई सकेका छैनन् । वैज्ञानिकहरु यसको अध्ययनमा लागिरहेका छन् । कोभिड सङ्क्रमण भइसकेपछि लङटर्म इफेक्ट के हुन्छ ? बच्चाबच्चिमा के हुन्छ ? ठूलो मान्छे, गर्भवतीमा के हुन्छ ? यो विषयमा धेरै कुराकानी पनि भइरहेका छन् । निको भइसकेका बिरामीमा पनि यो भाइरस देखिने कुरा छ । बागलुङको केसमा उहाँहरु घर फर्किसकेपछि पनि हामीले भेरिफाई गरेका छौँ । उहाँहरुमा त्यस्तो केही छैन । 

सम्भावित जोखिमविरुद्ध लड्न केकस्ता तयारी गरिरहनु भएको छ ? 
स्वास्थ्यको हिसाबले हेर्दा मैले अघि पनि भनिसकेँ प्रत्येक जिल्लामा आईसीयू बेड हुनुपर्छ भनेर सरकारले निर्णय गरेको छ । त्यसको लागि हामीले प्रत्येक जिल्लामा ५ जना स्वास्थ्यकर्मीलाई तालिम दिँदै छौँ । तालिम लिई सकेका स्वास्थ्यकर्मीलाई सपोर्ट गर्नको लागि प्रत्येक जिल्लाको लागि ५, ५ जनाको टिम बनाएका छौँ । त्यो टिमले जिल्लालाई हेर्ने गर्छ । अर्को कुरा परीक्षणको दायरा बढाउनुपर्ने भनेको हुनाले पनि सरकारको त्यो सोचाइलाई कार्यान्वयनमा लैजाने चरणमा, अहिलेसम्म हामीले दुई दुई जनालाई तालिम दिने भनेका थियौँ । अब हामीले एउटै जिल्लामा १० देखि २० जनासम्मको स्वास्थ्यकर्मीलाई तालिम दिन सुरु गरेका छौँ । अरू स्वास्थ्यकर्मीलाई पनि तालिम दिँदै छौँ । विभिन्न प्रोटोकलहरु बनाएका छौँ । पोखरामा रहेका २४ जना विज्ञ डाक्टरहरलाई लिएर ११ वटै जिल्लामा पुगेर हामीले ट्रनिङ दिएर आइसकेका छौँ । 

आपूर्तिको अवस्था सुधार गर्दैछौँ । टेस्टको अवस्था सुधार गर्दैछौँ । जिल्लामा आईसीयूको आवस्था सुधार गर्दैछौँ । अरू थप तयारी के गर्नुपर्छ त्यो विषयमा पनि हामी बहस गर्दैछौँ । अहिलेको अवस्थामा सबैलाई सूचना चाहिएको छ । त्यो सूचना दिनका लागि प्रदेश स्वास्थ निर्देशनालयले प्रत्येक दिन पाँचवटा फम्र्याटमा सूचना उपलब्ध गराउँदै आएको छ । प्रेस रिलिज निकाल्छौँ । वेब पेज अपडेट गर्छौं । मोबाइल एपबाट सूचना जाकारी गराउँछौँ । सबै नागरिकसामु सूचना पुगोस् भन्ने पनि हाम्रो उद्देश्य हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप