मङ्गलबार, १५ असोज २०८१
ताजा लोकप्रिय

भारतमा विशेष रेल संचालनको ‘साइड इफेक्ट’ :

सीमा क्षेत्रमा फेरि नेपाली नागरिकको भिडभाड !

बुधबार, ३१ वैशाख २०७७, १८ : २१
बुधबार, ३१ वैशाख २०७७

-तेजेन्द्र केसी, किरण कर्ण र टंक कुँवर

भारतले लकडाउन केही खुकुलो गर्दै विभिन्न राज्यबाट विशेष रेल सेवा शुरु गरेपछि सीमा क्षेत्रमा नेपाली नागरिकको भिडभाड बढ्ने भएको छ ।

भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका नेपालीहरु भारत सरकारद्वारा सञ्चालित विशेष रेलबाट घर फर्कने आशमा सीमा क्षेत्रमा धमाधम आउन थालेका छन् ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि जारी लकडाउनका कारण अलपत्र अवस्थामा रहेका नेपालीहरु घर फर्कन खोजिरहेको अवस्थामा विशेष रेल सेवा उनीहरुका लागि एउटा माध्यम बन्न सक्छ । त्यस्ता रेल सेवा विभिन्न रुटमा दैनिकजसो सञ्चालन हुने जनाइएको छ ।

त्यस्ता विशेष रेल सेवा लकडाउनका कारण अप्ठ्यारोमा परेकाहरुलाई आफ्नो गन्तव्यसम्म पु¥याउन भन्दै भारत सरकारले सञ्चालन गरेको हो । सोही क्रममा भारतका विभिन्न सहरमा रहेका नेपाली पनि स्वदेश फर्कनका लागि विशेष रेलमार्फत सीमावर्ती भारतीय सहरमा आउने क्रम सुरु भएको छ ।

तर त्यसरी सीमा क्षेत्रमा आउने नेपाली नागरिकको व्यवस्थापन कसरी गर्ने भन्ने सवालमा संघीय सरकारले अझै ठोस निर्णय गरिसकेको छैन । यद्यपि विभिन्न दलहरुले सरकारलाई भारतमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई ल्याउन पहल गर्न विज्ञप्तिमार्फत आग्रह गरिसकेका छन् भने संसदमा पनि सांसदहरुले यस्ता माग गर्दै आएका छन् ।

प्रदेश १ मा खतराको घण्टी
यसअघि नै कोरोना संक्रमितको संख्यामा उकालो चढिसकेको प्रदेश १ भारतमा सञ्चालन हुने विशेष रेल सेवामार्फत सीमा क्षेत्रमा आउने नेपालीहरुको व्यवस्थापनको चुनौती झेल्न सक्न व्यवस्थापकीय रुपमा तयार देखिएको छैन ।

कोरोना संक्रमण फैलन थालेको सुरुवाती चरणमै प्रदेश १ ले भारतको नयाँ दिल्लीबाट आएका जमातीको निगरानी एवं पहिचानमा ढिलाइ गर्दा प्रदेश १ को उदयपुरमा कोरोना संक्रमणको मामला एक्कासी वृद्धि भएको थियो ।

हाल भारतमा दैनिक हजारको परिमाणमा संक्रमित बढ्दै गएको छ । यस्तो अवस्थामा भारतका विभिन्न सहरबाट सीमा क्षेत्रमा आइपुग्ने नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सवाल चुनौतीपूर्ण रहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी बलराम पराजुली बताउँछन् ।

विशेष रेलबाट सीमा क्षेत्रमा आउने नेपालीका बारेमा के गर्ने भन्नेबारे अहिलेसम्म ठोस निर्णय नभएको उनले रातोपाटीलाई बताए । ‘अहिलेसम्म त सीमा क्षेत्रमा त्यस्तो भीड देखिएको छैन,’ उनले भने, ‘आएकै अवस्थामा पनि नेपाल भित्र्याउनेबारे कुनै निर्णय भएको छैन ।

प्रदेश २ का सबै जिल्लामा सतर्कता
पछिल्लो पटक तराई मधेशका जिल्लाहरुमा कोरोना संक्रमणको जोखिम निकै बढेको छ । प्रदेश २ कोरानाको ‘हटस्पट’को रूपमा देखा परेको छ । प्रदेशका सबै जिल्ला भारतसँग जोडिएका तथा खुला सीमा भएका कारण पनि जोखिम बढेको हो ।

हाल प्रदेश २ मा संक्रमित पाइएका धेरैजसो भारतबाटै आएको पाइएको छ । सरकारले लकडाउन घोषणा गरेलगत्तै सीमा नाकाहरु सिल गरिए पनि खुला सीमाको फाइदा उठाउँदै नाकाभन्दा बाहिरबाट लुकिछिपी प्रवेश गर्नेहरु चुनौतीका रुपमा देखिएका छन् ।

प्रदेश नम्बर २ को पर्सा, रौतहट, बारा, सर्लाही, सप्तरी, धनुषा र महोत्तरीमा अहिलेसम्म कोरोना संक्रमित फेला परेका छन् ।

भारतले विशेष रेल सेवा शुरु गरेका कारण प्रदेश २ का सबै जिल्लाका सीमावर्ती क्षेत्रमा थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । प्रदेश नम्बर २  का ८ वटा जिल्लाका  ४ सय २८ किलोमिटर दक्षिणी भेग भारतीय सीमासँग जोडिएको  छ ।

भारतबाट नेपाल प्रवेश गर्न हाल प्रतिबन्ध लगाइए पनि लुकेर नेपाल आउने क्रम रोकिएको छैन । पछिल्लो पटक लकडाउनका बीच नेपाल आएकाहरुमै संक्रमण देखिन थालेको छ । भारतमा रेल खुलेसँगै भारतमा रहेका नेपालीहरु धेरै संख्यामा स्वदेश फर्कन सीमामा आइपुग्न सक्ने खतरा बढ्दै गएको छ ।

नेपाल–भारत सीमामा थप सतर्कता अपनाउँदै सीमा नाकाहरुमा तारबार लगाएर कडाई गरिएमा मात्रै लुकीछिपी सिमापारबाट मानिसहरु आउन नसक्ने सरोकारवालाहरु बताउँछन् ।
खेतीपातीको बहानामा सीमा क्षेत्रमा पुग्ने सजिलै सीमा पार गर्न सक्ने अवस्था देखिएको छ । केही दिनअघि  बारामा भारतीयहरु बलजफ्तीरुपमा नेपाल भित्रिने प्रयास गरेका थिए । उनीहरुलाई सशस्त्र प्रहरी बलले रोक्न खोज्दा झडपको अवस्थासमेत भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सीमा क्षेत्रमा भारीमात्रामा सशस्त्र प्रहरी खटाइएको जानकारी दिए । कतिपय स्थानीयवासीहरुको खेतीपाती दुवै मुलुकतिर रहेको, राति राति लुकिछिपी आउने गरेकोले समस्या बढ्दै गएको उनको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २ मा हालसम्म ९५ जना संक्रमित पाइएको छ । प्रदेश २ को सिरहाबाहेक ७ वटै जिल्लामा कोराना संक्रमणको पुष्टि भइसकेको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्सा जिल्ला भएको छ । यहाँ ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यस्तै, धनुषामा ४, बारामा ३, रौटहटमा ३, महोत्तरीमा २, सप्तरीमा १ र सर्लाहीमा २ जना कोरोना संक्रमित छन् । 

प्रदेश ५ का दुई नाकामा निगरानी
प्रदेश ५ का दुईवटा सीमा नाका सुनौली र जमुनाह नाकामा प्रवासी नेपालीको घुइँचो लाग्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सावधानी अपनाएको प्रदेश सरकारले जनाएको छ ।

भारतको उत्तर प्रदेशमा पर्ने गोखरपुर र लखउनसम्म रेलबाटै भारतका विभिन्न राज्यबाट प्रवासी नेपाली आउने भएका छन् । गोखरपुर रुपन्देहीको सुनौलीदेखि झन्डै सय किलोमिटर दुरीमा पर्दछ भने बाँकेको जमुनाह नाकाबाट झन्डै एक सय किलोमिटर दुरीमा लखउन पर्दछ ।

सीमा क्षेत्रका क्वारेन्टाइनमा रहेका सयौँ नेपालीलाई स्वदेश ल्याउन नसकेको अवस्थामा भारत सरकारद्वारा सञ्चालित विशेष रेलसेवाबाट आउनेहरुको व्यवस्थापन गर्न थप चुनौती हुने देखिएको छ ।

प्रदेश ५को रुपन्देही, कपिलवस्तु, बाँकेका सीमावर्ती क्षेत्रमा चार हजारभन्दा बढी नेपाली अलपत्र अवस्थामा छन् । सीमामा चार–पाँच दिनअघि आइपुगेका उनीहरू नेपाल प्रवेश गर्न नपाएपछि दशगजामै अलपत्र परेका हुन् । कोही भारतीय क्वारेन्टाइनमा बसेका छन् भने कतिपय सडकमै रात काटेर बसेका छन् । केही भने लुकिछिपी नेपाल भित्रिएको बताइन्छ ।

भारतको विभिन्न सहरबाट गोरखपुर  र  लखनउसम्म विशेष रेलबाट आउने नेपालीलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे प्रदेश सरकार अलमलमा परेको छ ।

उनीहरुका लागि प्रदेश सरकारले तत्काल केही गर्न नसक्ने प्रदेश सकारका प्रवक्ता एवं मन्त्री वैजनाथ चौधरीले रातोपाटीलाई बताए । उनले भारतीय रेल संचालनपछि स्वाभाविक रुपमा सीमामा नेपालीहरुको संख्या थपिने जनाउँदै संघीय सरकारले उनीहरुको व्यवस्थापनका सम्बन्धमा पहल गर्नुपर्ने बताए ।

हाल सीमा बन्द रहेका कारण उनीहरुलाई स्वदेश भित्र्याउन सक्ने अवस्था नरहेको प्रष्ट पार्दै प्रदेश सरकारका प्रवक्ता चौधरी संघीय सरकारले नै आवश्यक पहल गर्नुपर्ने बताउँछन् ।

सीमामा आइपुगेका हजारौं नेपालीलाई प्रदेशमा ल्याउन थप समस्या हुने उनको भनाइ छ । उनीहरुमा कोरोना संक्रमण रहे÷नरहेको परीक्षण गर्न आरडिटी  र  पिसिआर किट आवश्यक पर्ने र अहिले प्रदेशमा ती किट पर्याप्त नभएको उनले बताए ।

संघीय सरकारबाट किट उपलब्ध भएमा भारतबाट आएका सबैको स्वास्थ्य चेकजाँच गरेरमात्र भित्र्याउन सकिने मन्त्री चौधरी बताउँछन् । उनले दैनिक रुपमा नयाँ संक्रमित भेटिएकोले चुनौती थपिदै गएको अवस्थामा भारतबाट आउने हजारौं नागरिकको व्यवस्थापन गर्न त्यति सहज नभएको बताए ।

अहिले प्रदेशमा रहेका ४ वटा कोरोना विशेष अस्पतालको क्षमता वृद्धिको तयारी भइरहेको छ । नेपालगञ्जमा सैनिक अस्पताल प्रयोग गर्ने  र कोरोना अस्पालको पनि बेड क्षमता तत्काल वृद्धि गर्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।

हाल प्रदेशमा रहेका क्वारेन्टाइनहरु स्थानीय तहले व्यवस्थापन गर्दैै आएका छन् । आवश्यक परेका विद्यालय तथा सरकारी भवनहरुलाई समेत क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने तर ती सबैको व्यवस्थापनमा चुनौती थपिने उनको भनाइ छ । प्रदेशमा कोरोना संक्रमितहरु दैनिक रुपमा वृद्धि भइरहेका कारण प्रदेशभित्रै संदिग्ध संक्रमितको पहिचान, तिनको व्यवस्थापनमा गम्भीर भएर काम गर्नु परिरहेको उनले बताए ।

चोरबाटो हुँदै आउनेबाट खतरा
सुनौलीमा करिब दुई हजारभन्दा बढी नेपाली अलपत्र परेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिएका छन् । उनीहरुलाई नेपाल भित्र्याउनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पहल गरिरहेको छ ।

नेपाल प्रवेश गर्ने आसमा आएकामध्ये केहीलाई भारतीय क्वारेन्टाइनमा राखिएको छ । उनका अनुसार भारतीय क्वारेन्टाइनमा करिब एक हजार छन् भने बाँकी सडक किनारा, बसपार्क, मठमन्दिरलगायत स्थानमा छरिएर बसेका छन् ।

भारतले अब आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसकिने बताइसकेको छ । जसका कारण प्रदेश ५ का विभिन्न नाका नजिकका चोरबाटोबाटै भित्रिनेको संख्या बढ्दै गएको छ । प्रदेश ५ मा हाल संक्रमति ७० जनामध्ये ५३ जना भारतको मुम्बई र दिल्लीबाट लकडाउनको बेला चोरबाटो हुँदै नेपाल भित्रिएको पाइएको छ । त्यसैले चोरबाटोबाट भित्रिनेहरुको रोकथाम चुनौती बनिरहेको अवस्था छ ।

प्रदेश ५ का १२ जिल्लामध्ये ६ वटा जिल्लामा भारतबाट लुकीछिपी आउनेहरु धेरै छन् । बाँके, रुपन्देही र कपिलबस्तु यसरी आउनेको संख्या अत्यधिक रहेको बताइन्छ ।

भारतका विभिन्न सहरबाट विशेष रेल संचालन भएपछि यसरी चोरबाटोबाटै नेपाल भित्रिनेको संख्या थप बढ्ने सम्भावना अत्यधिक रहने अनुमान गरिएको छ । खुला सीमा र सुरक्षाकर्मीको उपस्थिति कम भएको मौका छोपेर भारतबाट चोरबाटोबाट नेपाल प्रवेश गर्ने क्रम बन्द गर्न कठिन देखिन्छ ।

२५ दिन भारतीय क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई लैजानका लागि भारतले दबाब दिएको छ । सोही कारण सुनौलीमा रहेका क्वारेन्टाइनमा २५ दिन बिताएका नेपालीलाई स्वदेश प्रवेश गराउन पहल थालिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले बताए ।

उनले भने, ‘तर केन्द्रको निर्देशनविना कुनै हालतमा यता भित्र्याउन सकिदैन, ल्याइहालेको अवस्थामा पनि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्नेबारे व्यापक तयारी चाहिन्छ ।’

उनले स्थानीय तहसँगको समन्वयमा कम्तीमा पाँच सय जनालाई  स्वदेश भित्र्याउने र क्वारेन्टाइनमा राख्न सकिने बताए ।

सुदूरपश्चिममा पनि कम छैन चुनौती
भारतमा रोजगारीका लागि जाने नेपालीमध्ये सुदूरपश्चिमकै बासिन्दा सर्वाधिक हुने गरेका छन् । त्यसैले भारत सरकारले संचालन गरेको विशेष रेलको सुविधा प्रयोग गरेर सुदूरपश्चिमका सीमा क्षेत्रमा नेपालीहरुको चाप बढ्न सक्ने अनुमान गरिएको छ । 

यही परिस्थितिलाई मध्यनजर गर्दै केही दिनअघि बनबासास्थित क्वारेन्टाइनमा रहेका दुई सयभन्दा बढी नेपालीलाई भारतीय पक्षले रातारात नेपाल पठाएको थियो । सीमा क्षेत्रमा थप नेपाली आउन सक्ने र उनीहरुलाई पनि केही दिन सुरक्षित राख्नुपर्ने अवस्था आउनसक्ने आँकलन गर्दै भारतले झण्डै डेढ महिनादेखि आफ्नो क्वारेन्टाइनमा रहेका दुई सयभन्दा बढी नेपालीलाई गड्डचौकी नाकाबाट नेपाल प्रवेश गराएको थियो । 
विशेष रेलबाट सीमा क्षेत्रमा आउने नेपालीको व्यवस्थापनका लागि प्रदेश सरकारले योजना बनाएको छैन । 

सुदूरपश्चिम प्रदेशमा पनि खुला सीमानाका कारण चोरबाटोबाट प्रवेश गर्नेहरु ठूलो चुनौती बन्ने निश्चित छ । 

विशेष रेलसेवाका कारण कैलालीको त्रिनगर भन्सार नाका, कञ्चनपुरको गड्डा चौकी नाका र टिकापुरको खक्रौला नाकाबाट नेपालीहरु आउने सम्भावना रहन्छ । भारतको पलियासम्म रेल पुगे कैलालीको त्रिनगर भन्सारबाट नेपालीहरु आउने सम्भावना रहन्छ भने भारतको मैलानीसम्म रेल पुगे टिकापुरको खक्रौला नाकाबाट नेपालीहरु आउने सम्भावना रहन्छ । त्यसैगरी भारतको बनवासासम्म रेल पुगे कञ्चनपुरको गड्डा चौकीबाट नेपाली आउने सम्भावना रहन्छ ।

पहाडी जिल्लाका नाकामा भने रेल सुविधा नभएको कारण त्यति ठूलो समस्या नहुने आँकलन गरिएको छ ।

भारतमा रेल संचालनमा आए पनि नेपालमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नाकाहरुमा थप कडाई गरिने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए । नकामा थप प्रहरी परिचालन गरेर निगरानी बढाइने उनको भनाइ छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले  भारतमा रेल चल्दा आफूहरुलाई समस्या नहुने बताए । उनले नेपाल सरकारले निर्णय विना कुनै पनि नागरिकलाई  प्रवेश नदिइने भएकाले समस्या नहुने प्रष्ट पारे । लुकीछिपी आउन खोज्नेका लागि भने निगरानीका बढाउनुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप