शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महानगरपालिकाको विकासमा अवरोध नगर्न आग्रह

बुधबार, ३१ वैशाख २०७७, १६ : २१
बुधबार, ३१ वैशाख २०७७

चितवन । भरतपुर महानगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीसहित १६ जना वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यहरुले न्यायिक निरूपणको प्रकृयामा रहेको घटनालाई अतिरन्जित गरी महानगरपालिकाको समग्र विकासमा अवरोध नगर्न आग्रह गरेका छन् । उनीहरुले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

कोरोना विशेष अस्पतालबाट सामान ओसारपसार भएको विषयलाई लिएर नेपाली काँग्रेससम्वद्ध उपमेयर, वडाध्यक्ष र जनप्रतिनिधिले वक्तव्यबाजी गर्दै महानगरको औपचारिक कार्यक्रम बहिष्कार गर्ने बताएपछि बुधबार संयुक्त विज्ञप्तिमार्फत् सहमति र सहकार्यका लागि आग्रह गरिएको हो ।

विज्ञप्तिमा महानगरपालिकाका सम्पूर्ण गतिविधी, विकास निर्माणका साथै आइपरेका समस्याहरू कार्यपालिकाकै बैठकमा दफावार छलफल गरी निचोडमा पुग्न र वक्तब्यबाजीलाई छोडी बिधिसम्मत ढंगले अगाडि बढ्न उपमेयर, सम्बद्ध वडा अध्यक्ष तथा जनप्रतिनिधिहरूलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत ३ महिनादेखि नोबेल कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट नेपाल समेत आक्रान्त छ । यस विपदबाट महानगरवासीहरुलाई जोगाउन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको संयोजकत्वमा प्रमुख राजनीतिक दलहरु, निजी क्षेत्र लगायत सरोकारवालाहरु समेतको सहभागितामा कोरोना नियन्त्रण कार्यदल गठन गरी ७२ घन्टाभित्र भरतपुर कोरोना विशेष अस्थायी अस्पताल चैत ७ गते र भरतपुर कोरोना परीक्षण प्रयोगशाला स्थापना भई चैत २३ गतेदेखि सेवा प्रवाह भइरहेको विदितै छ । भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकबाट अस्पताल स्थापना, संचालन कार्यविधि र बजेट विनियोजनका निर्णय गरी संचालन गरिएको व्यहोरा पनि सर्वविदित नै छ ।’

‘कोरोना भाइरसको प्रकोप लामै समय जाने लक्षण देखिएसंगै भरतपुर महानगरपालिकाले भरतपुर अस्पतालसंग दुईपक्षीय सहमति गरी चैत २१ गतेदेखि भरतपुर केन्द्रीय अस्पताललाई हस्तान्तरण गरी हाल सेवा प्रवाह भैरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यसै सन्दर्भमा केही संचारमाध्यममा सार्वजनिक भएका सिसिटिभी फुटेजहरू र यसले जनमानसमा पारेको नकारात्मक प्रभावले सिङ्गो भरतपुर महानगरपालिकाको ध्यानाकर्षण भई सोही अवस्थामा प्रष्ट पारिसकिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाल उक्त मुद्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोग र चितवन जिल्ला प्रशासन कार्यालयमा छानबिनको प्रकृयामा रहेको अवस्थामा नेपाली कांग्रेससम्वद्ध भरतपुर महानगरपालिकाका जनप्रतिनिधिहरू, उपप्रमुख लगायत वडा अध्यक्षहरूले यस घटनालाई लिएर सडकमा नाराबाजी गर्ने, ज्ञापनपत्र बुझाई महानगरपालिकाको कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुनेसम्मका भाषाहरू प्रयोग गरी मिति २०७७ वैशाख २९ गते सोमबार प्रकाशित विज्ञप्तिप्रति भरतपुर महानगरपालिकाका हामी जनप्रतिनिधिहरुको गम्भीर ध्यानाकर्षण भएको छ । हामी यस्ता गतिविधिको घोर निन्दा एवं भत्र्सना गर्दछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘नगर कार्यपालिकाको बैठकबाट हामी सबै एकमत भएर गरिएको निर्णयबाट विमुख हुने परिपाटीले हामीलाई सही निष्कर्षमा पु¥याउन सक्दैन । स्थानीय सरकारमा पक्ष र प्रतिपक्षको कुनै व्यवस्था छैन । हामी जनप्रतिनिधिहरु केवल सामुहिक प्रयासमा महानगरको समृद्धि र विकासमार्फत सुशासन प्रवाह गर्ने कुरामा सधैं प्रतिवद्ध छौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समय भरतपुर कोरोना विशेष अस्थायी अस्पतालको विषयलाई लिएर उपप्रमुख तथा वडा अध्यक्षहरुले अनावश्यक रुपमा वक्तव्यबाजी तथा सडकमै गएर गरिएको नाराबाजी जस्तो गैरजिम्मेवार कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । न्यायिक समिति र अनुगमन समितिको संयोजक उपप्रमुख तथा वडा अध्यक्षजस्तो गरिमामय पद धारण गरिरहनु भएका जनप्रतिनिधिबाट यस्ता खालका गतिविधि जनताले अपेक्षा गरेभन्दा विपरीत हुन् भन्ने हाम्रो ठहर छ ।’

भरतपुर महानगरपालिका र यसको मूल नेतृत्व सहकार्य र आपसी सहमतिको आधारमा महानगरपालिकाको समग्र विकासको पक्षमा रहेको भन्दै विज्ञप्तिमा कोरोना अस्पतालबाट बाहिरिएको सिसिटिभी फुटेजको घटनासँग जोडेर महानगरपालिकाको मूल नेतृत्वलाई उदासिन र कानुनको धज्जी उडाइएको भनी गरिएका भद्दा तथा आधारहीन वक्तव्यबाजीमा लाग्नुभन्दा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम उपप्रमुख पार्वती शाह ठकुरीकै नेतृत्वमा रहेको न्यायिक समिति तथा अनुगमन समितिले यथासक्य छिटो उक्त घटनाको छानबिन गरी सत्य, तथ्य बाहिर ल्याउन जोडदार माग गरिएको छ ।

यसरी संयुक्त विज्ञप्ति जारी गर्ने वडाध्यक्षहरुमा भरतपुर २ का पूर्णबहादुर श्रेष्ठ, ४ का हरिप्रसाद आचार्य, ५ का पदमपाणी सुवेदी, ७ का राजेन्द्रमणि काफ्ले, ९ का यमलाल कँडेल, १० का अरुण पीडित भण्डारी, ११ का बाबुराम अधिकारी, १२ का नरेन्द्रकुमार कन्दङ्वा, १३ का प्रकाश दवाडी, २२ का विष्णुराज महतो, २३ का नरिनारायण पौडेल, २४ का कान्छा मल्ल, २६ का ज्ञानप्रसाद खनाल, २८ का आशबहादुर कुमाल र २९ का मनबहादुर रानामगर छन् । विज्ञप्ति जारी गर्ने कार्यपालिका सदस्यहरुमा चक्र रुचाल, मनबहादुर विश्वकर्मा, धनकुमारी विक, बिना गुरुङ र पार्वती विक छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप