बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनमा ग्राहकलाई बोनस दिँदा नेपाल टेलिकमको नाफामा गिरावट

मङ्गलबार, ३० वैशाख २०७७, १४ : ००
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौं– टेलिकमले लकडाउनमा ग्राहकलाई बोनस दिँदा आम्दानी घटेको जनाएको छ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७६÷७७को तेस्रो त्रैमासिक विवरण सार्वजनिक गर्दै नाफामा गिरावट आएको जनाएको हो । 

नेपाल टेलिकमले चालु आर्थिक वर्षको ९ महिनामा ७ अर्ब ५६ करोड रुपैयाँ नाफा आर्जन गरेको पनि जनाएको छ । कम्पनीले गत वर्षको सोही अवधिमा ७ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको थियो।  गत वर्षको तुनामा ४.२७ प्रतिशतले नाफामा गिरावट आएको कम्पनीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

टेलिकमले २०७५ चैत्र १ देखि कम्पनीले रिचार्ज कार्डको बिक्रीमा कमिसनको सट्टा डिस्काउन्ट गणना गर्न शुरु गरेको र जसका कारण सेवा वापतको आम्दानी घटेको जनाएको छ । चालू आवको तेस्रो त्रैमाससम्ममा यस्तो डिस्काउन्ट रकम ८५ करोड ३३ लाख ४४ हजार रुपैयाँ रहेको छ । 

यसरी चालु आवको तेस्रो त्रैमाससम्मको कूल आयमा डिस्काउन्ट पनि सम्मिलित गर्दा कूल आय गत आवको सोही अवधिको तुलनामा करिब १८ करोडले बढी हुनेछ ।

यसैगरी कोरोना भाइरसको महामारी नियन्त्रणको लागि चैत्र ११ देखि घोषणा गरिएको लकडाउनको कारणले चैत्र महिनाको राजस्वमा नकारात्मक असर परेको जानकारी टेलिकमले दिएको छ । 

लकडाउनको अवधिमा चैत्र २०७६ भित्र कम्पनीले टपअपमा प्रदान गरेको शतप्रतिशत बोनस रकममा कुल ५३ करोड ४ लाख रुपैयाँ र सोही अवधिमा शुन्य व्यालेन्स भएका मोबाइल प्रयोगकर्ताहरूलाई ५ करोड ३ लाख रुपैयाँ बराबरको जिरो व्यालेन्स प्याकेज प्रदान गरेको थियो । 

त्यसैगरी मोबाइल सेवाको आधारभूत दरमा २७ प्रतिशत देखि ३० प्रतिशतसम्म छुट प्रदान गरिएको जसबाट ८ करोड २ लाख रुपैयाँ आम्दानी गुमाएको छ । लकडाउनको कारणले मात्र कम्पनीको आयमा कूल ६६ करोड ९ लाख रुपैयाँ घाटा भएको कम्पनीले जनाएको छ । 

टेलिकमले सरकारको कोरोना राहत कोषमा समेत १० करोड रुपैयाँ दिएको थियो । यसका साथै समीक्षा अवधिमा विदेशी विनिमयदरमा भएको वृद्धि तथा बाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, फोरजी विस्तारसँगै घरभाडा, बिजुली आदिको खर्चमा भएको वृद्धि, नेटवर्क तथा सेवा विस्तारको क्रममा टिम परिचालनको लागि लाग्ने खर्च वृद्धि आदिको कारण पनि व्ययभार बढ्न गई मुनाफामा असर परेको टेलिकमले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप