शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउन खुकुलो भयो, सामाजिक दुरी कम नहोस् !

यस्ता कुरामा ध्यान दिन डाक्टर अनुप बास्तोलाको सुझाव
सोमबार, २९ वैशाख २०७७, ०८ : ५२
सोमबार, २९ वैशाख २०७७

कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणलाई फैलिनबाट रोक्नका लागि गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनलाई उपत्यकामा केही खुकुलो बनाइएको छ । आइतबारदेखि अत्यआवश्यकीय सेवाहरु सञ्चालनमा आएसँगै काठमाडौँ उपत्यकामा समय तालिकाअनुसार सवारीसाधन सञ्चालन गरिएको छ । काठमाडौंमा अस्पताल, वित्तीय संस्था, ठूला निर्माण सामग्री बोकेका ट्रक, सरकारी कार्यालय, उद्योगमा काम गर्ने कर्मचारीले समय तालिकाअनुसार सवारी चलाएका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको बेलामा खुकुलो पारिएको लकडाउनमा कार्यस्थलबाट घरमा आउने जाने गर्ने व्यक्तिहरुले विषय ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोला बताउँछन् । कामका लागि यात्रा गर्दा र कार्यालयमा काम गर्दा गर्दा सावधानी नअपनाए जोखिम हुने उनको भनाइ छ ।

कार्य क्षेत्रमा यसरी ध्यान दिनुपर्छ

कोरोना संक्रमणबाट बाच्नका लागि घरदेखि कार्यक्षेत्रमा पैदल हिँडेर पुग्नेले बाटोमा आउँदाजाँदा अन्य व्यक्तिसँग ६ फिट दुरी कायम गरेर हिँड्नुपर्ने डा. बास्तोला बताउँछन् । कार्य क्षेत्रमा पुग्ना साथ साबुन पानीले हात धुने तथा सेनिटाइजरको अनिर्वाय रुपमा प्रयोग गर्नुपर्ने उनी बताउँछन् । घरबाट बाहिर निस्कदा तथा कार्य क्षेत्रमा जाँदा अनिर्वाय रुपमा मास्क, पञ्जा लगाएर हिँड्नुपर्छ ।

सवारीसाधनमा यात्रा गर्दा व्यक्तिगत दुरी कायम गरेर बस्नुपर्छ । कार्यालय आउँदाजाँदा कुनै पनि स्थानमा भिडभाड नगर्ने र भीड भएको स्थानमा जान नहुने उनी बताउँछन् ।

काम गर्ने क्रममा सेवाग्राहीहरुसँग निश्चित दुरी कायम गर्नुका साथै काम गर्दा मुख, नाकमा हात लान नहुने उनी बताउँछन् । काम गर्ने क्रममा खोक्दा, हाच्छयूँ गर्दा रुमाल तथा टिस्युको अनिर्वाय रुपमा प्रयोग गर्न पर्छ । सेवाग्राहीलाई कार्यालयमा प्रवेश गर्ना साथ साबुनपानी तथा सेनिटाइजरले हात सफा गर्ने अनिर्वाय रुपमा व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

घरमा पुगेर अन्य समयमा जस्तो कपडा खोलेर जहाँपायो त्यहीँ राख्न नहुँने उनी बताउँछन् । ‘सकेमसम्म कपडा खोलेर घाम लाग्ने ठाउँमा सुकाउने अनि नुहाउनुपर्छ,’ उनी भन्छन्, ‘कार्य क्षेत्रबाट घर फर्किएपछि बच्चा, दीर्घरोगी, वृद्धावृद्धसँग दुरी कायम गरेर बस्नुपर्छ ।’ सकेसम्म कोरोना संक्रमण गति कम नभएसम्म परिवारमा पनि सामाजिक दुरी कायम गर्न सकेमा राम्रो हुने उनको भनाइ छ ।

अतिआवश्यक सामाग्री किन्न जाँदा

घरमा चाहिँने अतिआवश्यकीय सामाग्री किन्न टाढाटाढा जानुको साटो घर नजिकैको पसलबाट किन्दा कम जोखिम हुने उनी बताउँछन् । उनी भन्छन्, 

–पसल तथा डिपार्टमेन्ट स्टोरमा गएर अति आवश्यक खाद्यान्न, तरकारी खरिद गर्दा व्यक्तिगत दुरी कायम गर्नुपर्छ ।

–घरमा चाहिने आवश्यकीय सामाग्री लकडाउनको समयमा सम्भव भएसम्म अनलाइनबाट होमडेलिभरी गर्ने ।

–घरबाट बाहिर निस्कदा सामान किन्न जाँदा मास्क र पञ्जाको प्रयोग गर्नुपर्छ ।

–सामान किनेर आइसकेपछि साबुनपानीले हातधुने तथा सेनिटाइजारको अनिर्वाय रुपमा प्रयोग गर्नुपर्छ ।

–स्वास्थ्यमा सामान्य समस्या आएमा अस्पताल धाउनभन्दा फोन मार्फत चिकित्सक तथा स्वास्थ्यकर्मीसँग परार्मश लिएर औषधि सेवन गर्न सकिन्छ ।

–नियमित रुपमा सेवन गुर्नपर्ने औषधि चिकित्सकको सल्लाहमा लामो समयका लागि खरिद गर्न सकिन्छ ।

–आवश्यकीय औषधि उपचार गर्न स्वास्थ्य संस्था गएको बेला प्राथमिक उपचारका लागि चाहिँने औषधि तथा औजार आफै खरिद गर्दा समेत राम्रो हुन्छ ।

–लकडाउनको बेलामा अति आवश्कीय सेवाका लागि फोन नम्बर राख्नुपर्छ । जस्तै अस्पताल तथा स्वास्थ्य संस्था, नेपाल प्रहरी, एम्बुलेन्स, खानेपानी, फोहोरआदिको ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी केहिलेसम्म रहन्छ भन्नेबारे आँकलन गर्न सकिदैन । त्यसैले कोरोनाभाइरसको संक्रमणबाट बाच्नका लागि शारीरिक रुपमा सफाइसँगै मानसिक रुपमा स्वस्थ रहन आवश्यक पर्ने डा. बास्तोला बताउँछन् । लकडाउनको बेला घरमा सिमित हुँदा विश्वनीयतथा भरपर्दो मिडियाको समाचार पढ्ने, सुन्ने र हेर्ने गर्नुपर्ने उनी बताउँछन् ।

आत्मबल उच्च राखेर नियमित रुपमा योगा अभ्यास, ध्यान, प्रणायाम गर्नुका साथै अन्य शारीरिक व्यायाम गर्नुपर्ने डाक्टर बास्कोटाको सुझाव छ । ‘घरमै स्वास्थबर्धक खानेकुरा पकाएर खानुपर्छ । साथै घरमै समिति हुँदा अध्ययन गर्ने, घरभित्रै विभिन्न किसिमका मनोरञ्जनात्मक खेल खेलेर समय बिताउनुपर्ने उनी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप