सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

लिपुलेकमा मोटर बाटो :  नेपालको अर्बौंको व्यापारमा खतराको घण्टी

कैलाश पर्यटनमा आउनसक्छ व्यापक मन्दी, लगानी डुब्ने पर्यटन व्यवसायीको चिन्ता
सोमबार, २९ वैशाख २०७७, ०७ : ४८
सोमबार, २९ वैशाख २०७७

शुक्रबार भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने बाटोको उद्घाटन गरे । बाटोको उद्घाटन भएलगत्तै नेपालमा त्यसको विरोध सुरु भएको छ । भारतले निर्माण गरेको यो बाटोले नेपालको पर्यटनक्षेत्र र आर्थिक उपार्जनमा पनि ठूलो महत्त्व राख्दछ । गत वर्षकै सरकारी तथ्याङ्क हेर्ने हो भने नेपाल हुँदै चीनको कैलाश अर्थात् मानसरोवर जाने भारतीय पर्यटकको सङ्ख्या २० हजार ५ सयको हाराहारीमा थियो । उनीहरुले प्रतिव्यक्ति ३ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका थिए । अर्थात् गत वर्ष कैलाश जाने भारतीय पर्यटकहरुले औषतमा ४ लाखका दरले हिसाब गर्दा पनि उनीहरुले ८ अर्ब २० करोड रुपैयाँ खर्च गरेका थिए । त्यो रकमको ५० प्रतिशत रकम नेपालमा खर्च हुँदा पनि करिब ४ अर्ब रुपैयाँ नेपालकै पर्यटनक्षेत्रमा आउने गर्दथ्यो ।

तर जब भारतले लिपुलेकको बाटो उद्घाटन ग¥यो, यसले कैलाश मानसरोवरको व्यापार गर्ने टुर अपरेटर र होटल लगायतका पर्यटन व्यवसायमा संलग्नहरुको टाउको दुखायो । किनभने यदि यही बाटो भएर भारतीय पर्यटकहरु मानसरोवर जान थाले भने नेपालगञ्ज, सिमीकोट, हिल्सा लगायतका स्थानमा बनेका तारे होटल तथा रिसोर्टदेखि हेलिकोप्टरको व्यवसायमा समेत प्रत्यक्ष असर गर्नेछ ।

अर्बौंको लगानी डुब्ने जोखिम छ : सिएन पाण्डे

टुर तथा ट्राभल व्यवसायीहरुको छाता संगठन नाट्टाका पूर्व अध्यक्ष सिएन पाण्डे कैलाशको व्यापारमा व्यापक कटौती हुने जोखिम देख्छन् । कैलाश मानसरोवर यात्राका लागि भारतीय पर्यटकहरुले कम्तिमा ५ दिन नेपालमा बिताउने गरेको भन्दै यदि लिपुलेकको बाटो पूर्णरुपमा खुल्ला भएमा मानसरोवर पर्यटनमा नेपालको एकाधिकार सकिने उनी बताउँछन् । पाण्डे भन्छन्, ‘कैलाश मानसरोवर जानका लागि यसअघिको एकमात्र विकल्प भनेको नेपाल हुँदै जाने नै हो । नेपालको केरुङ, कोदारी र हिल्सा नाका हुँदै तिब्बतको मानसरोवरको यात्रामा पर्यटकहरु निस्कने गरेका थिए । यो मानसरोबर जाने नेपालको एकाधिकार भएको बाटो थियो । तर जब भारतले लिपुलेक हुँदै मानसरोबर जाने बाटो खोल्यो, यसले कैलाश पर्यटनमा ठूलो चुनौती खडा गरिदिएको छ ।’

नेपालगञ्जदेखि सिमीकोटसम्मका होटल बन्द हुन सक्छन्

भारतले आफ्नै भूमि भन्दै दाबी गरेको लिपुलेकको बाटो कैलाश मानसरोवरको यात्रा सुरु भएमा नेपालले आधाभन्दा बढी पर्यटक गुमाउने पाण्डेको तर्क छ । उनी भन्छन्, ‘अहिले नेपालगञ्जमा सुविधासम्पन्न तारे होटलहरु बनेका छन् । हुम्लाको सिमीकोटमा पनि स्तरीय होटलहरु खुलेका छन् । हिल्सासम्म पनि राम्रा होटलहरु बनेका छन् । कोदारी, नाकामा पनि राम्रा र स्तरीय गेष्ट हाउसहरु बनेका छन् । उनीहरुको मुख्य व्यापार भनेको मे देखि अगस्तसम्म चल्ने मानसरोवर यात्रा र भारतीय पर्यटक नै हुन् । यदि अबको मानसरोवर यात्रा लिपुलेक हुँदै चल्ने हो भने यी होटलहरु पनि क्रमशः बन्द हुन्छन् । किनभने व्यापार नै भएन भने होटल हुनु र नहुनुको कुनै अर्थ छैन ।’

यस्तो थियो कैलाश जाने पर्यटकको ‘रुट’

कैलाशको यात्रामा निस्कने अधिकांश पर्यटकहरु भारतीय नागरिक हुन्थे र उनीहरु हिन्दु धर्मावलम्बी थिए । कैलाश जाने भारतीय पर्यटकमध्ये करिब–करिब शत प्रतिशत पर्यटक नेपाल हुँदै जान्थे । तथ्यांक हेर्ने हो भने गत वर्ष २० हजार ५ सयको हाराहारीमा भारतीय पर्यटकहरु कैलाश यात्रामा निस्किएका थिए । उनीहरुमध्ये करिब ३ हजार जना काठमाडौंबाट ल्हासासम्म विमानमार्फत् गएका थिए । बाँकी १७ हजार ५ सयमध्ये ९ हजार ५ सयको हारहारीमा पर्यटकहरु स्थलमार्ग वा विमानमार्फत् नै नेपालगञ्ज र त्यहाँबाट हुम्लाको सिमीकोट वा हिल्सा नाकासम्म पुगेका थिए । बाँकी ८ हजार पर्यटक भने केरुङ नाका हुँदै तिब्बतबाट मानसरोवर जाने गरेका थिए ।

नेपालबाट कैलाश मानसरोवर जाँदा १२ देखि १५ दिन समय लाग्थ्यो । जसमध्ये नेपालमा कम्तीमा ५ दिन र बढीमा ७ दिन तथा तिब्बतमा कम्तिमा ७ दिन र बढीमा १० दिनसम्म पर्यटकहरु बस्ने गर्दथे ।


पर्यटन व्यवसायी पाण्डेका अनुसार यदि लिपुलेकको बाटो राम्रोसँग चलेको अवस्थामा भारतबाट आउने अन्य पर्यटकमा पनि कमी आउन सक्नेछ । पाण्डेका अनुसार कैलाश जाने यात्रुहरु कैलाशबाट फर्किएपछि केही समय नेपालको भूभाग पनि घुम्ने गरेका थिए । परिवारका सदस्य कैलाश यात्रामा निस्किएपछि उनीहरुका केही आफन्त भने नेपालकै अन्य भूभागहरुमा समेत घुम्ने गरेको पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कैलाश यात्रामा लिपुलेक हाबी भयो भने कैलाश पर्यटन मात्रै होइन, यसले समग्र पर्यटनमा असर गर्नेछ ।’


तर यदि अब लिपुलेकको बाटो पूर्णरुपमा खुल्ला भएको अवस्थामा भारतीय पर्यटकहरु १० दिनमै कैलाश यात्रा गरेर फर्कन सक्छन् । भारतीय पर्यटकहरुलाई त्यो बाटो छोटो मात्रै होइन, कम खर्चिलो पनि बन्नेछ र अहिलेको भन्दा झण्डै आधा शुल्कमै उनीहरु कैलाशको यात्रा गर्न सक्नेछन् ।

अहिलेको चलेको रुट नेपालगञ्जबाट सिमीकोट र त्यहाँबाट हिल्सा हुँदै मानसरोबार जाने हो भने करिब १५ दिनको समय लाग्दथ्यो । पर्यटकहरु नेपालगञ्जबाट हेलिकोप्टरमा हुम्लाको सिमीकोट पुग्दथे । सिमीकोटबाट अर्को हेलिकोप्टरमा हिल्सा नाका पुग्दथे । अनि हिल्साबाट ३० किलोमिटर गाडीको यात्रामा तिब्बतको बुराङ टाउन (ताक्लाकोट) भन्ने स्थानमा गएर २ दिन बस्दथे । किनभने तल्लो स्थानबाट एकैपटक माथिल्लो स्थानमा गएर बस्दा हाई लाग्ने सम्भावना हुने हुँदा २ दिन त्यहीँ आराम गराइन्थ्यो । त्यसपछि ताक्लाकोटबाट करिब १०० किलोमिटर यात्रामा मानसरोबर पुगिन्छ र त्यहाँ गएर २ रात बसिन्छ ।

मानसरोबारबाट अर्को दिन ३० किलोमिटर टाढा दार्चेन भन्ने स्थानसम्म गाडीमा यात्रा हुन्छ । र त्यसपछि ४२ किलोमिटर कैलाश पर्वतलाई फन्को लगाइन्छ । यो सबै यात्राका क्रममा तिब्बततर्फ करिब १ हजार ३ सय डलर खर्च हुने गरेको पर्यटन व्यवसायी पाण्डे बताउँछन् । 

कैलाश जानेहरु खर्चालु पर्यटक मानिन्थे

पर्यटन व्यवसायी पाण्डेका अनुसार कैलाश यात्रामा निस्कने पर्यटकहरु खर्चालु पर्यटकमा गनिन्थे । कैलाश जानका लागि उनीहरुले करिब २ साताको अवधिमा ३ लाख ५० हजारदेखि ५ लाख रुपैयाँसम्म खर्च गर्ने गरेका थिए । पाण्डे भन्छन्, ‘भारतीय तीर्थयात्रु भनेको खर्चालु पर्यटकमा पर्छन् । उनीहरुले कैलाश यात्राका लागि ३ हजारदेखि ४ हजार ५ सय अमेरिकी डलरसम्म खर्च गर्ने गरेका थिए । ल्हासा हुँदै जाँदा केही महङ्गो पर्दथ्यो भने केरुङ हुँदै जाँदा सस्तो पर्दथ्यो । तर यदि लिपुलेककै बाटो खुल्ने हो भने नेपालको व्यापार चौपट हुन्छ र आधाभन्दा बढी भारतीय पर्यटकहरु लिपुलेककै बाटो भएर कैलाश यात्रामा निस्कन्छन् । राज्यलाई कर असुलीदेखि निजीक्षेत्रको लगानीमा पनि यसले गम्भीर असर गर्नेछ ।’

अन्य पर्यटनमा पनि कमी आउन सक्छ

पर्यटन व्यवसायी पाण्डेका अनुसार यदि लिपुलेकको बाटो राम्रोसँग चलेको अवस्थामा भारतबाट आउने अन्य पर्यटकमा पनि कमी आउन सक्नेछ । पाण्डेका अनुसार कैलाश जाने यात्रुहरु कैलाशबाट फर्किएपछि केही समय नेपालको भूभाग पनि घुम्ने गरेका थिए । परिवारका सदस्य कैलाश यात्रामा निस्किएपछि उनीहरुका केही आफन्त भने नेपालकै अन्य भूभागहरुमा समेत घुम्ने गरेको पाण्डे बताउँछन् । उनी भन्छन्, ‘कैलाश यात्रामा लिपुलेक हाबी भयो भने कैलाश पर्यटन मात्रै होइन, यसले समग्र पर्यटनमा असर गर्नेछ ।’

लिपुलेक खुल्दैमा व्यापार सकिँदैन, सरकारले पहल गर्नैपर्छ : दीपकराज जोशी पूर्व सिइओ, नेपाल पर्यटन वोर्ड

दीपकराज जोशी करिब ४ वर्ष नेपाल पर्यटन वोर्डमा प्रमुख कार्यकारी अधिकृत भई काम गरे । ४ वर्षको अवधिमा उनले पर्यटनक्षेत्रलाई माथि उकास्न केही सकारात्मक पहल गरे । त्यसमध्येमा एक थियो नेपालको बाटो हुँदै कैलाश मानसरोवर यात्रा ।

जोशी वोर्डमा रहँदा मानसरोवर यात्रामा सहजीकरण र व्यापार बिस्तारका लागि पहल गर्दै अध्ययनसमेत गरेका थिए । जोशीका अनुसार भारतले लिपुलेकको बाटो खोलेपछि कैलाश यात्रामा धेरै चुनौती थपिएको छ ।

‘लो सिजन’को राम्रो व्यापार

जतिबेला नेपालको समग्र पर्यटनमा लो सिजन सुरु हुन्थ्यो, त्यतिबेला नै भारतीय पर्यटकहरु कैलाश यात्रामा निस्कन्थे । नेपालको पर्यटनमा मे देखि अगस्तसम्मलाई लो सिजन मानिन्छ । अर्थात् मध्य वैशाखदेखि मध्य साउनसम्म पानी पर्ने भएकाले अन्य पर्यटन खासै चलेको हुँदैन । तर कैलाश मानसरोवर यात्राको सिजन भने त्यही बेलामा भएको कारण लो सिजनमा पनि भारतीय धार्मिक पर्यटनबाट राम्रो आम्दानी गर्ने गरेका थिए, नेपाली पर्यटन व्यवसायीहरुले । यही बेलामा केही होटल, रेष्टुरेण्ट, गेष्ट हाउस, यातायातक्षेत्र आदिले समेत राम्रो आम्दानी गर्ने गरेका थिए । तर लिपुलेकको बाटो उद्घाटन भएसँगै कैलाश पर्यटनमा नेपाललाई खतराको घण्टी बजेको पाण्डेको भनाई छ ।


पर्यटन वोर्डका पूर्व सिइओ जोशी यदि सरकारले पूर्वाधार निर्माणमा केही खर्च गरेको अवस्थामा कैलाश पर्यटनको आधार अझै मजबुत बन्न सक्ने तर्क गर्छन् । उनी भन्छन्, ‘लिपुलेक खुल्दैमा कैलाश पर्यटन सकियो भन्ने हुँदैन । किनभने लिपुलेकको बाटो त्यति सहज हुन्छ भन्ने पनि मलाई लाग्दैन । किनभने पर्यटकका लागि जुन बाटो सजिलो, छोटो र कम खर्चिलो छ, त्यही बाटो तय गर्ने हो । अहिले पनि नेपालको बाटोलाई यही हिसाबले विकास गर्न सकिने सम्भावना छ ।


हेलिकोप्टर व्यवसायमा पनि आउन सक्छ मन्दी

लिपुलेकको बाटो खुल्दा होटल र गेष्टहाउसलाई मात्रै होइन, हेलिकोप्टर व्यवसायमा पनि व्यापक मन्दी आउन सक्ने जोशीको भनाइ छ । उनी भन्छन्, ‘गत वर्षको तथ्यांक हेर्नुभयो भने नेपालगञ्जबाट एकैदिनमा १ सय ४० वटासम्म हेलिकोप्टरको फ्लाइट भएका छन् । त्यो मध्ये अधिकांश फ्लाइट सिमीकोट तथा केही फ्लाइट हिल्सा नाकासम्म पनि भएको छ । यसले एकैदिनमा हेलिकोप्टरको व्यापार पनि २ करोड ८० लाखको हारहारीमा भएको थियो ।

तर लिपुलेकको बाटो खुलेको खण्डमा नेपालको बाटो नै प्रयोग नहुने भएकाले हेलिकोप्टरको व्यापारमा पनि व्यापक कमी आउनेछ र यो व्यवसायमा पनि मन्दी ल्याउन सक्नेछ ।

पूर्वाधार बनाए जोगाउन सकिन्छ कैलाशको व्यापार

पर्यटन वोर्डका पूर्व सिइओ जोशी यदि सरकारले पूर्वाधार निर्माणमा केही खर्च गरेको अवस्थामा कैलाश पर्यटनको आधार अझै मजबुत बन्न सक्ने तर्क गर्छन् । उनी भन्छन्, ‘लिपुलेक खुल्दैमा कैलाश पर्यटन सकियो भन्ने हुँदैन । किनभने लिपुलेकको बाटो त्यति सहज हुन्छ भन्ने पनि मलाई लाग्दैन । किनभने पर्यटकका लागि जुन बाटो सजिलो, छोटो र कम खर्चिलो छ, त्यही बाटो तय गर्ने हो । अहिले पनि नेपालको बाटोलाई यही हिसाबले विकास गर्न सकिने सम्भावना छ ।

लिपुलेकको बाटो ५ हजार फिट उचाईको बाटो छ । नेपालमा अधिकांश बाटो ४ हजार फिट उचाईको हाराहारीमा छ । हाम्रो बाटोमा बस्ती पनि छ र केही समस्या पर्यो भने बस्तीमै बस्न पनि सकिने अवस्था छ । किनभने हाम्रोमा पूर्वाधारसमेत बनिसकेको छ । बेसिक सर्भिसको कुरा गर्ने हो भने दैनिक एक हजार पर्यटकलाई सेवा दिने क्यापासिटी हामीसँग रहेको छ । धेरै स्थानमा स्तरीय होटलहरु बनिसकेका छन् ।

अहिले सिमीकोट एअरपोर्टको लम्बाई ६ सय मिटरको छ । त्यसलाई ८ सय मिटर बनाइयो भने ४० सिटको एटिआर विमानले उडान भर्नसक्छ । त्यहाँ १ किलोमिटर लम्बाई सम्म बनाउन सकिने अवस्था छ । त्यसो भएमा पर्यटकलाई सस्तो पर्छ र छिटो पनि हुन्छ ।

दोस्रो सिमीकोटदेखि तिब्बतको सिमानासम्मको बाटो भनेको जम्मा ७० किलोमिटरको हो । अहिले नै २६ ट्रयाक खोलिसकिएको छ । बाँकी ४४ किलोमिटर ट्रयाक खोलेमा तिब्बतको पिच बाटोमा पुग्न सकिन्छ । यदि त्यसो हुन सकेमा हाम्रो बाटो छोटो, सुरक्षित र सस्तो पनि बन्नेछ । त्यसपछि भारतीय पर्यटकहरुले जोखिम मोलेर लिपुलेकको बाटो प्रयोग गर्छन् भन्ने मलाई लाग्दैन ।’

सिक्कममा नाथुला पास खोलेपनि चलेको थिएन

त्यसो त भारतले करिब ४ वर्ष अगाडि नै कैलाश मानसरोवर यात्रा र चीनसँगको व्यापार बढाउन भन्दै सिक्कम जिल्लाको नाथुला भन्ने स्थानमा सीमा खुला गरेको थियो । तर अत्याधिक हुरी चल्ने र अग्लो स्थानमा रहेको नाथुला पासबाट कैलाश सपना पूरा हुन सकेन । पर्यटकहरुले सास्ती बेहोर्नु परेपछि भारतीय पर्यटकहरु नेपालको बाटो हुँदै कैलाश यात्रामा निस्कन थाले र भारतले बनाएको नाथुला पास बेकामे बन्यो ।

अहिले नेपाली भूमिमा बनाएको भन्दै बिरोध भइरहेको लिपुलेकको बाटो पनि भारतीयहरुका लागि नाथुला पास नबन्ला भन्न चाहिँ सकिँदैन ।

बिजनेश डिप्लोमेसीको खाँचो

अहिले तिब्बतको कैलाश जानका लागि एकमात्रै बाटो भनेको नेपालबाट नै हो । तिब्बती टुर अपरेटरहरुले पनि नेपाली टुर अपरेटरसँग समन्वय गरेर नै कैलाश टुर चलाएका छन् । तर यदि लिपुलेक खुलेको खण्डमा तिब्बतीहरुले पनि सोझै भारतीय टुर अपरेटरसँग छलफल गरी व्यापार बढाउन सक्नेछन् । तर नेपालले नेपालको बाटो हुँदै कैलाश यात्रा गराउन सक्ने बाटो भने अझै नछेकिएको जोशी बताउँछन् ।

उनी भन्छन्, ‘पहिले त लिपुलेकको विवाद सरकारले नै टुङ्ग्याउनुपर्छ । यदि लिपुलेक नेपालमै पर्ने हो भने बनिसकेको बाटोलाई कसरी प्रयोग गर्ने भनेर पनि छलफल हुन जरुरी छ । त्यसलाई नेपालले कसरी फाइदा लिनसक्छ, त्यो सोच्नु जरुरी छ । त्यसका लागि ‘राजनीतिक र कुनटनीतिक तहमा छलफल गर्नैपर्छ । दोस्रो, चिनियाँ र तिब्बतका टुर अपरेटरहरुसँग छलफल गर्नुपर्छ । किनभने बिजनेश इन्डस्ट्रीमा बिजनेश डिप्लोमेसी पनि आवश्यक हुन्छ । त्यसका लागि जिटुजी र बिटुबी दुबै छलफल हुनु आवश्यक छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप