बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रधानमन्त्रीद्वारा शर्तसहितको लकडाउन  घोषणा

सोमबार, २९ वैशाख २०७७, ०६ : २३
सोमबार, २९ वैशाख २०७७

लण्डन –  करिब सात हप्तादेखि लकडाउनको सास्ती खेपिरहेका बेलायतवासीहरुले आइतबार साँझ बेलायती प्रधानमन्त्री बोरिस जोन्सनद्वारा गरिने भनिएको सम्बोधन भाषणलाई निकै महत्वकासाथ प्रतिक्षा गरेका थिए । 

लकडाउनबाट मुक्त भएर स्वतन्त्र रुपमा जीवनयापन गर्ने धेरैको सपना थियो । तर, प्रधानमन्त्रीको सम्बोधनमा खासै ठूलो परिवर्तन नभई शर्तसहितका केहि आश्वासनहरु मात्र प्राप्त भए । 

१५ मिनेट लामो टेलिभिजन भाषणमा कोरोनाको महामारीबाट ब्रिटेन मुक्त हुनेछ तर यसबाट सावधानी अपनाउनुपर्ने बताउंदै समाजिक गतिविधिलाई केहि खुकुलो पार्ने खालका मार्गचित्र प्रस्तुत गरेका थिए ।

 लकडाउनलाई खुकुलो पार्न तथा कोरोनाको संक्रमणलाई नियन्त्रण गर्नको लागि केहि सामाजिक गतिविधिलाई सहज पारिदिएका छन् भने सरकारद्वारा लागू गरिएको नियमको उलंघन गर्नेलाई कडा जरिवानाको समेत व्यबस्था गरिएको छ । प्रधानमन्त्रीको सम्बोधनमा विशेषगरि निम्न विषयलाई जोड दिईएको छ ।
 
क – यदि घरमा बसेर सम्भव नहुने काममा जान सकिने तर सम्भव भएसम्म सार्वजनिक सवारी साधनको प्रयोग नगर्ने

ख – आउँदो बुधबारबाट परिवारका सदस्यलाई बाह्य शारीरिक व्यायामका लागि पूर्ण रुपमा छुट

ग – सामाजिक दुरीको पालना गर्दै आउँदो बुधबारदेखि घाम ताप्न, (सनवाथ) गल्फ, टेनिस लगायत नदि तथा तालहरुमा जान पाउने

घ – बाहिरबाट बेलायत आउनेहरुको लागि चाडैं नै १४ दिनको अनिवार्य क्वारेन्टाइनको व्यबस्था लागू गरिने

ङ – नियम उलंघन गर्नेको लागि बढीमा ३ हजार २ सय पाउण्डसम्म जरिवाना गरिने

कोरोनाको संक्रमण दर घट्दै गएमा दोस्रो चरणको मार्गचित्रको पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् । जसअनुरूप आउँदो जुन महिनादेखि पसल तथा केहि प्राइमरी स्कुलको संचालन गरिने बताएकाछन् । 

त्यस्तै तेस्रो चरणमा आउँदो जुलाई महिनाबाट हस्पिटालिटी क्षेत्रलाई पनि सुचारु गर्ने लक्ष्य रहेको उनले बताएका छन् । सोमबार हुने पार्लियामेन्ट बैठकमा विस्तृत रुपमा जानकारी गराइने प्रधानमन्त्री जोन्सनले बताएका छन् । स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले लकडाउनलाई परिवर्तन गर्ने बारेमा केहि उल्लेख गरेका छैनन् ।

तेस्तैगरी यस अघि जारी गरिएको ‘स्टे होम सेभ एनएचएस’ (घरमै बस्नुहोस् एनएचएस लाई जोगाउनुहोस) भन्ने नारालाई ‘स्टे अलर्ट’ (सतर्क रहनुहोस्) मा परिवर्तन गरिएको छ । 

अब उप्रान्तको लागि ‘स्टे अलर्ट, (सतर्क रहनुहोस्),  कन्ट्रोल भाइरस (भाइरस नियन्त्रण गर्नुहोस्) र सेभ लाइभ्स’ (जीवन बचाउनुहोस्) भन्ने नयाँ नारा सार्वजनिक गरेका छन् । 

तर, कतिपयले उनको यस नारालाई हाँस्यास्पद भन्दै यसको अर्थ नै नबुझेको भनेका छन् । स्कटल्याण्डकी प्रधानमन्त्री निकोला स्टरजनले पनि ‘स्टे अलर्ट’ को मतलब नबुझेको भन्दै प्रधानमन्त्री बोरिस जोन्सनप्रति आक्रोश व्यक्त गरेकीछन् । 

अहिलेसम्म बेलायतमा कोरोनाको संक्रमणबाट युरोपीयन मुलुकभरिमै सबैभन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । 

आइतबार दिउँसोको सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कुल ३१ हजार ८ सय ५५ जनाको कोरोनाको कारण निधन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप