केन्द्रीय संस्करण

प्रकृतिसँग क्षमा याचना

person explore access_timeबैशाख २८, २०७७ chat_bubble_outline0

-प्रज्ञा निरौला

आज उसको र मेरो जम्का भेट भयो । सधैँ झैँ म मुन्टो बटारेर हिँड्न खोज्दै थिएँ, उसले हात अगाडि बढायो । बाध्यतामा हात मिलाएँ अनि उसले  मसँग अङ्कमाल ग¥यो । मलाई मन थिएन, तसर्थ नाक खुम्च्याएँ तर ऊ उन्मत्त हाँसो हाँसिरहेको थियो ।

अङ्कमाल गर्दागर्दै  उसको हाँसो अट्टाहाँसमा बदलियो । मलाई कति पनि यो व्यवहार मन परेको थिएन । तर उसले अङ्कमाल गर्दागर्दै विश्वासघात गरी कपालमा च्याप्प समातेर कोठामा लगी बन्दी बनायो । मैले रिसले उसलाई मलाई छोड् भन्दाभन्दै आफ्नो स्वरूप बदलेर अद्भूत रूप धारण गर्याे म हेरेको हेर्यै भएँ । उसको शरीरभरि काँडै काँडा उम्रेका जस्ता देखिन्थे । म अत्तालिएर उसको छद्म रूप हेरेर कराएँ ‘तँ को होस् ?
आफ्नो परिचय दिनुभन्दा आफ्नो स्वरूप देखाउँदै मलाई सताउन थाल्यो । मलाई सास फेर्न गाह्रो भइरहेको थियो । आफ्नो हातले छाती र घाँटीमा हातले सहारा दिँदै खोक्दै उसलाई हेर्न थालेँ । पूरै ब्रह्मान्ड आकाश धर्ती एकाकार भई ममाथि प्रश्न गर्न थाले म अवाक् भएँ । म धर्तीको बलवान् र बुद्धिजीवी मानिस आज कसरी यस्तो निरीह बनेँ ? कसरी ?

मलाई हनहनी ज्वरो आइरहेको थियो । शरीरले सदाझैँ काम गर्न मानिरहेको थिएन, सायद उसले पनि जिन्दगीबाट हार मानेको हुनुपर्छ । मेरो अवस्थालाई देखेर उसले गिज्याउँदै भन्यो– के छ खबर ? 

म झनक्क रिसाएँ तर उसले मलाई कैदी खानामा लगेर बन्दी बनाइसकेको थियो । उसको बहुरूपी स्वरूप देखेर म अवाक् थिएँ । सबैजनासँग टाढा राखेर मलाई एक्लो बनाइसकेको थियो । विज्ञानलाई दाहिने हात ठान्ने म आज उसले  पनि साथ छाडिसकेको थियो । म यो धर्तीमा नितान्त एक्लो निरीह प्राणी मानव जाति भएको थिएँ । मेरो जीवनभरका सारा सम्बन्धहरुले साथ छोडिसकेका थिए । 

म टोलाएको देखेर उसले गर्जंदै खुट्टा भुइँमा बजार्याे, त्यसको थर्कनले मेरो मुटु र फोक्सो एकै चोटि कामे । मेरो कामेको शरीरलाई देखेर टाउकोको कपाल समातेर अनुहारलाई आफूतिर उचाल्यो र भन्यो– तैँले के के गरिस् ? 

मेरो आत्तिएको शरीरबाट फुत्त आवाज आयो– मैले बलात्कार गरेँ । 

आँखाको नानी फुलाएर लामो आवाज निकालेर हँ... हँ.. गर्दै उसले मलाई घुरेर हेर्दा अत्तालिँदै भन्न थालेँ, हो मैले बलात्कार गरेँ, प्रकृतिको, यो धर्तीको बलात्कार गरेँ । हावा बेचेँ, धर्तीलाई चिराचिरा पारेर गर्भमा रहेको खानी र पानीसमेत बेचेँ, सूर्यको प्रकाश बेचेँ । विकासको नाममा विनाश गरेँ, सब चिजको दोहन गरेँ । म बलवान र बुद्धिजीवि भएर धर्तीका अरू प्राणीलाई साथी बनाउनै छाडेँ । उनीहरुलाई यो धर्तीमा  टिक्नै दिइनँ । आफ्नो स्वरूपमा बाँच्नै दिइनँ । सबै आफैँलाई अनुकूल हुने गरी परिमार्जन गरेँ  । माटोलाई हेपेँ, धर्तीलाई लतारेँ । मैले प्रकृतिको बलात्कार गरेँ ।

उसको आवाज अझ बढ्दै गएर कठोर भयो । अरू पनि केही ? 

ऊ मलाई अझै बताउन लगाउन चाहन्थ्यो ।

उसको चुरिफुरी देखेर मेरो हंसले ठाउँ छोडिसकेको थियो । केही कुराको विश्लेषण गर्न सक्ने अवस्थामा थिइनँ । मेरो दिमागले केही सोच्नै छाडिसकेको थियो । यन्त्रवत मेरो मुखबाट शब्द मात्र झरिरहेका थिए । शब्द आफैँ उनिएर सच्चा फूलका माला जस्ता बनिरहेका थिए । अद्भूत र आश्चार्य लाग्दा, जिउँदा जाग्दा । 

हो मैले मानव जातिकै घृणा पनि गरेँ । म मात्र बाँच्न पाए हुने जस्तो लाग्न थाल्यो । त्यसैले निर्धा जतिलाई मैले सताएँ । दुःख दिएँ । प्राकृतिक सुन्दरता विगारेर कृत्रिम सुन्दरतामा रम्न सिकेँ । त्यस्तै संसार बनाएँ । 
माटोसँगको सम्बन्ध तोडेर पैसासँग मितेरी साइनो लगाएँ । पैसाको पछाडि लागेर मैले अनेक कुकर्म गरेँ यतिसम्म कि मैले मेरै आमा र छोरीलाई पनि बेचिदिएँ । भविष्यको केही चिन्ता थिएन । आफूलाई बलवान ठानेँ । यो पृथ्वीलाई ध्वस्त पार्ने विभिन्न हतियार बनाएँ । मानव मानव बीचमा दुस्मनी रचेर लडाइँ झैझगडाको सिर्जना गरेँ । प्रकृतिको शिकार गरेँ । जाँड, रक्सी, जुवा, तास लगायतका गलत साथीहरुको सङ्गत गरेँ, सम्बन्ध गाँसे । पुर्खाले दिएको नासो सम्हाल्न चाहिनँ । गाउँघर छोडी सुखको खोजीमा सहर र सफरलाई रोजेँ । धर्ती बाँझै राखेर स्वाद खोज्न थालेँ । कृत्रिम स्वाद स्थापना गरेर त्यसैमा रमाएँ सबैको जीवनमा खेलबाड गरेर रमाएँ । मैले आफैँलाई चिनिनँ खै के गरेँ के ? खुला स्वच्छन्द घुम्ने मेरो प्यारो प्रकृतिलाई छाडेर सहरको कुनामा आफूलाई गुम्स्याउन रुचाएँ । सँगैका साथीहरुलाई छोडेर आफैँ मात्र स्वार्थी बनी सुखभोगको खोजीमा लागेँ । जीवनलाई झुट बनाएँ । झुटै बोलेँ झुटै गरेँ... ।  मैले चोरेँ, लुटेँ, ठगेँ, तोडेँ, फोडेँ, अनि सबैभन्दा ठूलो कुरा मानवता गुमाएँ ।

 मैले के–के भनेँ म आफैँलाई थाहा छैन । सबै कुरा भनिरहँदा कुनै काव्य नै बनेजस्तो लाग्यो । मेरा कर्तुतका पानाहरु उसका शिरमा ठडिएर पहाड बनाएजस्तै भयो । हेर्दाहेर्दै उसको शिरभरि पहाडै पहाडका थुम्का  बनेर मेरा कर्तुतले मलाई नै गिज्याइरहेका थिए । 

हिजोसम्म बलवान बनेर संसार आफ्नो काबुमा राख्ने म आज यसको अगाडि निरिह बनेर किन जीवनको विश्लेषण गर्न बाध्य भएँ ? किन बन्दी खानामा बस्न बाध्य भएँ ? सायद मैले जीवनको यो सङ्कटग्रस्त घडीमा जरुरी थियो होला । म थाकिसकेको थिएँ अब मेरो वशमा केही पनि थिएन । मेरो गलित अवस्थालाई हेरेर होला उसले मलाई भनिरहेको थियो अब तेरो अन्तिम घडीमा के गर्छस् गर् ।
 ऊ एक कुनामा गएर मुस्कुराउँदै बस्यो । 

 जे गर्नु त मैले गरिसकेको थिएँ अब केही बाँकी रहेजस्तो लागेन अनि मैले सकि नसकी मेरा साथीहरुलाई फोन गरेँ । विज्ञानलाई बोलाएँ । ऊ आयो पनि तर ऊ आउनु अगाडि नै मैले मेरो चिहान बनाइसकेको थिएँ । मेरो शरीरलाई ढाक्ने कात्रो तयार पारेको थिएँ अनि मेरो अन्तिम यात्राको ब्यानर टाँगेर म बसिरहेको थिएँ । भित्तामा आफ्नै फोटो झुन्ड्याएर माला पनि ठिक पारिसकेको थिएँ । केही परबाट मेरा मानव साथीहरु चियाउँदै थिए ।

हिजोसम्म मेरो अनुगृहित रहने मेरा मानव साथीहरु आज आफैँ भागिरहेका थिए । मैले उनीहरुलाई हेरेँ र  अन्तत आफैँले आफ्नो पुरानो कात्रो तानेर आफूले बनाएको चिहानमा गएर सुतेँ  लमतन्न भएर । मैले कसैको अनुहार सीधा आँखाले हेर्न सकिरहेको थिइनँ । विज्ञानले मेरो लासमाथि माटोले पुरिरहेको थियो । सायद ऊ पनि खुशी थिएन कि ? प्रकृतिसँग क्षमा माग्दै म प्रकृतिमै लिन भइरहँदा मेरा आफन्तहरु टाढैबाट झुटो संसारको झुटै जीवन चलचित्र हेरिरहेका थिए न त रोएर न त हाँसेर केवल तटस्थ निराश र नतमस्तक भएर । मैले अन्तिम पटक पुलुक्क उनीहरुलाई हेरेँ र आफैँलाई वाइवाइ गरेँ । थाहा छैन मेरो फोटोमा माल्यार्पण भयो कि भएन खै !

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.