शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ऋषि कपुरको अन्तिम फिल्मको सुटिङ चार दिनमात्रै बाँकी थियो, प्रविधिको प्रयोगले पूरा गर्ने निर्णय

आइतबार, २८ वैशाख २०७७, १० : २६
आइतबार, २८ वैशाख २०७७

बलिउडका दिग्गज अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा ३० अप्रिलमा निधन भएको थियो । उनी विगत दुई वर्षदेखि ब्लड क्यान्सरबाट जुधिरहेका थिए । लामो समयसम्म अमेरिकामा उपचार गराएपछि उनी गत वर्ष मुम्बई फर्किएका थिए ।

उनी फिल्म ‘शर्माजी नमकीन’ मार्फत् बलिउडमा फिर्ता हुने तयारीमा थिए । फिल्मको सुटिङ सुरु भइसकेको थियो । फिल्ममा उनी मुख्य भूमिकामा थिए । उनको निधन पछि फिल्म कहिल्यै रिलिज नहुने अनुमान गरिएको थियो तर अब प्रविधिको प्रयोगले फिल्म पूरा गर्ने र रिलिजसमेत गरिने निर्माण पक्षले बताएका छन् ।

भीएफएक्सको मद्दत लिनेछन् निर्माताः

वास्तवमा ऋषि कपुरले आफ्नो भागको धेरैजसो सुटिङ पूरा गरिसकेका थिए । केही दिनको सुटिङ मात्रै बाँकी थियो । यस्तोमा निर्माता हनी त्रेहानले एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा फिल्म पूरा हुनेबारे जानकारी दिए । उनका अनुसार निर्देशक हितेश भाटिया र क्रुसँग मुख्य कलाकार बिना नै फिल्म पूरा गर्नुपर्ने निकै ठूलो चुनौती छ । उनले यसबारे जानकारी दिँदै भने, ‘यस्तोमा हामी एड्भान्स टेक्नोलोजी, भीएफएक्स र केही विशेष टेक्निकको सहारामा क्वालिटीमा सम्झौता नगरी फिल्मको सुटिङ पूरा गर्नेछौं । हामीले यसका लागि केही भीएफएक्स स्टुडियोसँग पनि कुराकानी गरिरहेका छौं ।’

चार दिनको मात्रै सुटिङ बाँकी थियोः

त्रेहान थप्छन्, ‘हामीले जनवरीसम्म दिल्लीमा फिल्मका थुप्रै हिस्सा सुट गरिसकेका थियौं । चार दिनको शेड्युल मात्रै पेन्डिङ थियो । ऋषि जी सिल्भर स्क्रिन लेजेन्ड थिए, यस्तोमा यो फिल्म उनका लागि समर्पित हो र उनका प्रशंसकका लागि हामी फिल्म पक्कै पनि रिलिज गर्नेछौं । म हाम्रा अन्य निर्माता रितेश सिधवानी र फरहान अख्तरलाई पनि धन्यवाद दिन चाहन्छु जसले हामीलाई आर्थिक सहयोग मात्रै नभई भावनात्मक सहयोग पनि दिइरहेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप