डिजिटाइजेसनको तयारी र बैङ्किङ क्षेत्र
कोभिड–१९ को महामारीले बन्दाबन्दीको स्थिति सिर्जना गरेसँगै ‘डिजिटाइजेसन’ भन्ने शब्द धेरै चल्तीमा आएको देखिन्छ । यसबारेमा धेरै व्यक्तिले विभिन्न लेखमार्फत पाठकसामु जानकारी पनि गराइसक्नु भएको छ तापनि आम पाठकलाई सामान्य जानकारी दिने तथा आफ्नो धारणा राख्ने उद्देश्यले यो लेख लेख्ने जमर्को गरिएको छ ।
डिजिटाइजेसनको अर्थ
सामान्य अर्थमा डिजिटाइजेसन भनेको कम्प्युटर वा यस्तै प्रकारका उपकरणले बुझ्ने भाषामा ‘इन्फरमेसन’ राख्ने तथा ‘प्रोसेस’ गर्ने कार्यलाई बुझिन्छ । यस प्रक्रियाबाट शब्द, चित्र तथा ध्वनि डिजिटल स्वरूपमा प्रविष्ट भएर बस्छन् । अर्थात् ‘डिजिटाइजेसन’ एउटा प्रक्रिया हो जसबाट उपकरणमा राखिएको जानकारी ‘डिजिटल’ ढाँचामा रूपान्तर भएर बस्छ । यसरी राखिएको डाटालाई हेर्न, प्रयोग गर्न, भण्डारण गर्न, स्थानान्तरण गर्न, जानकारी लिन, प्राप्त गर्न, पुनः प्राप्त गर्न सकिन्छ ।
हामीले प्रयोग गर्ने धेरैजसो उपकरण डिजिटल उपकरण हुन् र डिजिटाइजेनको प्रक्रिया प्रयोग गरिएका छन् । हामीले धेरै पहिलेदेखि प्रयोग गरिआएको क्यालकुलेटर, कम्प्युटर, टेलिभिजन, मोबाइल, डिजिटल घडी, क्यामेरा सबैमा डिजिटाइजेसनको प्रयोग भएको छ । तसर्थ हामी प्रत्यक्ष–परोक्ष रूपमा डिजिटल संसारमा घुमिरहेका छौँ ।
यसरी सधैँ प्रयोग भइरहने ‘डिजिटाइजेसन’ले हाम्रो काम गराइमा कहाँ र कसरी सहयोग गरेको छ ? हाम्रो तयारी कस्तो छ ? यसको प्रयोगबाट हाम्रो दैनिकीमा कसरी सकारात्मक लाभ लिन सकिन्छ ? अनि बैङ्किङ क्षेत्रमा यसको प्रयोग कसरी भएको छ ? यसबारेमा सङ्क्षिप्त चर्चा गरौँ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले डिजिटाइजेसन सम्बन्धमा आफ्नो अवधारणासहित ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ तयार गरेको छ । धेरै व्यापक क्षेत्र सामेल गरी तयार गरेको उक्त फ्रेमवर्कले विभिन्न आठवटा मुख्य क्षेत्रहरु क्रमशः ‘डिजिटल फाउन्डेसन’, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, वित्त, पर्यटन र सहरी पूर्वाधार तथा ८० वटा उपक्षेत्रलाई समेट्ने कोसिस गरेको छ । यसरी हेर्दा सरकारले प्राथमिकता तोकेको क्षेत्रमा ‘डिजिटाइजेसन’ भएमा पक्कै पनि हाम्रो समस्त काम गर्ने शैली र सेवा प्राप्त गर्ने क्षेत्रमा उल्लेख्य प्रगति हुने विश्वास गर्न सकिन्छ । तर के यो काम सम्भव होला ? यो पक्कै पनि एक दिन, एक हप्ता, एक महिना वा एक वर्षमा सकिने कार्य होइन । यसका लागि व्यापक तयारी, ठूलो धनराशि, सरकार तथा निजी क्षेत्रको प्रतिबद्धता तथा हामी सेवाग्राहीको मानसिकता तथा प्रविधिप्रतिको विश्वासमा भर पर्दछ । प्रत्येक नेपालीको ‘युनिक आइडेन्टिफिकेसन नम्बर’ होस् जसको आधारमा राज्यले दिने सेवा मोबाइल एप्लिकेसन प्रयोग गरेर लिन सकियोस् ।
आफ्नो नाममा भएको जग्गाजमिनको ‘जियो लोकेसन’ सहितको विवरण ‘डाउनलोड’ गर्न सकियोस् । आफूले उत्पादन गरेको कृषि उपजलाई ई—हाटबजारमा लगेर बेच्न सकियोस् । सेवा दिने र सेवा लिनेको बीचमा वा बिक्रेता र क्रेताको बीचमा सीधा सम्पर्क गर्न सकियोस् । यी र यस्तै खालका धेरै सम्भावनाको ढोका डिजिटाइजेसनबाट खोल्न सकिन्छ । हाम्रो काम गर्ने शैलीलाई परिवर्तन गरी समय र श्रमको बचत गर्न सकिन्छ । समय र श्रम दुवैलाई अर्थ उपार्जनको क्षेत्रमा लगाउन सकिन्छ ।
डिजिटाइजेसनबाट आएको परिवर्तनको उदाहरणका रूपमा सेयर बजारको कार्यशैलीलाई लिन सकिन्छ । जहाँ सेयर अभौतीकरण लगायत, सेयर निष्काशन, प्राथमिक बजारमा दिने निवेदन, बाँडफाँट, सेयर रकम भुक्तानी, दोस्रो बजारमा खरिद–बिक्री, सेयर स्वामित्व कायम, स्वामित्व हस्तान्तरण, पोर्टफोलियोको विवरण, बैङ्क खाताको प्रयोग आदि सबैजसो कार्य स्वचालित हुन्छन् । यसरी स्वचालित हुनाका पछाडि यहाँ राखिएको तथ्याङ्कहरु डिजिटल स्वरूपमा भएकाले सम्भव भएको हो । यदि यही कुरा भौतिक (फिजिकल) रूपमा थियो भने सबै कार्यको पछाडि व्यक्ति आफै दौडनुपर्ने हुन्थ्यो जहाँ समय र श्रम दुवै नोक्सान हुन्थ्यो । त्यसैले डिजिटाइजेसनले काम गर्ने शैलीमा ठूलो परिर्वतन ल्याउन सम्भव भएको छ ।
बैङ्किङ क्षेत्रमा डिजिटाइजेसनको प्रयोग
‘डिजिटाइजेसनको’ क्षेत्रमा नेपालमा अग्रणी भएर काम गरिरहेकामा बैङ्किङ क्षेत्र पनि एउटा हो । नेपालमा बैङ्कको इतिहास हेर्ने हो भने संयुक्त लगानीमा खोलिएका बैङ्कहरुले स्थापनादेखि नै कम्प्युटर प्रणालीलाई साथ लिएर काम गरेको देखिन्छ । यसरी खोलिएका बैङ्कहरुले पुँजी मात्र नभएर प्रविधि पनि साथै लिएर आएका थिए । त्यसैलाई समयानुकूल परिवर्तन र परिमार्जन गर्दै आजको यो स्थितिमा बैङ्कहरु आएका छन् । के बैङ्कहरुले गरेका कामहरु डिजिटाइजेसनको हिसाबले पूर्ण छन् त ? यो प्रश्नको सोझो उत्तर दिने हो भने छैनन् भन्ने आउँछ । तर सुरुवात भने अवश्य गरेका छन् ।
सामान्यतया आम मानिसको निम्ति बैङ्क भन्नासाथ पैसा जम्मा गर्ने, पैसा झिक्ने, ऋण लिने, ऋण रकम भुक्तान गर्ने बुझिन्छ । नगद, प्रमुख विनिमयको माध्यमको रूपमा रहेको हाम्रो सामाजिक व्यवस्थामा बैङ्कले नै नगदलाई व्यवस्थापन गरेर आएको छ ।
विगत केही वर्षदेखि नगदको साथसाथै डिजिटल भुक्तानी प्रणालीको विकासमा बैङ्कहरु लागेका छन् । जस्तो ई–वालेट, क्यु आर सिस्टम, पीओएस (पोइन्ट अफ सेल), कियोस्क, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कन्ट्याक्टलेस पेमेन्ट, कनेक्ट आईपीएस आदि इत्यादि । जुनसुकै उपकरण वा सेवाबाट भुक्तानी प्रणालीको कार्य गरे पनि बैङ्क मध्यस्थताको रूपमा हरेक भुक्तानीहरुको बीचमा देखिन्छ । किनकि बैङ्क मात्र यस्तो संस्था हो जसले ‘फिजिकल मुद्रा’ लाई डिजिटलमा परिवर्तन गर्न सक्छ ।
नेपालमा कति प्रतिशत खुद्रा (रिटेल) कारोबार डिजिटलबाट हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि सरदर चार पाँच प्रतिशत मात्र हुन्छ भन्ने अनुमान छ । यसको मतलब अझै धेरै ठूलो कारोबारलाई यसभित्र ल्याउन बाँकी नै छ । भुक्तानी प्रणालीलाई अझ बढी डिजिटाइज गर्ने र नगदको प्रचलन कम गराउने हो भने बैङ्कहरुले क्रमिक रूपमा एटीएमको सङ्ख्यामा पनि कटौती गर्नुपर्ने हुन सक्छ ।
भोलिका दिनमा एटीएमको उपादेयता कम भएर जान सक्छ । यहाँ एटीएम स्थापना गरेर भुक्तानी प्रणाली डिजिटाइज ग¥यौँ भन्नेहरु पनि छन् । एटीएम भनेको त डिजिटल च्यानल प्रयोग गरेर बैङ्क टेलरलाई स्वचालित गरिएको मात्र हो । जुन हिसाबले डिजिटाइजेसनको परिकल्पना गरिएको छ त्यो एटीएम स्थापना गरेर हुन सक्दैन ।
यो पनि पढौं
बैंकिङ प्रणालीमा कोभिड–१९ ले निम्त्याएका अवसरहरु
के भुक्तानी प्रणालीलाई मात्र डिजिटाइज गरेर डिजिटाइजेसनको काम बैङ्कहरुको सकिएको हो त ? उत्तर हुन्छ सकिएको छैन, धेरै काम गर्न बाँकी नै छ । डिजिटाइजेसन सँगसँगै बैङ्कहरुले आफ्नो आन्तरिक कार्य प्रणालीलाई पनि स्वचालित गरेर लैजानुपर्छ जसले गर्दा ग्राहकले पाउने सेवाहरु घर वा आफ्नै कार्यालयबाट लिन सक्छन् । जस्तो ग्राहकले बैङ्कसँग सम्बन्ध स्थापित गर्न खाता खोल्नुपर्ने हुन्छ, खाता खोल्न चाहिने सम्पूर्ण विवरणहरु बैङ्कमा उपस्थित नभई ‘डिजिटल परिचयपत्र’ बाट प्राप्त गर्न सकियोस् र त्यसैलाई आधार मानी ‘केन्द्रीय रिपोजिटरी’मा भएको ई—केवाईसीसँग भेरिफाई गरी खाता खोली काम गर्न सकियोस् । यस्तै ग्राहकलाई चाहिने रिटेल कर्जा प्राप्त गर्न क्रेडिट रेटिङ हेरी तुरुन्त निर्णय गर्न सकियोस् । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । यो स्थिति तब मात्र सम्भव छ जब हामी हाम्रो कार्य प्रणालीलाई ‘डिजिटाइजेसन’ र ‘अटोमेसन’ गर्छौं ।
यस्तै ग्राहकलाई आफ्नो कारोबारसम्बन्धी जानकारी आफैले प्राप्त गर्न सक्षम बनाउन, बैङ्कबाट प्राप्त हुने सेवासुविधाबारे जानकार बनाउन, ग्राहकको बैङ्कमा चाप कम गराउन, अत्यधिक कागजको प्रयोगलाई निरुत्साहित पार्ने आदि काम डिजिटाइजेसन भएमा गर्न सकिन्छ । जसले ग्राहकको समय बचत तथा सेवामा स्तरीयता, काममा शुद्धता, पारदर्शिता, ग्राहक सन्तुष्टि, खर्च कटौती गर्न सजिलो हुन्छ । यसैगरी निर्णयकर्तालाई पनि आवश्यक जानकारीहरु तत्काल प्राप्त गर्न सजिलो हुन्छ ।
तर परिस्थिति अलिक फरक छ, बैङ्कहरुले चाहेर पनि डिजिटाइजेसनमा लाग्न सकिरहेका छैनन् । ससाना कुराले अल्मलिएर बसेको देखिन्छ । जस्तो कि डिजिटल सिग्नेचरको प्रयोग, यसको व्यापकता र व्यावाहारिक कठिनाइ, ई–केवाइसीको व्यवस्था, लोकेसन म्यापिङ र ट्रेसिङको कुरा, डिजिटल माध्यमबाट प्राप्त भएको वा भण्डारण गरिएको कागजातलाई कानुनले दिने मान्यताको कुरा, ग्राहकले डिजिटल माध्यमबाट गरेको अनुरोधको प्रामाणिकता, क्रेडिट रेटिङका कुरा आदि इत्यादि । यी धेरै कुरा नेपाल सरकारले डिजिटल फ्रेमवर्कमा समावेश गरे पनि कहिलेदेखि यी सेवाहरु चालू हुन्छन् भन्ने निश्चित देखिँदैन । तसर्थ बैङ्कहरुले आफ्नो कार्यशैलीमा ल्याउने परिवर्तन सरकारले तयार पार्ने पूर्वाधारमा पनि भर पर्ने देखिन्छ ।
तर बैङ्कहरु सरकारको पूर्वाधारलाई पर्खेर चुप लागेर बस्नुपर्ने स्थिति पनि छैन । बैङ्कहरु आफ्नो कार्य अहिले नै सुरु गर्न सक्छन् । सर्वप्रथम एउटा रोडम्याप तयार गरी सोही अनुसार बहुवर्षीय योजनाहरु बनाई बजेट छुट्याएर जान सक्छन् । बैङ्कहरुले पनि आफ्नो आन्तरिक पूर्वाधार मजबुत बनाउन आवश्यक छ । कसैकसैले बैङ्कको कम्प्युटर प्रणाली अर्थात् कोर बैंकिङ सिस्टमलाई नै डिजिटाइजसेन मान्छन् । यस्तै कोर बैङ्किङ प्रणाली चलाउने सूचना प्रविधिका मानिसले नै डिजिटाइजेसन गरिदियोस् भन्ने चाहन्छन् । यो सोचले मात्र अगाडि बढ्न गाह्रो हुन्छ । कोर बैङ्किङ प्रणाली भएर मात्र डिजिटाइजेसन पूर्ण हँुदैन यो त केवल ग्राहकहरुको हिसाबकिताब एकीकृत रूपमा राखिदिने एउटा इन्जिन मात्र हो जसका आधारमा बैङ्कका आर्थिक गतिविधिहरु सञ्चालन हुन्छन् ।
डिजिटाइजसेन गर्नलाई अन्य ‘पेरिफेरियल सिस्टम’हरु चाहिन्छन् । यस्तै डिजिटाइजेसन बारेमा सोच्ने भनेको विभिन्न विभागमा काम गर्ने र आफ्नो कामबारेमा पूर्ण जानकार राख्ने कर्मचारीहरु हुन् । सूचना प्रविधिका कर्मचारी उनीहरुका सहयोगी हुन सक्छन् । यदि बैङ्कहरुले आफ्नो आन्तरिक कार्य प्रणालीलाई स्वचालित र डिजिटाइज गर्ने हो भने प्रिन्टिङ, स्क्यानिङ, फोटोकपी, फिजिकल फाइलिङ, भौतिक रूपमा कागजातको भण्डारण, कुरियर सेवा, कागजात वितरण जस्ता कार्यहरुलाई क्रमशः निरुत्साहित गर्न सक्छ । सूचनाको पहुँच सजिलैसँग प्राप्त गर्नु भनेको अहिले चर्चामा आएको नयाँ कार्य प्रणाली ‘वर्क फ्रम होम’को संस्कृतिलाई पनि सुरुवात गर्न सजिलो हुन्छ ।
यी सबै कार्य गर्न बैङ्कको बोर्ड र उच्च व्यवस्थापनका व्यक्तिहरु नै अग्रसर हुनुपर्ने हुन्छ र यसमा खर्च गरिएका रकमलाई बैङ्कको कार्य प्रणाली पूर्वाधारमा गरिएको लगानी सम्झनुपर्ने हुन्छ ।
लेखक सनराइज बैङ्कका डेप्युटी जेनरल म्यानेजर हुन् ।
प्रतिक्रियाका लागि [email protected]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सद्भाव थिएटरमा विजय मल्लको नाटक 'कोही किन बरबाद होस्' मञ्चन सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारका नाममा ठगी बढेपछि तीन बुँदे ट्राभल एड्भाइजरी जारी
-
सुदूरपश्चिमबाट देशभर सर्दै मौसम बदली, खपिनसक्नु चिसो बढ्ने
-
लयमा फर्कियो इन्टर, घरेलु मैदानमा ३ अंक थप
-
अमेरिकी डलर, रियाल, दिराम, रिङ्गेटको भाउ बढ्यो, कतिको मूल्य कति ?