बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट बेलायतमा भूपू गोरखा सैनिक राईको निधन, पूर्वबेलायती राजदूत बेपत्ता

आइतबार, २८ वैशाख २०७७, ०८ : ०१
आइतबार, २८ वैशाख २०७७

कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ । 

श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए । 

ताप्लेजुङ मैवाखोला स्थायी घर भई राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा आफ्ना श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए । हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।

नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता 

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डनको प्रहरीले उहाँ हराएकाले खोजीका लागि सर्वसाधारणमा अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजीकार्य थालनी गरेको छ ।
 
प्रहरीले छ फिट अग्लो, श्वेत वर्णको, दाह्री पालेको भनी विवरणसहित ५२ वर्षीय मोरिसको हुलिया जारी गरेको छ । 

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले आन्तरिकरूपमा खोजीकार्य गरिरहेको भए पनि अब सार्वजनिकरूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए । रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप