बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैले देखेको चिनियाँको ‘ताण्डव’

शनिबार, २७ वैशाख २०७७, १६ : ३१
शनिबार, २७ वैशाख २०७७

काठमाडौँ । कोरोनाभाइरसको संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते देशव्यापी लकडाउन लागू गरिरहेको छ । बन्दाबन्दीमा आम नागरिकलाई अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन दिइएको छैन । कोरोनाभाइरसविरुद्ध औषधी वा खोप फेला नपरेको अवस्थामा महामारीसँग जुध्नका लागि लकडाउन नै उपयुक्त बाध्यात्मक विधि हो ।

आम नागरिक घर भित्रै बसिरहेको बेला सडक तथा सार्वजनिक स्थान शुन्य प्रायः छ । सडकमा अत्यावश्यक सेवामा आबद्ध तथा सुरक्षाकर्मीको मात्रै उपस्थिति छ । यस्तो विषम अवस्थामा मुलुकको प्रमुख प्रसाशनिक केन्द्र सिंहदबार अगाडि प्रदर्शन गर्ने कुरा आम मानिसले सोच्न पनि सक्दैन । लकडाउनको समयमा सिंहदरबार अगाडि पुगेर प्रदर्शन गर्नु, सुरक्षामा रहेका सुरक्षाकर्मीमाथि नै हातपात गर्ने कुरा कानूनी राज्यमा कुनै पनि हालतमा सुहाउँदो विषय पक्कै होइन । तर शुक्रबार जुन नहुनुपर्ने थियो, त्यही घटना भयो सिंहदरबारको पश्चिम गेट अगाडि ।

रोचक कुरा, सो गैरकानूनी काममा नेपाली नागरिक सहभागी थिएनन् । उनीहरु छिमेकी देश चीनका थिए । लकडाउनको समयमा राज्यको प्रमुख निकाय नजिक प्रदर्शन गर्ने र घर फर्कन नपाएका उनीहरुले नेपालले आफूहरुलाई लकडाउनमा वास्ता नगरेको देखाउने र चीन सरकारलाई दबाब दिने उनीहरुको मक्सद रहेको बुझिन्छ ।

सामाजिक सञ्जालहरुमा चिनियाँले गरेको उपर्दोविरुद्ध चर्को आलोचना भइरहेको छ । यता, आफ्ना नागरिकहरुलाई नेपालको नीति–नियम पालना गर्नका लागि काठमाडौंस्थित चिनियाँ दूतावासले पनि अनुरोध गरेको छ ।  ‘नेपालमा रहेका चीनका नागरिकसँग कडा रुपमा नेपालको नीति–नियम पालना गर्न चिनियाँ पक्षले सधैं भन्ने गरेको छ, उनीहरुलाई कानूनसम्मत रुपमा तर्कसंगत माग राख्न भनिएको छ,’ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसबीचमा चीन सरकारले चार्टर्ड उडान गरेर आफ्ना नागरिकहरु फिर्ता पनि लगिरहेकै छ । बिहीबार पनि चीन सरकारले एयर चाइनाको जहाजमार्फत् आफ्ना नागरिकहरु लगेको थियो । उनीहरु किन छुटे भन्ने अझै यकिन भएको छैन । ती चिनियाँले विगत केहि दिनदेखि नेपाल पर्यटन वोर्डमा धर्ना दिँदै आएका थिए । आधिकारिक निकाय चिनियाँ दूतावासलाई सम्पर्क नगरी नेपालका कार्यालयहरुअघि उनीहरु किन धर्ना दिँदै थिए भन्ने पनि खुलेको छैन ।

शुक्रबार उनीहरु पूर्ण तयारीका साथ सिंहदरवार निषेधित क्षेत्रमा पुगेका थिए । निषेधित क्षेत्र त्यसमाथि पनि लकडाउनको समयमा चिनियाँ भेला हुन थालेपनि सुरक्षाका लागि उपस्थित नेपाल प्रहरी सतर्क अवस्थामा नै थिए । तर जनशक्ति भने कम थियो । भद्रकालीबाट दौडदै एक दुई जना सिंहदरवारतर्फ गएपछि स्थिति असामान्य बनेको थियो ।

निषेधित क्षेत्रमा चिनियाँ भेला हुन थालेपछि पहिलो चरणमा प्रहरीले सामान्य रुपमा सम्झाउन खोजेको थियो । प्रहरी चाहन्थ्यो, उनीहरु फर्केर आफ्नै स्थानमा जाउन् । तर, त्यसको विपरित चिनियाँ नागरिकले उल्टै प्रहरीलाई थर्काउँदै अगाडी बढे । सामाजिक सञ्जालमा आफ्नो गतिविधि प्रत्यक्ष प्रशारण गर्दै निषेधित क्षेत्र पार गर्न थाले ।

नेपाल प्रहरीले अन्तिम समयसम्म पनि संयमित हुुदै चिनियाँ नागरिकलाई सम्झाउँदै रोक्दै थियो । जब उनीहरु सिंहदरवार अगाडी पुुगे । झोलाबाट प्लेकार्ड निकालेर प्रर्दशन गर्न थाले । निषेधित क्षेत्रमा विरोध गर्न पाइँदैन भन्दै प्रहरीहरुले सम्झाउन खोज्दा उनीहरुले उल्टै प्रहरीमाथि हातपात गर्न थाले ।

चिनियाँले प्रहरीलाई हामीलाई ‘तैँले किन भद्रकालीमा रोकिस्’ भन्दै एक्कासी हातपात गर्न थाले । लकडाउनको समयमा विगत ४५ दिनदेखि जीवन जोखिममा राखेर हाम्रो सुरक्षामा खटेका नेपाल प्रहरीको बर्दीमा नै हात लगाएपछि प्रहरी पनि लाठी प्रयोग गर्न बाध्य बनाए ।

त्यो घटनाको प्रत्यक्षदर्शी म सबैभन्दा पहिले क्यामेरा बोकेर पुगेको थिए । सम्झाई बुझाई गर्दैगर्दा चिनियाँले आक्रमण गरेर प्रहरीलाई घाइते बनाए । एकाध संख्यामा रहेका प्रहरीलाई एक्कासी आएका ४० जनाभन्दा बढी चिनियाँले हातपात गरेको दृश्य आफैमा बर्बर थियो । उनीहरुले उल्टै थप्दै थिए, ‘हामीसँग माफी माग ।’

महामारीको मारमा सबै जना परेका छन् । यसबाट नेपालमा रहेका चिनियाँ नागरिक पनि अछुतो रहने कुरै भएन । समस्याको सुनुवाई भएन भने प्रदर्शन गर्न पाउने उनीहरुको अधिकारी हो । यद्यपि, कोरोनाको जोखिमबीच ठूलो संख्यामा भेला भएर उनीहरुले आफू मात्र होइन अरुलाई पनि जोखिममा पारेका छन् । त्यसमाथि प्रदर्शनलाई शान्तिपूर्ण बनाउने भन्दा पनि भिडन्ततर्फ अग्रसर गर्नु उनीहरुको कमजोरी थियो ।

शुक्रबार भएको झडपमा डिएसपी हरिबहादुर बस्नेत आफै घाइते भए । जबकि उनले लामो समय प्रहरीहरुलाई संयम बन्न आग्रह गरिरहेका थिए । पर्यटक हाम्रा पाहुना हुन्, तर कानुन उल्लङ्घन गर्नेहरुलाई कारवाही पनि उत्तिकै आवश्यक छ । प्रहरीमाथि हातपात गर्नेमाथि कारवाही गरिनुपर्छ र साथसाथै सम्बन्धित पक्षले महामारीको मारमा परेकाहरुको उद्धार गर्न पनि जरुरी रहेको छ । यसका लागि आफ्ना नागरिकको समस्या हल चिनियाँ दूतावासले पहल गर्नुपर्ने देखिन्छ । त्यस्तै, नेपाल सरकारले पनि उनीहरुको समस्याको समाधान गर्न कुटनीतिक पहल गर्नुपर्छ । खान बस्न समस्या भएको हो भने स्थानीय नियकाले राहतको व्यवस्था पनि गरिदिनुपर्छ ।

वन्त राष्ट्रिय फोटोपत्रकार समूह एनएफपीजे,नेपालका महासचिव हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रदीपराज वन्त
प्रदीपराज वन्त
लेखकबाट थप