शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ कोभिड–१९ को उपचारमा अर्को परीक्षणमा फेल

शनिबार, २७ वैशाख २०७७, १३ : ४९
शनिबार, २७ वैशाख २०७७

कोरोनाभाइरस संक्रमण (कोभिड–१९) को उपचारमा प्रभावकारिताको परीक्षणमा मलेरियाविरुद्धको औषधी ‘हाइड्रोक्लोरोक्वीन’ फेरि अर्को पटक फेल भएको एक अध्ययनले देखाएको छ । अस्पतालमा कोरोनाभाइरस संक्रमितहरुलाई यो औषधी दिँदा कुनै तात्विक प्रगति नभएको अध्ययनमा भनिएको छ ।

निकै प्रतिष्ठित मानिने न्यु इङ्ग्ल्याण्ड जर्नल अफ मेडिसिन (एनईजेएम) मा प्रकाशित विश्लेषणात्मक अध्ययनमा हाइड्रोक्लोरोक्वीनले न त बिरामीमा श्वास प्रस्वासको समस्यालाई कम ग¥यो न त मृत्युको जोखिम नै ।

न्युयोर्कको प्रेसबाइटेरियन अस्पताल र कोलम्बिया युनिभर्सिटी आयरर्भिङ मेडिकल सेन्टरमा आइसीयूमा रहेका १ हजार ३७६ कोरोनाभाइरस संक्रमितलाई उक्त औषधी दिइएको थियो । तर, यस औषधीको फाइदा वा बेफाइदा दुवै नदेखिएको अध्ययनमा भनिएको छ । एनईजेएमको अध्ययनमा औषधी दिइएका र औषधी नदिएका संक्रमितहरुमा मृत्युको जोखिम उस्तै रहेको पाइएको छ ।

दुई हप्ताअघि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले डाक्टरको प्रेसक्रिप्सन र अनुगमन बिना हाइड्रोक्लोरोक्वीन र क्लोरोक्वीन सेवन नगर्न चेतावनी जारी गरेको थियो ।

यद्यपि, यस्ता विश्लेषणात्मक अध्ययनलाई निर्णायक मानिदैन किनभने उपचारमा विभिन्न औषधी र थेरापीहरु प्रयोग भइरहेका हुन्छन् । एनईजेएमले औषधीको प्रभावकारिता मापन गर्नका लागि थप क्लिनिकल ट्रायल आवश्यक रहेको सुझाव दिएको छ । उक्त अध्ययनलाई अमेरिकाको नेशनल इन्सिटिट्युट अफ हेल्थले वित्त पोषण गरेको थियो ।

यता, भारतमा भने कोभिड–१९ को उपचारको लागि हाइड्रोक्लोरोक्वीनलाई मात्र मान्यता दिइएको छ । यसलाई एन्टिबायोटिक एजिथ्रोमाइसिनसँग मिलाएर दिइन्छ । कोभिड–१९ को संक्रमणको जोखिममा रहेका स्वास्थ्यकर्मी र व्यक्तिहरुलाई पनि यसलाई प्रोफाइलाक्सिसको रुपमा दिइन्छ ।

गत मार्चमा चीनमा कोभिड–१९ का बिरामीहरुमा गरिएका दुई प्रारम्भिक अध्ययनले एक शताब्दीदेखि मलेरियाको उपचारमा प्रयोग भइरहेको यो औषधीले निको हुने प्रक्रियालाई सहयोग गरेको र कोभिड–१९ को गम्भीरतालाई कम गरेको देखाएपछि विश्वभर यसको माग बढेको थियो ।

फ्रान्समा पनि २६ जना बिरामीमा गरिएको प्रयोगमा हाइड्रोक्लोरोक्वीनले सकारात्मक नतिजा देखाएको एक अध्ययनले देखाएको थियो । मेडआरएकइभमा प्रकाशित यो अध्ययन नयाँ अध्ययनका लागि सहयोग गर्न बिना मूल्यांकन प्रकाशित भएको थियो ।

गत मार्चमा एनाल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित विश्लेषणमा भने हाइड्रोक्लोरोक्वीन र क्लोरोक्वीनको प्रभावकारिताबारे तथ्यांक निकै कम र अनिर्णायक रहेको बताएको थियो ।

मलेरियाबाहेक हाइड्रोक्लोरोक्वीनलाई रिउमाटोइड आथ्र्रिटस र लुपुसको उपचारमा प्रयोग गरिन्छ । भारत, चीन, फ्रान्स, दक्षिण कोरिया, इटाली र अमेरिकामा कोभिड–१९ को गम्भीर बिरामीहरुको उपचारमा यसको प्रयोग गरिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड–१९ विरुद्धको युद्धमा यसलाई ‘गेम चेन्जर’ औषधी बताएका थिए ।

मलेरियाबिरुद्धको औषधीले ‘इन्डोसोम’मा एसिडिटीको लेभल घटाउँछ । यी मानिसको कोशिकाभित्र रहेका कम्पार्टमेन्ट हुन् जहाँ केही भाइरसले हाइज्याक गरेर कोशिकाभित्र प्रवेश गर्छ र इन्फेक्सन गराउँछ । कोभिड–१९ को उपचारमा यसको ठूलो मात्रा प्रयोग गर्नुपर्छ । जसले कहिलेकाहीँ मानिसको मुटुको चाल अनियन्त्रित बनाउने गर्छ ।

उता, जिलिड साइन्सेसको एन्टीभाइरल औषधी रेम्डेसिभिरलाई अमेरिकामा कोभिड–१९ को उपचारमा आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ । अमेरिकाको नेसनल इन्सिटिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजद्वारा गरिएको अध्ययनमा यो औषधीको प्रयोगले कोभिड–१९ को बिरामी अन्य ४ दिनअघि ११ औँ दिनमा निको हुने गरेको पाइएको थियो ।

स्रोत : हिन्दुस्तान टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप