निर्मल लामा : खास आपा अर्थात् फ्याण्टम
को हो निर्मल लामा ? को हो वामपन्थी नेता ?
धेरैका लागि उहाँ निर्मल लामा । हाम्रालागि त उहाँ हाम्रो खास आपा । खास–आपा अर्थात् स्पेशल फादर ।
हो, यो हामीले उहाँको जीवनभरि बोलाएको नाम हो । संसारमा हामी दुई निमा र मबाहेक कसैले उहाँलाई त्यस नामले बोलाउँदैन । बहिनी विशाखा लामाले आपा मात्र भन्छे । निमा निर्मल लामा र सुकन्या वाइबाका छोरा, मेरा अभिन्न मित्र ।
उहाँलाई सो नाम हामीमार्फत् मेरो साथी–आमा सुकन्या वाइबाले दिनुभएको हो । जसरी उनले हामीमार्फत् पारिजातलाई ‘पु’ नाम दिनुभयो, त्यसैगरी निर्मल लामालाई खास आपा ।
यो त्यसताकाको कुरा हो, जति बेला देशमा पञ्चायती शासनकाल थियो । उहाँ भूमिगत बस्नुभएको थियो । उहाँको परिचय र काम लुकाउन पनि त्यस नामको आवश्यकता भएको थियो ।
........
खास आपा मैले सानैदेखि देखेको मान्छे । किनभने मेरी आमा (सत्यभामा माथेमा) र साथी–आमा सुकन्या वाइबाबीच पुरानो दरिलो मित्रता छ । उहाँहरुको मित्रताको ओत लागेर मैले आफ्नो बाल्यकालको एक अध्याय त्यही परिवारमा बिताएको थिएँ ।
त्यही बाल्यकालकालीन झिसमिसे सम्झना मलाई आउँछ । म होस्टेलमा बस्थेँ र छुट्टीमा मलाई लिन साथी–आमा आउनुहुन्थ्यो र म उहाँसँग म्हयपिमा बस्थेँ ।
मेरी आमा सरकारी जागिरे । प्रायः काठमाडौंबाहिर रहनुहुन्थ्यो उहाँ ।
त्यसैताका हुस्सु लागेको एक विहान । विष्णुमतिको किनारै किनार हुँदै खास आपा घर आउनुभयो । निमा र म सँगै खाटमा निदाइरहेकै थियौं । साथी–आमा जाडोमा जीउ तताउन मकलमा आगो फुक्ने तरखरमा हुनुहुन्थ्यो । हातमा तातो पानीको केत्ली, गिलास र ग्यास्ट्रिकको लागि केस्रा लसुन लिनुभएको थियो । खास आपा देख्नासाथ उहाँको अनुहारमा प्रसन्नता छायो ।
हुस्सु लागेको एक विहान । विष्णुमतिको किनारै किनार हुँदै खास आपा घर आउनुभयो । निमा र म सँगै खाटमा निदाइरहेकै थियौं । साथी–आमा जाडोमा जीउ तताउन मकलमा आगो फुक्ने तरखरमा हुनुहुन्थ्यो । हातमा तातो पानीको केत्ली, गिलास र ग्यास्ट्रिकको लागि केस्रा लसुन लिनुभएको थियो । खास आपा देख्नासाथ उहाँको अनुहारमा प्रसन्नता छायो ।
हरियो कलरको सादा आर्मी ज्याकेट । घ्वाप्प कान छोप्ने ऊनको टोपी । झुस्सझुस्स उम्रेको दारी । यस्तो आकृति कोठामा छिर्ने बित्तिकै काममा व्यस्त भयो । भुइँको सोली एक हातले र चिम्टा एक हातले समातेर उहाँ त सबैभन्दा पहिले आगो फुक्नुभयो ।
सामान्य संवाद गर्दा पनि कत्ति तिखो आवाज ! मलाई मात्रै त्यस्तो लागेको होइन रहेछ । उहाँको आवाजले मसँगै सुतेको निमा पनि बिउँझियो । ‘छे गर’ साथी–आमाको बोली नखस्दै हाम्रा टाउका झुकिसकेका थिए । निमा सायद निन्द्रासँग जुध्दै थियो । अहिलेसम्म पनि उसलाई जाडो महिनामा पनि चाँडै उठ्न निन्द्रासँग ठूलै संघर्ष गर्नुपर्छ ।
साथी–आमाले डेली रुटिन खाटमाथि टाँसिदिनुभएको थियो । त्यसैअनुरुप बिहानीको दुई घण्टा पढाइका लागि किताप च्यापी हामी अर्को कोठातिर लाग्यौं ।
तर आजको पढाइमा निकै डिस्टरब्यान्स भइरहेको थियो । एक त खास आपाको चर्को स्वरको कारणले । अर्को उहाँले ल्याउनुभएको सामानले ।
उहाँप्रतिको हाम्रो जिज्ञासा र उत्सुकता चरम थियो । कहाँबाट आउनुहुन्छ, कहाँ जानुहुन्छ, के गर्नुहुन्छ ? उहाँ त हाम्रो लागि ‘सेन्टर अफ क्यूरिओसिटी’ पो थियो । त्यसैले त ददु–आमा (साथी–आमाकी बहिनी) उहाँलाई चल्ताफिर्ता प्रेत अर्थात् बेताल भन्नुहुन्थ्यो । बेताल अर्थात् फ्याण्टम त्यसबेलाको निकै चल्ती कमिक क्यारेक्टर हो । बेतालाको परिचय र दैनिक दिनचर्या उसको श्रीमती र नजिकका साथीहरुलाई बाहेक अरु कसैलाई थाहा हुँदैनथ्यो ।
......
उहाँ आउनुहुँदा हाम्रो सँधै एउटै ‘डिमाण्ड’ हुन्थ्यो, ‘खास आपा, धनुषकाँड बनाइदिनोस् ।’
हामीले उहाँसँग कहिल्यै चकलेट मागेनौ, जहिले पनि माग्यौं धनुषकाँड । पहिलो भेटमा हामीले राखेको मागमा, उहाँले त नभनौ, साथी–आमाले भन्नुभयो, ‘सानै छौ, आँखातिर लाग्ला ।’ यस्तो बलियो तर्क उभ्याएर उहाँले खास आपालाई भान्सातिर लिएर जानुभयो ।
हामीले उहाँसँग कहिल्यै चकलेट मागेनौ, जहिले पनि माग्यौं धनुषकाँड । पहिलो भेटमा हामीले राखेको मागमा, उहाँले त नभनौ, साथी–आमाले भन्नुभयो, ‘सानै छौ, आँखातिर लाग्ला ।’ यस्तो बलियो तर्क उभ्याएर उहाँले खास आपालाई भान्सातिर लिएर जानुभयो ।
त्यसैले यसपालिको भेटमा हामीले हाम्रो पुरानो माग अगाडि राख्न सकेनौ । तर अचम्म भयो, पढ्दै गर्दा ‘ढ्याक.. ढ्याक’ गरेको आवाज पो सुनियो । सायद हामीलाई त्यो आवाज नै पर्याप्त थियो, आज हाम्रो माग पूरा हुने भयो भनी ठम्याउन ।
दौडेर बाहिर निस्कँदा, एउटा हातमा खुर्पा समातेर काँधमा सँगैको नानक मठको बनबाट काटेर ल्याएको बाँस भिरी खास आपा गल्र्याम्म झर्नुभयो । ‘हण्ड्रेड पर्सेन्ट कनफर्म !’
निमाले प्रश्न तेस्र्यायो, ‘बार बार्नलाई हो ?’
‘होइन, तिमीहरुलाई धनुषकाँड बनाइदिने ।’ यस्तो जवाफ के आएको थियो, हामीले पढाइसढाइ गोली मारिदियौं । त्यस दिन खास आपाले हामीलाई नापीनापी हाम्रो उँचाइ अनुरुपको धनुष बनाइदिनुभयो । म निमाभन्दा केही अग्लो थिएँ, र मेरो धनुष उसको भन्दा अलि लामो बन्यो ।
......
खास आपासँग अरु छिटपुट भेट भइरहन्थ्यो । तर उहाँ जसरी आउनुहुन्थ्यो, त्यसरी नै हराउनु पनि हुन्थ्यो । एउटा रहस्यमय कथाको पात्रजस्तै । हामीलाई सानैमा पनि थाहा थियो, पुलिसले भेटे भने उहाँलाई समात्छ । तर किन उहाँलाई समात्ने ? अचम्मको कुरा । उहाँले नराम्रो काम गरेर होला र ? यस्तो मायालु मान्छेले नराम्रो काम गर्नुभयो होला र, हामीमा कौतूहल र शंकासम्म पनि जागेन ।
उहाँसँग बिताएका अर्को स्मरणीय दिन मेरो स्मृतिमा अझ ताजै छ । २०४७ सालमा नेपालमा प्रजातन्त्र भर्खरै स्थापना भएको थियो । खास आपाले अब स्वतन्त्रसँग घुम्न पाउनुभएको थियो ।
वर्षौंवर्षसम्म भूमिगत रहँदा उहाँको मनमा छोरालाई घुमाउने रहर पनि दबेर रहेको थियो, सायद । एक दिन ती रहर उर्लेर आएछन् क्यार ! उहाँको आँखामा खुसी झल्केर आएको देखेँ । हामीलाई पिकनिक लग्ने योजना रहेछ उहाँको ।
वर्षौंवर्षसम्म भूमिगत रहँदा उहाँको मनमा छोरालाई घुमाउने रहर पनि दबेर रहेको थियो, सायद । एक दिन ती रहर उर्लेर आएछन् क्यार ! उहाँको आँखामा खुसी झल्केर आएको देखेँ । हामीलाई पिकनिक लग्ने योजना रहेछ उहाँको ।
आपा, म र निमा पाटन पुग्यौं । साथमा प्रजय, प्रजयका भाइ र बुबा पनि हुनुहुन्थ्यो । मलाई याद छ, त्यसदिन थियो, ‘तःखाः’ (थलथले मासु), गिरेबी मासु र छ्वयला । तीन थरि मासु, चिउरा र अचार बाकेर हामी गोदावरी पुग्यौं ।
दिउँसोको ड्राइ पिकनिक भएकोले सबैले बिहानै धेरथोर चारो हालेरै गएका थियौं । ठूलो चौरनेर पुगेर आपाले टाढाको ओत लाग्ने ठाउँतिर देखाउँदै भन्नुभयो, ‘केटा हो, तिमीहरुलाई भोक जगाउनका लागि दौडाउँदैछु । जो पहिले आइपुग्छ, त्यसले मासु धेरै खान पाउँछ ।’
म ज्यादै मासु मन पराउने । ‘स्ट्यान बाइ’ भइहालें । प्रजय पनि तयार थियो । तर निमा भने अनकनायो । आपाको उत्साहवर्धक प्रयास जारी रह्यो । हजारौं जनतालाई तताउनेको बोली त्यहाँ खेर गइरहेको थियो । यसरी भयो आपाको अथक प्रयासको अन्त्य, ‘ठीकै छ, उसलाई मन छैन भने ।’
मलाई जितेर कुनै विश्वविजयी हुनु थिएन । तर प्रतिस्पर्धामा उभिएपछि हण्ड्रेड पर्सेन्ट नदिईकन हारेको पनि मज्जा आउँदैन, चाहे त्यो चार टुक्रा मासुको मात्रै सवाल किन नहोस् । दौड जितियो पनि र मासुको बढी भागको आनन्द भरपूरसँग उठाएँ पनि ।
फर्कंदासम्ममा खास आपालाई धेरथोर रक्सी लागिसकेको थियो । छोरालाई अंकमाल गरेर हिँड्दा दुवै जना बाटोदेखि अलि तल झरेछन् । प्रजयको बुबाले उठाउनुभयो । हिँड्नै नसक्नेगरी लरबरिएका त थिएनन्, तर निमाको अनुहार मलिन भयो । आपाका पाइला खुसीले मात्रै केही लर्बराएका थिए । आपालाई मैले त्यति खुशी त्यसउप्रान्त उहाँको जीवनमा कहिल्यै देखिन । बीचमा अन्तरद्वन्द्व भएको पनि महसुस गरेँ, त्यो पनि एकदम सुषुप्त अवस्थाको ।
फर्कंदासम्ममा खास आपालाई धेरथोर रक्सी लागिसकेको थियो । छोरालाई अंकमाल गरेर हिँड्दा दुवै जना बाटोदेखि अलि तल झरेछन् । प्रजयको बुबाले उठाउनुभयो । हिँड्नै नसक्नेगरी लरबरिएका त थिएनन्, तर निमाको अनुहार मलिन भयो । आपाका पाइला खुसीले मात्रै केही लर्बराएका थिए । आपालाई मैले त्यति खुशी त्यसउप्रान्त उहाँको जीवनमा कहिल्यै देखिन ।
धेरैपछि आपा म्हयपिमा परिवारसँगै बस्न थाल्नुभयो । अब त आपासँगको भेट सामान्य हुन थालेको थियो । यिनै दिनमा उहाँमा राजनीतिक ‘फ्रस्टेशन’मा हुनुहुन्थ्यो । त्यही ‘फ्रस्टेशन’ बिहानदेखि बेलुकीसम्म रक्सीका गिलासमा रित्याउन थाल्नुभयो ।
राजनीतिक संघर्षभन्दा पनि कठिन संघर्ष आफैंभित्र, आफैंसँग गर्नु उहाँको दिनचर्या बन्न थाल्यो । यिनै दिनमा जाडोले छिप्पिएको त्यो साँझ मकले आगोको धमिलो उज्यालोमा मैले निर्मल लामाका आँखाका कुना रसाएको देखेको छु ।
आफ्ना बाल्यकालका तीतामीठा सम्झनाका तरंग तपाईँलाई समर्पित गरेको छु, खास आपा ......।
यहाँसँगका मेरा दिन यतिले मात्र सिद्घिदैन । तर समुन्द्रपारको यात्रा तय गर्नु परेकोले पूरा गर्न असमर्थ भएँ । मेरो स्मृतिपटल पुनः खुल्ने छ, अहिलेलाई बिदा खास आपा.....!
सबै तस्विरहरु : https://matrikapokharel.blogspot.com