शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खुल्न थाले उद्योगहरु : सञ्चालन कसरी गर्ने भन्ने चिन्ता (तस्विरहरु)

शनिबार, २७ वैशाख २०७७, ०८ : ३४
शनिबार, २७ वैशाख २०७७

काठमाडौँ । नेपाल सरकारले कोरोनाभाइरसको महामारीका बीच केही उद्योगहरुलाई सञ्चालन गर्ने अनुमति दिए पनि तिनीहरुको सञ्चालन भने सहज देखिएको छैन । सरकारको निर्णपछि काठमाडौँमा रहेको बालाजु औद्योगिक क्षेत्र र ललितपुरमा रहेको पाटन औद्यौगिक क्षेत्रमा रहेका उद्योगहरु सञ्चालनमा आएका छन् तर त्यसलाई दिगोरुपमा कसरी सञ्चालन गर्ने भन्ने अन्यौल रहेको छ । उद्योगहरु खुलेपनि धेरैसँग उत्पादनका लागि पर्याप्त कच्चा पदार्थ छैन । ७५ प्रतिशत कच्चा पदार्थ बाहिरबाट आउँछन् जुन लकडाउनका कारण रोकिएका छन् । कामदारहरु सबै गाउँ फर्किएका छन् ।

पाटक औद्योगिक क्षेत्रमा सबै मझौला उद्योगहरु छन् । सरकारले सबै उद्योगलाई एकै प्रकारको ठानेको तर वास्तविकता फरक रहेको उनीहरुको गुनासो छ । उनीहरु प्रश्न गर्छन्, ‘उत्पादन भएको सामग्री विक्री वितरण कसरी गर्ने ?’

केही उद्योगहरु लकडाउनको बीचमा पनि सञ्चालनमा रहेका थिए । जसमा डेरी र अक्सिजन उद्योग रहेका छन् । ‘दुग्ध उत्पादनहरु प्रायः सबै बन्छन् । लकडाउनमा बन्द नभए पनि पूर्ण क्षमता भने सञ्चालनमा छैनन्,’ कुलप्रसाद घिमिरे भन्छन्, ‘अहिले बिक्री पहिलेको तुलनामा ३५ प्रतिशत मात्र छ ।’

संयुक्त डेरी एन्ड फुड प्रा. लिका अनुसार पहिले दिनको ३० हजार रुपैयाँ बराबारको बिक्री हुन्थ्यो, त्यो अहिले ८ हजार मा झरेको छ । लकडाउनका कारण पसल खोल्न पाएको छैन । पहिले १२ घण्टासम्म विक्री वितरण गरिन्थ्यो भने अहिले त्यो समय २ घण्टामा सिमित भएको छ ।

यता, बलाजुमा अटो सर्भिसमा शुक्रबार धुमधामले सरसफाइ हुँदै थियो । आइतबारबाट पूर्णरुपमा सञ्चालन हुने उनीहरुले जानकारी दिए । बालाजु औद्योगिक क्षेत्रमा १३५ वटा उद्योग सञ्चानमा थिए । शुक्रबारसम्म २९ वटा संचालनमा थिए । थप ३५ वटा सुरु हुन लागेका छन् । आइतबारबाट यो संख्या थप हुनेछ ।

उद्योग सञ्चालनमा सबैभन्दा ठूलो समस्या भनेको कोरोनाभाइरसबाट बच्न सुरक्षाका उपायहरु कसरी व्यवस्थापन गर्ने भन्ने देखिन्छ । उद्योगमा फर्कने कामदारहरुको कोरोनाभाइरसको परीक्षण गरेर संक्रमण छ कि छैन भनेर सुनिश्चित नै गरिएको छैन । त्यस्तै, काम गर्दा आवश्यक सुरक्षा सामग्रीहरु पनि उपलब्ध छैनन् । बिना कुनै सुरक्षाका मापदण्ड उद्योग सञ्चालनमा ल्याउँदा थप जोखिम निम्ताउने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप