शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘लिच्छविकालको राजकुलोको काम तीन तहका सरकारले मिलेर गर्ने’

शुक्रबार, २६ वैशाख २०७७, २० : ४२
शुक्रबार, २६ वैशाख २०७७

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री  रामेश्वर फुयाँलले लिच्छविकालमा पुर्खाले निर्माण गरेका गोदावरी नगरपालिका वडा नं ११ चापागाउँदेखि वडा नं ६ टीकाभैरव जोड्ने पुरानो राजकुलो निर्माणको काम अब तीन तहका सरकार मिलेर पूर्ण गर्नुपर्ने बताएका छन् ।

‘टीकाभैरव–पाटन राजकुलो श्रम अभियान सार्वजनिक कार्यक्रम’ मा आज उहाँले लिच्छविकालमा पुर्खाले निर्माण गरेका राजकुलो दीर्घकालीनरुपमा पुनः सञ्चालन गर्न प्रदेश, सङ्घ र स्थानीय तह सबै मिलेर अघि बढ्नुपर्ने औँल्याए । 

कार्यक्रममा सहभागीलाई मन्त्री फुयाँलले प्रदेशले सार्वजनिक ऐन बनाउँदा कुलो नमासिने गरी बनाउने विश्वास दिलाए । सहरको सौन्दर्यीकरण देखिने गरी कुलो निर्माण गरिने उनको भनाइ थियो । 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन, ललितपुरका प्रमुख रिसभ रिसालले यस वर्षको असार सम्ममा प्रदेश सरकारले दिएको रु ४९ लाखबाट राजकुलोमार्फत पानी सञ्चालन गरिने जानकारी दिए । डिपिआर तयार भइसकेपछि कुलो निर्माणमा कति खर्च लाग्छ त्यसको मूल्याङ्कन पछि हुने रिसालले बताए ।  

ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले राजकुलो निर्माणका लागि कम्तीमा रु १० करोडको परियोजना अघि बढाउनुपर्ने सुझाव दिए । क्षेत्र नं २ का सांसद कृष्णलाल महर्जनले राजकुलो निर्माणमा सङ्घले पनि आर्थिक सहयोग गर्ने मत व्यक्त गरे । 

प्रदेशसभा सदस्य लालकुमारी पुनले गोदावरीको राजकुलोका साथै ललितपुरका हरेक कुलोबाट पानी सञ्चालन गर्न आवश्यक रहेको बताइन् । प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले लामो समयदेखि बन्द रहेको राजकुलोबाट गोदावरी र ललितपुरका केही क्षेत्रमा पानी झारी कृषि उत्पादनलाई थप बढवा दिने वातावरण सिर्जना हुनुपर्ने जानकारी दिइन् । 

प्रदेशसभा सदस्य राजकाजी महर्जनले यस राजकुलो ललितपुरका तीन वटै क्षेत्रका लागि गौरवको विशेष योजना बन्नुपर्ने बताए ।

प्रदेशसभाका सदस्य जीवन खड्काले विकासका नाममा कुलोलाई हस्तक्षेप गरी सडक निर्माण भइरहँदा सरकारी जमिनलाई व्यक्तिको कब्जाबाट मुक्त गरिनुपर्ने विचार व्यक्त गरे । 

नगर प्रमुख गजेन्द्र महर्र्जनले २०४६ सालदेखि राम्रोसँग सञ्चालन नभएको उक्त राजकुलो मासि घर तथा सडक बनाएका स्थानमा कसरी काम अघि बढाउने भन्नेतर्फ बृहत् छलफल हुन जरुरी रहेको भनाइ राखे । उनले भने, “गोदावरी र पाटनका ऐतिहासिक धारा र पोखरीलाई राजकुलोको पानीले अब नयाँ जीवन प्रदान गर्नेछ ।” 

वडा नं १० का वडाध्यक्ष दर्शनकुमार विष्टले पहिराका कारण पुरिएको कुलोमा पानी सञ्चालन गराउन लगभग ७०० देखि ८०० मिटर माटो काटेर फाल्ने काम भइसकेको जानकारी दिए । सो कुलो निर्माणमा गठित उपभोक्ता समितिका अध्यक्ष श्यामबहादुर महर्जनले असारभित्र कुलोमार्फत पानी ल्याई यस वर्षको रोपाइँ गरिने प्रतिबद्धता व्यक्त गरे । 

यसैगरी आज सो राजकुलो निर्माणका लागि मन्त्री फुयाँललगायत ललितपुरका प्रदेश तथा प्रतिनिधिसभाका सदस्यले सातदोबाटोदेखि थेचोसम्म अनुगमन गरे । 

उक्त राजकुलो सञ्चालनमा आउँदा गोदावरीको करिब ६० हजार रोपनी जमिन सिँचाइ हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप