शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

कोरोना महामारी : आफैँलाई चिन्ने अवसर

शुक्रबार, २६ वैशाख २०७७, २० : १२
शुक्रबार, २६ वैशाख २०७७

-संगीता अधिकारी  

कोरोना भाइरस (कोभिड–१९) ले यतिबेला विश्व नै त्रासमा छ, देश लकडाउनमा छ । हजुरबुबा हजुरआमाले भोगेका ९० सालको भूकम्पको विपत्तिका कथा सुन्दै हुर्किएका हौँ हामी । अब हामी हाम्रा सन्ततिलाई कोरोना महामारीको कथा सुनाउन तयार हुँदै छौँ । 

नेपालमा १०१ जना कोरोना सङ्क्रमित भइसकेका छन् । तर भाग्यमानी ठान्नुपर्छ कि यो भाइरसका कारण नेपालभित्र नेपालीले ज्यान गुमाउनु परेको समाचार सुन्नु परेको छैन । चाइना जस्तो  विकासोन्मुख देशमा हजारौँ मानिसको ज्यान यही कोरोनाले लिसकेको छ । विश्वव्यापी रूपमा कोरोनाको औषधि र इन्जेक्सनसमेत नबनेको अवस्थामा  लकडाउन नै मुख्य औषधि बनेको छ । 

नेपालमा सरकारले  सङ्क्रमितबाट जोगिन र भीडभाडबाट मुक्त  हुन लकडाउन गरेको  डेढ महिना बितिसकेको छ । लकडाउन जारी हुने बित्तिकै  उपत्यका छाड्नेको लर्काे देखियो । जसरी कमिलाको ताँतीलाई एउटा सिटाले घोचेर  तितरबितर बनाइन्थ्यो त्यसैगरी कोरोनाले आम मानिसलाई न गाउँको न सहरको बनायो  । केटाकेटी अवस्थामा कमिलाको ताँतीलाई उसको गन्तव्यमा   नपुगी  बाटोमै लाखापाखा पुर्याएको सम्झिएँ । कोरोनाले काठमाडौँबाट गाउँ फर्किनेलाई त्यसैगरी लतारिरहेको छ ।  सडकभरी आफ्नो जिल्ला फर्किनेको लर्को, भोको पेट, ननिदाएका आँखा  अनि चर्को घाममा खुट्टामा चप्पलसमेत नभएका नाङ्गो पाइलाले कोरोनालाई होइन सरकारलाई सरापिरहेका थिए । कालले भन्दा महामारीको त्रासले मरिने डर जो थियो । आमाले भन्नु हुन्थ्यो भोको पेटले बाँच्न सिकाउँछ, पेट भर्न सिकाउँछ । हामीलाई बाँच्न कोरोनाले सिकाएको छ । फरक  यति मात्र हो हामीलाई आफ्नो  आत्मविश्वास अनि भरोसाले भन्दा  भ्रम र असत्यले बढी जितेको छ ।   हामीले शक्तिलाई राजनीति मात्र सम्झिरह्यौँ, पैसालाई मात्र नियालिरह्यौँ, सम्झिएनौँ  ती सुत्केरी, अनि गर्भवतीलाई जसले नुनको समेत स्वाद पाइएकी छैनन् । चाउचाउको भरमा सुत्केरी अवस्था गुज्रिएको छ । ती तमाम बटुवाहरुलाई सम्झिएनौँ जसलाई घरगाउँसम्म पुग्न यातायातको व्यवस्था नै भएन, अन्न पानीको कुनै प्रवाह नै गरेनन्, सच्चा शक्तिका पारखी तिनै थिए । जिन्दगी एउटा सिकाइ हो जहाँ सिकाइएको अन्त्य मृत्युको अलवा अरू केही छैन । कोरोना पनि एउटा सिकाइ हो जसरी हामी हरेक दुःख, कष्ट, भोक प्यास पैसा पावरलाई महसुस गरिरहेका छौँ । यतिबेला चिन्ताभन्दा पनि चिन्तनको आवश्यकता छ, अरूको आशा भन्दा पनि आफ्नै जमिनमा अन्न बाली र अनि  उब्जनीको आवश्यकता छ । आलोचना भन्दा सकारात्मक सोचको आवश्यकता छ ।  नेपाली उखानलाई सापटी लिएर भन्ने हो भने चिन्ता चिन्तैले चितामा पुर्याउँछ तर समस्याले नयाँ सिर्जना उब्जाउनु छ । चिन्तालाई सकारात्मक रूपमा हेर्नु यो समय उपयोगी समय हो । सिकाइको समय हो । 

सरकारले लकडाउन जारी गर्ने बित्तिकै बसपार्कमा सहरबाट गाउँ जानेको लर्को देख्दा दसैं झझल्को दिलाउँथ्यो तर दसैं नभई दशा टार्नको भीड थियो । आपतविपतमा गाउँ  सम्झिने आरोप पनि लाग्यो, भन्न बाँकी कोही थिएन । तर कोरोनाले के सिकाएको भने बाँझो  खेत छोड्नु हुन्न, सहर रोज्नु हुन्न भन्ने मानसिकतामा पुर्याएको छ ।  हिजो डीभी भर्नेहरु आज सीभी जुटाउँदै छन् । हिजो अमेरिका ताक्नेहरु आज आफ्नै गाउँ फर्किन समेत भिजा लाउँदै छन् ।

कमसेकम हामीलाई कोरोनाले सजग गराएको छ । नमस्कार म फलानो पार्टीको फलानो नेता मलाई फनालो चिन्हमा भोट दिनु ल हामी तपाईंको समस्या समाधान गरिदिन्छौ भन्ने आश्वासन दिलाएका कार्यकर्तालाई जनताले नजिकबाट चिन्ने गतिलो मौका भयो । सिंहदरबार गाउँमै पुगेको स्थानीय सरकारले राहतको नाममा बेइमानी गरेको, जनताले बुझ्ने मौका पाए । जनता कसका भन्दा नेताका भन्ने कुरालाई दुःख कसका जनता मात्रै भयो । राहतका नाममा युवा पुस्ता र गैरसरकारी संस्था नै अग्रसर भए । के यो कोरोनाले सिकाएको अनि भोगाएको होइन ?  

  वरिष्ठ पत्रकार विजय कुमारको शब्दलाई सापटी लिएर भन्ने हो भने विपत्तिमा हरेक हिरोको जन्म हुन्छ । यो विपत्तिमा अहिले तीन ‘स’का मिलेर नायक बनेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अनि सञ्चारकर्मी । युद्धमा जित उसैको हुन्छ जसले हार मान्दैन ।  काम गरेर हैरान महसुस गरेकालाई आरामले यतिबेला फेरि काम नै ठीक रहेछ भन्ने चेतना दिलाएको छ । बेरोजगारी युवाहरूलाई भने   कामको भोकमरीले  पिरोलिरहेको छ तर भावी योजना बनाउन, सङ्घर्ष गर्न अनि सफल पात्र बन्न  रोकेको  छैन ।  पात्र फरक होलान व्यथा उस्तै छ । सिकाइ  सिकाइ नै हो ।                           
लकडाउन हाम्रो कोरोना जित्ने ओखती हो । चैत वैशाख जस्तै पात झरेको रुखमा पाउला पलाएझैँ अहिले केही रोकिएका सपना केही समयपछि पूरा हुने नै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा