ad
केन्द्रीय संस्करण

खतरामा विश्व–महाशक्तिको श्रीपेच

person explore access_timeबैशाख २५, २०७७ chat_bubble_outline0

विषय प्रवेश
     विश्वव्यापी रूपमै कोभिड–१९ बाट मर्ने र सङ्क्रमित हुनेक्रम बढिरहेको छ । यो कुनै क्षेत्र, मुलुक, समुदाय, सम्प्रादय र वर्ग विशेषको मात्र सवाल रहेन । वस्तुतः यो महामारी सिङ्गो विश्व मानव समुदायको साझा सवाल बनिरहेको छ । 

यो आजको उन्नत विज्ञान, प्रविधि, स्रोतसाधन र जनशक्तिको अधिकतम् प्रयास र परिचालनको बाबजुत पनि नियन्त्रण गर्न कठिन भइरहेको छ । लकडाउन, व्यापक परीक्षण, सामाजिक दूरी कायम, स्वस्थ्य सुरक्षा रणनीति लगायतका सावधानीहरु अपनाए पनि जनधनको क्षतिको ग्राफ उकालो लाग्दोछ अनि सङ्क्रमण अझ बढ्दोछ । यसले विश्वजगत नै महासङ्कटमा गुज्रिरहेको प्रतित हुन्छ । सबैको जोड र ध्यान कोरोना समस्यामा केन्द्रित छ । आम चिन्ता, चासो, जिज्ञासा र खोजी यही महामारीको सनसनीपूर्ण प्रभाव र नियन्त्रण कक्ष वरिपरि घुमिरहेको छ ।

प्रभावहरुः
     मूलतः यो महाव्याधीको असर डरलाग्दो हुने अनुमान गरिँदैछ । यसले लामो र कष्टसाध्य ऐतिहासिक प्रक्रियाबाट आजसम्म मान्छेले विकास गरेको सभ्यता, मूल्यमान्यता, संस्कृति र मनोवैज्ञानिक भाष्यहरुमा रूपान्तरणको बहस सिर्जना भइरहेको छ । विज्ञान, प्रविधि, खोजअनुसन्धान अनि परम्परागत सामाजिक विरासतहरुमा गम्भीर चुनौती तेर्सिएको छ । अर्थात मानव इतिहास, परम्परा, सोच, चिन्तन् र प्रवृत्तिहरु विरुद्ध नयाँ व्याख्या र परिभाषा खोज्न बाध्य पारिँदैछ । हरेक सामाजिक सत्ता, संस्था, समुदाय र व्यक्तिको दिलदिमागमा परम्पारगत रूपमा सेट भएको मनोविज्ञान, आम बुझाइ, ग्रहण गराई र चिन्तन प्रवृत्तिहरु माथि पुनव्र्याख्या जरुरत भइरहेको छ । त्यति मात्र होइन, विश्व व्यवस्थाको विकल्प अनि वर्तमान शक्ति सन्तुलनमा पनि नयाँ आयाम थपिने सम्भावना छ । यता राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृति क्षेत्रहरुमा पनि यसले उल्लेखनीय प्रभाव पार्नेछ । त्यस्तै नेपालमा पनि यो महामारीको बहुआयामिक नकरात्मक तथा सकरात्मक असर पर्दैछ । त्यसमध्य कतिपय सकरात्मक आयामहरु पनि छन् । त्यसैले यस आलेखमा कोरोनाको बहुपक्षीय प्रभावबारे चर्चा गर्ने प्रयास गरिएको छ ।

(क) विश्वशक्ति सन्तुलनको प्रभावः 
     कोभिड–१९ ले नयाँ विश्व नेतृत्वको बहस सृजना गरेको छ । यसले विश्व व्यवस्था नै खलबलिने खतरा छ । शक्ति राष्ट्रहरु बीचको टक्कर नयाँ शिराबाट अघि बढ्दैछ । विश्व जनमत विभाजित भएको छ । हस्तक्षेप, हेपाह र दादागिरी प्रवृत्ति माथि एकहदसम्म लगाम लाग्दैछ । अमेरिकाले पहिरिएको  विश्व महाशक्तिको श्रीपेच लगभग ढल्ने मोडमा देखिन्छ । अर्थात चीन र अमेरिका बीचको शक्ति सङ्घर्षको परम्परागत भाष्यमा फेरबदल हुँदैछ । यसले रणनीतिक शक्ति सन्तुलनमा दुरगामी प्रभाव पर्नेछ । कोभिड–१९ को प्रारम्भिक सङ्क्रमण ताका अमेरिका र चीनबीच निकृष्ट आरोप–प्रत्यारोप भएबाट पनि यसको पुष्टि हुन्छ । यहाँसम्म कि चीनले अमेरिकी सेनाले भाइरस छाडेको आरोप लगायो । उता अमेरिकी राष्ट्रपति ट्रम्पले पनि यो प्राकृतिक नभएर चिनियाँ भाइरस  भनेर टिप्पणी गरे । पछिल्लो समय ट्रम्पले चीनविरुद्ध मुद्दा हाल्ने धम्कीको भाषा बोलिरहेको छ । चीनले पनि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ मानवताकै शत्रु भनेर टिप्पणी गरेको छ । यता विदेश मन्त्री पोम्पेओले कोरोना भाइरस चिनियाँ प्रयोगशालामा बनेको आरोप लगाए । यसले शक्तिसङ्घर्ष र वर्चस्वको लडाइँ जोखिमपूर्ण मोडतर्फ धकेलिएको प्रष्ट हुन्छ । अमेरिका युद्ध भड्काएर आफ्नो हत्तीयार बिक्रीमा आधारित अर्थतन्त्रलाई उकास्ने अनि चीनलाई कमजोर पार्ने रणनीतिमा देखिन्छ ।

     वस्तुतः कोभिड–१९ ले एकल ध्रुवलाई बहुल ध्रुवमा विभाजन गरेको छ । विश्व दुई खेमामा ध्रुवीकृत हुँदैछ । एकातिर विशेषतः उदाउँदो शक्ति राष्ट्रहरु चीन र रसिया अनि अर्कातिर पतनोन्मुख अमेरिका र युरोपका केही मुलुकहरु बीच ध्रुवीकरण भइरहेको छ । चीन र रसिया ब्लकमा ठूलै हिस्सा केन्द्रित छ । विगतमा युरोप र अमेरिका केन्द्रित अर्थराजनीति अब एसिया केन्द्रित हुँदैछ । यसले पश्चिमाहरुको नाङ्गो दादागिरीलाई रक्षात्मक बनाउनुको साथै कमजोर र गैरन्यायिक शासन पद्धतिको व्यवस्थापकीय पक्षलाई पनि उदाङ्गो पारिदिएको छ । उनीहरुले उदारवादी लोकतन्त्रको धेरै गुणगान गाए, जुन आज भ्रम सावित भएको छ । तब यसले राजनैतिक प्रणालीको गम्भीर बहस सिर्जना गरेको छ । यो राम्रो पक्ष हो । राष्ट्रसङ्घ, युरोपीयन युनियन र विश्व स्वस्थ्य सङ्गठनमा विभाजन आइसकेको छ । नेटो र ईयू जस्ता रणनीतिक उद्देश्यमा स्थापित संस्थाहरुले मानव सेवा गर्न सक्दैन भन्ने  छर्लङ्ग भएको छ ।

ग्रुप ७७ राष्ट्र, अफ्रिका, इटली र सर्बिया लगायतका मुलुक र संस्थाहरुले चिनियाँ सहयोगको सराहना गरिरहेको छ । यता चीनको पक्षमा वकालत गरेको भन्दै अमेरिकाले डब्ल्यूएचओलाई वार्षिक रूपमा बुझाउनुपर्ने आर्थिक दायित्व नदिने घोषणा गरिसकेको छ । अमेरिकाले चीनविरुद्ध विभिन्न उत्तेजित अभिव्यक्तिहरु दिइरहेको छ । उता ईयूको संसदको अध्यक्ष डेभिड सासोलीले पनि चीनले भ्रम सिर्जना गरिरहेको भन्दै नवउदारवादको पक्षमा  उभिन अपिल गरेका छन् । यसले शक्ति राष्ट्रहरु बीच भइरहेको वारपारको लडाईलाई ईङगीत गर्दछ ।

  युरोप र अमेरिकालाई आज आफ्नै व्यवस्थापन गर्न हम्मे परिरहेको छ । अमेरिकी अर्थतन्त्र दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा सङ्कटपूर्ण अवस्थामा छ । परिणामतः अमेरिकी दम्भ, घमण्ड र हेपाह प्रवृत्तिको पारो नाटकीय रूपमा खुम्चिएको छ । यो कोरोनाको सकरात्मक पक्ष हो । यता चीन पनि मानवीयता प्रदर्शन गर्दै मौकामा हिरा फोर्ने नीति अन्तर्गत विश्वव्यापी पहलकदमी लिने रणनीतिमा छ । उसले विश्वको झण्डै एक सय मुलुकहरुमा स्वस्थ्य सामग्री र विज्ञहरुको टोली पठाइसकेको छ । इटलीमा गरिएको मत सर्वेक्षणमा ईयूभन्दा चीनप्रतिको विश्वास बढी देखिएको छ । यसले नवउदारवादी पुँजीवादी साझा बहुराष्ट्रिय रणनीतिक संरचनाहरु सारतः खोक्रो हुनुको साथै जनहितमा परिलक्षित हुँदैन भन्ने पुष्टि भइरहेको छ । यसरी पश्चिमा विकसित शक्ति राष्ट्रहरु महामारीको चरम चपेटामा रुमल्लिरहँदा चीनले चौतर्फी सहयोगी भूमिका निभाउने सहास गरिरहेको छ । सार्वभौमतः सङ्कटको बेला जसले पहल लिन्छ  नेतृत्व उसैको हुन्छ । तब अमेरिकी महाशक्तिको श्रीपेच ढल्दैछ । चीन र रुस लगायतका उदाउँदो शक्तिराष्ट्रहरुको नेत्रृत्वमा विश्व व्यवस्था गोलबन्द हुँदैछ । तुलनात्मक रूपमा नयाँ शक्ति सन्तुलन उत्पीडित राष्ट्रहरुको पक्षमा हुने सम्भावना छ ।

(ख) राजनीतिक प्रभावः 
     कोभिड–१९ ले विश्व राजनीतिक शासन–व्यवस्थामा नै नयाँ बहस आरम्भ गरेको छ । राजकीय प्रणालीको पृथक बहसले बलियो स्थान लिँदैछ । यसले नवउदारवादको असली क्षमता उदाङ्गो पारेको छ । यसको सत्ता–संरचनाहरुको व्यवस्थापकीय पक्षमा अन्तरनिहित खोक्रोपन प्रष्ट भएको छ । भूमण्डलीकृत शासन व्यवस्थाको गैरन्यायिक चरित्रमाथि चौतर्फी प्रश्नचिन्ह उठेको छ । अमूर्त प्रजातन्त्र, लोकतन्त्र, विकास, समृद्धि, सम्पन्नता र वैभवको मपाइँत्व प्रदर्शन गर्ने पुँजीवादी शासकहरु कुटाइ खाएको कुकुर जस्तो भएको छ । स्वयं पुँजीवादीहरु पनि आफ्नो सनातन उदारवादी कन्भिक्सन वा आस्थाबाट झस्किएको छ । अर्थात नवउदारवादमा आधारित भूमण्डलीकृत पुँजीवादी विचारको छातामुनि सङ्गठित राजनीतिक दल र यसका नेताहरुको दिलदिमागमा नयाँ बहस घुसाइदिएको छ । किनकि उद्धार लोकतन्त्रको निहित स्वार्थ, खोक्रो, ढोंगी र भद्रगोल व्यवस्थापन भित्र भाइरस सङ्क्रमणको संवेदनशीलता बढी हुन्छ । पछिल्लो समय तुलनात्मक रूपमा कोरोनाले उदार लोकतन्त्रवादी धनी र विकसित मुलुकहरुमा बढी सङ्क्रमण भइरहेको विश्लेषण गर्दा यसको स्वतः पुष्टि हुन्छ ।    

 यद्यपि सबभन्दा पहिला चीनमा कोभिड–१९ को सङ्क्रमर्ण सुरु हुँदा पश्चिमाहरुले चिनियाँ कम्युनिस्ट सर्वसत्तावाद जिम्मेवार भनेर आलोचना गरे । कम्युनिस्ट सत्ताको औचित्यमाथि प्रश्न उठाए । पश्चिमा लोकतन्त्रमा यस्तो महामारीले आक्रमण गर्न नसक्ने तर्क गरे । तर उल्टै उद्धार पुँजीवादी लोकतन्त्रद्वारा निर्देशित मुलुकहरुमा यसको सङ्क्रमण अत्यधिक हुनपुग्यो । तब पश्चिमाहरुको आरोप केवल मनोगत कुण्ठा र पूर्वाग्रही अभिव्यक्ति प्रमाणित हुनपुग्यो । 

     सारतः नवउदारवाद दलाल एकाधिकार पुँजीवादद्वारा निर्देशित, नियन्त्रित र प्रशिक्षित हुन्छ । यसले लोकतन्त्रको नाममा खर्चिलो आवधिक संसदीय चुनावी प्रक्रिया अनुसरण गर्दछ । तव समग्र राजनीतिक सत्ता व्यवसायीकरण, दलालीकरण र व्यापारीकरण गरिन्छ ।  पैसाले पद लगायतका सबै कुरा निर्धारण गर्छ । निकृष्ट निहित स्वार्थ टकराउँछ । राजकीय प्रभाव र उपस्थिति नगन्य हुन्छ । सिङ्गो मुलुकलाई निजित्वले नियन्त्रणमा राख्छ । राज्य असाध्यै गरिब हुन्छ । हरेक व्यक्तिको मनोविज्ञान राज्यदोहन तर्फ परिलक्षित हुन्छ । परिणामस्वरूप व्यक्ति वा निश्चित संस्थामा अकुत सम्पत्ति केन्द्रीकरण हुन्छ । अनि मुठ्ठीभर स्रोतसाधन सम्पन्न व्यक्ति साथै केही भौतिक पूर्वाधारहरुलाई भजाउँदै सिङ्गो समाज सम्पन्न देख्ने दृष्टिदोष नै उद्धार लोकतन्त्रको असली विशेषता हो । यसमा आफ्नै नजिकका आफन्तहरुको स्वार्थमुखी लक्ष्मणरेखा नाघ्न कठिन हुन्छ । त्यसैले आजकल यसलाई क्रोनी क्यापिटलिज्म पनि भन्ने गरिएको छ ।  

     तसर्थ बलियो राजकीय नियन्त्रण र उन्नत सामाजिक अनुशासन सहितको समाजवादी अर्थराजनीतिले मात्र यस्तो महासङ्कटको उचित व्यवस्थापन गर्नसक्छ । तर यो औसत उदार पुँजीवादी प्रणालीबाट सम्भव छैन । पुँजीवादले अनुकुल अवस्थामा सबै स्रोतसाधनहरु माथि पकड राख्छ भने राष्ट्रिय सङ्टको बेला यो वा त्यो बहानामा पन्छिने गर्दछ । सामाजिक दायित्वबाट भाग्ने मात्र होइन उल्टै राज्यसँग क्षतिपूर्तिको माग गर्दछ । किनभने उनीहरुको मूलभूत चरित्र नाफा र असीमित सम्पत्ति आर्जनसँग जोडिएको हुन्छ । कमाउने नाममा मानवता, विवेक र मूल्यहरुलाई लिलाम गरिएको हुन्छ । निकृष्ट स्वार्थले समानता र न्यायलाई बन्दगी बनाइदिन्छ । निजी अस्पताल एवं संस्थाहरु अग्रमोर्चामा नआउनु यही उद्धार लोकतन्त्रको स्वार्थगत असली अनुहार हो । परिणाम स्वरूप उदारवादी लोकतन्त्रलाई निर्विकल्प भन्ने पण्डितहरु पनि यसको विकल्प बारे नयाँ बहसमा उत्रिँदैछन् । समाजवादीहरुको लागि यो सुखद अवसर हो । त्यसैले यस्ता महाव्याधीहरुबाट वच्न अब बलियो राजकीय उपस्थिति र उन्नत अनुशासनसहितको समाजवादी सत्ता अनिवार्य देखिन्छ । कोरोनाले उदार पुँजीवादको विकल्पबारे नयाँ बहसको ढोका खोलेको छ । 

(ग) आर्थिक प्रभावः 
     वस्तुतः नवउदार पुँजीवादी राजनीतिको आर्थिक आयाम भूमण्डलीकृत दलाल एकाधिकारवादी हुनेगर्दछ । यो निजी नाफा आर्जनमा आधारित हुन्छ । सीमित बहुराष्ट्रिय कम्पनीहरुमा पुँजीको अति–केन्द्रीकरण गरिन्छ । निहित स्वार्थको लागि जसरी पनि नाफा कमाउने मूलभूत चरित्रको कारण यो मानवता, सेवाभाव र विवेकशून्य हुन्छ । देखाउनकै लागि केही कल्याणकारी कामहरु गरिए पनि त्यो झन ठूलो स्वार्थ प्राप्तिको सर्तमा आधारित हुन्छ । यस्तो स्वार्थमुखी अर्थप्रणालीले मानवीय सङ्कटको बेला जिम्मेवारी वा लगानीसहितको भूमिका निभाउन सक्दैन । किनभने उसलाई मानव सेवाभन्दा नाफा आर्जन प्रधान हुन्छ । मानव जीवनभन्दा कमाउधन्दा प्यारो हुन्छ । दैनिक हजारौँ नागरिकहरु मरिरहेको बेला लकडाउन खुलाउन अमेरिकी सम्भ्रान्तहरु सडकमा निस्किनु यसैको उपज हो ।

     व्यक्तिगत स्वार्थमा आधारित आर्थिक सम्बन्धले ठूलाठूला महामारी विरुद्ध लड्न सक्दैन । कोरोनाले सन् १९३० पछिको सबैभन्दा भयावह आर्थिक सङ्कट झेल्नुपर्ने विज्ञहरुको दाबी छ । विश्वको सम्पूर्ण अर्थतन्त्र धराशायी हुने खतरा छ । यसले उत्पादन र आपूर्ति बीच चरम असन्तुलन पैदा गर्दैछ । उद्योग, पर्यटन र व्यापारिक गतिविधिहरु चौपट हुनेछ जसले उत्पादन, बजार र आपुर्तीको  सन्तुलित श्रृङ्खलालाई भत्काइदिनेछ । होटल र हवाइ व्यवसायहरु तहसनहस हुनेछ । परिणामतः राजस्व सङ्कलनमा धेरै गिरावट आउनुको साथै व्यापक रोजगारीको अवसरहरु कटौती हुनेछ । विज्ञहरुको अनुसार विश्वमा झण्डै डेढ अरब रोजगारी गुम्दैछ । चरम मुद्रा सङ्कट सिर्जना हुनेछ । त्यसपछि बहुसङ्ख्यक साधरण जनताको क्रयशक्ति उल्लेख्य रूपमा घट्नेछ । डलर सञ्चिति कम हुनेछ साथै मूल्य वृद्धिसँगै तरलता ह्वात्तै बढ्नेछ । यसैबीच एडीबीले खर्बाैं डलर पुँजी गुम्ने आर्थिक प्रक्षेपण गरिसकेको छ जुन निकै भयावह तथ्याङ्क हो । 

        सार्वभौमतः साझा दुस्मन विरुद्ध लड्न साझा शक्ति अनिवार्य हुन्छ । तर विडम्बना, विश्व अर्थराजनीति भने निजी, नाफा र एकाधिकारवादी पुँजी केन्द्रीकरणमा सीमित छ । यसमा एकआपसमा चरम् अन्तरविरोध हुन्छ । यसो भएपछि साझा शत्रु विरुद्ध साझा मुकाबिला गर्ने कुरै आउँदैन । तब दुस्मनमाथिको विजय सम्भव हुँदैन । यो केबल निजी नाफा कमाउने स्वार्थद्वारा निर्देशित हुन्छ । अर्कोतिर उद्धार पुँजीवादमा असीमित निजी स्वतन्त्रता, सुखसयल, छाडा र अराजकपन हाबी हुन्छ । नियमतः स्वार्थहरु अझ बृहत स्वार्थको सिद्धान्तमा आधारित हुन्छ । यस्तो अर्थराजनीतिक सम्बन्धले महासङ्कटलाई काबुमा ल्याउन सक्दैन । पश्चिमा मुलुकहरुमा कोरोनाको उग्रचण्डी रूप हेर्दा खुला र स्वतन्त्र उदारवादी आर्थिक सम्बन्धको व्यवस्थापकीय सारपक्षमा अन्तरनिहित कमजोरीलाई सहजै अनुमान गर्न सकिन्छ । त्यसैले अब राज्य नियन्त्रित सामाजिक एवं सामूहिक अर्थराजनीतिक सम्बन्ध अनिवार्य देखिन्छ । त्यसपछि मात्र सङ्कटको बेला साझा उद्देश्य प्राप्तिका लागि एकल नेतृत्वमा राज्यको सबै सामाजिक सत्ताहरु बिनास्वार्थ राष्ट्र र मानवहितमा परिचालन गर्न सकिन्छ । तब मात्र सङ्कटमोचन सम्भव हुन्छ । यसकारण विद्यमान विभेदपूर्ण र गैरन्यायिक आर्थिक पद्धतिको वस्तुवादी र व्यावहारिक विकल्पबारे पनि कोरोनाले नयाँ बहस सुरु गरेको छ ।

घ) सांस्कृतिक तथा सामाजिक प्रभावः
      दलाल पुँजीवादी अर्थराजनीतिद्वारा निर्देशित उदार लोकतन्त्रको आर्थिक सम्बन्ध निजी नाफा र एकाधिकारमा आधारित हुन्छ । यसको राजनीतिक, आर्थिक तथा सांस्कृति स्वरूप भूमण्डलीकृत हुन्छ । एकाधिकारवादी पकड, प्रभाव र नियन्त्रणमा आधारित हुन्छ । राजनीतिक मुहानको स्रोत अनुरूप नै सांस्कृतिक खोला बग्ने गर्दछ । अर्थात वर्तमान विश्वको साँस्कृतिक तथा सामाजिक पक्ष चरम उपभोगवादमा आधारित रहेको छ । यो भौतिक सुविधाभोगी, आडम्बरी, ढोंगी, तड्क–भड्क र औपचारिकताको सिद्धान्तद्वारा निर्देशितछ । यस्तो सँस्कृति अनुत्पादक, ढोंगी र औचित्यहीन हुन्छ । नागरिकहरुलाई सुविधाभोगी, भोगविलाशी, छाडा र अराजकताको दलदलमा धकेलिदिन्छ । समाजको समग्र सौन्दर्य चिन्तन् नै रूपवादी, देखावटी, बनावटी, रवाफिलो, तडक–भडक र आडम्बरी हुन्छ । सबैखाले रूपवादलाई मानमर्यादा, शान, प्रतिष्ठा, गर्व र सफल जीवनको कडि मानिन्छ । यस्ता भड्कीलो सामाजिक सम्बन्धले महामारी नियन्त्रण गर्नु कठिन हुन्छ । 

     त्यति मात्र होइन, उदार पुँजीवादी सांस्कृतिक आयामद्वारा निर्देशित जीवन पद्धति, जीवनशैली, कार्यशैली, खानपान र उठबस सबै उपभोक्तावादी देखिन्छ । अर्थात सिङ्गो जीवनपद्धतिमा कृत्रिमता हाबी भइरहेको छ । विकसित मुलुकहरुमा व्यप्त कृत्रिमता र रसायनको अत्यधिक प्रयोगले नागरिकहरु बोइलरी जीवनमा अभ्यस्त छन् । स्वाभाविक जीवनपद्धतिलाई कृत्रिमताले खाइसकेको छ । यस्तो भौतिक शरीरले घामपानी, जाडो–गर्मी अनि धुलो–धुवाँ विरुद्ध लड्न सक्दैन । तव कृत्रिमता र बोइलरी ज्यानमा रोगविरुद्ध लड्ने  प्रतिरोधात्मक क्षमता न्यून हुन्छ । पश्चिमी मुलुकहरुमा मृत्यु र सङ्क्रमण बढी हुनुमा उनीहरुको कृत्रिम जीवनशैली, खानपान र उठबसहरु नै एउटा जिम्मेवार कारण हो । नागरिक स्वतन्त्रताको नाममा उपभोक्तावादी  रस–रङ्गको जीवनशैली अपनाइन्छ, जसले अन्ततः अप्राकृतिकता, छाडापन र अराजकतामा हुत्याइदिन्छ । राष्ट्रिय सङ्कटको बेला यस्तो आडम्बरी, भड्किलो, ढोंगी, कृत्रिम र अनुत्पादक सामाजिक तथा सांस्कृतिक सम्बन्धहरु प्रत्युत्पादक हुन्छ । यो महामारीले हामीलाई नयाँ तरिकाले सोच्न बाध्य पारेको छ । यसले उपभोगवादी, अनुत्पादक र आडम्बरी संस्कृतिको विकल्पमा पनि नयाँ बहस थालेको छ । यो सकरात्मक पक्ष हो ।

(ङ) नेपालमा प्रभावः
     महामारीले विश्व–अर्थराजनीतिक समीकरण बदल्दैछ । यसको प्रभाव नेपाली राष्ट्रिय राजनीतिमा पनि स्वतः पर्नेछ । यता नेपाली अर्थतन्त्र पननिर्भर एवं आयतमुखी रहेको छ । दिगो उत्पादनमूलक राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास असाध्यै न्यून छ । राजकीय रूपमा कृषिको आधुनिकीकरण र व्यवसायिकीकरण गरिएको छैन, जुन नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । उद्योग, कलकारखाना नगन्य छ । सीमित उद्योगहरुमा पनि दलाल पुँजी हाबी छ । कतिपय राज्य–नियन्त्रित उद्योगहरु पनि प्राय बन्दको अवस्थामा छन् । यसलाई डाँडा माथिको भ्युटावर, गुफा, तालतलैया र झरनाहरुले ओझेल पारिदिएको छ । अर्थात केही विकास पनि पर्यटन जस्ता सेवामुखी अर्थतन्त्रमा सीमितछ । प्राथमिकता निर्धारणबिना गोलमटोल विकासे नारा लगाइएको छ । यता वैदेशिक सहायता भारी मात्रामा कटौतीसँगै लगानीमा गिरावट हुँदैछ । आर्थिक मन्दीले लाखौँ रोजगारी गुम्दैछ । वैदेशिक रोजगारी धराशयी बन्दैछ जसले विपे्रषणमुखी अर्थतन्त्रमा प्रतिकूल असर पार्नेछ । यद्यपि अन्ततः कोरोनाले उत्पानमूलक राष्ट्रिय अर्थतन्त्रको महत्त्व उजागर गरेको छ जुन असाध्यै राम्रो पक्ष हो । 

     यता महामारीले नेपाली अर्थराजनीतिमा सकरात्मक प्रभाव पनि पारेको छ । राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रहरुमा नयाँ बहसको खोजी गराएको छ । नवउदारवादद्वारा निर्देशित उपभोगवादी जीवनशैली, कार्यशैली, मनोविज्ञान, सोच्ने तरिका र परम्परागत भाष्यहरु माथि पुनरचिन्तन गर्न बाध्य पारेको छ । पश्चिमा कृत्रिम जीवनपद्धतिको विकल्प खोज्दैछ । प्राकृतिक, प्राङ्गारिक, पर्यावरणमैत्री अनि भौतिक श्रमजन्य स्वस्थ्य जीवनशैली अनिवार्य बन्दैछ ।  परनिर्भर वा मगन्ते मानसिकताबाट मुक्त गर्दैछ । वैभवशाली मुलुकहरुमा जाने चरम मोह भङ्ग गर्दैछ । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताको वस्तुवादी र व्यावहारिक उपाय खोज्दैछ । पैसा, प्रविधि र पूर्वाधार सबैथोक हो भन्ने बनिबनाउ भाष्यको अन्त्य गर्दैछ । परिणामतः राष्ट्रिय स्तरमै बाँझो जग्गाहरु आवाद हुँदैछ । कृषि व्यवसायलाई आत्मनिर्भर अर्थतन्त्रको जग स्वीकार गर्नैपर्ने भएको छ । स्वदेशमै साना–ठूला स्वरोजगार उद्यम वा स्वदेशी श्रमतर्फ सबैको आकर्षण बढाउँदैछ । श्रम संस्कृति विकास हुँदैछ । गाउँमोह र कृषिमोहको जागृतिसँगै गाउँसहरको दरार घट्दैछ । अर्थात गाउँमा जमिन बाँझो राखेर सहर वा विदेशमा कुल्ली बन्ने प्रवृत्तिलाई निरुत्साहित गर्दैछ । दिगो आर्थिक विकासमा आधारित राष्ट्रिय अर्थतन्त्र निर्माणको वस्तुगत आवश्यकतालाई औंल्याइदिएको छ । यो सही कुरा हो ।
निष्कर्षः 
           कोभिड–१९ ले विश्वजगतमा बहुआयामिक प्रभाव पार्दैछ । पहिलो एकध्रुवीय विश्वलाई बहुध्रुवमा कित्ताकाट गर्दैछ । नवउपनिवेशवादी हस्तक्षेपको केही रूपरङ बदल्दैछ । हैकम, दादागिरी र प्रभुत्वको प्रकृति फेरीदैछ । विश्वशक्ति सन्तुलन र अन्तरविरोधको स्वरूप परिवर्तन हुँदैछ । अमेरिकी विश्व–महाशक्तिको श्रीपेच ढल्दैछ । चीन र रुसी ध्रुव शक्तिशाली बन्दैछ । दोस्रो उदारपुँजीवादी लोकतन्त्रको अग्रगामी विकल्प समाजवाद हो भन्ने मान्यता स्थापित गर्दैछ । तेस्रो निजी, नाफा र एकाधिकारवादी आर्थिक सम्बन्धको वैज्ञानिक विकल्पबारे नयाँ बहस थाल्दैछ । राज्य नियन्त्रित बलियो समाजवादी आर्थिक प्रणालीको च्याप्टर खोल्दैछ । चौथो चरम उपभोगवादी सामाजिक तथा सांस्कृति सम्बन्धको नयाँ विकल्प खोज्दैछ । कृत्रिम जीवनपद्धति र उपभोगवादी खानपानले स्वभाविक बाटो रोज्दैछ । प्राकृतिक, प्राङ्गारिक, पर्यावरणमैत्री अनि श्रमजन्य उत्पादन सम्बन्धको  खोजी गर्दैछ ।

     आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणमा सबैको ध्यान मोड्दैछ । कृषि र उद्योगलाई अर्थतन्त्रको मेरुदण्ड बनाउँदैछ । गाउँसहरको दूरी घटाउँदैछ । धनी गरिबको पर्खाल भत्काउँदैछ । सम्भ्रान्त मुलुकमा पीआर र नागरिकता लिने मोह भङ्ग गर्दैछ । बनिबनाउ, परम्परागत, अव्यावहारिक र अनुत्पादक मूल्य–मान्यताहरु मेटाउँदैछ । आडम्बर, ढोंग, देखावटी र भड्किलो कृत्रिम जीवन पद्धतिको निकास खोज्दैछ । छाडा, अराजक, स्वतन्त्र र रवाफिलो जीवनशैलीलाई निस्तेज गर्दैछ । समाजवादी अर्थराजनीतिक तथा सांस्कृतिक सम्बन्धको औचित्य पुष्टि हुँदैछ । विभिन्न ऐतिहासिक सङ्घर्षहरुले पनि थाँती राखेको काम पूरा गर्दैछ । समाजवादीहरुको लागि यो शुभ सङ्केत हो । त्यसैले महामारीबाट सिर्जित यो चुनौती र अवसरलाई सिर्जनात्मक र सकरात्मक ढङ्गले आत्मसात गर्दै न्यायपूर्ण विश्व व्यवस्था निर्माणका लागि गोलवन्द भई अघि बढ्न जरुरी देखिन्छ । सबैलाई चेतना होस् !     

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.