शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरिया फर्कने श्रमिकको अन्योल हट्यो

मङ्गलबार, २३ वैशाख २०७७, १९ : ३३
मङ्गलबार, २३ वैशाख २०७७

–जीवन खत्री
सउल । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३० वैशाखमा दक्षिण कोरिया उडाउने तय भएको छ । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत पहिलो चरणमा २६० जनालाई कोरिया उडाउन लागिएको हो । जसमा भिसा अवधि सकिन लागेका नेपाली श्रमिकलाई प्राथमिकता दिने र बाँकीलाई पालैपालो उडाइनेछ भने चर्टर्ड नै भए पनि नेपाल एयरलाइन्सको विमान पहिलोपटक दक्षिण कोरियामा अवतरण हुनेछ । 

लकडाउनका कारण बिदा अवधि समाप्त भए पनि कोरिया फर्कन नसक्दा बिदामा नेपाल पुगेका ८०० बढी नेपालीको रोजगारी नै गुम्ने खतरा बढेपछि यहाँका व्यवसायी, समाजसेवी र एनआरएनए कोरियालगायतले कोरिया फर्कनुपर्ने नेपालीलाई फर्काउन नेपाल सरकारलाई अनुरोध गरेका थिए । अनुरोधअनुरुप नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले कोरिया फर्किनुपर्ने नेपाली श्रमिकलाई श्रमिकको आफ्नै खर्चमा कोरिया फर्कन सक्ने निर्णय गरेको थियो । 

लगत्तै एनआरएनए कोरियाले नेपाल एयरलाइन्सको विमान चार्टर्ड गरी गत अप्रिल ३० तारिखमै उडाउने तयारी गरेको थियो तर दक्षिण कोरिया सरकारको अनुरोधमा नेपाल सरकारले कोरिया फर्कने सम्पूर्ण नेपालीको स्वास्थ्य परीक्षण (¥यापिड टेष्ट) गरेर मात्र फर्कनुपर्ने निर्णय गरेपछि मेडिकलका लागि समय लाग्ने भन्दै उक्त उडान रद्द भएको जनाइएको थियो । 

तत्पश्चात नेपाल एयरलाइन्सले पुनः मे १२ तारिखको लागि उडान गर्ने निर्णयसँगै कोरिया आउन चाहने नेपालीको उडान कहिले होला भन्ने अन्योल हटेको छ । यसका लागि एनआरएनए कोरियाले संयोजन गरेको छ । यसका लागि चरणबद्धरूपमा काम भइरहेको एनआरएनए कोरियाका महासचिव डा.विमल सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालमा पुगेर रोकिएका र आउन चाहने नेपाली एक हजार ४०० बढी छन् । जसमध्ये ८०० बढीले फाराम नै भरेका छन् । तीमध्ये सबैको डाटा एचआरडी कोरियालाई बुझाइनेछ । बुझाइएका डाटाबाट अवस्था हेरी एचआरडी कोरियाले कोरिया फर्किन सक्ने नेपाली श्रमिकको निर्णय लिनेछ । यस अवधिमा नेपालमा रहेका नेपालीले शुक्रराज ट्रपिकल टेकु वा नजिकको ¥यापिड टेष्ट गराउने अस्पतालबाट ¥यापिड टेष्ट गराउनुपर्नेछ । 

टिकटवापत एक लाख १३ हजार ७७५ लाग्ने एनआरएनए कोरियाले जनाएको छ । कोरिया फर्केपछि अनिवार्यरूपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्छ । फर्किनुअघि कम्पनीसँग कुरा गरी कम्पनीले क्वारेन्टाइनको सुविधा दिन सक्ने वा नसक्ने तथा दिन नसके कोरिया सरकारले सहयोग गर्ने सूचना जारी भएको छ तर क्वारेन्टाइनको खर्च लाग्ने वा नलाग्ने खुलाइएको छैन । यसअघि दिनको एक लाख कोरियन वन तिरेर सरकारी क्वारेन्टाइनमा बस्न सकिने जनाइएको थियो । 

लकडाउनका कारण काठमाडौँ बाहिर भएकालाई काठमाडौँसम्म आउन समस्या हुनसक्ने भन्दै एनआरएनए कोरियाले गृहमन्त्रालयसँग समन्वय गरी घर नजिकैको शहरबाट यातयातको व्यवस्थासमेत गर्नेछ । तर, उक्त खर्च भने स्वयंले तिर्नुपर्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप