शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

४० दिनदेखि क्वारेन्टाइनमै, परिवार भोकले मर्ने चिन्ता

मङ्गलबार, २३ वैशाख २०७७, ११ : ५२
मङ्गलबार, २३ वैशाख २०७७

कैलाली । ‘क्वारेन्टाइनको बास ४० दिन भइसक्यो । हामी कुनै अपराधी त होइनौँ नि,’ नरेन्द्रराज जोशीले दुखेसो पोख्दै भने, ‘९ जनाको परिवार छ । सबै जना मेरो कमाइमा आस्रित छन् ।’

कोरोनाभाइरसले भन्दा पनि परिवार भोकमरीले लान्छ कि भन्ने त्रास उनमा छ । खेतवारीको सिजन नजिकिएको छ वर्षभरि खानपुग्ने अन्नवाली उब्जाउ गर्ने समय पनि टाढा रहेन । ‘कति दिन क्वारेन्टाइनमा बस्नु पर्ने हो ?,’ उनले सरकारलाई प्रश्न गरे ।

जोशी कृष्णपुर नगरपालिका–८ कञ्चनपुरका वासिन्दा हुन् । कामको सिलसिलामा भारत पुगेका उनी चैत्र १६ गते बनवासा आइपुगेका थिए । त्यो समयमा लकडाउन जारी रहेको थियो । उनी भन्छन्, ‘सरकारले कोभिड–१९ को रोकथामका लागी १८ दिनसम्म अनिवार्य क्वारेन्टाइन बस्न भन्यो । हामी बस्यौँ पनि । तर अहिले ४० दिन पुगिसक्यो कहिलेसम्म बस्ने हो ?’

धान रोपाइँ नगरी वर्ष भर नखान पुग्ने भन्दै उनले काम गर्ने सिजनमा क्वारेनटाइनमा बस्नु परेकोमा दुखेसो पोखे ।

उनी लगायत बनवासाको शारदा इन्टर मिडिया कलेजको क्वारेनटाइनमा ७४ जना बसेका छन् । एक कोठामा १० जनाको समुह छ  । दिनभर कलेजको मैदानमा घुम्यो, बेलुका कोठामा वास बस । यति नै हो अहिलेको उनीहरुको दिनचर्या ।  क्वारेन्टाइनमा कोभिड १९ को भन्दा अन्य रोगको त्रास भएको उनले बताए । ‘झुलको व्यवस्था छैन, लामखुट्टेको टोकाइबाट हैरान छौँ,’ उनले भने, ‘एकतिर घरको पिरलो अर्कोतिर क्वारेन्टाइनको पिरलो । नेपाल सरकारले त हामीलाई जिउँदै लास बनाउने भो ।’

त्यस्तै कैलालीको लम्की चुहा नगरपालिका–१ लम्कीका स्थानिय कर्णाखर जोशी (आचार्य) को दुखेसो पनि फरक छैन । १३ जनाको परिवार छ खेतबारीको काम गर्न नेपाल आएका उनको पनि क्वारेनटाइनको बास रहेको छ । ‘बैतडी र दार्चुला नाकामा बसेकाको उद्धार गरियो भन्ने सुनियो,’ तर हाम्रो बारेमा किन बेखबर उनले भने ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कंचनपुर जिल्लाको गड्डा चौकीनाका र कैलालीको त्रिनगर भन्सार नाकामा रहेका नेपाली नागरिकलाई तत्कार उद्दार गर्न संघीय सरकारलाई अनुरोध गरेको उनले बताए ।

‘हामीले पहल गर्ने हो निर्णय गर्ने संघीय सरकारको हो,’ उनले अधिकार प्रदेश सरकारलाई नभएको बताए ।

कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले पनि  गृहमन्त्रालय वाट आदेश नआएसम्म केहि पनि गर्न नसक्ने बताए । ‘जो जहाँ छन्, त्यहीँ बस्ने भन्ने छ,’ उनले भने, ‘हामीले गृह मन्त्रालयलाई पत्र पठाएको छौँ जवाफ आएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप