शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

निको भएपछि पुनः कोरोना संक्रमण हुन्छ ?

मङ्गलबार, २३ वैशाख २०७७, ११ : २७
मङ्गलबार, २३ वैशाख २०७७

कोरोना संक्रमण भएर निको भइ घर फर्किएकालाई पुनः संक्रमण हुन्छ कि हुँदैन भन्नेमा प्रायः सबैको मनमा प्रश्न उठ्ने गर्छ । विश्वमा कोरोना संक्रमित भएर निको भइ घर फर्किने धेरै छन् । दक्षिण कोरिया, चीन, जापानमा पुनः कोरोना संक्रमित भएको समाचार बाहिरिएको थियो । त्यसैगरी, केही दिनअघि नेपालमै पनि कोरोना संक्रमणबाट निको भएर घर फर्केका एकजनामा पुनः संक्रमण देखापरेर अस्पताल भर्नाभएको खबर आएको थियो ।  तर कोरोनाको पुनः संक्रमण हालसम्म कमै मानिसहरुमा मात्रै देखिएको छ ।

कोरोना संक्रमित निको भएपछि फेरि संक्रमण हुन्छ कि हुँदैन भन्ने बारेमा ‘प्रष्ट रुपमा प्रमाण नभएको’ शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । यसबारे विश्वका विभिन्न राष्ट्रमा  अध्ययन भइराखेको छ । एक पटक कोरोना संक्रमण भएर निको भइसकेका मानिसमा पुनः कोरोना संक्रमण देखिन्छ भन्ने बारेमा अनुसन्धानहरुबाट प्रमाणित भइनसकेकोले त्यसबारेमा ठोकुवा गरेर भन्न नसकिने जनस्वास्थ्यविद् डाक्टर समीरमणि दीक्षित बताउँछन् ।

चीनबाट फैलिएर विश्वभर महामारीको रुप लिएको नोबेल कोरोनाभाइरस नयाँ भाइरस हो । यस भाइरसका कारण कोभिड–१९ रोग लागेर निको भएपछि पुनः संक्रमित हुन्छ वा हुन्न भन्नेबारेमा डाक्टर पुन र दीक्षितकै भनाइमा  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनी  पनि सहमत छन् ।

‘नोबेल कोरोनाभाइरस र त्यसबाट लाग्ने रोग कोभिड– १९ का बारे समग्र रुपमा थाहा पाउनका लागि धेरै अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता छ । अध्ययन अनुसन्धानको त्यो पाटोलाई  फराकिलो बनाएपछि मात्रै यो संक्रमण दोहोरिएर देखापर्ने वा नपर्ने बारेमा जानकारी पाउन सकिने’ पूर्वनिर्देशक डाक्टर मरासिनी बताउँछन् । त्यसो त संक्रमित निको भइसकेपछि ‘शरीरमा नोबेल कोरोनाभाइरस बाँकी नै रहे पनि त्यो कमजोर अवस्थामा रहने र हत्तपत्त  अन्य व्यक्तिलाई सरिनहाल्ने’ डाक्टर मरासिनी बताउँछन् ।

परीक्षणमा गडवड हुँदा

पछिल्लो तथ्यांकअनुसार विश्वभरिमा नोबेल कोरोनाभाइरसको संक्रमणमा परेका ३,६४६,२०१ जनाहरुमध्ये हालसम्म १,२००,१७० जना निको भएर घर फर्किएका छन् । नेपालमा पनि हालसम्मका संक्रमति ८२ जनामध्ये १६ जना उपचारपछि घर फर्किका छन् । केही राष्ट्रमा न्युन संख्या पुनः संक्रमित देखिए पनि त्यहाँ परीक्षणमा गल्ती भएको कारण नतिजा पुनः पोजेटिभ देखिएको हुन सक्ने’ डाक्टर मरासिनी बताउँछन् ।

‘निको भएर घर फर्केका कोरोना संक्रमितलाई पुनः कोरोना संक्रमणको आशंकामा प्रयोगशालामा परीक्षण गर्दा अञ्जानमा गल्ती हुँदा यस्ता घटना देखापर्न सक्ने अनुमान लगाउन मात्रै सकिने’ उनी बताउँछन् ।

‘संक्रमितको नमुना लिदाँ नाक, घाँटी दुवैबाट सही तरिकाले नमुना लिएर पिसिआर टेष्ट सावधानीका साथ गर्नुपर्ने’ समेत डाक्टर मरासिनी बताउँछन् । त्यस कुरामा गडबडी हुँदा पनि नतिजा उल्टोपाल्टो आउन सक्ने उनको भनाइ छ ।

‘आशंका गरिएको व्यक्तिको नमुना संकलनमा कमी कमजोरी हुँदा संक्रमितलाई असंक्रमित भनेर नतिजा आउन सक्ने यर त्यस्तो परिस्थिति सृजना हुन सक्ने’ डाक्टर दीक्षित बताउँछन् ।

उनका अनुसार, ‘कोरोना संक्रमित भएर निको भएका व्यक्तिमा त्यसका विरुद्ध रोग प्रतिरोधात्मक क्षमता पैदा भइसकेको हुन्छ । त्यसैले एक पटक संक्रमण भएर निको भइसकेका व्यक्तिमा पुनः संक्रमित हुने सम्भावना कमै हुने’ गर्छ ।

त्यसो त नोबेल कोरोनाभाइरसको बारेमा अझै पूर्ण रुपमा अध्ययन अनुसन्धानहरु भइनसकेकोले यसबारेमा यसै भन्न नसकिने विज्ञहरुको कथन छ । विश्व स्वास्थ्य संगठनले पनि यस भाइरसको संक्रमणमा परेकाहरुमा इम्युनिटी पैदा भइहाल्यो भनेर ढुक्क हुन नहुने चेतावनी पहिल्यै नै दिइसकेको छ । कतिपय विज्ञहरुको भनाइमा चाहिँ एक पटक संक्रमण भएर निको भइसकेकाहरुमा पुनः संक्रमण देखापर्नुको अर्थ उनीहरुलाई फेरि संक्रमण भएको नभई पहिलैको संक्रमण पुनः देखापरेको हुन सक्ने अनुमान केही वैज्ञानिकहरुले गर्दै आएका छन् ।

संक्रमित निको भएपछि के गर्ने ?

कोरोना संक्रमित निको भएर घर फर्किएपछि पुनः परीक्षण गराइबस्नु पर्छ कि पर्दैन ? संक्रमणबाट निको भइसकेपछि विगतमा झैँ घरपरिवार समाजका अन्य क्रियाकलापमा संलग्न हुनुहुन्छ कि हुँदैन ? वा कति समयसम्म उसले सावधानी अपनाउनुपर्छ  ? भन्ने बारेमा आम मानिसको जिज्ञासा हुन सक्छ ।

 ‘कोरोना संक्रमित निको भएपछि अस्पतालमा फलोअपमा कति दिनसम्म जाने कि नजाने भन्नेबारे कोरोना भाइरसको महामारी फैलिएका राष्ट्रहरुले फरक–फरक प्रोटोकल बनाएको’ सरुवा रोग विशेषज्ञ डाक्टर पुन बताउँछन् । उनका अनुसार, कोरोना संक्रमितबाट निको भएर घर फर्किएकाचीनियाँ नागरिकलाई  १४ दिनसम्म सावधानी अपनाएर होमक्वारेन्टाइनमा छुटै राख्ने गरिन्छ । 

त्यस्तै, सिङ्गापुरमा निको भएर फर्किएको १४ दिनपछि अस्पतालमा फलोअपमा जाने प्रोटोकल रहेको डाक्टर पुन बताउँछन् । तर  नेपालले संक्रमित निको भएर गएपछि फलोअपमा आउने वा १४ दिनसम्म होम क्यारेन्टाइनमा बस्ने भन्ने बारेमा हालसम्म कुनै प्रोटोकल बनेको छैन ।

‘नेपालमा यसबारेमा पोटोकल नबने पनि संक्रमित निको भएर गएपछि १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने गरेको’ टेकु अस्पतालका प्रवक्ता डाक्टर अनुप बास्तोला बताउँछन् ।

कोरोना निको भएकालाई पनि अन्य रोग लागेको पनि हुन सक्छ

‘कोरोना संक्रमित निको भएर घर फर्किएपछि कुनै पनि रोग नलाग्ने भन्ने हुँदैन । निको भएका संक्रमितमा अरु रोगका लक्षण देखापर्दैमा समुचित परीक्षण नगरिकन पुनः कोरोना संक्रमण भयो भनेर हल्ला चलाउन नहुने’ डाक्टर दिक्षित बताउँछन् । ‘कोरोना संक्रमित पहिलैदेखि दीर्घरोगी हुन सक्छन्,’ उनले भने, ‘कोरोना निको भएपछि अन्य कुनै रोगका लक्षण देखापर्न सक्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप