मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मीरका तीन फोटो पत्रकारलाई पुलित्जर पुरस्कार, कुन फोटोका लागि दिइयो ?

मङ्गलबार, २३ वैशाख २०७७, ०९ : ४३
मङ्गलबार, २३ वैशाख २०७७

भारत सरकारले जम्मू–कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि त्यहाँ महिनौंसम्म कर्फ्यू र लकडाउनको स्थिती रह्यो । यस्तो स्थितीमा कश्मीरका तीन फोटो पत्रकारले क्यामरामार्फत् मानिसहरुलाई त्यहाँको स्थिती देखाए । यी तीनजना फोटो पत्रकार यासिन डार, मुख्तार खान र चन्नी आनन्द समाचार एजेन्सी एपीका लागि काम गर्छन् । अब उनीहरुले कश्मीर कभरेजका लागि पत्रकारिताको प्रतिष्ठित पुलित्जर फिचर फोटोग्राफी अवार्ड हात पारेका छन् ।

यासिन र मुख्तार श्रीनगरमा बस्छन् भने आनन्द जम्मू जिल्लाका बासिन्दा हुन् । चन्नी आनन्द पछिल्लो २० वर्षदेखि एपीसँग जोडिएका छन् । पुरस्कार जितेपछि अत्यधिक खुसी भएका चन्नीले भारतीय मिडियासँगको कुराकानीमा आफू अत्यधिक आश्चर्यचकित भएको बताएका छन् । सोमबार अबेर राती यो पुरस्कारको घोषणा गरिएको हो । यी तीनैजनाले घाटीको सामान्य जनजीवनका साथै प्रदर्शनकारी र सुरक्षाबलको तस्बिर संसारसामू पुर्याए ।

श्रीनगरमा बस्ने यासीन डारले भारतीय मिडिया भास्कर डट कमसँग इमेलमार्फत् कुराकानी गरेका छन् जसमा उनले भनेका छन्, ‘यो काम कुकुर बिरालोको लुकामारीजस्तै थियो । इन्टरनेट बन्द हुँदा फोटोलाई दिल्लीसम्म पुर्याउन निकै मुश्किल हुन्थ्यो । हामी मेमोरी कार्डमार्फत् फोटोलाई दिल्लीसम्म पुर्याउनका लागि दिल्ली जाने कुनै पनि यात्रीलाई फकाउँथ्यौं । हाम्रो कामबाट यो प्रेरणा पाएका छौं कि कहिले पनि कसैको अगाडि चुप बस्नु हुँदैन ।

न्यूज एजेन्सी एपीका सिइओ गेरी प्रूटले यो सम्मान आफ्ना लागि संस्थानको महान कार्यशैलीको हिस्सा भएको बताएका छन् । उनले भनेका छन्, ‘कश्मीरमा काम गर्ने हाम्रो पूरा समूह बधाईको पात्र हुन् । यो अवार्डका लागि न्यूज एजेन्सीका फोटोग्राफर दिउ नलियो चेरी र रेबेका ब्ल्याकवेल पनि फाइनलिस्टमा थिए । उनीहरुले हाइटीमा हिंसाको क्रममा कभरेज गरेका थिए । त्यतिबेला चेरीलाई गोली पनि लागेको थियो तर उनले आफ्नो कामलाई निरन्तरता दिइरहे । यी पाँच फोटोग्राफरले संस्थानका लागि उत्कृष्ट काम गरेका छन् ।’  

न्यूयोर्क टाइम्स, एंकरेज डेल, प्रो पब्लिकालाई सम्मानः

यसका साथै, न्यूयोर्क टाइम्स, एंकरेज डेली न्यूज, प्रो पब्लिकालाई पनि पुलित्जर पुरस्कारबाट सम्मानित गरिएको छ । यी तीन पत्रिकालाई अमेरिकामा भ्रष्टाचार, कानून स्थापित गर्ने संस्था, यौन हिंसा र रंगभेदजस्ता विषयमा अनुसन्धान गर्दै लेखिएको रिपोर्टका लागि पुरस्कार दिइएको हो । न्यूयोर्क टाइम्सले यससँगै तीनवटा पुलित्जर पुरस्कार पाएको छ ।

एंकरेज डेली न्यूज, प्रो पब्लिकाले सबैभन्दा प्रतिष्ठित मानिने पब्लिक सर्भिस अवार्ड पायो । यिनीहरुले अलास्कामा यौन हिंसाको अनुसन्धान गरेको इन्भेस्टिगेटिभ रिपोर्टका लागि पुरस्का र पायो । यसबाहेक द न्यू योर्करले दुईवटा अवार्ड पायो । यस्तै, वासिङ्टन पोस्ट, असोसिएटेड प्रेस, द लस एन्जलिस टाइम्स, द बाल्टिमोर सन, द प्यालेस्टिनी हेराल्ड प्रेसले पनि विभिन्न खबरका लागि पुलित्जर पुस्कारमार्फत् सम्मानित गरिएको छ ।

कोरोनाका कारण स्थगित गरिएको थियो घोषणाः

कोरोनाभाइरसको संक्रमणका कारण गत महिना बोर्डले पुरस्कार बिजेताको नामको घोषणा स्थगित गरेको थियो । पुलित्जर पुरस्कार दिने संस्थाका अनुसार बोर्डका धेरैजसो पत्रकार महामारीको रिपोर्टिङ गर्नमा जुटेका थिए ।

पुलित्जर पुरस्कारको सुरुवात सन् १९१७ मा गरिएको थियो । यो अमेरिकाको एक प्रमुख पुरस्कार हो जुन समाचार पत्रको पत्रकारिता, साहित्य एवं संगीत रचनाको क्षेत्रमा उल्लेखनीय कार्य गर्नेहरुलाई दिइन्छ । गत वर्ष यो पुरस्कार ‘न्यूयोर्क टाइम्स’ र ‘वाल स्ट्रिट जर्नल’ लाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनको परिवारसँग सम्बन्धित जानकारी सार्वजनिक गरेकोमा प्रदान गरिएको थियो ।

पुलित्जर पुरस्कार पाउनेको पूरा सूची यहाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप