शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बजेटमा नयाँ कार्यक्रम नपर्ने, अधुरा आयोजना पुरा गरिने

सोमबार, २२ वैशाख २०७७, १७ : ४४
सोमबार, २२ वैशाख २०७७

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ बजेट अर्थतन्त्रमा फड्को मार्ने गरी नभइ पुरानै अवस्थामा फर्काउने गरी आउने भएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाभाइरसले शिथिल भएको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने गरी बजेट ल्याउने तयारी गरेको बताए । कोरोना जोखिम न्यूनीकरण अबको बजेटको प्राथमिकता हुनेछ । 

सरकारको राजश्वमा दवाव परेपछि अर्थमन्त्रालयले विभिन्न मन्त्रालयलाई नयाँ कार्यक्रम सिफारिस नगर्न भन्दै आएको छ ।  यसले आगामी बजेटमा नयाँ कार्यक्रम नपर्ने निश्चितजस्तै देखिएको छ । अर्थमन्त्रालयले स्रोत जुटाउन दाताहरुलाई गुहारिरहेको पनि छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अर्थमन्त्रालयले नयाँ कार्यक्रम एडजस्ट गर्न सदैनौं भनेर नयाँ कार्यक्रम राखेर बजेट माग नगर्न आफ्नो मन्त्रालयलाई भनिसकेको बताए । 

उनले भने, ‘यसपटक नयाँ कार्यक्रम आउने सम्भावना कम छ । अर्थमन्त्रालयले नयाँ एडजस्ट गर्न सक्दैनौं भनेको छ । अब पुरानै काम भइरहेको कार्यक्रम पुरा गर्ने र काम हुन नसकेको कार्यक्रमको बजेट काम भइरहेको कार्यक्रममा हाल्ने हो ।’ 

यता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले आगामी बजेट  ठुला र नयाँ कार्यक्रम भन्दा पनि स्वास्थ्य र शिक्षामा बढी केन्द्रित हुने बताएका छन् । उनले भने, ‘पहिले पूर्वाधारको बजेटमा बढी जोड दिइन्थ्यो यसपटक अवस्था फेरिएको छ, स्वास्थ्य, शिक्षामा बढी फोकस हुनुपर्नेछ ।’

यस्तै उनले कम प्रभावकारी कार्यक्रम पनि हट्न सक्ने संकेत गरे । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम परिमार्जन हुनसक्ने बताए । उनले भने, ‘यो अनुदान बाँड्ने काम मात्र भयो, यसलाई परिमार्जन गर्न सक्ने अवस्था छ ।’  

 कोरोना भाइरसको कारण आर्थिक गतिविधि हुन नसक्दा राजस्व उठ्न सकेको छैन, जसले अहिले सरकारलाई स्रोतको दवाव छ । लकडाउनका कारण यस पटकको बजेटमा व्यापक छलफल गर्न समेत नपाएको कँडेलले बताए । 

आयोगकै एक सदस्य शुशील भट्टले पनि अधुरा आयोजना पुरा गर्ने र गेमचेन्जर आयोजना प्राथमिकतामा पारेर बजेट आउने भनेका थिए । 

आयोगले मन्त्रालयहरुलाई अधुरा आयोजनाको विवरण पठाउन समेत परिपत्र गरिसकेको छ । 

आयोगले गत माघमा आगामी आवको लागि बजेटको आकार तोकेर अर्थमन्त्रालय पठाएको थियो । तर चैतदेखि कोरोनाका कारण लकडाउन भएपछि आर्थिक गतिविधि न्युन भयो जसले  राजस्व  प्रभावित भयो ।

 बैशाख मसान्तसम्मको अवस्था हेरेर सिलिङ परिमार्जन हुन सक्ने र विगतकै हाराहारीमा बजेट आउने  आयोगका उपाध्यक्ष कडेलले रातोपाटीकै एक अन्र्तवार्तामा भनेका थिए । 

सरकारको बजेट अधिवेशन यही बैशाख २६ बाट सुरु हुँदैछ । सोही छलफलका आधारमा सरकारको नीति तथा कार्यक्रम आउनेछ भने सोही नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी जेठ १५ मा बजेट पेस हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप