शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘जनता समाजवादी पार्टीमा बहु–अध्यक्ष पद हुँदैन’

अध्यक्षमण्डलीय प्रणालीका पीडित नेताहरु भन्छन्, ‘अब जमिन्दारी शैलीबाट पार्टी चल्दैन’
सोमबार, २२ वैशाख २०७७, १४ : ३१
सोमबार, २२ वैशाख २०७७

काठमाडौँ । समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीचको एकीकरण प्रक्रियालाई पूर्णता दिन दुवै पक्षका नेताहरु गृहकार्यमा जुटेका छन् । नवगठित जनता समाजवादी पार्टीलाई निर्वाचन आयोगमा दर्ताका लागि केन्द्रीय सदस्यहरुको हस्ताक्षर संकलन गर्ने काम भइरहेको छ भने दलको नेतृत्व र कार्यविभाजनको विषयमा पनि छलफल जारी छ । कार्यविभाजनको विषयमा तत्कालीन समाजवादी पार्टी र राजपा नेपालका शीर्ष नेताहरुको बीचमा दैनिकजसो छलफल भइरहेको जसपा नेपालका नेता कृष्ण सिंहले बताए ।

एकीकरण प्रक्रिया अघि बढी रहँदा जसपाको नेतृत्वको मोडल कस्तो हुनेछ भन्ने पनि चासोको विषय रहेको छ । राजपा र समाजवादी पार्टीमा बहु–अध्यक्ष प्रणाली रहेको अवस्थामा नयाँ पार्टीमा पनि त्यही प्रणाली लागू हुने धेरैले अनुमान लगाएका छन् । त्यसमाथि दुई पार्टीका गरेर आठ जना अध्यक्षको व्यवस्थापनका लागि पनि नयाँ पार्टी पुनः बहु–अध्यक्ष पदमा जानुपर्ने बाध्यता रहेको धेरैको विश्लेषण छ ।

तर, अध्यक्षमण्डलीय प्रणाली अनुभव गरेर आएका नेताहरु भने नयाँ पार्टीमा बहु–अध्यक्ष पदको व्यवस्था हुन नहुने धारणा राख्छन् । एकभन्दा बढी अध्यक्ष हुँदा वा अध्यक्षमण्डलको व्यवस्था हुँदा पार्टी नै अनिर्णयको बन्दी बन्ने उनीहरुको तर्क रहेको छ ।

विशेष गरेर विगतमा दुई दलबीच एकीकरणको प्रयास भइरहँदा एकताको विरुद्धमा उभिएका नेताहरु बहुअध्यक्ष पदको विरोधमा देखिएका छन् । अहिले ती नेताहरु पनि एकीकरणप्रति सहमत भएका छन् । यो एकीकरणबाट उनीहरु खुशी नै देखिन्छन् । तर, पार्टीलाई चलयमान बनाउन एकल नेतृत्व नहुने उनीहरुको आडन छ ।

यसमध्येका एक हुन्, जसपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्ला । उनी भन्छन्, ‘हो, म पनि त्यतिबेला यथास्थितिमा एकीकरण नगरौँ भन्ने पक्षमा थिएँ । पहिला राजपा नेपाल नै व्यवस्थित होस् भन्ने मेरो चाहना थियो । त्यसका लागि हामीले पार्टीमा कुरा पनि उठाएका थियौँ । तर अध्यक्षमण्डलमै विवाद भएको कारण त्यसबारे केही भइरहेको थिएन ।’

तत्कालीन राजपा नेपालका उपाध्यक्षसमेत रहेका शुक्लालगायतका केही नेताहरुले एकीकरणको खुलेर विरोध गरेका थिए । उनी भन्छन्, ‘हामी वास्तवमा एकीकरणको विरोधी थिएनौँ । हाम्रो एक मात्र चाहना थियो – राजपा नेपाललाई पहिला बलियो बनाऔँ ।’

राजपा नेपाल ६ वटा दल मिलेर बनेको थियो तर एकता भएको ३–४ वर्ष बितिसक्दा पनि एकता प्रक्रियाले पूर्णता पाउन सकेको थिएन । ‘पार्टी पूर्णरूपमा समायोजन भएको थिएन पहिला त्यसलाई पूर्णता दिऔँ र संगठित हौऔँ र अनि मात्र एकीकरण गरौँ भन्ने चाहना थियो । तर अध्यक्षमण्डलमा रहेका केही नेताहरु ती कुरा मान्ने पक्षमा थिएनन् ।’ यही खिचातानीमा समय खेर गइरहेको थियो ।


‘अध्यक्षमण्डलकै कारण राजपा नेपाल बन्न सकेका थिएन, अब त्यही रोग नयाँ पार्टीमा नदोहोरियोस् भन्ने हाम्रो चाहना हो ।’


तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलले पार्टीलाई अनिर्णयका बन्दी बनाएको उनको आरोप छ । ‘न त आफै केही ठोस निर्णय लिन सकिरहेको थियो न त अरु समितिको बैठक बोलाउन नै सकिरहेको थियो,’ उनी भन्छन्, ‘पार्टी अर्धमृत अवस्थामा थियो । उनीहरु आफू केही गर्न सकिरहेका थिएनन् भने हामीलाई नै समेत केही गर्न नदिएर निस्कृय बनाइसकेका थिए । त्यस्तो हुनुभन्दा त बरु पार्टी एकीकरण नै ठीक भनेर यतातिर लागेका होँ ।’

तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलले जमिन्दारी शैलीमा पार्टी चलाएको उनको आरोप छ । अब त्यो जमिन्दारी शैलीले पार्टी नचल्ने भनेर नै एकीकरण गरेको बताउँदै  उनले जसपालाई जमिन्दारी शैलीबाट मुक्त गराउने बताए ।

अबको नयाँ पार्टी अध्यक्षमण्डलीय प्रणालीको नहुने र एकल नेतृत्वबाट सामूहिक निर्णय गर्ने प्रणालीको हुने बताउँदै उनले भने, ‘अध्यक्षमण्डलीय प्रणालीले पार्टी चल्दैन भनेर पुष्टि भइसकेको छ । अब फेरि त्यही गल्ती दोहोर्याउन हुँदैन ।’

जसपा नेपालका अर्का नेता वृषेशचन्द्र लालले पनि अबको नयाँ पार्टी अध्यक्षमण्डलीय प्रणालीमा नचल्ने बताए । ‘अध्यक्षमण्डलको संकुचित सोचका कारण राजपा नेपाल ध्वस्त भएको अनुभव हामीसँग छ,’ तत्कालीन राजपा नेपालका उपाध्यक्ष समेत रहेका लालले भने, ‘मेरो विचारमा नयाँ पार्टीमा एकजना मात्र अध्यक्ष हुनुपर्छ । तर, निर्णय लिँदा संस्थागत र सामूहिक रुपमा लिनुपर्छ ।’

नेता लाल पनि तत्काल समाजवादी र राजपाबीच एकीकरण हुने पक्षमा थिएनन् । उनले पनि पहिला राजपालाई बलियो बनाएर मात्र अरु दलसँग एकीकरण गर्नुपर्छ भन्ने धारणा पार्टीमा राख्दै आएका थिए । नेता लाल भन्छन्, ‘म एकीकरण विरोधी थिइनँ, मात्र एकीकरण गर्नुभन्दा पहिला पार्टीमा छलफल हुनुपर्छ भन्ने मेरो चाहना थियो । तर अध्यक्षमण्डलले कहिले बैठक नै बोलाउन मानेन । मनमौजी गरे ।’


‘जसको व्यक्तिगत चाहना पुरा भइरहेको थियो, उनीहरु एकीकरणका पक्षमा थिए भने अरु विरोधमा थिए । त्यही भएर त्यो एकीकरणको प्रयास नै नाटकीय लागिरहेको थियो ।’


अहिलेको एकीकरण बाध्यात्मक अवस्थामा भएपनि नेताहरुले आफूहरुसँग पनि सल्लाह गरेर मात्र निर्णय लिएको उनले बताए । उनी भन्छन्, ‘अध्यक्षमण्डलकै कारण राजपा नेपाल बन्न सकेका थिएन, अब त्यही रोग नयाँ पार्टीमा नदोहोरियोस् भन्ने हाम्रो चाहना हो ।’

जसपा नेपालका अर्का नेता गोविन्द चौधरी पनि शुरूमा समाजवादी पार्टी र राजपा नेपालको एकीकरण प्रकृयाबाट खुसी थिएनन् । राजपा नेपाल अध्यक्षमण्डलका नेताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर एकीकरणमा लागेको भन्दै उनले विरोध गर्दै आएका थिए । ‘जसको व्यक्तिगत चाहना पुरा भइरहेको थियो, उनीहरु एकीकरणका पक्षमा थिए भने अरु विरोधमा थिए । त्यही भएर त्यो एकीकरणको प्रयास नै नाटकीय लागिरहेको थियो ।’ एकीकरण गर्नुभन्दा राजपालाई नै पहिला संगठित गरौँ भने आफ्नो चाहना रहेको उनले बताए ।

‘अहिले बाध्यात्मक अवस्था पार्टी एकीकरण भएको छ । यो एकीकरणले सम्मानजनक तरिकाले पूर्णता पाउनेमा आफूले विश्वास लिएको बताउँदै उनले भने, न‘याँ पार्टीमा पनि त्यहि नाटक भयो भने एकिकरणको कुनै अर्थ रहदैन ।’ पार्टी कुन प्रणालीमा चलाउने भन्ने विषयमा पार्टीभित्र व्यापक छलफल हुनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप