कम्युनिस्ट पार्टी र जनजीविकाको सवाल
२००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सात दशकको यात्रा पार गरेको छ । यो अवधिमा नेपालको कम्युनिस्ट आन्दोलनले विविध खालका आरोह अवरोह पार गर्दै अहिले नेपालको शासन प्रणालीको केन्द्रीय भागमा आइपुगेको छ । सङ्गठित शक्तिका बलमा लोकतान्त्रिक विधि र प्रणालीको अवलम्बन गर्दै जनादेश पाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तीनै तहमा सुविधाजनक बहुमतका साथ शासन प्रणालीको नेतृत्व लिने कुरा ऐतिहासिक मात्रै होइन नेपालका सर्वहारा श्रमजीवी जनताको उच्चतम चाहना पूरा गर्ने अभिभारा प्राप्त गरेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको यो ऐतिहासिक सफलता नेपालका श्रमजीवी जनताले मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलन र विश्वका सर्वहारा वर्गका लागि प्रेरणा र अध्ययन, अनुसन्धानको विषय बनेको छ । यस्तो अवस्थाको सिर्जना त्यसै भएको होइन, यो सफलताका पछाडि हजारौँ नेता र सयौँ कार्यकर्ताहरुको बलिदान, त्याग र कष्टदायी सङ्घर्षले प्राप्त भएको हो । कमरेडहरु पुष्पलाल, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, जननेता मदन भण्डारी र जीवराज आश्रित लगायतका हजारौँ नेता, कार्यकर्ताको बलिदानी सङ्घर्षको जगमा नेपाल कम्युनिस्ट पार्टी यहाँ आइपुगेको छ ।
पछिल्लो समय ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलन र १० वर्षे सशस्त्र युद्धले नेपालका श्रमजीवी जनतालाई सचेत, सङ्गठित र नेपालको कम्युनिस्ट पार्टीलाई विश्वास गर्ने अवस्थामा सिर्जना गरेको हो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ऐतिहासिक एकीकरणको प्रक्रियाले नेपालका श्रमजीवी जनताको विश्वास आर्जन गरेकै कारण अहिले तिनै तहका सरकारको नेतृत्व गर्ने जिम्मा नेकपाले पाएको छ । यो ऐतिहासिक जिम्मेवारीलाई बहन गर्न सकिएन भने नेपाल राष्ट्र, नेपाली जनता र नेकपाको भविष्यमाथि प्रश्न खडा हुने निश्चित छ ।
विद्यमान अवस्था
नेपालमा अहिले पनि गरिब किसान, मजदुर र सर्वहारा वर्गको ठूलो सङ्ख्या छ । असङ्गठित क्षेत्रमा कामगरी खाने सर्वहारा वर्गको हातमा उत्पादनका साधनहरु छैनन् । उत्पादनका साधनहरुमा उनीहरुको पहुँच नहुँदा काम पाउँदा खाने र नपाउँदा भोकै सुत्नुपर्ने बाध्यता विद्यमान रहेको छ । कृषिमा काम गर्ने तर उनीहरुको हातमा खेती गर्नका लागि जमिन छैन । कृषि क्षेत्रमा आफनो नाममा जग्गा राख्ने तर खेतीमा हात नलगाउने सानो सङ्ख्यामा रहेका भूमिपतिहरुको हातमा खेतीयोग्य जमिनको ठूलो हिस्सा छ । नेपालमा वैज्ञानिक भूमि सुधारका लागि बेलाबखत नाराहरु लाग्छन् तर त्यसको व्यावहारिक कार्यान्वयन छैन ।
नेपालमा ठूला उद्योगधन्दा र कलकारखाना नभएका कारण छ महिना कृषिमा काम गर्ने तर आफ्नो उत्पादनले ३ देखि ६ महिना पनि खान नपुग्ने अवस्थामा रहेका किसानहरुको ठूलो सङ्ख्या छ । उनीहरु वर्षमा दुई पटक छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा कामका लागि जाने र सस्तोमा आफ्नो श्रम बेचेर वर्षभरीका लागि खाद्यान्न किनेर खाने अवस्थामा अहिले पनि कुनै सुधार आएको छैन ।
नेपालका श्रमजीवी नागरिकको सङ्ख्या कति छ ? उसले आफ्नो जीविकोपार्जन कसरी गरिरहेको छ भन्ने कुराको यकिन तथ्याङ्क समेत कसैसँग छैन । यसबाहेक ठूलो सङ्ख्यामा रहेका निर्माण मजदुर, यातायात मजदुर, होटेल र रेस्टुराँमा काम गर्ने मजदुर र सडक छेउ चिया पसल, तरकारी पसल गरी जीविकोपार्जन गर्ने, ठूला सहरमा साना खुद्रा पसल सञ्चालन गरी खाने मजदुरका लागि नेपालमा कम्युनिस्ट पार्टी चाहिएको हो ।
साना किसानहरु जसले ऋण गरेर खेतीपाती र पशुपालन त गर्छन् तर आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन् । बीचमा रहेका विचौलियाको बिगबिगी रहेको र उपभोक्ताहरु पनि किसानसँगै महँगोमा कृषि उत्पादन खरिद गरी खान बाध्य छन । सरकारका कृषि, उद्योग तथा अन्य जीविकोपार्जन सम्बन्धी नीति कार्यक्रम र योजना पनि ब्यापारीहरुकै हातमा पुग्छन् । सामान्य किसान, गरिब सर्वहारा मजदुर र अन्य मजदुरले काम अनुसारको ज्याला पनि पाउँदैनन् ।
नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कारखानाका रूपमा विकसित हुँदै गएका छन् । हातमा सर्टिफिकेट त छ तर कुनै पनि प्राविधिक ज्ञान, सीप र क्षमताको अभावमा नेपालमा रोजगार नपाउँदा अन्त्यमा खाडी लगायत विभिन्न देशमा कामका लागि जाने र जोखिमपूर्ण श्रम गर्दा जीवन नै गुमाउनुपर्ने अवस्थामा आज पनि खासै सुधार आएका छैन । हरेक दिन हाम्रो देशका युवा वैदेशिक रोजगारीको खोजीमा भौँतारिरहेका छन् र उनीहरुमध्ये वर्षमा २० प्रतिशतभन्दा बढीले ज्यान गुमाउनुपर्ने अवस्था विद्यमान रहेको छ । शिक्षा प्रणालीमा सुधार नआएसम्म मुलुकले रोजगारी सिर्जना गर्न सक्दैन न त वैदेशिक रोजगारी नै रोकेर स्वदेशमा रोजगारी सिर्जना गर्न सक्छ ।
कम्युनिस्ट पार्टी र सरकारले गर्नुपर्ने काम
नेपालमा रोजगारी सिर्जना गर्ने गरी राज्यको लगानीमा कम्तिमा ७ वटा प्रदेशमा दुईदुईवटा नेपाली श्रम र कच्चा पदार्थमा आधारित उद्योग स्थापना र सञ्चालनको सुरुवात गर्न सके नेपाली युवाहरुमा नेपालमै रोजगारी गर्न सकिन्छ भन्ने विश्वास पलाउन सक्थ्यो । यही चाहना र आकाङ्क्षा पूरा गर्नका लागि नेपालमा कम्युनिस्ट पार्टी र उसको सरकार आवश्यक भएको हो । सर्वहारा श्रमजीवी वर्गको सहज जीवनयापन र त्यही वर्गको समृद्धि नेपालको आवश्यकता हो । श्रमको सम्मान, उत्पादन प्रणालीमा आम सर्वहारा वर्गको सहभागिता र सर्वहारा वर्गको जीवनमा आवश्यक खुसहालीका लागि नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार चाहिएको हो तर के हाम्रो पार्टी र सरकार त्यस दिशामा केन्द्रित छ ? आजको मूल प्रश्न यही हो ।
हामीले खोजेको कम्युनिस्ट पार्टीले यसका आम सदस्यहरुको जीवन सहज बनाउँदै सर्वहारा श्रमजीवी वर्गको जीवन सहज बनाउने अभियानलाई दिगो र भरपर्दो बनाउँदै नेपालमा विद्यमान रहेको अभाव, गरिबी, विभेदको अन्त्य गर्दै सबै खालका विभेदहरुको अन्त्य, सामाजिक न्यायको प्रत्याभूति, मानव अधिकारको सुनिश्चितता र सर्वहारा वर्गको मुक्तिका लागि कम्युनिस्ट पार्र्टी आवश्यक भएको हो । यही आवश्यकताले नेपाल कम्युनिस्ट पार्टीलाई तिनै तहका सरकार निर्माणका लागि जनमत प्राप्त भएको हो ।
आम नागरिकहरुलाई सम्मानित र मर्यादित जीवन जिउनका लागि आवश्यक वातारण निर्माण गर्दै श्रमको सम्मान गर्ने परिपाटीको निर्माण, श्रमको उचित मूल्य प्राप्तिका लागि नीति नियमहरुको निर्माण र कार्यान्वयन, सहज रूपमा राज्यका सेवा सुविधाहरुमा सर्वहारा श्रमजीवी वर्गको पहुँच स्थापित गर्ने र राज्यले अघि सारेका सबै योजना प्रक्रियामा उनीहरुको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै हिजोको शासन प्रशासनमा आमूल परिवर्तन गरी सहज सेवा प्रवाह गर्न सक्ने प्रशासन जसले सुशासन स्थापना गरोस्, सेवा सुविधा प्राप्तिका प्रक्रियाहरु सहज होउन र देशमा कम्युनिस्ट पार्टीको सरकार छ भन्ने कुरा आम सर्वहारा वर्गले गर्वका साथ महसुस गरून् । यही मध्येयका लागि नेपालमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार चाहिएको हो ।
ऐन नियम कानुन सबैका लागि बराबर हुन सकून्, शासन प्रशासन व्यक्तिको होइन, कानुनका आधारमा सञ्चालन हुन सकोस्, सबै खालका विभेद, अन्याय र अत्याचार गर्ने, भ्रष्टाचार गर्ने सबैलाई न्यायको कठघरामा उभ्याउन सकियोस् । सबै नागरिकहरुले राज्यले तोको कर तिर्नुमा गर्व गर्न सकून्, राज्यलाई तिरेको करको दुरूपयोग हुँदैन भन्ने विश्वासिलो आधार तयार होस, सबै ज्येष्ठ नागरिकहरु सम्मानित हुन सकून् । बालबालिकाहरु सुरक्षित र संरक्षण हुन् सकोस, लैङ्गिङ्क हिंसाको अन्त्य होस्, घरेलु हिंसा समाप्त होस् । महिला पुरुषबीच आदर सम्मान होस्, असहायहरुको सामाजिक सुरक्षा सुनिश्चित होस्, सबैले शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको लगानीमा पाओस् । हामीले भन्ने समाजवाद उन्मुख अर्थतन्त्र यसै कारण चाहिएको हो । यस दिशामा हाम्रो कम्युनिस्ट पार्टी अघि बढेको छ ? यसको विश्लेषण आवश्यक छ ।
गतिशील कम्युनिस्ट पार्टीको सङ्गठनात्मक प्रणाली र अनुशासन
नेपालमा कम्युनिस्ट पार्टीमा आबद्ध हुने हरेक कार्यकर्तालाई थाहा छ, पहिलो कुरा हरेक व्यक्ति अनुशासित, इमानदार, उच्च नैतिकतापूर्ण, आफना व्यक्तिगत हितहरुलाई पार्टी अधिनस्थ राख्ने, नागरिकप्रति खासगरी सर्वहारा श्रमजीवी वर्गप्रति उत्तरदायी हुने र हरेक खालका अन्याय, शोषण उत्पीडनहरुका विरुद्ध उभिने, राष्ट्र, राष्ट्रियता र श्रमजीवी वर्गको जनजीविकाका सवालहरुमा सधैँ अग्रसर रही हरेक निर्णय गर्नुअघि आफ्ना विचारहरु राख्ने, सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीलाई सदा परिपालना गर्ने, कसैको विगार नगर्ने, अरूलाई विगार गर्न नदिने, सहकर्मी, सहपाठीसँग मिलेर आन्दोलनलाई गतिशील बनाउने, नागरिकहरुले जे दिन्छन्, त्यही दिएको खानेकुरा खाने, उनीहरुकै व्यवस्थापनमा सुत्ने र घरका सदस्यहरुसँगको असल सम्बन्ध विकास गरी आन्दोलनलाई अघि बढाउने एक खालको फलामे अनुशासन हरेक कम्युनिस्ट कार्यकर्ता र नेताको गहनाका रूपमा लिइन्छ ।
कम्युनिस्ट पार्टीभित्रको अर्को महत्त्वपूर्ण कुरा गोपनीयता हो । पार्टी कमिटीभित्र केके छलफलहरु हुन्छन्, केके निर्णयहरु हुन्छन्, ती सबै सार्वजनिक गरिनु हँुदैन । सार्वजनिक गर्नुपर्ने निर्णयहरु सार्वजनिक हुन्छन् नै तर कतिपय व्यक्तिको आचारण, चरित्र, खानपान, रहनसहन जस्ता विषयमा गरिने आत्मआलोचनाका विषयवस्तुलाई व्यक्तिलाई सुधारका निम्ति, व्यवहार परिवर्तनका निम्ति गरिन्छन् र त्यस्ता विषयहरु सार्वजनिक गरिनु हुँदैन ।
कम्युनिस्ट पार्टी सञ्चालन गर्ने विधि प्रकृया र प्रणालीलाई स्थापित गर्नुपर्ने अर्को महत्वपूर्ण सवाल हो । हरेक कामहरु पार्टीका सम्बन्धित कमिटीहरुमा व्यापक छलफल गर्ने, छलफल गरिएका सबै विषयमा सबैका समान मत नहुन पनि सक्छ, निर्णय गर्ने बेलामा व्यापक छलफल गर्ने र निर्णय भैसकेपछि त्यस्को कार्यान्वयन र रक्षा गर्नुहरेक कार्यकर्ता र नेताको दायित्व हुन आउँछ । यदि यसो हुन सकिएन भने कम्युनिस्ट पार्टी जीवित रहन सक्दैन ।
नेपाल कम्युनिस्ट पार्टी आफनो विधान बमोजिम सञ्चालन हुन्छ । विधान विपरीतका कामलाई अवैधानिक वा विधि मिचिएको वा उल्लङ्घन गरिएको अर्थमा कारबाहीका लागि तयार हुनुपर्छ । विधानले तहगत कमिटीहरुको व्यवस्था गरेको छ र पार्टी सञ्चालनका विधि प्रक्रियाको पालना भएन भने कम्युनिस्ट पार्टी जीवित रहन सक्दैन । पार्टीभित्र अराजकताको सिर्जना हुने र जसलाई जे मन लाग्यो त्यही गर्ने कुरालाई सधैँ निषेध गरिएको हुन्छ । कम्युनिस्ट पार्टीमा व्यक्ति गौण हो । सामूहिक नेतृत्व प्रणालीमा सञ्चालन हुने भएकोले कम्युनिस्ट पार्टीका अध्यक्ष वा महासचिवले जे मन लाग्यो त्यही गर्न पाइँदैन । त्यो केन्द्रीय कमिटीदेखि तलको सेल कमिटीसम्मका लागि सामूहिक निर्णय प्रक्रिया वा प्रणाली नै स्थापित गरिएको हो ।
तोकिएको समयमा बैठकहरु बस्ने, व्यवस्थित छलफल गर्ने र निर्णयहरुलाई सबै मिलेर कार्यान्वयन गर्ने, समयमा सम्बन्धित कमिटीहरुका अधिवेश वा महाधिवेशन गर्ने, महाधिवेशनमा पार्टीका रणनीति, कार्यनीति तथा विधान आदिमा व्यापक छलफल गरी पाँच वर्षका लागि नेतृत्व चयन गर्ने र त्यही नेतृत्वअन्तर्गत सिङ्गो पार्टी सञ्चालन गर्ने प्रक्रियालाई कहीँ कतैबाट पनि मिच्नु हुँदैन । यदि मिचियो भने त्यो व्यक्ति अनुशासनको कारबाही भोग्नका लागि तयार हुने प्रणाली नै कम्युनिस्ट पार्टीको प्राण हो ।
कम्युनिस्ट पार्टीहरु ठूला र भद्दा आकारको बनाउनु हुँदैन । बैठक छलफल गर्नका लागि सानो, छिटो छरितो र गतिशील कमिटीहरुले मात्रै कम्युनिस्ट पार्टीलाई जीवित र गतिशील बनाउँछ । ठूला र भद्दा आकारका कमिटीहरुमा छलफल गर्ने कुरा निकै कम हुन्छ र छलफलहरु व्यवस्थित हुन सक्दैनन् । जब छलफल ब्यवस्थित हुन सक्दैनन् तब कम्युनिस्ट पार्टीमा विचारको खडेरी पर्न जान्छ । विचार नभएको कम्युनिस्ट पार्टीले सर्वहारा श्रमजीवी वर्गको मुक्तिका लागि काम गर्न सक्दैन । श्रमजीवी वर्गलाई विर्सिएको कम्युनिस्ट पार्टी कहिले पनि कम्युनिस्ट पार्टी रहँदैन ।
पार्टीका सबै तहका कमिटीहरु विधान बमोजिम तोकिएको समयमा बैठक बस्न सकेनन, छलफल र विश्लेषण गर्न सकेनन् भने व्यक्तिले आफूलाई लागेको विचार, चिन्ता र योजना कहाँ पेस गर्ने ? समस्याको सिर्जना यहीबाट हुन्छ । अहिले सामाजिक सञ्जालको उपयोग वा दुरुपयोग गरेर असन्तुष्टिहरु छताछुल्ल हुने, गुटगत छलफल र भेलाहरु हुने कुराको सिर्जना नियमित बैठकको अभाव नै हो । यसकारण पनि कम्युनिस्ट पार्टी विधि, प्रणाली र पद्धतिसङ्गत ढङ्गले चल्ने कुराको सुनिश्चितता आजको प्रमुख आवश्यकता हो । अनुशासनको पालना सबैका लागि अनिवार्य सर्त हो । शीर्ष नेताका लागि केही लागू नहुने तर कार्यकर्ताहरु अनुशासनमा बस्नुपर्ने चिन्तनबाट मुक्त हुनु आवश्यक छ ।
पार्टी र सरकार बीचको भिन्नता र सम्बन्ध
कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको सरकार दुई भिन्न संस्था हुन् । पार्टी, पार्टीको विधान अनुरूप सञ्चालन हुन्छ भने सरकार देशको संविधान र कानुन अनुरूप सञ्चालन हुन्छ । यी दुई बीचको भिन्नता बुझ्न सकिएन भने पार्टी र सरकार दुवै गञ्जागोल बन्न सक्छन् । पार्टीलाई मत दिने नागरिकहरुले आफ्ना प्रतिनिधिहरुलाई शासन सत्तामा पठाउँछन् र पार्टीको निर्देश अनुरूप सरकारले सरकारको नीति कार्यक्रम र योजनामार्पmत नागरिकलाई सेवा प्रदान गर्दछ ।
पार्टी र सरकार दुई भिन्न संस्था हुँदाहुँदै पनि यी दुईबीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ । पार्टीबाट निर्वाचित प्रतिनिधिहरु सरकारमा जाने भएकाले पार्टीको निर्णय विपरीत चल्ने प्रवृत्ति सरकारमा रहनु हुँदैन र सरकारका दैनिक काम कारबाहीमा हस्तक्षेप गर्ने पार्टीको प्रवृत्ति पनि रहनु हुँदैन । अहिले नेपाल कम्युनिस्ट पार्टीभित्रको रोग यही हो कि ? विश्लेषण गर्नु आवश्यक छ । पार्टीका सबै कमिटीहरुका नियमित बैठकहरु हुने र सरकारका महत्त्वपूर्ण निर्णय अघि पार्टीबाट अनुमोदन गराउने विधि प्रणाली स्थापित गरेर अघि जाने हो भने त्यसले देश र पार्टी दुवैको हित गर्नेछ । सरकारका राम्रा कामहरुको प्रचार प्रसारमा पार्टीका हरेक कार्यतार्हरु लाग्ने र पार्टीका निर्देशहरुको पालना गर्दै श्रमजीवी सर्वहारा वर्गको पक्षमा सरकारका नीति कार्यक्रमहरु अघि बढन सक्यो भने समस्याको सहज हल हुनेछ ।
व्यक्तिगत स्वार्थको तिलाञ्जली दिँदै देश र नागरिकहरूप्रति उत्तरदायी हुने र प्राप्त जनमतको सही सदुपयोग गर्दै मुलुकले भोगिरहेका सबै पीडावाट मुक्त गर्ने र सर्वहारा श्रमजीवी वर्गको पक्षमा उभिएर नेपाल कम्युनिस्ट पार्टीको सरकारले मुलुकलाई शान्ति समृद्धिको बाटोमा लैजाने अनुशासित, संस्थागत यवधि प्रणालीमा विश्वास गर्ने बलियो र एकताबद्ध कम्युनिस्ट पार्टी आजको आवश्यकता हो ।