शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा दुई दिनमा १७ जनामा कोरोना भेटिएपछि थप सजगता

सोमबार, २२ वैशाख २०७७, ११ : ५४
सोमबार, २२ वैशाख २०७७

रुपन्देही – प्रदेश नं ५ मा दुई दिनमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि सुरक्षा सतर्कता बढेको छ ।  

शनिबार र आइतबार रुपन्देही र बाँकेमा गरी १७ जनामा कोरोना संक्रमण भेटिएपछि नागरिकमा त्रास कम गर्न सतर्कता बढाइएको हो । 

बन्दाबन्दीबीच रुपन्देहीका कोरोना संक्रमित युवक भारतबाट सहजै आएपछि प्रदेशका सिमानामा सतर्कता बढाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता  नवराज पोखरेलले जानकारी दिए । 

“अहिले कोही पनि आवतजावत गर्न नमिल्ने गरी सीमा नाका पूर्ण रुपमा बन्द गरिएको छ”, प्रनाउ पोखरेलले भने । प्रदेशका सबै जिल्लामा सुरक्षा समितिको बैठक बसेर सुरक्षा सतर्कता बढाउने निर्णयसमेत गरिएको उनले बताए ।  

प्रवक्ता पोखरेलले प्रहरीले बन्दाबन्दीको पूर्ण पालनाका लागि विशेष निगरानी गरेको जानकारी दिए । “सबै ठाउँमा प्रहरीले हेर्न भ्याउने अवस्था छैन, नागरिक आफैँ सचेत भएमा लकडाउनको पालना हुने हो”, उनले भने,“ यस समयमा सबै मिलेर कोरोनाको जोखिम कम गर्नुपर्छ ।”,

दिल्लीको गान्धीनगरमा सिलाइकटाइको काम गर्दै आएका ती व्यक्ति यही वैशाख १ गते दिल्लीबाट हिँडेका थिए । वैशाख ५ गते दिउँसो १ बजे ठोठरी नाका आइपुगेका युवक सीमा नाका सुनसान देखेपछि सहजै नेपाल प्रवेश गरेका थिए ।  

घर पुग्नुअघि युवकलाई परिवारका सदस्यले बाटामा भेटी क्वारेन्टाइन पु¥याएका थिए । जिल्ला स्वास्थ्य कार्यालयले युवकको स्वाब संकलन गरी जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि बुटवलस्थित आइसोलेशनमा भर्ना गरिएको छ ।  

दुवै देशमा बन्दाबन्दी भएका समयमा कोरोना संक्रमित युवक सहजै नेपाल प्रवेश गरेपछि रुपन्देहीमा त्रासको वातावरण सिर्जना भएको छ । दक्षिणी क्षेत्र मर्चवार, लुम्बिनीलगायत स्थानमा कोरोनाको त्रास बढेको लुम्बिनी–१० का घनश्याम गुप्ताले बताए । “बन्दाबन्दीमा पनि सजिलै यहाँ आउन मिल्ने भएपछि अरु पनि नआउलान् भन्न सकिएन, हामी सिमाना नजीकै रहेकालाई झन् डर भयो ”, उनले भने ।

 एकै पटक धेरै संख्यामा कोरोना भेटिएपछि रुपन्देहीसहित प्रदेशका सबै जिल्लामा सुरक्षा सतर्कता कडा बनाइएको छ ।  प्रदेश नं ५ मा पहिलो पटक रुपन्देहीको कोटहीमाई र बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  कोटहीमाई – १ का २५ वर्षीयमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कोरोना विशेष अस्पतालमा राखेर उपचार भइरहेको छ ।

यस्तै बाँकेमा पनि १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै थप सजगता अपनाइएको छ । यहाँका नागरिकले आफ्ना घर, टोल र वडा तहमा बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरेर सुरक्षित हुने  उपाय अवलम्बन गरेका छन् ।  नेपालगञ्ज– १ धम्बोझीको सर्वपक्षीय भेलाले वडालाई बन्द गर्ने निर्णय गरे  उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । 

छिमेकी वडामा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि  वडा नं ७ र ९ का बासिन्दा त्रसित  छन् । संयमित र सतर्क भई घरमै सुरक्षित रहन वडावासीलाई आग्रह गर्दै वडामा बाहिरी व्यक्तिको आवागमन हुन नदिन निगरानी गरिएको वडा नं ९ का वडाध्यक्ष विष्णुबहादुर लामाले बताए । 

आइतबार अपराह्न ९ र राति ६ गरी एकै चोटि १५ जनामा कोरोना देखिएसँगै नेपालगञ्जवासीमा त्रास देखिएको छ ।  उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमित भेटिए पनि आतङ्कित नभई नगरवासीले धैर्य गर्नुपर्ने बताउनुहुन्छ । बन्दाबन्दीको पूर्ण पालना गर्दै सुरक्षित साथ घरमा बस्न उनको आग्रह छ । 

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्यकर्मीको टोली, प्रहरी प्रशासन र नगरपालिकाले गर्नुपर्ने काम गरिरहेको जनाउँदै सुरक्षितसाथ घरमै बस्न र बन्दाबन्दीलाई पूर्ण पालना गर्न आग्रह गरेका छन् । 
आइतबारसम्म नेपालगञ्जमा सङ्क्रमित १६ पुगेका छन् । 

आइतबार मात्रै १५ जना थपिएका छन् । त्यही समूहका अझै केहीको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार बाँकी स्वाबको आज रिपोर्ट आउने छ । भेरी अस्पताल नेपालगञ्जमा शनिबार स्वाब लिइएका ९० मध्ये १५ जनामा कोरोना देखिएको छ । 

यही वैशाख १७ गते मस्जिदमा स्वाब लिइएका ६० वर्षीयमा शुक्रबार कोरोना देखिएपछि उहाँको सम्पर्कमा रहेका व्यक्तिको स्वाब लिइएको थियो । आइतबार थप चार जनाको स्वाब सङ्कलन गरिएको छ ।  आइतबार  फेला परेका १५ जना सङ्क्रमितलाई कोरोना विशेष आइसोलशन अस्पताल खजुरामा उपचारका लागि भर्ना गरिएको छ ।

कोभिड–१९ का बिरामीका लागि खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइसोलेशन विशेष अस्पताल तयार गरी उपचारको व्यवस्था मिलाइएको छ । उनीहरु सबैलाई राति करीब साढे १० बजेतिर अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । 

पहिलोपटक शुक्रबार एक ६० वर्षीय पुरुषमा सङ्क्रमण देखापरेपछि स्थानीय प्रशासनले आरटीपिसिआर यन्त्रबाट परीक्षण शुरु गरेको छ । नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित पुरुषको सम्पर्कमा रहेकामध्येबाट सङ्कलित स्वाब परीक्षण गर्दा नयाँ सङ्क्रमित भेटिएका हुन् । उनीहरु सबै  नेपालगन्ज–८ का बासिन्दा  हुन् ।

नयाँ थपिएका सङ्क्रमितमा सात वर्षीया बालिकासहित सात महिला  छन् । उनीहरुको उमेर सात, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्ष  छ । यसैगरी आठ पुरुषको उमेर १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले शनिबार सङ्कलित ९० स्वाबमध्ये ५५ जनाको मात्र नतिजा आइसकेको र बाँकी ३५ जनाको परीक्षणका क्रममा रहेको बताए ।  उनका अनुसार आइतबार थप चार जनाको सङ्कलन गरिएको स्वाबसहित अब ३९  नमूना परीक्षणको नतिजा आउन बाँकी  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप