मङ्गलबार, ०४ मङ्सिर २०८१
ताजा लोकप्रिय

घुम्ती बाटोमा : नेपाली कम्युनिस्ट आन्दोलन

आइतबार, २१ वैशाख २०७७, १७ : १७
आइतबार, २१ वैशाख २०७७

विश्व अहिले कोरोना सङ्क्रमणबाट आक्रान्त छ । यो कोरोना सङ्क्रमणसँग कुनै विचाराधारा वा वादको गोरु बेचेको साइनो छैन । विश्वमा तीव्रताको साथ यसले आफ्नो आतङ्क मच्चाइ रहेको छ । छिमेकी देश चीनबाट प्रारम्भ गरेको कोरोना यात्रा आज संसारभरि यो प्रकोपको माहामारी व्याप्त छ । विश्व आज शोकमा डुबिरेहेको छ ।

छिमेकी भारतले थप २ हप्ताको लागि लकडाउन बढाएको छ । नेपालमा वैशाख २५ गतेसम्म लकडाउनको आदेश जारी छ । सङ्क्रमणको सङ्ख्या बढ्दै छ । कहिले नियन्त्रणमा आउँछ भेउ पाउन सकेको अवस्था छैन । तर लकडाउनको यो  कष्टकर अवस्थामा नेपालमा भने छुटट्ै चर्चाले कोठा, टोल र सिङ्गै देश तातेको छ । अध्यादेश जारी, खारेज, सांसद अपहरणको आरोप प्रत्यारोप, प्रधानमन्त्रीको कार्यकुशलताको पक्ष र विपक्षमा छलफल  विज्ञप्ति, थरिथरिका प्रतिक्रिया, नेकपाका २० जना स्थायी कमिटी सदस्यको बैठकको माग जस्ता गम्भीर विषयले कोरोनाबाट बच्न लकडाउनमा बसिरहेको आम नेपालीलाई आआफ्नै छुट्टै अनुभूति दिलाइरहेको छ । घरमा रासन पानी छ छैन ? प्रवन्ध कसरी गर्ने, कहाँबाट गर्ने, घर परिवारको गर्जो कसरी हल गर्ने, आफ्नै जिउ ज्यान र  विदेशमा बसेका छोरा, बुहारी, छोरी, ज्वाइँ, नसनाता बारेको  चिन्ताभन्दा हिजोसम्म सरकारको विरोध र समर्थनको पक्षमा उर्लेको समाचारले राजनीतिक र बौद्धिक वृत्तका मानिसहरुलाई अनलाइन र फेसबुक युद्धमा उतारेका थिए । नेकपाको सचिवालयको बैठक सम्पन्न भएपछि कतिलाई उत्रनुपर्ने बाध्यता अब टरेको छ । यो कोरोना लकडाउनको पट्यारलाग्दो  अनगिन्ती दिनहरु व्यतित भैरहेको छ । सम्भवत मानिसलाई कसको कुरा सुन्ने कसको कुरा पत्याउने, कुन कुरा ठीक कुन कुरा बेठीक अन्योलै अन्योलमा कोभिड—१९ ले फैलाएको सन्त्रासमा गुजल्टी रहनुपरेको यो पीडा बाँचुन्जेल पनाति र खनातिसम्म सुनाउनुपर्ने यो कहरको व्यथाले विश्व नै एक डल्लो भएको छ । 
 

   नेपालको कम्युनिस्ट पार्टी २००६ मा गठन भएको सबैलाई जाहेरै छ । पार्टी स्थापना भएको यो ६१ वर्षको यात्रामा, २०३६ सालको विद्यार्थी आन्दोलन यताको घटनाक्रममा अखिलको विद्यार्थी मोर्चादेखि अहिलेसम्मको यात्रामा पार्टी कार्यकर्ताको हैसियतले कम्युनिस्ट आन्दोलनको घटना, ओझ र प्रवृत्तिहरुसँग प्रतक्ष साक्षात्कार हुने अवसर पाएकोमा आफैलाई गौरव महसुस हुन्छ । गौरव गर्दै आएको पनि छौ । निराश, कुण्ठा, सङ्कीर्णता, पक्षपाति, फुट, गुट सबैलाई पचाउँदै, विजय हासिल गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा निरन्तरता दिने अवसर उपलब्ध भइरहेकोमा  जीवनको छुट्टै अनुभूति महसुस भइरहेको छ । यो निरन्तरतामा कुनै कमी आउन नदिने प्रतिबद्धता र अठोटले थप उत्साह मिलेको छ । 

    नेपाली कम्युनिस्ट आन्दोलन तेस्रो महाधिवेशनपछि चोक्टा चोक्टा हुँदै टुक्रिँदै आएको पार्टीहरुको धरातलमा उभिएको आन्दोलन हो । पार्टीको विभाजन दुखदायी थियो । फरक फरक प्रवृत्ति र प्रकृतिको विकासक्रमले रोजेको, कम्युनिस्ट पार्टी नयाँ संविधानले कोरेको जिम्मेवारी र मुलुकको भविष्य सुनिश्चित गर्न स्थानीय तहको निर्वाचन पछिको सङ्घ र प्रदेशको निर्वाचनका लागि भएको दुई ठूला कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा र प्रदेश र सङ्घको निर्वाचनबाट बहुमत सिद्ध  भएपछि सम्पन्न पार्टी एकताले २००६ साल यता बाम आन्दोलनभित्रको सबै प्रकारका टुट, फुट, विभाजन, पूर्वाग्रहलाई नेकपा पार्टी एकताको महान कार्यले जितेको छ । यो एकताले विगतका सबै क्षतिलाई परिपूर्ति गरेको छ ।

विश्वमै एउटा नयाँ सन्ेदश सृजित गरेको छ । यो पार्टी एकता यथास्थितिको अन्तरघुलन नभै नयाँ परिस्थितिको आवश्यकता, लाखौँ सहिदको रगतले कोरेको नयाँ संविधानले हासिल गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि नेपाली जनताले कम्युनिस्ट पार्टी लाई प्रदान गरेको भावनात्मक अख्तियारीको एउटा महत्त्वपूर्ण ऐतिहासिक जिम्मेवारी हो । यसलाई कुनै अमुक नेताको वर्चस्व र श्रेष्ठताले हासिल गरेको उपलब्धिको संज्ञा दिँदा परिवर्तनकारी नेपाली जनतामा अन्याय हुन्छ । २००६ साल यता नेपाली जनताले बगाएको रगत र उत्सर्गको अपमान मात्र हैन कम्युनिस्ट आन्दोलन विरुद्धको अतिसोयुक्ति मान्नुपर्ने हुन्छ । आज नेकपाले जुन उचाइमा जनताको समर्थन प्राप्त गरेको छ, त्यसलाई व्यक्ति वा गुट विशेषको क्षमता प्रदर्शन गर्न खोज्ने प्रयत्न गर्न हुँदैन । त्यसले पार्टीभित्र निश्चित रूपमा एकाधिकार र रोमानियाको चाउचेस्कु प्रवृत्ति जन्मिने खतरा हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टी जुन उद्देश्यले स्थापना भएको थियो । त्यसको भाव, मर्म र उद्देश्य विपरीत जाने जो कोहीलाई आम जनताले खवरदारी गर्नुपर्छ । नेकपाको सबै तहको नेता कार्यकर्ताहरु जनताबाट अनुमोदित, जनताको खबरदारी र जनताको हस्तक्षेपलाई निसन्देह स्वीकार गर्ने क्षमताको विकास गर्न सक्नुपर्छ । त्यसले मात्र पार्टी एकता र जनताको सेवा गर्ने संस्कारको संस्थागत हुन्छ । अन्यथा व्यक्ति पूजा र ज्युहजुरियाहरुको बोलावाला हुन्छ, कम्युनिस्ट पार्टीभित्र जबरजस्त राणाकालको चौतारियाहरुको जन्म हुन्छ । २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना हँुदा जारी घोषणापत्रको भाव मर्मस्पर्ष यो अंश यहाँनेर उद्धृत गर्दा उपयुक्त ठानेको छु । 

    “नेपाली जनताले एउटा भिन्नै बाटो लिनु पर्दछ । त्यो बाटो हो– विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी– पुँजीवादी अधिपत्यलाई पूरै खतम गर्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकस जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्नु छ । यस्तो राज्य व्यवस्था स्थापना गर्नु पर्ने छ जसमा जनता राष्ट्रको सम्पत्तिको मालिक हुनेछन्, त्यसलाई विकसित गर्दछन् । नेपाली जनताले जनवाद र समाजवाद प्राप्तिको निमित्त लड्नै पर्छ” । (अधिकारी डीबी नेपाल राष्ट्रियताको इतिहास २०४५ पृष्ठ १०८)

२००६ सालमा पार्टी गठन कम्युनिस्ट पार्टीले सबै प्रवृत्ति विरुद्ध विजय हासिल गर्दै आफ्नो वर्चस्व स्थापित गर्न लगभग ६० वर्ष लाग्यो । यस बीचमा लाखौँको ज्यान गयो, लाखौँले जेल जीवन विताए, कति टुहुरा भए, कति अपाङ्ग भए कति अझै मर्ने बाँच्ने दोसाँधमा छन् । सहिद बेपत्ता  र घाइतेको क्रन्दनले मुलुक नै गुन्जिरहेको छ । १२ बुँदे सहमतिको प्रस्थान विन्दुबाट १० वर्षको जनयुद्धको शान्तिपूर्ण सङ्क्रमण हुँदै जनयुद्धको अन्तिम निर्णायक क्षणमा भएको १९ दिने जनआन्दोलनले मुलुक शाही शासनबाट मुक्त भयो ।

२००६ सालमा जारी कम्युनिस्ट पार्टीको  घोषणापत्र र बीच बीचमा विकास हुँदै आएको आन्दोलनको स्वरूप हेर्दा लक्ष र उद्देश्य नयाँ जनवाद र समाजवाद प्राप्तिको लागि भए पनि नेपाली कम्युनिस्ट आन्दोलन प्रत्यक्ष परोक्ष संसदीय घेराकै वरिपरि विकास गर्न बाध्य हुनुपरेको छ । नेपालको विशिष्टतामा कम्युनिस्ट आन्दोल निकै भिन्ने ढङ्गले विकास हुँदै आएको छ । अभ्यास परीक्षण सबै प्रकृतिको भए पनि रुस, चीन र भियतनामकै संरचनाको राज्यसत्ता स्थापना गर्न नेपाल कम्युनिस्ट आन्दोलनले सकिरहेको छैन । तर कम्युनिस्ट जनमत र नेपालको इतिहासमा बलियो बहुमत प्राप्त गर्न नेकपा सफल भएको छ । यो सफलतालाई पार्टी र सरकार दुवै निकायले गम्भीरतापूर्व ग्रहण गर्न जरुरी छ ।

वैचारिक स्पष्टता, श्रमजीवी जनताको जनआधार, योगदान र कार्यशैलीको श्रेष्ठता, क्षमता र कार्य कुशलता, पार्टीको सबै तहमा पारदर्शी जनउत्तरदायी नेतृत्व, विकास निर्माणमा जनतालाई सहभागिता गराउने जननिधिलाई प्राथमिकता दिने हो भने, शान्तिपूर्ण सङ्क्रमणको अभ्यासबाट देश जनउत्तरदायी समाजवादको विकासको चरणमा सजिलै प्रवेश गर्ने पूर्वाधार उपलब्ध छ । यही धरातलबाट नेपाली विशिष्ठतासहित नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बडाउन सक्यौँ भने यसले जनताको सेवा गर्न सक्छ । पार्टी मजबुद बन्छ । नेताहरु जनताको अगाडि लोकप्रिय हुँदै जान्छ । मुलुक सानो तर यसले नयाँ समाजवादी मोडलको विश्वमै एउटा उदाहरण पेस गर्न सक्छ । अन्यथा विश्वमा असफल सावित भइसकेको बाम खोलभित्र अनुदारवादी संसदीय प्रणलीलाई बोक्दा हिँड्यौँ भने, जनताको समर्थन क्रमशः गुम्दै जान्छ, पार्टी तथा सरकारले जनताको अगाडि आफ्नो कमजोरी डाकछोप गर्न धेरै हतकण्डा टालटुले नीति अख्तियार गर्नुपर्ने हुन्छ ।

अन्तमा जनताले साथ दिने अवस्थाको अन्त्य हुन्छ । यसैले हामीले नजिकबाट बुझन जरुरी छ । थोरै प्रान्त जित्न बाँकी हुँदा पेरुमा भएको प्रतिक्रान्तिले सशस्त्र कम्युनिस्ट आन्दोलनलाई धक्का पुर्यायो । यिनै शिक्षा र अनुभवबाट सचेत हुँदै नेपालमा शान्ति प्रक्रिया अख्तियार गरी देशमा गणतन्त्र बहाल गर्न त सक्षम भयौँ । हामीले पूर्ण संसदीय अभ्यासबाट लामो समय वाम वर्चस्वसहित सरकार चलाएको भारतको पश्चीम बङ्गाल राज्यमा अहिले पछिल्लो पटको राज्यसभाको निर्वाचनमा कम्युनिस्टहरुले पूरै हात धुनुपरेको खतरालाई नेपालले राम्ररी शिक्षा हासिल गर्न जरुरी छ ।

अति क्रान्तिकारिता र पूरै संसदीय रुझानको भविष्य नेपालमा अब छैन । यी दुवै शिक्षाबाट विश्वमै कम्युनिस्ट आन्दालनले नयाँ बहसको आवश्यता बोध गरिरहेको छ । यो शिक्षालाई हामीले समयमै सचेत हुन जरुरी छ । नेपालको कम्युनिस्ट जनमतलाई कसरी रक्षा गर्ने ? जनतालाई विकासमा कसरी सहभागी बनाउने ? सबै उत्पीडित जनताको नेतृत्व कम्युनिस्ट पार्टीले कसरी गर्ने ? नेपालको कम्युनिस्टहरु समयमै सचेत हुन जरुरी छ । चुनावदेखि चुनावसम्मको संसदीय प्रणालीमै डुब्ने कम्युनिस्टहरु जनताले रुचाएको छैनन् । यसको लामो अभ्यास गरिसकेको छौँ । बहुदल पुनस्थापनादेखि आज ३० वर्षको अभ्यासमा सबैले राम्ररी बुझिसकेका छन् । यसले जनताको सेवा गर्न सक्तैन । नेपालमा जनउत्तरदायी समाजवादको मोडलमा अब व्यापक छलफल चलाउन जरुरी छ । नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक, राजनीतिक र साङ्गाठानिक रूपमा कसरी संस्थागत गर्ने र जनताको सेवा गर्ने नेपाली विशेषता सहितको कुन मोडलको कम्युनिस्ट पार्टी विकास गर्ने ? नेकपाको तत्कालीन र दीर्घकालीन कार्यदिशा के हुन सक्छ ?  सम्भवत यो बहस पार्टीभित्र र आम कार्यकर्ता र समर्थक जनताको तहसम्म पुर्याउनु पर्ने अवस्था छ । 

  पार्टी एकता र संसदमा नेकपा सिङ्गो एउटै पार्टीका दुई तिहाइ सिद्ध भएको नेपालमा कम्युनिस्ट पार्टी इतिहासमै पहलो पटक उदाएको अवस्थामा निरन्तर पार्टी विधिमा चल्न नसकेको गुनासाहरु छताछुल्ल हुनु, पार्टीका जिम्मेवार नेताहरु र  सरकार बीचमा सार्वजनिक रूपमै विवाद देखापर्नु, प्रधानमन्त्रीले अध्यादेश जस्तो गम्भीर विषयमा पार्टीलाई जानकारी नदिएको भन्ने विषय सार्वजनिक हुनु, त्यसकै परिवेशमा २० स्थायी समितिका सदस्यहरुले बैठकको माग गर्नुपर्ने कारणसहित पार्टी अध्यक्षद्वयसँग  लिखित माग गर्नु जस्ता गम्भीर विषयले नेकपाका नेता कार्यकर्ताहरु र आम शुभचिन्तक जनतामा अन्योल, अनविभज्ञ र निरासाको अवस्था सिर्जना भएको थियो । हिजो वैशाख २० गते बसेको केन्द्रीय सचिवालयले अब यो विषयमा एउटा निकास दिइसकेको छ, पार्टी कार्यकर्ता र शुभचिन्तकहरुलाई पार्टी टुटछ कि ? भन्ने त्रासबाट मुक्त हुने अवस्था सिर्जना भयो, श्रद्धेय अध्यक्षद्वय र सचिवालयका सबै जिम्मेवार कमरेडहरुलाई सलामसहित धन्यवाद ज्ञापन गर्नै पर्छ । पार्टीमा सिर्जत अन्योलले पार्टी र मुलुकलाई निश्चित रूपमा हित गर्दैन । कमजोर बनाउनेतर्फ धकेलिरहेको थियो । यसलाई संस्थागत रूपमा चिर्न जरुरी छ । समस्याको निकास संस्थागत रूपमा निकाल्न जरुरी छ । पार्टीको सबै निकाय र कमिटी सचिवालकै स्पिरिटमा छलफल हुन जरुरी छ । 

    मुख्यतः पार्टी र सरकारको अन्तर सम्बन्धबारे पार्टी र सरकारका जिम्मेवार नेताहरु पूर्णतः विज्ञ हुनुहुन्छ । प्रत्येक कदममा फुकीफुकी अगाडि बढ्नुपर्ने अवस्था छ भन्ने उहाँहरुलाई  राम्रै अनुभूति छ । पार्टीलाई अनविज्ञतामा राखी कुनै नेताले आफनो वर्चस्व पार्टीमा कायम गर्न खोज्नु हुँदैन । यसले पार्टीमा अराजकता सिर्जना गर्छ, मुलुकलाई एकाधिकारतिर धकेल्छ । पार्टीले हासिल गरेका सबै उपलब्धिहरु क्षणभरमै नष्ट हुने अवस्था सिर्जना हुन सक्छ । नेपाली जनताले मुलुक प्रतिगमनतिर धकेलिएको कसैले हेर्न चाहँदैनन् । नेकपाकै सरकार पालामा यी अनिष्टहरु विरोधीहरुले अपेक्षा गरिरहेका छन् । यी अनिष्टकारी परिदृश्य हेर्ने अवसर उनीहरुलाई दिनु हुँदैन ।

यसले नेपाल, नेपाली र परिवर्तनकारी नेपालीको लागि घातक र धोका हुनेछ । वाम समर्थक तथा पार्टीका हित चाहने बुद्धिजीवी, जनता, कार्यकर्ताहरु कतै पार्टी टुक्रिनै त हैन ? भन्ने चिन्ताले ग्रसित भइसको थियो । नेपालमा कम्युनिस्टहरुको सरकार गठनले रन्थनिएका वैरिहरुले यसको विघटनको प्रतिक्षा गरिरहेका छन् । यसलाई मलजल हुने गरी विवाद, अहमता, घमण्ड र अज्ञानता प्रदर्शन नगरौँ । बोल्दा, भाषण गर्दा, विरोधीलाई जवाफ दिँदा पनि वैचारिक, राजनीतिक र सुसंस्कृति रूपमा आफ्ना विचारहरु व्यक्त गर्ने संस्कारलाई सस्थागत गरौँ । कार्यकर्ता र नेताको जीवनशैली, स्वभाव र व्यवहार  आम जनताको जीवनस्तर भन्दा फरक नगरौँ । जनतालाई पच्ने खालका व्यवहार गरौँ । जस्तोसुकै शक्तिशाली पदमा बसे पनि आफू पार्टीको कार्यकर्ता हो भन्ने कहिल्यै नभुलौँ । यसले जनतामा एउटा विश्वास पैदा हुन्छ । जनताले सधैँ पार्टीलाई माया गर्छ, नेताप्रति श्रद्धा गर्छ, नेताको योगदानको मूल्याङ्कन गर्छ ।

सबै थोक मै हुँ भन्ने घमण्ड कम्युनिस्टहरुले गर्न सक्दैन । त्यस्तो गरेको खण्डमा कम्युनिस्ट खोल ओडेका रोमानियाका शासक चाउचेस्कुको सस्कारमा परिणत हुने खतरा हुन्छ । लाखौँ सहिदको रगतले ल्याएको नेपाल भूमिलाई परिवर्तनकारीहरुको देश बनेर चिनाउने अवसरबाट हामी चुक्न हुँदैन । पार्टीभित्रका समस्या पार्टीभित्रै समाधान गरौँ । प्रत्येक विषयको निकास विधि र पद्धतिबाट टुग्याङ्उने कार्यविधि अवलम्बन गरौँ, यसैबाट नेकपाको एकताको रक्षा र भविष्य सुनिश्चित छ । यथासक्य नेपाली कम्युनिस्ट आन्दोलनको सशक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई  घुम्ती बाटोबाट निकास प्रदान गरौँ । नेकपा, केन्द्रीय सचिवालयबाट भएको बैठकको निर्णयलाई हार्दिकतासाथ स्वागत गरौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्ति प्रधान
मुक्ति प्रधान

(लेखक वरिष्ठ अधिवक्ता, पूर्वमहान्याधिवक्ता तथा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ ।)

लेखकबाट थप