शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको सचिवालय बैठक : पासा पल्टियो

आइतबार, २१ वैशाख २०७७, १६ : ४२
आइतबार, २१ वैशाख २०७७

ओली सरकारले आफ्नो दोस्रो वर्षगाँठ मनाइसकेको छ । यसले दुई वर्षमा जे जस्तो काम ग-यो, त्यसबाट यो सरकार अलोकप्रिय सरकारका रूपमा चर्चामा आएको छ । नव वर्षको प्रारम्भसँगै यो सरकारद्वारा राष्ट्रपति कहाँ पठाएर बिजुलीको गतिमा लालमोहर लगाएर राजपत्रमा प्रकाशित दल खोल्नेसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी दुईवटा अध्यादेशहरु सार्वजनिक गरिएपछि सरकारविरुद्ध असन्तोष र आक्रोश सर्वत्र फैलियो । यसबाट सत्ताधारी नेकपा पनि अछुतो रहेन । यसले सरकारी नेकपाभित्र सल्किँदै गएको भुसको आगोलाई दन्काउने काम ग-यो । 

विश्वका सबै राष्ट्रहरु, सरकारहरु र जनता अरू सबै कुरा एकातिर पन्साएर कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको निमित्त विश्वव्यापी रूपमा जुटेर मानव जातिको रक्षा गर्ने महाअभियानमा अघि बढिरहेका बेलामा नेपालको सत्ताधारी पार्टीका नेताहरु अनेक जनविरोधी, राष्ट्रघाती कामहरु तथा सत्ता र पदको फोहोरी खेलमा तल्लीन हुन पुगे ।  

यसै सन्दर्भमा नेकपाभित्र तीन गुट देखा परे– पार्टीका पहिलो अध्यक्ष र प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा, अर्का अध्यक्ष प्रचण्डको नेतृत्वमा र वरिष्ठ नेता माधव नेपालको नेतृत्वमा । यी गुटका पहलमा अलग अलग भेला र बैठकहरु पनि भए । अलग अलग योजना पनि बने । सचिवालयका सदस्यहरु अलग बैठक बस्ने र छुट्टै योजना बनाउने प्रक्रिया पनि अघि बढ्दै गयो । ओलीलाई अध्यक्ष र प्रधान मन्त्रीमा कायम राख्ने र हटाउने दुवै माग राखेर हस्ताक्षर गराउने काम पनि भए । यस दौरानमा प्रचण्ड र नेपाल गुट मूलतः एक ठाउँमा उभिए र ओलीजीको नेतृत्वमा अलग गुट । यस वीचमा सरकारी नेकपा फुट्ने चर्चा सम्म पनि चल्यो । 

सचिवालय बैठक
यो समस्याको समाधान खोज्नका निमित्त भनेर सचिवालयको बैठकको आयोजना गरियो यही वैसाख १७ गते बालुवाटारमा । त्यो बैठकमा प्रचण्ड चर्को रूपमा प्रस्तुत भएको र उनले केपी शर्मा ओलीसँग पार्टीको अध्यक्ष र सरकारको प्रधानमन्त्री दुवै पदबाट राजीनामाको माग गरेर यो अन्तर्सङ्घर्षको नेतृत्व गरेको चर्चा चल्यो । ओली रक्षात्मक अवस्थामा पुगे र उनले वामदेवलाई आफूपछि भविष्यको प्रधानमन्त्रीको ललिपप र माधव नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव अघि बढाएर बैठक तीन दिनपछि बस्ने गरी स्थगित गरे । बीचका तीन दिनमा सरकारी नेकपाका सांसदहरुलाई लकडाउनका बेलामा पनि देशैभरीबाट सरकारी गाडीमा ओसार्ने काम भएको र धम्कीसमेत दिएर खाली कागजमा हस्ताक्षर गर्न लगाइएको समाचार भाइरल भयो । यसमा एकातिर ओली गुट थियो भने अर्कातिर प्रचण्ड– नेपाल संयुक्त । सबैको ध्यान वैशाख २० गतेको अर्को सचिवालय बैठकतिर थियो । २० गतेको मध्यदिनसम्म दुवै पक्षबाट आफ्नो तयारी पूरा भएको समाचार आइरहेको थियो । 

पासा पल्टियो !
अपरान्ह ४ बजे बोलाइएको सचिवालय बैठक डेढ घण्टा पर सारियो । त्यसबीचमा केपी ओलीजीले भावी प्रधानमन्त्रीको नसामा झुमिरहेका उपाध्यक्ष वामदेव गौतम, बीचमा बसेजस्तो तर प्रधानमन्त्रीको पक्षमा बोल्दै आएका गृहमन्त्री रामबहादुर थापा र  ओलीजीका विश्वास पात्र महासचिव विष्णु पौडेललाई भेटे । त्यसपछि बिजुलीको गतिमा उनको अध्यादेशलाई राजपत्रमा प्रकाशित गर्ने राष्ट्रपतिज्यूलाई भेट्न राष्ट्रपति भवन हानिए । फर्केर बालुवाटारमा उनको राजीनामाको माग गर्दै आएका अर्का अध्यक्ष प्रचण्डलाई गोप्य कोठामा भेटे र ४० मिनट कानेखुसी गरे । यो ४० मिनटको कानेखुसीले नसोचेको चमत्कार ग¥यो । त्यसको भित्री रहस्य उनीहरु दुई जना भन्दा अरू कसैलाई थाहा छैन भनिन्छ, आजका मितिसम्म । प्रचण्डले यूटर्न लिएको सङ्केत बैठकमा उनी बस्नका लागि तयार गरिएको कुर्सीले दिइरहेको थियो । बीचमा अरू सदस्यकै पङ्क्तिमा राखिइँदै आएका प्रचण्डले यो गुनासो १७ गतेको बैठकमा पनि राखेको चर्चा चलेको थियो । यतिखेर भने ओली र प्रचण्ड बिहेका दुलाहा र दुलहीको जस्तो सँगसँगै बस्ने व्यवस्था गरिएको थियो । 
केपी ओलीले बैठकको सुरुवात गरे । उनको यसपालिको प्रस्तुति नितान्त भिन्न प्रकारको थियो । उनले घण्टौँ लामो प्रशिक्षण दिएनन्, यसपालि । यसका साथै उनको बोलाई अत्यन्त नरम थियो । उनी यसपालि आत्मआलोचक बनेका थिए अरे । उनले भने रे ‘पार्टीको अध्यक्षका हैसियतले पार्टीले गरेका गल्ती, कमजोरीको जिम्मा म लिन्छु । प्रधान मन्त्रीको हैसियतले सरकारले गरेका कमजोरीको जिम्मा पनि म लिन्छु । झण्डै हाम्रो पार्टी फुटेन, कुनै हालतमा पार्टी फुट्न नदिऊँ । अरू कामरेडहरुलाई पनि आफूले गल्ती गरेको लागेको छ भने आत्मआलोचना गर्नु होला ।’ त्यसपछि १७ गतेको बैठकमा पार्टी अध्यक्ष र प्रधान मन्त्री दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष प्रचण्डतिर सबैको ध्यान जानु स्वाभाविक थियो । सबैको अपेक्षाविपरीत प्रचण्डले ओलीजीको दुई पदबाट होइन, एक पदबाट पनि राजीनामा मागेनन् । बरु ओलीजी जस्तै उनी पनि आत्मालोचक भए । उनले खाली पार्टी एकतामा जोड दिए । सबैले मनमनै सोचेको हुनु पर्छ “पासा पल्टियो” । सञ्चार माध्यम र सामाजिक सञ्जालमा आयो, ‘अन्तिमको ४० मिनटको कानेखुसी यति महत्त्वपूर्ण सावित भयोे, जसले पासा पल्टाइ दियो ।’ त्यसपछि बोल्ने सबैले त्यही स्वरमा बोल्दै गए । यस्तो लाग्दथ्यो त्यो पार्टीको बैठक भन्दा पनि चर्चमा भक्तले गर्ने गरेको आइतबारको प्रार्थना थियो । एक हप्ताभरी गरेका पापहरुबाट मुक्ति पाउनका निमित्त हरेक आइतबार चर्चमा गएर ‘मैलै विगत एक हप्तामा गरेका सबै पापबाट मोक्ष पाऊँ’ भन्ने प्रार्थना गरेपछि इसुले पूरा गरिदिनुहुन्छ भनेर यस्तो प्रार्थना गर्दछन्, भक्तहरुले । सञ्चार माध्यमका अनुसार त्यस प्रकारको प्रार्थना एकजनाले गरेनन्, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले । उनले छिटै स्थायी समितिको बैठक राखौँ र त्यहीँ छलफल गरेर टुङ्ग्याउँ भन्ने प्रस्ताव राखे अरे । 

मुख्य प्रस्ताव नै बेवारिस ?
नेकपामा चलेको यो घनिभूत अन्तर सङ्घर्षको सारवस्तु त्यति धेरै वैचारिक र राजनीतिक थिएन । तर केही पनि थिएन र छैन भन्ने पनि होइन । अमेरिकी सरकारसँग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने वा नगर्ने भन्ने विषय पनि भित्री रूपमा चलेको बहसको विषय हो । दुईवटा अध्यादेश ठीक कि बेठीक भन्ने विषय पनि राजनीतिक विषय नै हुन् । यसका साथै कोरोना भाइरससम्बन्धी औषधि र सामग्री खरिद प्रकरणमा भएको घोटाला प्रकरण पनि जन चासोका विषय हुन् । यिनै विषयसँग जोडिएको छ ओलीजीको राजीनामा प्रकरण पनि । यसको नेतृत्व गरेका प्रचण्डजीले नै यो विषय हापिदिएपछि कतै मुख्य प्रस्ताव नै बेवारिस त हुने होइन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । तर एक दुई जना नेताहरुले अर्कैबाटो समाते पनि यसको नेतृत्व लिने अरू पनि निक्लन सक्ने सम्भावना समाप्त भइ नसकेको बताइन्छ ।         

बल अब स्थायी समितिको कोर्टमा..
अब बल स्थायी समितिको कोर्टमा आइपुगेको छ । स्थायी समिति सेक्रेटरियट भन्दा ठूलो आकारको, फराकिलो समिति हो । यो बहस  अब अलि ठूलो घेरामा पुगेको छ । यो बहस केन्द्रीय समितिमा पुग्छ भन्ने चर्चा पनि सुनिन्छ । यो राम्रो पक्ष हो । सेक्रेरियटका नेतालाई बारम्बार प्रतिबद्धता जनाउन बाध्य गराउने काम पनि यसै समितिका सदस्यले गरिरहेको कुरा पनि चर्चामा आउने गर्दथ्यो । यसभन्दा अघिको परीक्षा सेक्रेटरियटका नेताहरुले दिनु परेको थियो भने अबको परीक्षामा स्थायी समिति बसेको छ । सेक्रेटरियटको खासै महत्त्व, खासै भूमिका छैन भन्ने बहस पनि चलिरहेकै सन्दर्भमा स्थायी समितिको भूमिकाका परीक्षा हुँदैछ । यो पनि राम्रै कुरा हो । स्थायी समिति सही पक्षमा उभिन्छ कि यसले पनि आत्म समर्पण गर्दछ, त्यो थाहा पाउन थोरै दिन मात्र प्रतीक्षा गरे पुग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीपी गजुरेल
सीपी गजुरेल

सिपी गजुरेल देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष हुन् ।

लेखकबाट थप