केन्द्रीय संस्करण

मचिस पहिले आविष्कार भएको थियो कि लाइटर ?

person explore access_timeबैशाख २१, २०७७ chat_bubble_outline0

 

कसैले तपाईंलाई मचिस पहिले आविष्कार भएको थियो कि लाइटर भनेर सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ ?

झट्टै सोच्दा हाम्रो जवाफ मचिस भनेर हुन सक्छ । तर साँचो कुरा के हो भने, मचिसभन्दा पहिले नै लाइटरको आविष्कार भएको थियो । जर्मनीका रसायनविज्ञ टी. डब्ल्यू. डोबरीनरले सन् १८१६ मा सिगरेट लाइटरको आविष्कार गरेका थिए । उनले लाइटर आविष्कार गरेको ११ वर्षपछि अर्थात् सन् १८२७ मा मात्रै मचिसको आविष्कार भएको थियो । त्यसरी मचिसको अविस्कार गर्ने व्यक्ति चाहिँ बेलायती रसायनविद जोन वाकर / (John Walker) थिए ।

त्यसो त जोन वाकरले मचिसको आविष्कार गर्नुभन्दा पहिले नै सन् १६८० मा रोबर्ट बोयले नाम गरेका व्यक्तिले पनि मचिस बनाउने प्रयास गरेका थिए । त्यसका लागि उनले फस्फोरस र सल्फरको प्रयोग गरेका थिए तर उनको त्यो प्रयास त्यति सफल चाहिँ हुन सकेको थिएन । त्यस्तै सन् १८०५ मा फ्रान्सका सहायक प्राध्यापक एल. जे. थेनार्डले पनि हावाको सम्पर्कमा आउनेबित्तिकै आफैं बल्ने मचिसको आविष्कार गरेका थिए । तर यी दुबै आविष्कारहरु अव्यवहारिक र अनुपयोगी साबित भए ।

उनीहरु कै पाइलालाई पच्छ्याउँदै वाकरले अनुसन्धान गर्ने क्रममा एन्टिमोनी, सल्फाइड, पोटासियम क्लोराइड, गम र स्टार्च मिसाएर बनाइएको ठोस पदार्थलाई कुनै पनि खस्रो सतहमा घस्रेर बाल्न सकिने कुरा पत्ता लगाएका थिए । यसरी उनले पत्ता लगाएको मचिसलाई कन्ग्रेभ्स (Congreves)  नाम दिएका थिए ।

वाकरले मचिस पत्ता लगाए पनि त्यसको प्याटेन्ट चाहिँ स्यामुअल जोन्स नाम गरेका व्यक्तिको नाममा गरिएको थियो । त्यसबेला मचिसलाई लुसिफर (lucifers) भनिन्थ्यो र त्यही नाममा नै त्यसको विक्री हुने गर्थ्यो ।

पहिले पहिलेको मचिस बाल्दा नमिठो गन्हाउने गथ्र्यो । त्यसलाई सुधार गर्दै सन् १८३१ मा फ्रान्सका चार्ल्स साउरियाले मचिसमा सेतो फस्फोरसको प्रयोग गर्ने उपाय पत्ता लगाएका थिए । तर सेतो फस्फोरस विषालु हुने र त्यसले हड्डीसम्बन्धी खराबी गर्ने र मानिसको ज्यानैसमेत लिनसक्ने भएकोले चाँडैनै त्यसमाथि प्रतिबन्ध लाग्यो ।

आधुनिक मचिसको पुर्खा चाहिँ चिनियाँहरुले प्रयोग गर्ने काठको टुप्पोमा सल्फर दलिएको सानो छेस्को थियो । चिनियाँहरुले ५७७ तिर त्यो छेस्को आगो बाल्नका लागि उपयोग गर्ने गर्थे ।

Title photo: https://createdtothink.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.