मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको आसन परिवर्तनको रहस्य !

जब संकटमा पर्छन् अनि प्रचण्डलाई फकाउन खोज्छन् ओली
शनिबार, २० वैशाख २०७७, २१ : १८
शनिबार, २० वैशाख २०७७

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी जब खतरामा पर्छ, तब उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कुर्सी आफ्नो छेउमा सार्ने गरेका छन् । 

पार्टीभित्र आन्तरिक द्वन्द्व चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बसेको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डलाई आफ्नो छेउमा बसाएका छन् । 

यस्तो पहिलो पटक भएको होइन । यसअघि २०७६ पुस १३ गते प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकमा पनि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई आफ्नो छेउमा बसाएका थिए ।

अहिलेको जस्तै त्यो बेला पनि प्रधानमन्त्री ओलीमाथि संकट आइलागेको थियो । अर्थात त्यतिबेला प्रधानमन्त्री ओलीविरुद्धमा भैंसेपाटी, खुमलटार र कोटेश्वरमा मोर्चाबन्दी भएको थियो । 

प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री छाड्न या अध्यक्ष पद छाड्न दवाव परेको थियो । त्यतिबेला प्रधानमन्त्री अ‍ोलीमाथि यस्तो दवाव पर्यो कि बाध्य भएर प्रचण्डलाई कार्यकारी अध्यक्ष दिइएको थियो । सो समयमा वामदेव गौतमलाई सांसद बनाएर सरकारमा लैजाने चर्चा समेत भएको थियो ।

आफूविरुद्धको मोर्चाबन्दीपछि प्रधानमन्त्री ओलीले आफूले सरकार चलाउने र प्रचण्डलाई पार्टी चलाउन भन्दै कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका थिए र त्यही सन्देश दिनका लागि उनले आफ्नो छेउमा बसाएका थिए । 

प्रचण्ड कार्यकारी अध्यक्ष भएपछि उनले आफ्नो अध्यक्षतामा पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसाएका थिए, जुन बैठकमा प्रधानमन्त्री ओलीको उपस्थिति थिएन । 

त्यसपछि दोस्रो बैठक प्रधानमन्त्री निवासमा बसेको थियो । सोही बैठकमा प्रचण्डको आसन परिवर्तन भएको थियो । एउटा आसन परिवर्तन हुन वित्तिकै प्रचण्ड खुशी थिए भने उनले पार्टीमा कार्यकारी अध्यक्षको हैसियतमा आफूलाई सक्रिय बनाएका थिए । 

तर त्यो खुशी धेरै दिन टिकेन । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री अ‍ोलीले प्रचण्डको हरेक गतिविधिमा नियन्त्रण गर्न थाले । पार्टीमा निर्णयहरु सजिलो तरिकाले हुन दिएनन् । त्यसपछि पुनः दुरी बढ्न थाल्यो । प्रचण्डको आसन फेरि जस्ताको त्यस्तै रह्यो । उनी सचिवालकै अन्य सदस्यहरुको लाइनमा बस्न थाले ।

यहीबीचमा पार्टीमा कुनै छलफल नै नगरिकन ओलीले अध्यादेश ल्याए । पार्टीमा त्यसको विरोध भयो । कोरोना भाइरसको कारण लकडाउनलाई समेत छायामा पार्नेगरी राजनीतिक चहल पहल शुरु भयो । पुनः त्यही भैंसेपाटी, खुमलटार र कोटेश्वरमा मोर्चाबन्दी शुरु भयो ।

प्रधानमन्त्री ओलीको हाकाहाकी राजीनामा माग गर्न थालियो । यसपटक त प्रधानमन्त्री अ‍ोलीले प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवैबाट राजीनामा दिनुपर्ने माग पार्टीभित्र उठ्न थाल्यो । र, प्रधानमन्त्री ओलीको कुर्सी संकटमा पर्यो भने सचिवालयदेखि स्थायी कमिटी बैठकको माग उठ्न थाल्यो । प्रधानमन्त्री ओलीमाथि दवाव पर्न थालेपछि बैशाख १७ गते  सचिवालयको बैठक बस्यो । बैठकमा प्रधानमन्त्री अ‍ोलीको खुलेर विरोध भयो र उनलाई सरकार तथा पार्टीको विकल्प दिन समेत चेतावनी दिइयो ।

त्यसपछि प्रधानमन्त्री अ‍ोलीले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र सचिवालय सदस्य माधवकुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव गरे । यस्तो प्रस्ताव आएपछि नेताहरुमा देखिएको रिस एकाएक गायव भयो । 

वैशाख १७ गतेको बैठकलाई २० गतेको लागि सारियो र त्यो बीचमा दौडधूप भयो । आआफ्नो पक्षमा माहौल बनाउने काम भयो । दौडधूपबाट प्रचण्डलाई कार्यकारी पदको पूर्ण अधिकार दिने र वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निष्कर्ष निकालियो ।

र, त्यसको शुरुवात उनले पुनः प्रचण्डको आसन परिवर्तन गरेर गरे । तर्थात प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकमा प्रचण्डलाई आफ्नो छेउमा बसाए । जब कि यसअघि त्यही बसेको बैठकमा प्रचण्ड सचिवालयको अन्य सदस्यहरुसँगै देखिन्थे । सोही बैठकले वैशाख २५ मा सचिवालय बैठक बोलाउने निर्णय समेत गरेको छ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप